संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ | Khabarhub Khabarhub

उरुग्वेका पूर्वराष्ट्रपतिको सम्झना

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

जसले साधारण भएर पनि असाधारण काम गरे


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ । जोसे मुजिका, (उरुग्वेको राजकीय स्पेनिस भाषामा उनको नामको उच्चारण होसे मुहिका अनि हिन्दी उच्चारणमा जोस मुजिका पनि भनिन्छ), जसलाई सारा विश्वले ‘पेपे’ को उपनामले चिन्छ ।

सन् २०१० देखि २०१५ सम्म राष्ट्रपति बनेका उनी सरल जीवनशैलीका कारण चर्चित भए । उनी बितेर गए पनि उनले सिकाएको जीवनदर्शन, राजनीति र विनम्रताको पाठ विश्वमाझ आदर्श बनेर रहेको छ ।

मुजिकाले आफ्नो युवा उमेरमा टुपामारो क्रान्तिकारी संगठनसँग आवद्ध भएर सशस्त्र संघर्ष गरेका थिए । त्यहीकारण उनी लामो समयसम्म जेल जीवन बिताउन बाध्य भएका थिए ।

क्रान्तिकारी जीवन

मुजिकाको जन्म २० मे १९३५ मा उरुग्वेकै मोन्टेभिडियोस्थित एक साधारण परिवारमा भएको थियो । उनी सहर छेउको सामान्य बस्तीमा हुर्किए । उनी इटालियन र बास्क वंशको साधारण परिवारका सदस्य थिए ।

मुजिकाले बाल्यकालदेखि नै संघर्षको बाटो समाते । पाँच वर्षको हुँदा पिताको निधन भएपछि उनी र बहिनीले बगैँचामा काम गर्न थाले । उनले पढाइ पनि सुरु गरे । तर विद्यार्थी आन्दोलनमा लागेपछि कानुन अध्ययन अधुरै छोडे ।

सन् १९६० को दशकको प्रारम्भमा उनले राउल सेन्डिकद्वारा स्थापित वामपन्थी क्रान्तिकारी समूह टुपामारोमा सहभागी भए । जसको उद्देश्य उरुग्वेस्थित त्यसबेलाको कठोर शासनविरुद्ध संघर्ष गर्नु थियो ।

मुजिकासहित जोडिएको टुपामारोले केही वर्षमै देशमा हिंसात्मक गतिविधि थाल्यो । यो समूहले बैंक लुटपाट, आगजनी, राजनीतिक अपहरण र प्रहरी अधिकारीहरूको हत्यासमेत गर्ने गरेको थियो ।

त्यसक्रममा मुजिकालाई कयौँ पटक पक्राउ गरियो । सन् १९७१ मा एकजना प्रहरीको हत्या आरोपमा उनी दोषी ठहर भए । त्यसक्रममा उनी दुई पटक जेलबाट भागे । तर दुवैपटक पक्राउ परे ।

उनले जम्मा १४ वर्षले जेलमै बिताए । त्यसक्रममा उनले सैनिक तानाशाहीको समयमा अत्यन्त कठोर यातना भोगे । उनलाई लामो एकान्तवास राखियो । दुई वर्षसम्म इनारको तल्लो भागमा थुनेर राखियो । कैयौँ वर्ष जेलको कठोर एकान्तवासमा रहनु परेकाले उनको जीवनदृष्टिमा गहिरो असर पारेको थियो ।

त्यसक्रममा उनी बैंक लुटपाट, अपहरण, बम विस्फोटजस्ता कार्यमार्फत् सामाजिक वर्गविहीन समाजको सपना देख्थे । तर यो सपनाले उनलाई १४ वर्ष लामो जेल, कठोर यातना र लामो एकान्तवासमा पुर्‍यायो । त्यो समयलाई उनले एक अन्तरात्मासँगको संवादको अवसर मानेर बिताए ।

कृषकदेखि विनम्र राष्ट्रपति

सन् १९८५ मा लोकतन्त्र पुनर्स्थापनापछि मुजिका र उनकी जीवनसाथी लुसिया टोपालान्स्कीले सानो कृषि फार्ममा टमाटर र फूल बेच्दै नयाँ जीवन सुरु गरे ।

टुपामारोहरू लोकतान्त्रिक पार्टी एमपीपीमा परिणत हुन पुगे । पार्टीले वैधानिकता पाएको १० वर्षमै मुजिका संसद् सदस्य चुनिन सफल भए । तर पदले उनलाई कहिल्यै परिवर्तन गर्न सकेन ।

उनी साधारण कार्डिगन, चप्पल र पुराना पाइन्ट लगाएर मन्त्रिपरिषद् बैठकमा जान्थे । उनको पहेँलो र नीलो रंग मिश्रित भग्सवागन बिटल थियो । जसलाई उनले कहिल्यै बेचेनन् । यद्यपि उनलाई त्यो गाडी बेच्न १ मिलियन डलरको प्रस्ताव आएको थियो ।

राजनीतिक पुनरागमन

सन् १९८० मा प्रस्तावित नयाँ संविधानका लागि जनमत संग्रहमा अस्वीकृत भएपछि उरुग्वेमा तानाशाही शासन कमजोर हुँदै गयो । सन् १९८५ मा लोकतन्त्र फर्कियो । त्यस वर्ष सामान्य आममाफीअन्तर्गत मुजिका लगायत राजनीतिक बन्दीहरू रिहा भए ।

टुपामारोहरूले अब शान्तिपूर्ण राजनीति थाले । उनीहरू त्यसपछि फ्रन्ट एम्प्ल्यो (एफए) नामक वामपन्थी गठबन्धनमा आवद्ध भए । त्यसपछि उनीहरूले मोभमेन्ट अफ पपुलर पार्टिशिपेसन (एमपीपी) का नाममा कानुनी रुपमै पार्टी बनाए । त्यसपछि मुजिका यस पार्टीका प्रमुख नेताहरूमा गनिए ।

त्यसैबेला उनी आफ्नी पुरानी साथी एवम् क्रान्तिकारी नेतृ लुसिया टोपालान्स्कीसँग मिलेर मोन्टेभिडियो बाहिर एउटा फार्ममा बस्न थाले । उनीहरू सन् २००५ मा विवाह बन्धनमा बाँधिए ।

सांसद र मन्त्री यात्रा

सन् १९९५–२००० मा संसद्‍को तल्लो सदन (चेम्बर अफ रिप्रिजेन्टेटिभ) सदस्य

सन् २००० : सिनेटरमा निर्वाचित

सन् २००५ : राष्ट्रपति तबारे भाज्केजको मन्त्रिपरिषद्‍मा कृषिमन्त्री नियुक्त । साना किसान र ग्रामीण क्षेत्रको हितमा काम ।

सन् २००८ मा उनलाई सिनेटको अध्यक्ष बनाइयो ।

राष्ट्रपति यात्रा

उनी सन् २००९ मा ईपी-एफए गठबन्धनको राष्ट्रपतीय उम्मेदवार बने । उनीसँगै डानिलो अस्तोरी उपराष्ट्रपतिका उम्मेदवार भए ।

त्यस चुनावमा मुजिका अगाडि थिए । तर उनले पहिलो चरणमा बहुमत ल्याउन सकेनन् । उनको विगतको क्रान्तिकारी छवि र दक्षिण अमेरिकी नेताहरूको आलोचनाका कारण विवाद पनि जन्मायो ।

८९ वर्षको उमेरमा बित्नुअघि उरुग्वेका पूर्वराष्ट्रपति जोसे ‘पेपे’ मुजिका विश्वभर ‘सर्वाधिक गरिब राष्ट्रपति’का रूपमा चिनिन्थे ।

जसले आफ्नो अधिकांश तलब दान गर्थे । राष्ट्रपति भएपछि सरकारी सुविधासम्पन्न भवनमा बस्न अस्वीकार गरे । उनले आफ्नो पूरा जीवनभर एउटा पुरानो ‘भक्‍सवागन बिटल’ चलाएर बिताए ।

२५ अक्टोबर २००९ : पहिलो चरणमा बहुमत नल्याएपछि २९ नोभेम्बर २००९ मा दोस्रो चरणको चुनावमा ५२ प्रतिशत मतसहित लुइस लकाले हेरेरालाई हराएर राष्ट्रपति निर्वाचित ।

१ मार्च २०१० : राष्ट्रपति पद सम्हाले

१९८५ मा उरुग्वेमा लोकतन्त्र पुनर्स्थापना भएपछि उनले हिंसात्मक मार्ग छाडेर संस्थागत राजनीतिमा प्रवेश गरेका थिए ।

२०१०–२०१५ : उरुग्वेका राष्ट्रपति ।

राष्ट्रपतिकाल र समाजमा परिवर्तन

मुजिकाको कार्यकालमा उरुग्वेले अर्थतन्त्रमा निरन्तर वृद्धि गर्‍यो, बेरोजगारी दर पनि न्यून थियो । यस सफलताको पृष्ठभूमिमा उनले सामाजिक दृष्टिले प्रगतिशील कानुनहरू पनि ल्याए ।

जुन समयमा दक्षिण अमेरिकाका लागि अकल्पनीय रहेका समलिङ्गी बिहे र गाँजाको वैधताको निर्णय उनले सानो साहसले गरेका थिएनन् ।

उनको राष्ट्रपतीय कार्यकालमा उरूग्वेमा बेरोजगारी, गरिबी र बालमृत्युदर व्यापक मात्रामा घट्यो । यद्यपि, उनका सबै योजना सफल भएनन् ।

शिक्षा सुधार र पूर्वाधार परियोजना अधुरै रहे । केही वामपन्थीहरूले उनलाई बहुराष्ट्रिय कम्पनीहरूसँग निकट भएको भन्दै आलोचना पनि गरेका थिए ।

२०१२ : सरकारले गाँजालाई वैधता दिने प्रस्ताव गर्‍यो ।

२०१२ अक्टोबर : १२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता ।

२०१३ डिसेम्बर : गाँजाको उत्पादन, बिक्री र प्रयोगलाई नियमन गर्ने कानुन पारित । उरूग्वे गाँजालाई वैधानिक बनाउने विश्वकै पहिलो देश ।

२०१३ मे : समलैंगिक विवाहलाई वैधानिकता ।

राष्ट्रपतिपछि

संविधानत: उनी दोहोरो कार्यकालका लागि उम्मेदवारी दिन सक्दैन थिए । तर तबारे भाज्केजले जित निकाल्दा उनको लोकप्रिय शासनको ठूलो हात थियो ।

जोसे मुजिका एक विद्रोहीदेखि राष्ट्रपति बनेका व्यक्तित्व हुन् । उनले साधारण जीवन, सादगी र मानवतालाई राजनीतिको मूलमा राखेर सादगी जीवन बिताए ।

उनले आफ्नो जीवनकालमा राजनीति केवल शक्तिका लागि होइन, नैतिकता र जनसेवाका लागि पनि हुन सक्छ भन्ने देखाए ।

उनी भन्थे, ‘राजनीतिज्ञहरूले जनताजस्तै जीवन बाँच्नुपर्छ-विशेष वर्गजस्तै होइन । उनको छवि विश्वकै सर्वाधिक गरिब राष्ट्रपतिका रुपमा स्थापित भयो ।

एमिर कुष्टुरिकाले बनाएको वृत्तचित्रमा उनको सादगी जीवनबारे चर्चा गरिएको छ । उनीबारे सर्बियाली निर्देशक कुष्टुरिकाले ‘पेपे, एक सम्मानित जीवन’ नामक वृत्तचित्र बनाएका थिए । जसले उनलाई विश्वभर झनै चिनायो । जोसे मुजिकाको सादगी जीवनको दर्शनले विश्वभरका मानिसहरूलाई प्रेरित गर्‍यो ।

सर्बिया यात्रा

उनको मृत्युको खबर उरुग्वेका हालका राष्ट्रपति यामान्डु ओर्सीले मंगलबार सार्वजनिक गरे । उता सर्बियाली राष्ट्रपति अलेक्जाण्डर भुचिचले शोक व्यक्त गर्दै भने, ‘समानता र आममानिसको गरिमाका लागि लड्ने प्रतीक थिए मुजिका ।’

सन् २०१६ मा मुजिका सर्बिया आएका थिए । आफ्नो वृत्तचित्र बनाएका कुष्टुरिकासँग मिलेर मेकाभनिक (ड्रन्जगार्ड) क्षेत्र घुमेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘सर्बिया त बास्क क्षेत्रमा जस्तै लाग्छ ।’ त्यसपछि उनले सर्वियामा पारम्परिक पगडी र नुनको सत्कार पनि लिए ।

गरिब राष्ट्रपति

मुजिका एउटा सानो फार्ममा बस्थे । सन् १९८७ मा लिएको पुरानो ‘बुबु’ चलाउँथे । उनले आफ्नो सबै तलब मानवसेवामा लगाए । राष्ट्रपतिको विलासी जीवनशैली अस्वीकार गरेर साधारण जनता जस्तै बाँचे । उनको सरल जीवन र सादगी विचारले विश्वव्यापी सम्मान दिलायो ।

उनले ‘गरिबीको नयाँ परिभाषा नै दिलाएका थिए । भन्थे, ‘गरिब त्यो होइन जसको थोरै छ, गरिब त्यो हो जसलाई अझ धेरै चाहिन्छ ।’

मुजिका महिनाको १२ हजार ५०० डलर तलबमध्ये ९० प्रतिशत दान गर्थे । उनी भन्थे, ‘१२ सय डलर नै मलाई पर्याप्त छ ।’

उनको जीवनशैलीले भ्रष्टाचारमुक्त, लोकप्रिय र निःस्वार्थ नेताको आदर्श प्रस्तुत गर्‍यो । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले उनीबारे भनेका थिए, ‘एक्स्ट्रअर्डिनरी क्रेडिबिलिटी ।’

ओबामाले उनलाई यस विशेषणले सम्मानित गर्नुमा कुनै औपचारिक कूटनीतिक बखान मात्रै थिएन। यो एक सच्चा नेताप्रति दिइएको श्रद्धा पनि थियो । जसले सत्ता, पद वा धनभन्दा मानवता, इमानदारी र सरलताको मूल्य राखे ।

उनले तलबको ९० प्रतिशत दान मात्रै गरेनन्, गाडी, महल र सुरक्षाकर्मीसमेत अस्वीकार गरे । उनी कठिन प्रश्नहरूमा स्पष्ट र सिधा उत्तर दिन्थे, लोकप्रियता गुम्ने डर कहिल्यै लिएनन् ।

उनले आफ्नो क्रान्तिकारी विगतलाई लुकाएनन्, बरु त्यसबाट पाठ सिकेर लोकतान्त्रिक राजनीतिमा सशक्त उदाहरणका रुपमा विश्वभर चिनिए ।

जब एउटा नेताले बोलीले होइन, कर्मले इमानदारी प्रमाणित गर्छ, तब त्यस्तो व्यक्तिलाई ‘एक्स्ट्राअर्डिनरी क्रेडिबिलिटी’ भनिन्छ। बाराक ओबामाले उनलाई यही उपमा दिएर प्रशंसा गरेका थिए ।

प्रेरणा

राष्ट्रपति पदबाट निवृत्त भएपछि पनि उनले राजनीतिक, सामाजिक बहसहरूमा भाग लिन छाडेनन् । युवा, सामाजिक कार्यकर्ता र राजनीतिकर्मीका लागि उनी नैतिक पथप्रदर्शक बनिरहे ।

मुजिकाले सन् २०१५ पछि पनि सक्रिय राजनीति र सामाजिक संवाद जारी राखेका थिए । उनले दक्षिण अमेरिकामा सनसनी मच्चाइरहेको कोलम्बियाको फार्क विद्रोही समूहसँग वार्ताका लागि मध्यस्थता गरे । उनले सञ्चारमाध्यममा पनि राजनीतिक चिन्तन राखिरहे ।

उनी राजनीति र नैतिकता सँगसँगै हिँड्न सक्छन् भन्ने उदाहरणका रुपमा स्थापित भए । कुष्टुरिकाको बृत्तचित्र : ‘पेपे, एक सम्मानित जीवन’ सन् २०१४ अर्थात् उनको कार्यकालको अन्त्यतिर छायांकन थियो । उक्त वृत्तचित्रमा मुजिकाको दिनचर्या, सादा जीवनशैली, उनको फार्म र यात्रा देखाइएको छ ।

जोसे मुजिकाको जीवन एक क्रान्तिकारीबाट अत्यन्त विनम्र राष्ट्रपतिसम्मको यात्राको उचाइसम्म पुग्यो । आज पनि त्यो मान्छेले नै नेतृत्व गर्न सक्छ भन्ने आशा दिन्छ, जसले आफ्ना आदर्शहरू नबिर्सेको होस् ।

जोसे मुजिका एउटा नेता मात्रै थिएनन्, उनी एक जीवन दर्शन थिए । उनले देखाए- सच्चा नेताले महल होइन, जनताको मनमा स्थान बनाउने हो । उनको निधनले केवल एक राजनेताको अन्त्य मात्रै होइन, सत्यमार्गी राजनीतिको एक अध्याय पनि समाप्त भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : २६ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा