पर्यटकको रोजाइमा 'गर्मी ठाउँका शीतल गन्तव्य' | Khabarhub Khabarhub

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म लागेर के गर्नु, यहाँ यस्तै पर्यटकीय गन्तव्यहरू छन् । तराईको उखरमाउलो गर्मी छल्न यस्ता ठाउँ पुग्नेहरू अचेल बढ्दै गएका छन् । यहाँको  इच्छाकामना गाउँपालिकाले यस्ता शीतल पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गरिरहेको छ ।

जिल्लाका पहाडी भूभाग गर्मी मौसममा पनि शीतल हुने गर्छन् । भरतपुरको चौकीडाँडा, कालिका र राप्ती नगरपालिकाको पहाडी भूभागसँगै इच्छाकामनाको अधिकांश भूभागमा शीतल हुने गरेको छ । 

तीमध्ये धेरैको रोजाइ यही पालिकाका पर्यटकीय गन्तव्यहरू पर्ने गरेका छन् । गाउँपालिकाले यहाँ हरेक वर्ष करिब तीन लाखसम्म पर्यटक घुम्न र बस्न आउने अनुमान गरेको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ नारायणगढ मुग्लिन सडक नजिकैको लामो झरनामा गर्मी मौसममा धेरै आन्तरिक पर्यटक आउने गरेको बताउछन् । वडा नं ६ मा पर्ने यस झरनामा वार्षिक करिब ६० हजार पर्यटक घुम्न आउने गरेको उनले सुनाए । ‘माथिबाट झरेको चिसो पानीको झरनामा नुहाउन र पौडी खेल्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको तथ्याङ्क छ । यसबाट वार्षिक २५ लाख रुपैयाँसम्म राजस्व सङ्कलन हुने गरेको छ’, अध्यक्ष गुरुङले भने । 

यसैगरी, जिल्लाको पुरानो सदरमुकाम उपरदाङ्गगढी सोही गाउँपालिका–७ मा पर्दछ । यसको पुनः निर्माणका काम भइरहेको अध्यक्ष गुरुङ बताए । ‘उपरदाङ्गगढी कसले बनायो, किन बनायो र त्यसको आवश्यकता के हो ? भन्ने पुष्टि हुनेगरी पुनर्निर्माण गरिरहेका छौँ । गढीमा जीर्ण अवस्थामा रहेको कोतघर पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ । पुराना विभिन्न किसिमका हातहतियार र वेशभूषा त्यो घरमा राख्ने मुख्य उद्देश्य रहेको छ’, उनले भने । 

गढी वरिपरि रहेका घरबास (होमस्टे) गर्मीयाममा पर्यटकले रुचाउने गन्तव्य हुन् । बिदाको समयमा यस क्षेत्रका होमस्टेमा ठाउँ पाउन मुस्किल हुने गरेको छ । उपरदाङ्गगढी क्षेत्रमा वार्षिक ३५ हजार बढीले अवलोकन गर्ने र करिब १५ लाख रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । 

जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली वडा नं १ रहेको छ । यसको संरक्षण र प्रवर्द्धनका लागि पनि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने र सरसफाइ गर्ने काम गरिराखेको छ ।

‘यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएका छन् । नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ’, अध्यक्ष गुरुङले भने, ‘थप झन्डा राख्ने, स्तम्भहरू बनाउने, अन्य सानातिना पूर्वाधार बनाउने काम गरिरहेका छौँ । यहाँको सौन्दर्य नबिगार्ने गरी संरचना बनाउने काम गरिरहेका छौँ ।’

यहाँबाट चितवनसहित छिमेकी जिल्लाका धेरै जसो हिमाल, समथर भूभाग देखिने र चिसो हावा चलिरहने भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँ वार्षिक करिब १० हजार पर्यटक आउने गरेका गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए। 

इच्छाकामना–२ मा पर्ने अर्काे पर्यटकीय गन्तव्य हो, मायाँटार । यहाँ भरतपुरबाट धेरै पर्यटकहरू रात बिताउन पुग्छन् । स्थानीय जातका कुखुरा, खसी र स्थानीय परिकारका सौखिनहरूका लागि यो ठाउँ लोकप्रिय छ । चिसो ठाउँ भएकाले एक रात भए पनि बिताउन यहाँ पर्यटक पुग्ने गरेका हुन् । यसको नजिकै देवीदेवताका थान छन् । 

त्यहाँ दर्शन गर्न पर्यटकहरू पुग्ने गरेका छन् । त्यहाँको बालगौरी थानमा पूजा गरेमा निःसन्तानले सन्तान प्राप्त गर्छन् भन्ने विश्वास छ । गाउँपालिकाको चिसापानीगढीको जङ्गलमा पैदलयात्रा गर्न रुचाउनेहरू पनि आउने गरेको अध्यक्ष गुरुङ बताउँछन् । चिसापानीबाट उपरदाङ्गगढी हुँदै सिराइचुलीसम्म जाने पैदलमार्ग पनि बनेको छ । 

पालिकाको इच्छाकामना मन्दिर वडा नं २, ३, ४ र ५ को सङ्गमस्थलमा पर्दछ । यहाँ धेरै जसो भारतीय पर्यटकहरू आउने गरेका छन् । अध्यक्ष गुरुङले भने, ‘काठमाडौँ, भक्तपुर, ललितपुबाट धेरै आउने गरेका छन् । वार्षिक ५० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेका छन् ।’

मन्दिरका पुजारीलाई तलब दिएर राखिएको छ । त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको  छ । 

गाउँपालिकाका उपाध्यक्ष माया सिलवालका अनुसार गाउँपालिकाको राजमार्ग क्षेत्रमा ठूला होटल भए पनि पर्यटकले ग्रामीण क्षेत्रका साना होटल र होमस्टेमा बस्न रुचाउँछन् ।

‘हात्तीवाङको चेपाङ होमस्टे, मायाँटार, उपरदाङ्गगढीमा गुरुङ होमस्टेहरू छन् । मायाँटार जलबिरेमा होमस्टे छन् । पर्यटकीय गन्तव्यका वरिपरि सामुदायिक होमस्टेहरु छन् । सुन्तला फल्ने समयमा बोटबाटै सुन्तला खानसमेत यहाँ पर्यटक आउने गरेका छन्’, उनले भने । 

उपाध्यक्ष सिलवालले हाल गाउँपालिका क्षेत्रमा करिब १०० होमस्टे रहेका छन् । होमस्टेका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेत पर्यापर्यटनको हिसाबले इच्छाकामना महत्वपूर्ण रहेको बताउछन् । गर्मी क्षेत्र नजिकको शीतल गन्तव्य भएकाले पालिका उच्च प्राथमिकता दिएर त्यस्ता स्थानको प्रवर्द्धन र प्रचारप्रसारमा लागेको उनी बताउछन् । 

‘यसै पालिकामा मनकामना केबुलकारको स्टेसन छ । त्यहाँबाट वार्षिक १० लाखभन्दा बढी पर्यटक मनकामना मन्दिर पुग्ने गरेका छन् । उचित प्रचारप्रसार हुन सकेमा इच्छाकामनाका पर्यटकीय गन्तव्यमा आन्तरिक र बाह्य पर्यटक बढाउन सकिन्छ’, बस्नेत भन्छन्। 

गाउँपालिकाले लगानी सम्मेलन गरेर ठूला लगानीकर्तालाई पनि पर्यटकीय गन्तव्यमा होटल खोल्न प्रोत्साहित गर्ने तयारी गरेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : १३ बजे

आज २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले