संसदीय समितिले कहाँ पुर्‍यायो शिक्षा विधेयक ? | Khabarhub Khabarhub

संसदीय समितिले कहाँ पुर्‍यायो शिक्षा विधेयक ?

१२ मा एसएलसी, मासिक तलब, राहत र अस्थायीको आन्तरिक परीक्षा



काठमाडौं– विद्यालय शिक्षा विधेयक, २०८० अहिले प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा दफावार छलफलमा छ ।

३५ दिनको समय सीमा पाएको उपसमितिले आगामी वैशाख २२ गते शिक्षा समितिलाई प्रतिवेदन बुझाउँदै छ ।

शिक्षा मन्त्री रघुजी पन्तले संसदीय समितिको उपसमितिले दफावार छलफल गरेर टुंगोमा पुर्‍याउन लागेकाले केही समयमै ऐन जारी हुने दाबी गरिरहेका छन् ।

पन्तले यसो भनिरहँदा गत चैत २० गतेदेखि जारी शिक्षकहरूको २९ दिन लामो आन्दोलन बुधबार टुंगिएको छ । यद्यपि, एक महिना पुग्नै लागेको आन्दोलनलाई तत्काललाई पूर्णविराम लगाउने क्रममा कर्मचारी र शिक्षक नै असन्तुष्ट देखिएका छन् ।

सरकाले आगामी असारसम्म विद्यालय शिक्षा विधेयक पास गर्ने भने पनि त्यसको ग्यारेन्टी छैन । शिक्षा विधेयकसँगै बजेट व्यवस्थापनसहितका चुनौती सरकारसामु छन् । अर्कातिर अस्थायी राहत शिक्षक तथा कर्मचारीको व्यवस्थापन पनि सजिलो छैन।

विद्यालय शिक्षा ऐन जारी नगरेसम्म घर नफर्किने अडानमा रहेका शिक्षकका आन्दोलन २९ दिनमा टुंगिएको छ । तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले तयार गरेकै ७ बुँदे मस्यौदा वरपर रहेर सरकार शिक्षकबीच सहमति भएको छ ।

मन्त्रिपरिषद्ले पनि शिक्षकको माग पूरा गर्न तत्परता देखाएपछि नयाँ शिक्षामन्त्री पन्त आन्दोलित शिक्षकलाई घर पठाउन सफल भएका छन् । यससँगै एक महिना ढिलोगरी सरकारी विद्यालयको पठनपाठन तत्काललाई खुलेको छ । सोमबार, मंगलबार र बुधबार रातिसमेत वार्ता गरेर सहमति जुटाइएको हो ।

यो पनि-
उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

शिक्षक महासंघले सरकारसँगका गरेका सहमतिप्रति ढुक्क नभए पनि सर्वोच्च अदालतकोसमते निर्देशनात्मक आदेशले उनीहरूलाई विद्यालय फर्काउन बाध्य बनाएको छ । केही शंका र केही आशा बोकेर शिक्षकहरू काठमाडौंको सडक छाडेर विद्यालय फर्किएका छन् । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी आगामी असारसम्म विद्यालय शिक्षा विधेयक संसद्बाट पारित हुने कुरामा विश्वस्त छन् । तर उनले सहमतिका क्रममा भने जस्तो अन्य शिक्षक भने ढुक्क देखिएका छैनन् ।

शिक्षकहरू एक महिना लामो आन्दोलनलाई विश्राम दिएर फर्किँदै गर्दा विधेयक टुङ्गोमा पुर्‍याउने अधिकार पाएको उपसमितिले ‘फास्ट ट्रयाकबाट’ काम गरिरहेको जनाएको छ । उपसमिति संयोजक छविलाल विश्वकर्माका अनुसार मंगललबारसम्म ३१ वटा बैठक भइसकेका छन् । त्यसअवधिमा १ सय ३७ वटा दफामा छलफल भएको छ । उपसमितिले १ सय ६२ वटा दफा छलफल गर्ने टीओआर पाएको थियो ।

‘१ सय ३७ वटा दफामा छलफल सकिएको छ । एक दुईवटा दफा थप छलफल गरेर टुङ्गो पुर्‍याउनुपर्ने प्रकृतिका छन् । बाँकी पाँच सात दफामा एउटा चरणमा छलफल भइसकेको छ । अब अन्तिम रूप दिन बाँकी छ’, विश्वकर्माले खबरहबलाई भने, ‘वैशाख २२ गतेसम्म प्रतिवेदन समितिमा पठाउँछौँ ।’

उनले विधेयक चाँडो टुंगोमा लैजान बिहान ८ बजेदेखि नै छलफल हुने गरेको बताए । ‘शनिबार पनि छलफल हुन्छ’, उनले भने, ‘सदन बस्दा गएर समिति सदस्यहरू छलफलमा आउनुहुन्छ । संसद् सचिवालयका कर्मचारीले पनि निष्कर्षमा पुर्‍याएका कामलाई समयमै व्यवस्थित गरेका छन् । तीव्र गतिमा काम बढेको छ । कुनै विवाद छैन ।’

विश्वकर्माका अनुसार छुट्टै राय सुझाव माग्ने टीओआर नपाए पनि उपसमितिले शिक्षक महासंघका पदाधिकारी र निजी विद्यालय सञ्चालकसँग वार्ता गरेको थियो । विधेयकका संशोधनकर्तासँग समिति सदस्यले नै छलफल गरेका थिए । विधेयकमा १ सय ५२ सांसदले १ हजार ७ सय ५८ दफामा संशोधन दर्ता गराएका थिए । तीमध्ये १ सय १५ सांसदले समिति बैठकमा आएर संशोधन प्रस्तावमा धारणा राखे ।

यो पनि पढ्नुहोस् :

शिक्षा विधेयक वैशाखमा आउने सम्भावना कम, आन्दोलन थप लम्बिने

संसदीय समितिले सात प्रदेश पुगेर सरोकारवाला र विज्ञहरूसँग सुझाव मागेको थियो । केही विद्यालयमा समेत स्थलगत अवलोकन गरेर फर्किएपछि उपसमितिमार्फत् काम थालिएको हो ।

‘हामीले निजी र सामुदायिक विद्यालयका शिक्षकको पनि सुझाव उपसमितिमार्फत् लिएका छौँ । सडकमा शिक्षकहरू आएपछि माग सम्बोधनका उपायरबो पनि छलफल भएको छ,’ उपसमिति सदस्य पूर्वमन्त्री रेखा शर्माले भनिन, ‘हामी अहिले अन्तिम चरणमा छौँ । निजी विद्यालयलाई पनि समेटेर ऐन आउँछ । जनतालाई भलो हुने ऐन जारी हुन्छ ।’

विश्वकर्मा र शर्मा मिल्न बाँकी विषयबारे बोलेका छैनन् । विश्वकर्माले भने, ‘यो अधिवेशनमा जसरी पनि विधेयक आउँछ । यसका लागि सबै दलको पनि साथ छ । सरकार पनि जोडका साथ लागिरहेको छ । सहमति र छलफलबाटै ऐन जारी हुन्छ ।’

अर्का सदस्यका अनुसार उपसमिति र समितिसँग शिक्षा मन्त्री पन्तले पनि पटक–पटक छलफल गरेका छन् । उनले छिटो विधेयक अगाडि बढाउन भनेका छन् । शिक्षकले उठाएका जायज माग ऐनमार्फत् ल्याउन कन्जुस्याइँ नगर्नसमेत उनले आग्रह गरेका छन् ।

‘मन्त्रीले पनि गम्भीर रूपमा काम गर्नु भन्नुभएको छ । हामी मिहिनेत गरिरहेका छौँ । सडकका सबै माग पूरा गर्न सकिँदैन,’ ती सांसदले भने, ‘खर्चले धान्ने र स्रोतले पुग्ने गरी काम हुन्छ । यो ऐनले वर्तमान शिक्षाको स्वरूपलाई पनि परिवर्तन गर्छ ।’

सहमति जुटेका केही विषय

शिक्षकलाई मासिक तलब

अहिले शिक्षकहरूलाई सरकारले चौमासिक रुपमा तलब दिइरहेको छ । नयाँ कानुनअनुसार हरेक महिना शिक्षकको खातामा तलब भुक्तानी हुने व्यवस्था गर्न लागिएको उपसमिति सदस्यहरू बताउँछन् । अहिलेसम्म सरकारले मासिक तलब पाउने व्यवस्था नगरेकाले डेरा बसेर पढाइरहेका शिक्षकलाई अप्ठ्यारो परिरहेको छ । यो विषय उपसमितिले छलफल गरेर टुङ्गो लगाएको छ ।

अब एसएलसी १२ कक्षामा

०७७ सालमा माध्यमिक शिक्षा परिषद्ले एसएलसी स्कुल लिभिङ सर्टिपिकेट हटाएर १० कक्षामा एसईई ग्रेडमा गर्ने प्रचलन ल्याएको थियो । त्यसपछि एसएलसीलाई एसईई भनिएको छ । अहिले भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई अब एसएलसीमा फर्काउने ऐन आउन लागेको छ ।

तर नयाँ ऐनमा विद्यार्थीले कक्षा १२ मा पुगेपछि मात्रै एसएलसी दिन पाउने भएका छन् । यो पसमितिले दफावार छलफल गरेर टुङ्ग्याएको छ । उपसमिति सदस्यका अनुसार अब विद्यार्थीले १२ कक्षाबाट विद्यालयको पढाइ पूरा गर्ने छन् ।

‘नयाँ ऐन जारी हुनेबित्तिकै १२ कक्षामा एसएलसी हुन्छ, अनि विद्यार्थीले आफ्नो स्कुल छोड्छन् । यससँगै सबै विद्यालयमा बाल शिक्षादेखि १२ कक्षासम्म पढाइ हुन्छ’, ती सदस्यले भने, ‘१० सम्म कक्षा भएका विद्यालय स्वतः १२ सम्म हुन्छ । एउटा विद्यार्थीले रुचाएको विषय ९ कक्षाबाटै छानेर पढ्न पाउँछ । ठाउँअनुसार व्यावसायिक र स्थानीय विषय पनि पढ्ने छुट विद्यार्थीलाई हुन्छ । तर ९, १०,११, १२ एकै विद्यालयमा विद्यार्थीले अध्ययन गर्नुपर्छ ।’

‘प्लस टु’ खारेज हुने

निजी तथा सरकारी क्याम्पसले पढाइरहेको ‘टेन प्लस टु’ नयाँ ऐन बनेपछि खारेज हुने भएको छ । क्याम्पसहरूले ‘प्लस टु’ राख्न नपाउने ऐन जारी हुँदै छ । यदि पढाउन चाहने क्यापसले ९ देखि १२ कक्षासम्म पढाउने पाउने भएका छन् । ‘१२ कक्षासम्म विद्यालयमा पढेपछि उच्च शिक्षाका लागि अब क्याम्पस पढ्न जान्छन्,’ ऐनका प्रावधानबारे जानकारी दिँदै अर्का उपसमिति सदस्यले भने, ‘९ कक्षादेखि विषयगत शिक्षालाई जोड दिइएको छ । कक्षा ८ को परीक्षा पनि कडाइ हुन्छ । ८ कक्षाको परीक्षा स्थानीय तहले गराउँछ ।’

बाल विकास विद्यालय शिक्षाअन्तर्गत ४ देखि मात्रै विषयगत शिक्षक

अहिले बाल विकास विद्यालय शिक्षाअन्तर्गत छैन । अब नयाँ ऐनमा बाल विकासलाई पनि विद्यालय शिक्षाअन्तर्गत राखिने छ । सरकारले नयाँ ऐनमा ० देखि ८ कक्षासम्म आधारभूत तह बनाउने भएको छ ।

‘बाल विकास पनि आधारभूत तहमा राखिएको छ । अहिलेसम्म बाल विकास विद्यालयमा अनिवार्य गरिएको थिएन । अब हुन्छ । नयाँ ऐनले ० देखि ३ सम्म पढाउने शिक्षक प्लस टु पास गरेका खोजेको छ । तिनलाई कक्षागत भनेका छौँ । ३ कक्षासम्म विषयगत शिक्षक हुँदैनन्,’ उपसमितिका ती सांसदले भने, ‘४ देखि ८ का शिक्षकलाई हामीले विषयगत भनेर बाँडेका छौँ । तिनले स्नातक गरेको हुनुपर्छ । ९ देखि १२ कक्षाका शिक्षकले स्नातकोत्तर गरेको हुनुपर्छ । त्यो शिक्षक पनि विषयगत हुन्छ ।’

अहिले बाल विकासका शिक्षकलाई सरकारले मासिक ८ हजार दिँदै आएको छ । स्थानीय तहले ७ हजार दिन्छन् । नयाँ ऐन आएपछि उनीहरूको तलब बढ्नेछ भने सामाजिक सुरक्षादेखि पेन्सनसम्मको जिम्मा राज्यले लिने छ । यस्तै विद्यालयका अन्य कर्मचारीको दायित्व पनि राज्यले नै लिने गरी ऐन जारी हुने छ ।

क्षमता र रुचिअनुसार नेपाली, अंग्रेजी जुनसुकै माध्यममा पनि विद्यार्थीले पढ्न पाउने छन् । यस्तै एक विद्यालय एक नर्स कार्यक्रम पनि नयाँ ऐनले अनिवार्य भनेको छ ।

ऐनमा पनि शिक्षक सेवा जाँच दिने समय पुरुषको हकमा ३५ वर्ष र महिला र अपाङ्गता भएकाको हकमा ४० कायम गरेको छ । अवकाशअवधि ६० वर्ष हुने छ ।

यो पनि पढ्नुहोस् :

शिक्षकको आन्दोलनले ७० लाख विद्यार्थीको भविष्य अन्योल भयो : शिशिर खनाल

महासंघमा जोडिन पाउने

शिक्षकहरू राजनीति दलभन्दा टाढा हुनुपर्ने कुरा आइरहेको छ । नयाँ ऐनमा शिक्षक संगठनमा आबद्ध हुन पाउने लगभग सहमति जुटेको छ । पूर्वशिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसमितिमा यसबारे फरक विचार राखेकी छन् । तर अन्य सांसदहरूले शिक्षकको आस्थाको अधिकार खोस्न नमिल्ने धारणा राखे ।

‘शिक्षक महासंघमा आबद्ध हुन पाउने समझदारीमा पुगेका छौँ’, उपसमितिका ती सदस्यले भने, ‘उहाँहरूले आफ्नो अधिकार प्रयोग गर्न पाउनुहुन्छ । कर्मचारीको पनि त ट्रेड युनियन छ । तर पार्टीको झन्डा बोकेर कार्यक्रममा दौडिने, चुनाव प्रचारमा लाग्ने र विद्यालयमा अनावश्यक राजनीति गर्ने कुरा रोकिन्छ ।’

टुंगिन बाँकी

राहत, अस्थायी र करारले जाँच दिएर स्थायी हुन पाउने

माध्यमिक तहसम्मको शिक्षालाई संविधानमै स्थानीय तहले हेर्ने भनिसकेकाले ऐनले पनि त्यसलाई पास गर्ने उपसमितिमा सांसदहरू बताउँछन् ।

‘सरकारले मापदण्ड बनाएर १२ सम्मको शिक्षक स्थानीय तहमातहत गर्ने छ । तलब सरकारले दिन्छ । निजी विद्यालयको मापदण्ड कस्तो बनाउने टुङ्गिन बाँकी छ । निजी शिक्षकबारे छलफल गर्नुपर्ने छ । आर्थिक भारबारे छलफल हुन बाँकी छ’, उपसमिति सदस्यले खबरहबलाई भने, ‘बढुवाबारे कति के भनेर छलफल गर्न बाँकी छ । राहत र करारलाई स्थायी बनाउन लोकसेवा नै दिनुपर्छ । प्रतिस्पर्धामै पठाउने भनिएको छ । आन्तरिक परीक्षा पास गरेपछि मात्रै अस्थायी शिक्षक स्थायी हुन्छन् ।’

सरुवा बढुवा प्रक्रिया र तलब भत्ता बृद्धिलाई पनि महत्वसाथ ऐनमा समेटिएको उपसमिति सदस्यहरू बताउँछन् । ‘स्रोतले भ्याउनेजति मर्यादाक्रम अनुसार तलब भत्ता बढाउने प्रस्ताव गरेका छौँ’, ती सदस्य थप्छन्, ‘स्थानीय तहले जथावावी शिक्षक करारमा राख्न पाउँदैन । तर कुनै बेला अतिजरुरी परे सकिने ऐन आउन सक्छ ।’

देशभर शिक्षकको आवश्यकता बुझेर दरबन्दी मिलान गरी थाई नै राख्नेबारे पनि छलफल भइरहेको छ । बरु शिक्षक सेवाको जाँच गराएर देशभर एकै किसिमका शिक्षक राख्नुपर्नेबारे उपसमितिमा छलफल भइरहेको छ । नयाँ ऐनमा अथायिले स्वतः स्थायी हुन्छु भन्न नपाइने र जति वर्ष काम गरेको अस्थायी, करार र राहतले आन्तरिक परीक्षा दिनुपर्ने ऐन बन्दैछ ।

‘अस्थायी, करार र राहत जे भएपनि तोकिएको आन्तरिक जाँच दिनुपर्छ । हामीले एक पटकलाई जाँच दिने व्यवस्था गर्ने सल्लाह गरिरहेका छौँ’, ती सदस्यले भने ।

आन्तरिक प्रतिस्पर्धामा अन्योल

आन्तरिकमा कति प्रतिशत प्रतिस्पर्धा गराउने, खुलामा कति गराउने टुङ्गिएको छैन । शिक्षकले आन्तरिकलाई ७५ प्रतिशत मागेका छन् । यो कानुन ल्याए जागिर नखाई पढेर बसेकालाई अवसर मिल्ने उपसमितिको ठहर छ । यो विषयमा गम्भीर छलफल हुन बाँकी रहेको ती सदस्यले बताए ।

‘राहत र अस्थायी लगायत शिक्षकलाई आन्तरिक जाँचको मौका दिने छ । तर कति प्रतिशत भन्ने यकिन छैन । छलफलमा ७५ या ५० भन्ने छ’, ती सदस्यले भने, ‘निजी विद्यालयबारे छलफल बाँकी छ । तर यो छिटो निर्णयमा जान्छ । एक खालको खाका बनेको छ ।’

यता निजी विद्यालय सञ्चालकहरूले गुठीमा रूपान्तरण गर्ने विषयमा असहमति जनाएका छन् । निजी विद्यालयका पदाधिकारीसँग उपसमितिले छलफल गर्दा पनि गुठीमा जान नमानेको बताइएको छ ।

‘उहाँहरू मान्नुभएको छैन । केही कुरामा सहमति हुन सक्छ,’ समितिका तीन सदस्यले भने, ‘ऐनले व्यक्तिले मुनाफा लिने गरी विद्यालय खोल्न दिने कुरामा कडाइ गरेको छ । चर्को शुल्क लिने निजी विद्यालयलाई ठेगान लगाउने ऐन आउँछ ।’

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ४ : ११ बजे

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न

म्याग्दीको मालिकास्थित डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको