म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ ।
भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् ।
मङ्गलबार सम्पन्न प्रतियोगितामा कान्छीगाउँ विजयी भएको छ । प्रतियोगिता मुन्का डाँडामा भएको थियो । सयौँ स्थानीय सहभागी प्रतियोगितामा भूमेपूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले बताए ।
पुख्र्यौली सोरठी भाका र नाचका साथै पञ्चेबाजासहित भूमेपूजाको लिङ्गो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका पाँच सय गाउँले सहभागी थिए ।
मौलिक ग्रामीण परम्परा भूमेपूजा र लिङ्गो जुधाएको हेर्ने अधिक दग्नामीहरू रहेको वडाध्यक्ष गर्बुजाले बताए ।
मङ्गलबार बिहान भूमेपूजापछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले लिङ्गो जुधाएका हुन् ।
प्रतियोगितामा सिँगारिएका अग्ला बाँस जुधाइन्छ । प्रकृति पूजाका रूपमा मगर समुदायले भूमेपूजालाई महत्व दिँदै आएका छन् ।
दग्नामवासीले हरेक वर्ष जेठको पहिलो वा दोस्रो मङ्गलवारका दिन बाढीपहिरो र प्राकृतिक प्रकोपबाट बाली जोगियोस् भन्ने कामनाका साथ भूमेपूजा गर्दै आएका छन् ।
प्रतिक्रिया