विपन्नका लागि आम्दानीको स्रोत बन्दै काफल « Khabarhub

विपन्नका लागि आम्दानीको स्रोत बन्दै काफल


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

तानसेन– यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन् । गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनी बताइन्। 

‘स्कूलबाट घर पुग्दा आमा बुवाले काफल टिपेर राखिदिनुहुन्छ, अर्को दिन त्यही काफल बोकेर बिक्री गर्न नजिकैको पसलमा लैजान्छु, कहिले सडकमा गएर बस्छु, गाडीका यात्रुले किनेर लैजानुहुन्छ,’ उनले भनिन्। चैतको पहिलो हप्तादेखि वैशाख अन्तिमसम्म बिहान बेलुका काफल टिपेर बेच्दै आएको उनले बताइन्। दैनिक चार सयसम्मको काफल बेच्ने गरेको उनको भनाइ छ । 

अर्का छात्र मनिष सारुले पनि घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन काफल बेच्दै आएका छन् । 

‘सँगैका साथीहरू काफल बेच्न हिँडेका छन्, राम्रै पैसा घर लान्छन्’, उनले भने, ‘सिजनको फल भएकाले सबैको आम्दानीको स्रोत बनेको छ काफल ।’

उनीहरु जस्ता धेरै बालबालिकाको पढाइ काफलसँग जोडिएको छ । सिजनको समयमा बिहान-बेलुका धेरै बालबालिका देवगिर, दकमडा, तानसेनका सडकहरूमा काफल बेच्दै गरेका भेटिन्छन् । 

जिल्लाको माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका ६० बढी बालबालिका काफल बेच्ने गर्छन् । कालिका मावि मुझुङमा पढ्ने सुदिप सोमरे र प्रदीप कनौजेले काफल बेचेरै कापी कलम जोहो गर्छन् । बुटवल, भैरहवा र काठमाडौँ जाने यात्रुले मौसमी फलका रूपमा काफल किन्छन् । बालबालिकाहरूले मात्रै होइन अभिभावकले समेत काफल बिक्री गरेर अन्नको जोहो गर्छन् । 

माथागढी गाउँपालिकाको शिकारकोटकी ६५ वर्षीया वसन्ती दर्लामीले यस पटक एक महिनामा काफल बिक्री गरेर वर्ष दिनलाई पुग्ने अन्न जोहो गर्छिन्। 

‘यो सिजनमा बिक्री गरेको काफलबाट आएको पैसाले एक वर्षलाई पुग्ने नुन, तेल, चिनी र दाल किनिसकेकी छु’, दर्लामीले भनिन्। गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि शिकारकोटको मात्र नभई देवगिरका एक सय बढी परिवारका लागि आम्दानीको स्रोत बनेको छ, काफल । 

चैतको पहिलो सातादेखि वैशाखको तेस्रो सातासम्म यहाँका अधिकांश सर्वसाधारण काफल टिप्न व्यस्त हुन्छन् । स्थानीयले  व्यापारीलाई प्रति माना ८० का दरले बिक्री गर्छन् । माथिल्लो शिकारकोटका २० भन्दा बढी घर परिवारले पहिलो दिन काफल टिपी भोलि बिहानै मिर्मिरेमा डोकोमा बोकी हुलै भएर खहरे, सराइ, दमकडा बजारका बस्ती–बस्तीमा पुगी मौसमअनुसार एक सयदेखि दुई सयसम्ममा प्रति माना बिक्री गर्ने गरेको स्थानीय बुधमाया घर्ती बताउँछिन्।


 ‘पहिला–पहिला काफल बेच्न अहिले जस्तो सजिलो थिएन । काफल र अन्न, गहुँ, मकै, चामलसित बराबरी साट्नका लागि पोखराथोक, चिदीपानी, नायर नमतलेस, मदनपोखरा जस्ता बस्तीमा पुग्नुपथ्र्यो’, उनले भनिन् अहिले आफ्नै टोल, घरबाट गाडीमा बसेर तानसेन–बुटवल जस्ता सहरमा लैजाँदा दैनिक चारदेखि छ हजारसम्म कमाइ हुन्छ ।’ 

देवगिरकी स्थानीय गीता बरालले गत वर्ष काफल बिक्रीबाट ४० हजार कमाइन्। यस वर्ष कम फलेका कारण २०-२२ हजार मात्रै आम्दानी हुने उनको अनुमान छ ।

यहाँका काफल बुटवल, तानसेन, बुटवलका बजारसम्म  बिक्रीका लागि लगिने गरिन्छ । देवगिरका स्थानीय व्यापारी बालकृष्ण न्यौपानेका अनुसार गतवर्ष मात्रै काफल बिक्रीबाटै गाउँमा रु २५ लाख भित्रिएको थियो । 
 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १ : ५९ बजे

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी