काठमाडौं – मल्टिस्टार फिल्म ‘कल्ली’को प्रदर्शन मिति हेरफेर गरिएको छ । घोषणा गर्दा यो फिल्म चैत २९ बाट प्रदर्शनमा आउने बताइएको थियो ।
निर्माण पक्षले आइतबार दुई नयाँ पोस्टर सार्वजनिक गरी फागुन १ लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक एक पोस्टरमा नायक सौगात मल्ललाई एकल प्रस्तुत गरिएको छ । उनी क्रोधित मुद्रामा रगतले लतपत्तिएको भाला प्रहार गर्न लागेको अवस्थामा छन् । उनको पृष्ठभूमिमा पाटे बाघ देख्न सकिन्छ ।
दोस्रो पोस्टरमा पनि सौगातलाई विशेष स्थान दिइएको छ । अन्य कलाकार नायकहरु अपर्ण थापा, नाजिर हुसेन, उत्तम प्रधान, सलक्षण भारती र नायिका वेनिशा हमालको भन्दा सौगातको तस्बिर ठूलो छ ।
यसले मल्टिस्टारर ‘कल्ली’को शीर्ष नायकमा सौगात रहेको संकेत गर्छ । तथापि निर्माण पक्षले यसबारे खुलाएको छैन ।
निर्माण पक्षका अनुसार सबै कलाकारले निर्वाह गरेको चरित्र खुलाउने उद्देश्यले यी पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरले यो फिल्मको कथा केही वर्ष पूरानो रहेको संकेत गर्छ ।
मानिसमा लोभ पलाएपछि उसको जिन्दगीमा हुने उत्तार चढावको कथा यस फिल्म बनेको निर्माण पक्षले बताएको छ ।
लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
यस फिल्ममा निर्देशन र कथा लक्ष्मण सुनारको हो भने पटकथा महेश दवाडीले लेखेका हुन् ।
प्रतिक्रिया