पर्यटन प्रवर्धन गर्दै चतरा हाइकिङ « Khabarhub

पर्यटन प्रवर्धन गर्दै चतरा हाइकिङ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धार्मिक तीर्थको केन्द्र वराहक्षेत्रका ऐतिहासिक, पुरातात्विक र धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न विगत ३ वर्षदेखि हाइकिङ आयोजना गरिँदै छ । चतरा हाइकिङ समूहले सोमबार नयाँ गन्तव्यको यात्रा गरेको छ ।

समूहले पहिचान गरेको हाइकिङको नयाँ गन्तव्यको औपचारिक यात्रा सुरु गरेको बराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले जानकारी दिए । वडाध्यक्ष थापाले नै नयाँ गन्तव्यको औपचारिक उद्घाटन गरे ।

स्थानीय पत्रकारहरूको सक्रियतामा सुरु भएको चतरा हाइकिङ समूहले हाइकिङका नयाँ गन्तव्यको खोजीसँगै स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले हाइकिङ यात्रा आयोजना गर्दै आएको छ ।

विशेषगरी शनिबार आयोजना गरिने यो पदयात्रा सुनसरीको चतरामा बिहान भेला भएर ३ किलोमिटरदेखि १० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । आधा दर्जन बढी गन्तव्यलाई चतरा हाइकिङले प्रवर्धन गर्दै आएको छ ।

यी गन्तव्यमा ऐतिहासिक किल्ला, दरबार, मन्दिरलगायतका धार्मिक क्षेत्रको प्रवर्धन गर्ने उद्देश्य रहेको चतरा हाइकिङका संस्थापक भीषण राई बताउँछन् ।

हाइकिङ समूहले चतरास्थित खारखोलाबाट कटहरे–चियाबारी–सूर्यकुण्ड हुँदै लालकोट गढी पुग्ने ८ किलोमिटरको हाइकिङ रुटबाट यात्रा सुरु गरेको हो । यस्ता हाइकिङ रुट आधा दर्जन बढी पहिचान गरी यात्रा सुरु गरको छ ।

झण्डा चोक–बान्द्रे चौरी–अर्चले–लालकोट गढी हुँदै ५ किलोमिटर दूरी रहेको अर्को हाइकिङ रुट छ । यस्तै मिलन चोक–फूलबारी–अर्चले हुँदै लालकोट गढी जोड्ने ४.५ किलोमिटरको हाइकिङ रुट छ ।

अन्य रुटहरूमा औलिया मठ–छिन्नमस्ता–हिन्दूपती दरबार–बागदलबारी–अर्चले–लालकोट गढी ४ किलोमिटर, भण्डारीटार– चिहान डाँडा– चावाचा– खप्तपुर– झाँक्री गुफा– जुगपाख्री हुँदै लालकोट गढी ५.५ किलोमिटर, वराहक्षेत्र मन्दिर– सिन्दुर पुच्छर–जुगपाख्री –लालकोट गढी ३.५ किलोमिटर, वराहक्षेत्र मन्दिर– झरना– सिलपाखा– चौडण्डा–भवानीथान– लालकोट गढी ४ किलोमिटर रुट रहेको छ ।

पछिल्लो समय पहिचान गरिएको कोशी पुल– खप्तपुर– झाँक्री गुफा– जुगपाख्री– लालकोट गढी ३ किलोमिटर यात्रामा सोमबार १ सय ५० जना सहभागी लिएर चतरा हाइकिङको टोली निस्किएको संस्थापक राईले जानकारी दिए । १ सय वटा टिसर्टमा छापिएकामा सहभागीलाई अपुग भएको संस्थापक राईले बताए । यो हाइकिङ यात्रालाई ‘कोशी पर्यटन वर्ष २०८२ सफल पारौँ’ भन्ने नारासमेत जोडिएको उनले बताए ।

‘प्राकृतिक सौन्दर्यको अवलोकन, ऐतिहासिक स्थलको अवलोकन, स्थानीय जनजीविकाको अध्ययन, स्थानीय खानाको स्वादको पारख गर्न पाइन्छ,’ चतरा हाइकिङका संस्थापक राईले भने, ‘मानसिक, शारीरिक स्वास्थ्यको फाइदा त छँदैछ ।’

हाइकिङ समूहले पहिचान गरेका नयाँ रुटहरूबाट हिमालका सुन्दर दृश्य, सप्तकोशी नदीका मनोरम दृश्य र तराईका हरिया फाँट देख्न सकिने चतरा हाइकिङका संस्थापक विजयकुमार राउत बताउँछन् ।

‘लालकोट गढी, हिन्दूपती दरबार, झाँक्री गुफा, सूर्यकुण्डजस्ता ऐतिहासिक र धार्मिक तीथस्थल अध्ययन अवलोकन आफैँमा महत्वपूर्ण छ,’ संस्थापक राउत भन्छन्, ‘हाइकिङका क्रममा यहाँका रैथाने संस्कृति, यहाँका पुराना जातिका मौलिक परिकार, संस्कृति र रहनसहन पनि अनुभव गर्न सकिन्छ ।’

वडाको सहयोग

चतरा हाइकिङले पहिचान गरेका रुटलाई प्रवर्धन गर्न बराहक्षेत्र– १ नम्बर वडाले सहयोग गर्दै आएको छ ।

मिलन चोकदेखि सूर्यकुण्ड र छिन्नमस्तादेखि बागदलबारी रुटमा वडाले बाटो देखाउने सूचना पाटी लगाइदिएको छ । सोमबारदेखि सुरु गरिएको नयाँ हाइकिङ गन्तव्यमा वडाध्यक्षसमेत यात्रा गर्दैछन् ।

उनले चतरा हाइकिङले सुरु गरेको अभियानलाई बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चतरा हाइकिङको पहलमा चालु आर्थिक वर्षमा खुट्किला बनाउने कामका लागि विनियोजन भएको १५ लाख रुपैयाँ बजेटलाई मुन्धुम ट्रेलसँग जोडिएको छ । स्थानीय, प्रदेश, सङ्घीय सरकार र स्वीस सरकारको बजेटमा निर्माण हुन लागेको मुन्धुम ट्रेल चतरा हाइकिङ समूहको सहजीकरणमा भएको संस्थापक दुर्गाबहादुर बस्नेत बताउँछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ३ : ०७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले