रोकिएन एनआरएनएको गाईजात्रा : केसी समूहको ‘कनक्लेभ’ भाँड्न सक्रिय भयो श्रेष्ठ समूह | Khabarhub Khabarhub

रोकिएन एनआरएनएको गाईजात्रा : केसी समूहको ‘कनक्लेभ’ भाँड्न सक्रिय भयो श्रेष्ठ समूह


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को गाईजात्रा जारी छ । गत वैशाख २१ गते एकता महाधिवेशनका नाममा शेष घलेले नयाँ अध्यक्षमा महेश श्रेष्ठलाई चयन गरे पनि एनआरएनएको विवाद जारी छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिद्वारा काठमाडौंमा गत वैशाख २१ मा सम्प्नन एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठ कार्यसमिति र बद्री केसी समूहबीच नयाँ विवाद देखिएको हो ।

विवाद अझै पनि नथामिएको कुरा काठमाडौंमा केसी समूहले गर्न लागेको ‘एनआरएनए कनक्लेभ’ नामक कार्यक्रमबाट थप छताछुल्ल भएको हो।

अनौठो के छ भने श्रेष्ठ समूहले छेक्न खोजेको केसी समूहको ‘एनआरएनए कनक्लेभ-२०२५’को उद्घाटन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा गर्न लाग्दैछन् । तर त्यही कन्क्लेभ भाँड्ने कोसिससहित सहभागी नहुन श्रेष्ठ समूहले भनेको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर एकता महाधिवेशनमा नाममा श्रेष्ठलाई नयाँ अध्यक्ष बनाए पनि बालुवाटारस्थित केन्द्रीय कार्यालय केसी समूहकै हातमा छ । केसी समूहले त्यहीँबाट आफ्ना कामकाजलाई निरन्तरता दिइरहेको छ ।

वैशाख २१ मा खासगरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जोडबलमा कांग्रेसनिकट श्रेष्ठ नयाँ अध्यक्ष बनेका थिए । तर, उक्त एकता महाधिवेशनलाई केसी समूहले अस्वीकार गरिसकेको छ । एकता भनिएको यो महाधिवेशनमा माओवादीसँग मिलेर एमालेलाई घेर्न खोजेको भन्दै प्रधनमम्त्री ओलीले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेका छन् ।

प्रधानमन्त्री ओली नै उद्घाटनमा जान लागेको ‘एनआरएनए कनक्लेभ-२०२५’लाई माओवादी र कांग्रेस मिलेर बनेको नयाँ कार्यसमिति छेक्न खोजेपछि विवाद झन उत्कर्षमा पुगेको छ ।

मंगलबार आईसीसीका नवनिर्वाचित महासचिव बीआर लामाद्वारा जारी विज्ञप्तिमा श्रेष्ठ नेतृत्वको टिमले एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास गरिरहेको अवस्थामा कसैले पनि त्यो वातावरण बिथोल्ने र आपसी विश्वास बिगार्ने गतिविधि नगर्न भनेका छन् ।

‘एकता महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइपश्चात् सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ’, लामाले भनेका छन्, ‘यसले श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक रहेको पुष्टि गर्दछ ।’

विश्वभरका लाखौँ एनआरएनहरूको भावनाको सम्मान गर्दै, एकता र सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग र समर्थन गर्न पनि उनले अपील गरेका छन् ।

गत वैशाख २० र २१ गते एनआरएनएको एकता महाधिवेशनमा नेपाली कांग्रेसकी नेतृसमेत रहेक डा. राणा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए । तर त्यहाँ एमालेको एनआरएनए पंक्तिलाई किनारा लगाइएको थियो । त्यही कुरा केसी समूहले प्रधानमन्त्रीलाई बालुवाटारसम्म पुर्‍याएको थियो । त्यसपछि ओलीले देउवा र प्रचण्ड दुवैसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

यसअघि ११ औँ महाधिवेशनबाट निर्वाचित केसी समूहको सहभागिताबिना एकता महाधिवेशन गरिएको थियो । कांग्रेस र माओवादीको जोडबलमा अध्यक्ष बनेका श्रेष्ठ ११ औँ महाधिवेशनमा केसीसँगै हारेका थिए । उता माओवादीनिकट आरके शर्मा पनि केसीसँग हारेका व्यक्ति थिए । कांग्रेसनिकट श्रेष्ठ र माओ‌वादी निकट शर्मासहितलाई जुटाएर घले नेतृत्वको समितिले एकता महाधिवेशनका नाममा नयाँ नेतृत्व छानेको थियो ।

संघको १० औँ महाविधेशनबाट बद्री केसी, कुल आचार्य र रविना थापा तथा छुट्टै महाधिवेशन गरेर विनोद कुँवर अध्यक्ष बनेका थिए । एनआरएनएमा १० औँ महाधिवेशनबाटै विवाद छ । १० औँ र ११ औँ महाधिवेशन दुवैलाई सर्वोच्चले प्रश्न उठाइसकेको छ ।

सर्वोच्चले १० औँ र ११ औँ महाधिवेशनमा प्रश्न उठाउँदै नयाँ महाधिवेशनको बाटो खोलेको थियो । तर संयोजन समितिका संयोजक घलेले एकता महाधिवेशनका नाममा कांग्रेस र माओवादीनिकटलाई एक ठाउँमा ल्याउँदा एमालेनिकटलाई पाखा लगाएका थिए ।

यो एकता महाधिवेशनमा पनि केसीसँग पराजित आरके शर्माले अध्यक्षमा दाबी गरेका थिए । तर परराष्ट्रमन्त्री राणाको समेत जोडबलमा श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष घोषित गरिएको थियो ।

एकता महाधिवेशन बहिष्कार गरेको केसी समूहले बालुवाटारस्थित केन्द्रीय कार्यालयबाटै सचिवालय चलाइरहेको छ। एकता महाधिवेशनमा नाममा नयाँ समिति आए पनि केसी समूह पनि सक्रिय हुँदा झन् समान्तर कमिटी देखिएका छन् ।

केसी समूह महाधिवेशन गर्दै

सर्वोच्च अदालतले २०८० चैत २१ गते एकता महाधिवेशनका लागि परमादेश दिएको थियो । ०८१ साउन २२ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले केसीकै समितिलाई काम गर्ने बाटो खोलिदिएको थियो । केसी अझै पनि आगामी अक्टोबरसम्म नेतृत्वमा रहनेछन् ।

तर समिति संयोजक डा. घलेले दोस्रो फैसला उत्प्रेषणको आदेश मात्रै भएको तर्क गरेका थिए । पहिलो फैसला परमादेश भएकाले एकता महाधिवेशन गराउने जिम्मेवारी पूरा गरेको घलेको तर्क थियो

घलेको एकता महाधिवेशनमा पूर्वअध्यक्षहरू देवमान हिराचन र भवन भट्ट पनि सहभागी भए । यो महाधिवेशनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र कुमार पन्तलगायत सहभागी भएनन् । उनीहरूले महाधिवेशनमा असहमति जनाउँदै बहिष्कार गरे ।

केसीले एकता महाधिवेशन चल्दै गर्दा विज्ञप्ति निकालेर त्यसमा आफ्नो संघको संलग्नता नरहेको बताएका थिए । उनले १२औं विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाण्डौंमा गर्ने बताइसकेका छन् । घलेको महाधिवेशनले एनआरएनए झनै विभाजित हुने उनको तर्क थियो

केसीले तालुकदार मन्त्रालयले (परराष्ट्र) २०२५ मे ३ देखि ५ सम्मको महाधिवेशन सार्न पत्र पठाइसकेको स्मरण गराएका थिए । उनले अदालतको अन्तरिम आदेश माग गरेर दायर भएको रिट विचाराधीन रहेकाले कुनै गतिविधि गर्न नमिल्ने कुरालाई ख्याल नगरी जारी एकतर्फी गतिविधिलाई एकता महाधिवेशन भन्न नसकिने बताएका छन् ।

श्रेष्ठ अध्यक्ष बनेसँगै केसी समूहका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएलाई पोलिटिक्स, पैसा र पावरको प्रभावबाट मुक्त गर्नुपर्ने बताए । उनले यो संस्था आमगैरआवासीय नेपालीको पहुँचमा पुर्‍याउने संघर्ष अझै बढी सार्थक बन्दै गएको तर्क गरेका छन् ।

यही विवादबीच गत बुधबार मात्रै केसी समूहले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई कन्क्लेभको औपचारिक निमन्त्रणा दिएको थियो। भेटका क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैरराजनीतिक संस्था बनाउनुपर्ने बताएका थिए ।

उनले संघले उठाएका जायज मागप्रति सरकार सधैं सकारात्मक रहेको उल्लेख गरेका थिए । संघका अध्यक्ष डा. केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धन लगायत विषयहरूमा केन्द्रित कार्यक्रम आयोजना गरिने जानकारी दिएका थिए ।

त्यसक्रममा अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको थियो। भेटमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह-कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, पत्रकार चिरन शर्मा र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायत थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : ४५ बजे

ट्रम्पको ‘उपहार’ प्रकरण : अमेरिकाको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचारको गन्ध

काठमाडौं– अमेरिकी सरकारको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचार र पदको दुरुपयोग

वैमनस्य बिर्सिँदै कांग्रेस-एमाले, बाजुराको विकासमा सहकार्य गर्न दुवै दलका नेताहरू सहमत

धनगढी– राजनीतिक लडाइँ र झगडाकै कारण चर्चामा रहने बाजुरालाई फरक

निजामती अस्पतालमै छन् ३ सय ७७ जना ज्यालादारी डाक्टर र नर्स

काठमाडौं– स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेका चिकित्सक र नर्स अस्पतालबाटै

भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ दिल्ली– भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा