नाकथोप्ली ‘ङ’ को कन्तबिजोग ! | Khabarhub Khabarhub

नाकथोप्ली ‘ङ’ को कन्तबिजोग !


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

मासगेडी ‘ङ’ अर्थात् नाकथोप्ली ‘ङ’ के हो ? शब्दकोशअनुसार हेरौँ :
१. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौं व्यञ्जनवर्ण; कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण; कवर्गको अन्तिम तथा पाँचौँ वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; नाकथोप्ली ङ।

२. लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन- उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पाँचौँ चिह्न।

नाकथोप्ली ‘ङ’ अहिले ङ्याँचे मात्र भएको छैन। नेपाली छापा र अनलाइन दुवै मिडियाले यसको गर्धनमा  समातेर ङ्याच्ङयाच्ङुच्ङुच् पार्दै ‘इन्टरफेस’बाट ‘आउट’ गरिदिएका छन्। नेपाली छापा माध्यमलाई पनि नाकथोप्ली ‘ङ’ को प्रयोग गर भन्यो भने ङ्याङ्याङ गर्न थालेका छन्।

हुन त हाम्रो बोलीचालीमा पनि ‘ङ’ लाई हटाउँदै गएको पाइन्छ। आजका युवालाई अर्ती दियो भने ‘ङ्याङङ्याङ’ होइन ‘ल्याङल्याङ’ हुन्छ। मिडियाका सम्पादक पनि ‘ङ’ को प्रयोग गर्न ङाइँङाइ गर्छन्। बोलीचालीमा पनि ‘ङ’ लाई अन्य वर्णले प्रतिस्थापित गरेको छ। यहाँ हेरौँ।
‘ङ’ का ठाउँमा ‘न’ को प्रयोग
जस्तैः
ङ्याक्नु- न्याक्नु
ङ्याउरो- न्याउरो
ङ्याउँली- न्याउली
ङाइँङाइँ, ङाकङिक- नाकनिक

कति ठाउँमा ‘ङ’ लाई ‘क’ ले प्रतिस्थापन गरेको छ।
ङप्लक्क- कप्लक्क
ङुप्लुक्क- कुप्लुक्क
ङ्याङङ्याङ- क्याङक्याङ

‘ङ’ का ठाउँमा ‘ल’ को प्रयोग
ङ्याङङ्याङ- ल्याङल्याङ
ङ्याङङ्याङङुङङुङ- ल्याङल्याङलुङलुङ

‘ङ’ का ठाउँमा ‘म’ को प्रयोग
ङ्याउँ- म्याउँ
बाँकी ‘ङ’ बाट सुरु हुने शब्दहरू रहे- ‘ङर्र र ङारङुर’ का रूप, ‘ङिच्च र ङिच्रिक्क’ का रूपहरू, ङिस्स, ङेकुबाजा, ङोपा, ङ्याच्च र ङकार। यी शब्द विरलै प्रयोग हुन्छन्। यद्यपि माथिका प्रयोग चलनचल्तीमा रहेकाले शब्दकोशले आत्मसात् गरेको छ। यसको प्रयोगलाई त्रुटिपूर्ण मानिँदैन।

नेपाली वर्णको पाँचौँ वर्ण अर्थात् पञ्चम वर्ण ‘ङ’ प्रयोगमा विचलन आउँदा लोप हुने अवस्थामा पुगेको छ। प्रयोगका हिसाबले अधिकांश नेपाली मिडियाले ‘ङ’ लाई बहिष्कार गरेर अशुद्ध रूप प्रयोग गरेका छन्। मिडियाले यसरी अशुद्ध रूप प्रयोग गर्दा यही नै सही हो भन्ने पाठकमा भ्रम सिर्जना भएको देखिन्छ।

‘ङ’ पूर्ण अक्षरका रूपमा विरलै प्रयोग हुन्छ। तर आधा अक्षरका रूपमा प्रयोग हुने अवस्था आए ‘शिरविन्दु’ ले काम चलाउने गरिन्छ। ‘ङ’ लाई हटाएर शिरविन्दुको प्रयोग गर्नु त्रुटिपूर्ण हुन्छ।
यस्तो छ नियम
१. ‘क’ वर्ग (क, ख, ग, घ) का अगाडि ‘ङ्’ को प्रयोग गर्ने।
उदाहरण : अङ्क सङ्ख्या, गङ्गा, सङ्घर्ष आदि।
२. तत्सम शब्दमा ‘य’ देखि ‘ह’ वर्णका अगाडि ‘म्’ उच्चारण भएमा शिरविन्दुको प्रयोग गर्ने।
उदाहरण : संयोग, संलग्न, संसार, वंश, अंश आदि।
तर, ‘ज्ञ’ को अगाडि ‘ङ’ को उच्चारण भएमा शिरविन्दुको प्रयोग गर्ने।
उदाहरण : संज्ञा।
नेपाली छापा माध्यम र अधिकांश अनलाइन मिडियाले ‘ङ’ को स्थानमा शिरविन्दु लगाएको पाइन्छ।
उदाहरण : अंक, संघर्ष, संख्या, गंगा, बैंक, टुंगो आदि। यी शब्दहरू अशुद्ध हुन्।
उदाहरणका रूपमा मङ्गलबार प्रकाशित कान्तिपुर दैनिकको राष्ट्रिय संस्करणको पहिलो पृष्ठ हेरौँ।
यो पत्रिकाको मिति लेखिने ठाउँमा ‘२३ वैशाख २०८२ मंगलबार वैशाख शुक्लपक्ष नवमी’ लेखिएको छ। यो वाक्यांशमा लेखिएको ‘मंगलबार’ अशुद्ध छ। यसका ठाउँमा ‘मङ्गलबार’ लेखिनु वाञ्छनीय हुन्छ। यस्तै पहिलो मुख्य समाचारमै प्रयोग भएका ‘बैंक, कांग्रेस, संकेत, आशंका, आतंकवादी’ जस्ता शब्दहरू त्रुटिपूर्ण छन्। यस्तै दोस्रो समाचारमा प्रयोग भएका ‘मंसिर, जंग’ शब्द त्रुटिपूर्ण छन्।

प्राविधिक कारणले नेपाली भाषाको मानक नै बिगार्नु राम्रो हुँदैन। किबोर्डमा ‘ङ’ वर्ण टाइप गर्दा ‘अल्टर, शून्य, एक, सात, शून्य’ दबाउनु पर्ने झन्झटिलो प्रक्रियाले हो वा किन मिडियाले ‘ङ’ को प्रयोग गर्न ङ्याङङ्याङ गरिरहेका छन् ? त्यसो हो भने ‘सर्टकर्ट की’ सेटिङ गर्दा भइहाल्छ। होइन भने भाषा र वर्णको मानक रूप परिवर्तन गर्नु, बिगार्नु राम्रो हुँदैन।

एक हजार वर्ष पुरानो मानिएको नेपाली भाषामा बेलाबेला भाषिक आन्दोलन भएका छन्। वि.सं. १९६५ सालमा राममणि आचार्य दीक्षितलगायतले भाषिक आन्दोलन सुरु गरेको पाइन्छ। १ सय १९ वर्ष पुरानो भाषिक आन्दोलनको इतिहासमा बेलाबेला भाषालाई तलमाथि गर्ने प्रयत्न भएको पाइन्छ।

हलन्त बहिष्कार आन्दोलन। यो आन्दोलनमा हलन्त (खुट्टा काटिएका आधा शब्द) का ठाउँमा अजन्त (पूर्ण शब्द प्रयोग) प्रयोग गर्ने आन्दोलन चलेको थियो। यसको मुख्य समस्याका रूपमा कम्प्युटरबाट काम गर्दा (मुद्रण र कम्पोज) समस्या भएको निष्कर्ष थियो।

२०१२ सालमा भोलानाथ पौडेल र धनबज्र बज्राचार्यले नेपाली भाषाको व्याकरण संशोधन अभियान चलाएका थिए। यो आन्दोलनले संस्कृतका शब्दलाई नेपाली भाषामा जबरर्जस्त प्रयोग गर्ने उद्देश्य थियो।

२०१३ सालमा भाषाविद् बालकृष्ण पोखरेल, तारानाथ शर्मालगायतले नेपाली भाषाको व्याकरण संशोधन आन्दोलनमा झर्रोवाद भित्र्याएका थिए। यसको उद्देश्य थियो नेपाली झर्रा शब्दको प्रयोग गर्ने र ‘श’, ‘ष’ का ठाउँमा ‘स’ को प्रयोग गर्ने।
२०१६ को भाषामा ‘सजिलोवाद’ सुरुवात भयो। रामराजा पन्तले नेपाली भाषामा ‘सजिलो लेखाइ प्रविधि’ ल्याए। र, झिसमिसे पत्रिका प्रकाशनमा ल्याए।

यही समयमा धरानबाट नेपाली भाषामा ‘श्वरशैली’ भित्रियो। यो आन्दोलनको उद्देश्य जस्तो बोलिन्छ, त्यस्तै लेख्नुपर्ने थियो। यतिबेला ‘नौलो साहित्य’ पत्रिका प्रकाशन भएको थियो। २०३६ सालमा मुकुन्दशरण उपाध्यायलगायतले ह्रश्व र दीर्घ लेखनमा ध्यान पुर्‍याउनुपर्ने अभियान चलाए। यतिबेला ङ, ञ, ठ, थ, द जस्ता वर्णलाई ख्यालै नगरेर लेखाइ र पढाइ भएको विद्वानको भनाइ थियो। नेपाली वर्ण स्वर र शैलीहरू नेपाली भाषाबाट लोप हुनेमा विद्वानको चिन्ता थियो।

विसं १९७१ मा प्रकाशित व्याकरणको पुस्तक चन्द्रिकादेखि भाषा अभियानहरू ‘ललितपुर घोषणापत्र- ०६८’। शरच्चन्द्र वस्तीको नेतृत्वमा १ सय ३० जना भाषा प्रयोगकर्ताले हस्ताक्षर गरी जारी गरिएको घोषणापत्र- ०४० मा नेपाली बृहत् शब्दकोश आउनुअघि प्रयोग हुने वर्णविन्यासलाई जस्ताको तस्तै प्रयोग गरिनुपर्छ भन्ने उल्लेख छ।

नेपाली भाषाको क्षेत्रमा ठूला र महत्वपूर्ण भाषिक आन्दोलन चलेका छन्। हलन्त- अजन्त, ‘श’, ‘ष’ को विस्थापन, पदयोग- पदवियोग, लगायतका धेरै आन्दोलन चले। भाषाको एउटा विशेषता हो, ‘सरलताको अनुशरण गर्नु’। यी सबै आन्दोलनको उद्देश्य भाषाको सरल, सहज प्रयोग हो। तर मानक भाषालाई बिगारेर भाषा समृद्ध बन्न सक्दैन। यस्ता आन्दोलनलाई नेपाली भाषाले आत्मसात् पनि गरेको छ भने खारेज पनि गरिदिएको इतिहास छ।

कम्प्युटरमा टाइप गर्न सजिलो हुन्छ भन्ने हिसाबमा ‘ङ’ शब्द प्रयोगलाई बहिष्कार गर्ने अहिलेको चलन, चलन होइन विचलन हो। हाम्रा नयाँ पुस्ताले नाकथोप्ली ‘ङ’ वा मासगेडी ‘ङ’ चिन्न र पढ्न पाउनु पर्छ। ‘ङ्याङङ्याङ’ ‘ल्याङल्याङ’ भए पनि ‘शंका’ मा ‘लंका’ लेखिनु हुँदैन।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : ०७ बजे

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा