काठमाडौं- बनेपा नगरपालिका–१० भैँसेपाटीमा निर्माण थाल्न लागिएको अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को मंगलबार बालुवाटारबाट शिलान्यास गरिएको छ ।
२०७७ देखि वातारणीय प्रभाव मूल्याङ्कन (इआईए) र बोलपत्र प्रक्रिया थालिएको यो स्टुडियोको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै शिलान्यास गरेका हुन् ।
बनेपासम्म पुग्ने सडकको दुरावस्थाका कारण स्टुडियो शिलान्यास (निर्माण घोषणा) का लागि बालुवाटारलाई रोजिएको हो । अहिले जगाती-साँगा-बनेपा सडक विस्तारका लागि कयौँ स्थानमा भत्काइएको छ ।
निर्माणको क्रममा रहेकाले यो सडकमा भीआईपी सवारी गराउन कठिनाई भएको छ । हिलाम्मे र धुलाम्मे अवस्थाको सडकका कारण स्थलमार्गबाट प्रधानमन्त्री बनेपा जान समस्या भएपछि बालुवाटारबाटै भर्चुअल शिलान्यास गरिएको हो ।
बनेपामा निर्माण हुने अत्याधुनिक इन्डोर फिल्म छायांकन स्टुडियोको नाम ‘सिनेपाः’ राखिएको छ। नेपालको पहिलो यस्तो स्टुडियोले विश्वस्तरीय प्रविधिमार्फत चलचित्र निर्माणलाई सहज बनाउने दाबी गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘सिनेपाः’ नाम ‘सिनेमा’ र नेवार समुदायले नेपाललाई जनाउने ‘पाः’ शब्दको संयोजनबाट रोजिएको बताए ।
बनेपा नगरपालिका वडा नम्बर १० र ११ मा निर्माण हुने यो स्टुडियो सन् २०२६ सम्ममा तयार हुने बताइएको छ । वैशाख पहिलो साता ठेक्का स्वीकृत भएसँगै निर्माण तीव्र पारिएको छ।
स्टुडियो निर्माणका लागि बाहुनडाँडा सामुदायिक वनको २ हेक्टर जग्गा प्रयोग गर्न २०७८ असार २८ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ छ ।
ओलीले मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहबीच स्टुडियो निर्माणको औपचारिक शुभारम्भ घोषणा गरेका छन्।
उनका अनुसार यो स्टुडियो नेपाली चलचित्रकर्मीको दशकौँ पुरानो सपना हो। स्टुडियोले स्वदेशी चलचित्र निर्माणमा सहजता ल्याउनुका साथै विदेशी निर्मातालाई पनि नेपालमा छायांकनका लागि आकर्षित गर्नेछ ।
यो परियोजनालाई चलचित्र विकास बोर्डले ‘नेपाली चलचित्र उद्योगको गौरव’ भनेको छ। स्टुडियोले प्राविधिक सीमितताका कारण नेपाली फिल्ममा देखिने समस्यालाई समाधान गर्ने विश्वास छ ।
यो अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’बनेपास्थित भैँसेपाटीमा निर्माण गरिनेछ । यहाँ सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन बनाइने छ । त्यसपछि सुटिङका लागि आवश्यक भवनलगायतका संरचना बनाइनेछ ।
‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण गरिने भएको छ । इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने प्रोटेबल सेटहरू निर्माण हुनेछन् ।
आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना बनाइनेछ ।
‘मिनी फिल्मी सिटी’ अवधारणाको यो स्टुडियो निर्माणका लागि सुरूमा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको पालमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको थियो ।
प्रतिक्रिया