युवा संघ ताप्लेजुङमा ‘टीकेप्रथा’, न बन्द सत्र गरियो, न त निर्वाचन कार्यक्रम नै राखियो | Khabarhub Khabarhub

युवा संघ ताप्लेजुङमा ‘टीकेप्रथा’, न बन्द सत्र गरियो, न त निर्वाचन कार्यक्रम नै राखियो


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय युवा संघ ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतका नाममा ‘टीकेप्रथा’ अपनाइएपछि असन्तुष्टि देखिएको छ ।

गत बिहीबार सुरू भएको जिल्ला अधिवेशनमा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेसहितले निर्वाचन कार्यक्रम नै नराखी सर्वसम्मतका नाममा ‘टीकेप्रथा’ रोजेपछि असन्तुष्टि देखिएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि बिहीबार राति नै दुई पक्षबीच विवाद हुँदा हलमै कुटाकुट र कुर्सी हानाहान भएको थियो । बिहीबार राति २ बजेसम्म पनि कुरा नमिलेपछि विवाद कुटाकुटको अवस्था भएको थियो ।

त्यसपछि अधिवेशनको बन्दसत्र कार्यक्रम सूचना टाँसेर शुक्रबार मध्यान्हसम्मलाई स्थगित गरिएको थियो। तर शुक्रबार मध्यान्ह हुने भनिएको बन्दसत्र शनिबार र आइतबार पनि भएन ।

सर्वसम्मत भन्दै बन्द सत्र नगरि घोषणा गरिएको पदाधिकारीको नाम अनुमोदन गर्दै अध्यक्षमण्डलका संयोजक र केन्द्रीय अध्यक्ष थेबे काठमाडौं फर्किसकेका छन् ।

अधिवेशनमा मोटरसाइकलको लामो लावा लस्करसहित पुगेका युवा संघका केन्द्रीय अध्यक्ष थेबेसहित अध्यक्षमण्डलका संयोजक निरोज पौडेल नयाँ कमिटी घोषणा गरेर काठमाडौं फर्किएका हुन् ।

नयाँ नेतृत्व घोषणापछि आयोजित पत्रकार सम्मेलनमा थेबेले सौहार्दपूर्ण ढंगले अधिवेशन सकिएको दाबी गरे । अध्यक्षमण्डलका संयोजक पौडेलले पनि हलले सर्वसम्मत रुपमा नयाँ कमिटीको नाम अनुमोदन गरेको जानकारी दिए ।

उनका अनुसार हलबाट मानिक तुम्बाहाम्फेलाई अध्यक्षका रुपमा सर्वसम्मत चयन गरिएको छ । त्यसैगरि प्रकाश एभेङलाई उपाध्यक्ष, डेभिड लिम्बूलाई सचिव, सुनिता याक्सो र बरुण साँवालाई सहसचिवमा चयन गरेको हो ।

अधिवेशनले पदाधिकारीसहित विज्ञ युवा परिषद् संयोजक एकजना, साइबर सर्कल प्रमुख एकजना, युथफोर्स प्रमुख एकजना र आर्थिक विभाग प्रमुख एकजना चयन गरेको छ ।

उता आर्थिकतर्फ केशव पौडेल, विज्ञ परिषदमा पारुहाङ लिम्बू, साइबरमा श्रीहाङ लिम्बू र युथफोर्समा दिलकुमार सुनुवार तोकिएका छन् । पौडेलले हलले नाम अनुमोदन गरेको बताए पनि आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । अध्यक्षमण्डलले नयाँ नेतृत्वलाई शपथ नै नगराई जिल्ला छाडेको हो ।

असन्तुष्ट समूहले अधिवेशनमा उपाध्यक्ष र सचिव पदमा दाबी गरेको थियो । तर थेबेसहितले त्यो समूहलाई उपाध्यक्ष पद मात्रै दिए। सचिव पद दिन तयार नभएपछि भाँडिएको बन्दसत्र अघि नै नबढाई नयाँ कमिटी घोषणा गरिएको छ ।

तर केन्द्रीय थेबेसहितका नेताले अधिवेशनमा कुनै विवाद नरहेको दाबीसहित समाचारको खण्डन गरे । तर शुक्रबार बन्दसत्र नभएपछि असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेको थियो । असन्तुष्ट समूहले तत्काल प्रक्रिया अघि बढाउन दबाब पनि दिएका थिए ।

असन्तुष्ट समूहले सार्वजनिक रुपमै बोलेपछि केन्द्रीय अध्यक्ष थेबे र अध्यक्षमण्डलका संयोजक पौडेलले निर्णय पुस्तिकामा हस्ताक्षर गरेर हिँडेका छन् । एमालेका सचिव योगेश भट्टराईको गृहजिल्लासमेत रहेको ताप्लेजुङमा युवा संघको अधिवेशन निर्वाचन कार्यक्रम नै नराखी विवाद र तनावबीच सकिएको हो ।

अधिवेशनमा सर्वसम्मतिका नाममा विधि र प्रक्रिया मिचिएको भन्दै अहिले सार्वजनिक रुपमै विरोधको स्वर सुनिएको छ । एमाले ताप्लेजुङकै एकजना नेता मनिशंकर पोमुले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् । उनले विधि र पद्धति मिचिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘युवासंघलाई बधाई दिन हतारो भएछ केही मित्रहरुलाई, किरिया बारेपछि विधि पुर्‍याएर नुन खाएको भए हुने थियो कि’, एमालेका पूर्वजिल्ला उपसचिव उनले भनेका छन्, ‘हाम्रासामु थुप्रै मिसन उभिएका छन् । जिम्मेवार भएर जवाफदेहिताको साथ पूरा गर्नुछ, फेरि पनि भन्छौँ सांगठानिक अराजकताको डटेर सामना हुन्छ, एमाले कसैको बाबुको विर्ता होइन ।’

हाल एमालेको कोशी प्रदेश कमिटी अन्तर्गत पर्यटन विभाग सचिव उनले आफूहरू विधि र पद्धतिको पक्षमा रहेको पनि बताएका छन् ।

‘हामी लडेका हौँ, क्रमश: उठ्ने छौँ, हामी एमालेका कार्यकर्ता हौँ, कुनै नेता नेतृत्वको झोले होइन’, उनले भनेका छन्, ‘राजनीतिक गर्ने मैदान भूगोल यही हो, लामो समय छ, यहाँ राजनीतिक गर्न ख्याल भएन छ दलालका नाइकेलाई, कठै तिम्रो रामलीला देखेर तिम्रो तथास्तु भन्ने र तिमीलाई देवत्व स्वीकार्नेहरूले एक पटक पछि फर्केर हेर्नु पर्ला कि ?’

उनले बिहीबार राति बन्दसत्र भाँडिएपछि अहिलेसम्म निर्वाचन कार्यक्रम नै नभएको अवस्थामा एकैचोटि फेसबुकबाट नयाँ कमिटी घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘बिहीबार भाँडिएपछि शुक्रबार १२ बजेबाट गर्ने भनेर अध्यक्षमण्डलले सूचना टाँसेको थियो । अस्तिको दिन र हिजो पनि बन्दसत्र भएन । आधिकारिक रुपमा निर्वाचन कमिटीले नयाँ कमिटी घोषणा गरेको छैन । अहिले फेसबुकमा बधाईको ओइरो आएको छ’, उनले भने, ‘एमालेको प्रमुख संगठन युवा संघ हो भने विधिअनुसार अधिवेशन गर्नुपर्छ भन्ने हो । केन्द्रीय अध्यक्षकै जिल्लामा यस्तो हुनु भनेको दु:खदायी छ । हामी सांगठानिक अराजकताविरुद्ध लड्छौँ । केपी ओलीको ट्याग लगाएर यहाँ आएर गरिएको अराजकता स्वीकार्दैनौँ ।’

उनले युवा संघको जिल्ला कमिटी घोषणाका नाममा पार्टीभित्रको विधि, पद्धतिको अभ्यासलाई पूरै लत्याइएको बताएका छन् । ‘निर्वातन प्रक्रिया पूरा नगरि यत्तिकै घोषणा गरेर गएको भए यो त सांगठानिक अराजकता हो’, उनले भने, ‘मतदाता नामावली प्रकाशन भएन, दाबी विरोध गर्न पनि दिइएन । उम्मेदवारको सूची प्रकाशन भएको थाहा छैन । उम्मेदवारीमा दाबी विरोधको कार्यक्रम पनि भएन । निर्वाचन सम्पन्न भएको प्रक्रिया कहीँ कतै पूरा गरिएको छैन । यस्तो कुरा हामी सहेर बस्न सक्दैनौँ । फेसबुकमा सार्वजनिक भएको कमिटीले जिल्लामा काम गरेर देखाओस् ।’

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५० बजे

आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा पञ्जाब किंग्सले

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

तनहुँ – तनहुँ ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेता एमालेमा फर्किए

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका

‘ऊनको स्वीटर’ : ट्रेलरमा ‘जारी’को झल्को, विपिन भन्छन्– करिअरको उत्कृष्ट फिल्म

काठमाडौं – म्युजिक भिडियो निर्देशनमा स्थापित नवीन चौहानले आफ्नो परिचयन

गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छः सांसद डाक्टर

काठमाडौं – राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले बुद्धजयन्तीलाई बुद्धको