धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो | Khabarhub Khabarhub

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि हिमाल (आठ हजार १६७ मिटर) मा पहिलोपटक मानव पाइला पुगेको आज ६५ वर्ष पूरा भएको छ ।

आजकै दिन अर्थात् सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । उक्त आरोहण दलमा नेपालबाट निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पा सम्मिलित थिए ।

नेपालका आठ हजार मिटरभन्दा माथिका आठ हिमालमध्ये म्याग्दीमा पर्ने धवलागिरि हिमालमा पहिलोपटक गरिएको आरोहणलाई नेपालको पर्वतारोणको इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गरिएको हो ।

६५औँ धवलागिरि आरोहण दिवसका अवसरमा ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले मङ्गलबार पोखरामा ‘धवलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया आयोजना गरेको हो । उक्त अवसरमा पर्यटनविद् समीर बरालले धवलागिरि क्षेत्रको पर्यटन विकासका अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धवलागिरि क्षेत्रलाई विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताए । ‘पर्यटकीय पूर्वाधार र प्रचारप्रसार हुन सकेमा धवलागिरि क्षेत्रको पर्यटनबाट मुलुकको ठूलो लाभ लिन सक्छ, स्थानीयवासीको जीवनस्तर पनि उकासिन्छ’, उनले भने, ‘अन्नपूर्ण चक्रीय पदमार्ग नासिँदै र छोटिदैँ गएका बेला धवलागिरि चक्रीय पदमार्ग त्यसको विकल्प बन्न सक्छ ।’ धवलागिरि हिमाल साहसिक पर्वतारोहीको आकर्षणमा पर्ने गरेको भन्दै उनले नेपालका अन्य हिमालको भन्दा भिन्दै आरोहण अनुभव धवलागिरिमा हुने गरेको बताए ।

‘धवलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त पनि मानिन्छ, त्यहाँको भू–बनोट र हावापानी अनौठो किसिमको छ, आधा/आधा घण्टामा मौसम बदलिइरहन्छ’, उनले भने । प्रकृति र संस्कृतिलाई जोडेर धवलागिरि क्षेत्रको पर्यटन प्रवर्द्धनको योजना बनाउनुपर्ने पर्यटनविद् बरालले बताए ।

ट्रेकिङ व्यवसायी विश्वहाङ राईले धवलागिरि चक्रीय पदमार्गमा पर्यटकीय पूर्वाधारको खाँचो रहेको औँल्याए । मानव बस्ती नै नभएको ठाउँमा पदयात्रा गर्नुपर्ने भएकाले ठाउँठाउँमा आश्रयस्थल निर्माण गर्नुपर्ने उनले बताए ।

पर्वतारोहण सङ्घ, गण्डकीका अध्यक्ष विकास गुरूङले गण्डकी प्रदेशमा १३३ वटा हिमाल रहेपनि तिनको उचित प्रचारप्रसार र प्रवर्द्धन हुन नसकेको बताए । हिमाल आरोहणमा विदेशी पर्यटकलाई आकर्षित गर्न सके गण्डकी प्रदेशले ठूलो आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डकाका वरिष्ठ अधिकृत युवराज गुरूङले पर्यटन विकासमा सरोकार भएका सबै पक्षको सहकार्य जरूरी रहेको बताए ।

‘सरकार, निजी क्षेत्र र समुदाय मिलेर नै पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिन्छ, नेपाल पर्यटन बोर्ड अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाउन र प्रवर्द्धन गर्न लागिपरेको छ’, उनले भने । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले गण्डकी प्रदेशमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । ‘प्रदेश सरकारले पर्यटनलाई सँधै उच्च प्राथमिकतमा राख्दै आएको छ’, उनले भने, ‘पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको सहकार्य जरूरी छ ।’

‘टान’ गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी प्रदेशमा पर्ने आठ हजार मिटरमाथिका धवलागिरि, अन्नपूर्ण र मनाश्लु हिमाल आरोहण दिवसमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्ने गरिएको बताए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा ६५औँ धवलागिरि आरोहण दिवस मनाइएको उनले बताए । रासस

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : ५७ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही