काठमाडौं- नेपाली कांग्रेसमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र विजयकुमार गच्छदारपछि भ्रष्टाचारको ठूलो मुद्दा खेप्ने नेता बनेका छन् मोहनबहादुर बस्नेत ।
२०७९ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन सूचना तथा सञ्चार मन्त्री उनीसहित १६ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएपछि बस्नेतको सांसद पद पनि स्वत: निलम्बन हुने भएको छ ।
बस्नेत २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अग्नि सापकोटासँग पराजित भएपछि २०७९ मा क्षेत्र नै फेरेर २ मा पुगेका नेता हुन् । २०७९ मा उनले माओवादीसँग मिलेर नेकपा एमालेका शेरबहादुर तामाङलाई हराएका थिए ।
२०७४ को चुनावअघि सञ्चारमन्त्री बनेका बस्नेत त्यही बेला खरिद अघि बढाइएको टेरामक्स प्रकरणको भ्रष्टाचारमा मुछिएका हुन् । उनी त्यसपछि २०७९ मा चुनाव जितेर २०८० वैशाखमा स्वास्थ्यमन्त्रीसमेत भए ।
उनै पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहितका १६ व्यक्ति र कम्पनीविरुद्ध अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वमन्त्री बस्नेत, प्राधिकरणका तत्कालीन अध्यक्ष झा र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्रविरुद्ध एउटै बिगो कायम गरेर मुद्दा चलाइसकेको छ ।
पाएका थिए मुद्दा चल्ने संकेत
सत्तारुढ नेपाली कांग्रेसका सांसद बस्नेत कुनैबेला सभापति शेरबहादुर देउवाका निकट नेतामध्ये एक थिए । तर पछिल्लो समय उनी नेता डा. शेखर कोइरालाको क्याम्पमा पुगेको चर्चा थियो । देउवा पत्नी एवम् परराष्ट्रमन्त्री डा. आरजु राणासँग उनको सम्बन्ध पछिल्लो समय बिग्रिएको बताइएको थियो । यस्तोमा उनले गत वैशाख २३ गते मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आफूमाथि मुद्दा चल्ने सूचना आएको बताएका थिए ।
सरकारले गत वैशाख १९ गते संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल १६ मिनेट १९ सेकेन्ड लामो भाषण दिएका उनले आफूमाथि मुद्दाको तरबार झुन्डिसकेको बताएका थिए ।
उनले त्यसबेला नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेकोमा खेद प्रकट गरेका थिए । आफ्नै दलका नेता रमेश लेखक गृहमन्त्री भए पनि उनले सरकारको उक्त कदमको कडा आलोचना गरेका थिए ।
उनले त्यस दिन संसद्मा चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाहीकोसमेत सरकारसँग माग पनि गरेका थिए ।
सांसद बस्नेतले गृहमन्त्री लेखकले जवाफ दिने जानकारी पाएको बताउँदै यसबारे धेरै नबोल्ने बताएका थिए । रेशमबारे कुरा राख्दाराख्दै उनले नेपालमा प्रतिशोधको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको दाबीसहित आफूमाथिको संकटको संकेत गरेका थिए ।

उनले त्यस दिन संसद्लाई सबैभन्दा कमजोर बनाउन खोजिएको दृष्टान्त प्रस्तुत गरे । ‘नेपाली कांग्रेसका नेता, २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानजी कुनै बेला पार्टीबाट बाहिरिनुपर्ने अवस्था थियो,’ उनले भनेका थिए ।
यस्तो अवस्था अन्य पार्टीमा पनि रहेको जिकिर त्यसदिन उनले गरेका थिए । ‘एमालेभित्र संस्थापक नेता कति बाहिरिए कति बाहिरिए, माओवादीभित्र बाबुराम भट्टराई र मोहन वैद्यजी कहाँ हो कहाँ हो थाहा छैन,’ उनले भनेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पनि समस्या रहेको उनको तर्क थियो । ‘राप्रपाभित्र कमल थापाजी चुनाव हारेपछि अर्को पार्टी खोलेर अध्यक्ष भइहाल्नुभयो । रास्वपामा पनि राजीनामा प्रकरण सुरु हुन थाल्यो,’ बस्नेतले त्यस दिन भने ।
मधेशकेन्द्रित राजनीतिक दलभित्र रहेको समस्या पनि देखिँदै गएको उनको तर्क थियो । यस्ता गतिविधिलाई उनले राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए । ‘प्रतिशोध सबैभन्दा पहिले आफ्ना पार्टीकाले आफ्नालाई सिध्याउने, त्यसपछि अर्काका पार्टीलाई सिध्याउने,’ उनले वैशाख २३ मा भनेका थिए ।
यस्तो प्रतिशोधमा नफस्ने हो भने सक्रिय काम केही पनि गर्न नहुने उनले ब्याख्या गरे । चुप लागेर बस्ने, सबैको कुरा हो भनिदिए प्रतिशोधमा नफस्ने तर, त्यस्तो व्यक्ति गतिलो नेता बन्न नसक्ने सांसद बस्नेतको तर्क थियो ।
‘गतिलो काम गर्न खोजे जो कोही पनि प्रतिशोधको सिकार हुन सक्छ,’ सांसद बस्नेतले भनेका थिए । गतिलो काम गर्न खोज्ने कर्मचारीलाई मुद्दा लाग्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता जनाएका थिए ।

सत्तापक्षलाई परे प्रतिपक्ष हाँसिदिने र प्रतिपक्षलाई परे सत्तापक्ष हाँसिदिने प्रवृत्तिले प्रतिशोधको राजनीतिलाई मलजल गरिरहेको उनले बताएका थिए ।
‘म पनि लागेको कुरा प्रष्ट बोल्न पर्ने मान्छे । पार्टीभित्र पनि खप्नु पर्छ, बाहिर पनि खप्नु पर्छ,’ उनले भनेका थिए, ‘कहिले को छिर्ने, कहिले को छिराउने, कहिले कसलाई मुद्दा लगाउने जस्तो चलिरहेको छ । यसबाट म आफैं पनि सुरक्षित रहेको अवस्था छैन ।’
बस्नेतले अगाडि भनेका थिए, ‘यहाँ म पनि अछुतो रहन्नँ । पालो कहिले आउँछ भन्ने मात्रै हो । तपाईंहरू कोही अछुतो रहनुहुन्नँ ।’
सक्रिय राजनीतिक जीवन, महत्वकांक्षी जीवन र मुलुकलाई केही गर्ने खोज्नेहरू कोही पनि प्रतिशोधको सिकार हुन सक्ने उनले त्यसदिन बताएका थिए ।
यस्तो परिस्थितिमा सुधार गर्न पार्टीभित्र र बाहिर दुस्मन नभएर सहयात्री, सहकर्मीका रूपमा भ्रातृत्वको भावना विकास गर्न आवश्यक रहेको उनको तर्क थियो । अन्यथा, प्रतिशोध बढेर गए त्यसले राम्रो नगर्ने उनले बताएका थिए ।
‘…होइन भने, प्रतिशोधको राजनीति बढेर नेपालको राजनीति पाकिस्तानी मोडेलमा गइसक्यो’, उनले डर र चिन्तासहित भनेका थिए, ‘जो सत्तामा बस्छ उसले निक्लिनेबित्तिकै जेल जानुपर्छ, त्यो हिसाबकिताब गरेर गुन्टा ठिक्क पारेर बसे हुन्छ ।’
प्रतिक्रिया