काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिक जीवनमा फर्किसकेका छन् । उपाध्यक्ष बनिसकेका उनी अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै मध्यपहाडी लोकमार्गको यात्रामा छन् । राजनीतिमा पुनको कमब्याकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किने ढोका खोलिदिएको छ ।
पुनको कमब्याकपछि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चारकर्मीले एमालेमा फर्किनेबारे जिज्ञासा राखे । उनले सहजै उत्तर दिइन्, ‘म त सक्रिय नै छु, राजनीतिमै छु ।’
चीनको दश दिने भ्रमण सकेर फर्किएकी भण्डारी यतिबेला गृहप्रदेश कोशीको यात्रामा निस्किएकी छन् । यसअघि पनि उनले कोशीको यात्रा गरेर एमालेका नेता–कार्यकर्ताको नाडी छामिसकेकी छन् । शुक्रबार मोरङका उपप्रमुख तथा उपाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै भनिन्, महिलालाई पछाडि धकेल्ने प्रवृत्ति अझै कायम छ ।
गठबन्धन राजनीतिले महिला नेतृत्वको अवसरलाई खुम्च्याइरहेको उनको तर्क थियो । महिलाको सक्रियता र हैसियतमा असर परेको उनले बताइन् । राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य र समावेशिता जोगाउन महिला नेतृत्वलाई मजबुतीका साथ अगाडि बढाउनुपर्ने जोड उनले गरिन् ।
मोरङको बसाइका क्रममा भण्डारी बेलबारीमा समेत पुगिन् । त्यहाँ उनले विद्यालयमा शिक्षिका भएका बखतका सहपाठीहरुसँग पनि भेटघाट गरिन् । पञ्चायतकालमा भण्डारीले बेलबारीको नक्सलबारीस्थित प्राथमिक विद्यालयमा शिक्षिका बनेर केही वर्ष काम गरेकी थिइन् ।

बेलबारीका पूर्वमेयर एवं कोशी प्रदेशका वर्तमान सदस्य ज्ञानेन्द्र सुवेदीकी आमालाई श्रद्धाञ्जली दिन पुगेकी भण्डारीले एमालेका पुराना नेता एवं पूर्वसांसद हर्कमान तामाङसँग पनि भेट गरिन् ।
भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बाँकी जीवन बिताउने पक्षमा छैनन् । उनको अभिव्यक्तिले एमालेको नेतृत्व लिने इच्छातर्फ प्रष्ट सङ्केत गरिसकेको छ ।
शुक्रबार विराटनगरमा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले राजनीतिक सक्रियता कायमै रहेको बताइन् । एमालेको नेतृत्व लिनेबारे पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘समय आएपछि बोल्छु ।’
राजनीतिक वृत्तमा तरङ्ग पैदा गरिरहने दल हो, एमाले । यी तरङ्गले जनताको जीवनमा सकारात्मक, नकारात्मक दुवै कोणबाट प्रभाव पारिरहन्छ । एमालेका महासचिव शङ्कर पोखरेल निरन्तर सामाजिक सञ्जालमा सक्रिय छन्, उनैले लेखेका थिए– ‘एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी हो ।’ जीवन्त पार्टीमा उतारचढाव र तरङ्ग अवश्यै हुन्छ । यो सर्वमान्य सिद्धान्त हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणपछि एमालेमा पैदा भएको तरङ्गलाई हलुका लिने कि बुझ पचाउने ? एमालेभित्र यी दुवै लाइनका विश्लेषण छन् । एमालमो र बाहिर पनि विद्या भण्डारीको सक्रियताले नायाब परिवर्तनको स्थिति देखा पर्ने अनुमान गर्न थालिएको छ ।
राजनीतिक विश्लेषक प्रा.डा. टङ्कप्रसाद न्यौपाने पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन असुहाउँदिलो भएको बताउँछन् । ‘भ्रमणमा निस्कनु, कताकता घुम्नु त ठीकै हो, राजनीतिमा आउने र नेतृत्व लिने विषय सुहाउँदैन’, उनले तर्क गरे ।
अर्का विश्लेषक डा. बद्रीविशाल पोखरेलको यसमा फरक मत छ । उनी विद्या भण्डारीलाई जबज (जनताको बहुदलीय जनवाद) को ‘जिन’का रूपमा अर्थ्याउँछन् । भन्छन्, ‘विद्या भण्डारी पक्षमा माहोल दिनप्रतिदिन बढिरहेको देखिन्छ । सम्भवतः एमालेमा त्यस्तो ‘टावर पर्सनालिटी’ अरू छैनन् । विद्या भण्डारी जबजको जिन हुन् ।’
विद्या भण्डारीजत्तिको व्यक्तित्व राजनीतिमा आउँदा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि देशको प्रभाव अग्लो हुने प्रा.डा. पोखेरेलको मत छ । ‘एमालेमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीपछि पूर्वराष्ट्रपति भण्डारीका अलावा पार्टीलाई प्रभावशाली बनाउने व्यक्तित्व अरू कोही छैन’, उनी भन्छन्, ‘आवश्यकता नै आविष्कारको जननी हो भन्ने देखिन्छ ।’
प्रा.डा पोखरेल थप्छन्, ‘उहाँको भेटघाट र चहलपहल बढेको छ । यसलाई विभिन्न दृष्टिकोणमा चर्चा गरिएको छ । पछिल्लो समय राजनीतिमा सक्रिय हुने कुरा उहाँले आफैँले खुलेर गर्नुभयो । आवश्यकताले, अनिवार्यताले, अपरिहार्य देखेर उहाँले सक्रियता बढाउनु भएको भन्ने मेरो अनुमान छ ।’
देशैभरि एमालेभित्र पाकिरहेको खिचडीबारे पूर्वराष्ट्रपति भण्डारी जानकार छिन् । ‘यो खिचडी धेरै पाक्यो भने भाँडाभरि हुन्छ र भुइँमा पोखिन्छ । पश्चिम बङ्गालको भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीजस्तो हालत हुन्छ भन्ने कुरा विद्या भण्डारीले बुझ्नु भएको होला जस्तो मलाई लाग्छ’, प्रा.डा. पोखरेल भन्छन् ।
देशका प्रमुख पार्टीमध्ये एक हो एमाले । बलियो र ठूलो पार्टी कमजोर भए देशमाथि बाह्य हस्तक्षेप बढ्छ । गणतन्त्रमाथि नै अहिले ‘हाहा र स्युस्यु’ भइरहेको छ । पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानपूर्वक बोलाएर चीनले सम्बन्ध बढाउन खोजेको प्रा.डा. पोखरेलको तर्क छ ।

‘नेपालभित्रको राजनीतिमा कहीँ न कहीँ चीनको गम्भीर चासो छ भन्ने बुझिन्छ,’ उनी भन्छन्, ‘चीनले नेपालको बाटो हुँदै दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गर्न बहुतै गम्भीर प्रयत्न गरिरहेको छ । चीन पहिलेजस्तो चुपचाप बस्ने अवस्थामा छैन । सबै हिसाबले समृद्ध र विश्वको पहिलो शक्ति बन्दै गएकाले नेपालको हकमा पनि ऊ सक्रिय बन्दै गएको देखिन्छ ।’
अहिले विद्या भण्डारीलाई राजनीतिमा आउनै पर्ने रहर नभएको प्रा.डा. पोखरेल बताउँछन् । ‘उहाँले एमालेभित्र पाक्दै गरेको खिचडी र बढ्दै गरेको घात प्रतिघात र जबजअनुसार पार्टी चलाउनुपर्ने बाध्यात्मक अवस्था महसुस गरेर अगाडि बढ्ने अठोट गरेको देखियो,’ उनी भन्छन्, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउने भएपछि क्रिया–प्रतिक्रिया भए । पार्टी अध्यक्ष ओलीले पनि तातो, टर्रो कुरा गरिदिनु भयो । पछिल्लो समय विद्या भण्डारी पार्टीमा अध्यक्षकै लागि सक्रिय हुन खोज्दा अध्यक्षको अलिक तीखो टिप्पणी पनि आयो ।’
पछाडि फर्केर हेर्दा तत्कालीन उपाध्यक्ष भण्डारीलाई एमालेले राष्ट्रपतिका लागि उम्मेदवार बनायो । राजनीतिक वृत्तमा यसका दुई कोणबाट विश्लेषण हुन्छन् ।
१. राजनीतिबाट विद्या भण्डारीको सम्मानित र सुरक्षित अवतरण ।
२. पार्टी राजनीति र सम्भावित नेतृत्वबाट पाखा लगाइएको ।
यी दुवै विश्लेषणलाई अहिले आएर गलत बनाइदिएको छ– पूर्वराष्ट्रपतिको राजनीतिक गतिविधिले ।
एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिक गतिविधि नगर्न सार्वजनिक मञ्चबाटै भनिरहेका छन् । उनले ‘राष्ट्रिय सम्मान लिएर बस्नू’ भन्ने उर्दी पनि दिइसकेका छन् ।
आइतबार मात्रै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटन गर्दै ओलीले महाधिवेशनको टुंगो नै नभएको अवस्थामा एमालेमा फलाना आउने रे भनेर हल्ला चलाउनुको अर्थ नरहेको बताए । यो भनाइ भण्डारीको सक्रियताप्रति लक्षित थियो ।
‘तल तल ग्रुप बनेको सुनिरहेको छु । यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे !’, उनले भण्डारीले राजनीतिमा फर्किन गरेको प्रयासलाई लिएर भने, ‘महाधिवेशनबारे हामीबीच छलफल भएकै छैन ।’
उनले भण्डारी चीनबाट फर्किएपछि जिल्ला दौडाहामा रहेका बेला पार्टी कार्यकर्ताको मनस्थिति बिगार्न खोजिएको आरोप पनि लगाए । ‘पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई जवाफ दिनुस् । पार्टीका आन्तरिक कुरा छन् भने पार्टीमै गरौँ’, उनले भने, ‘पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने कुरा आन्तरिक हुँदैन । बाहिर गएर कसैले ढुंगा हान्छ भने सहिँदैन ।’
भण्डारीको सक्रियताले ओलीमा देखिएको आक्रोश स्वभाविक पनि हो । उनको सक्रियताले एमालेमा अहिले माथिदेखि तलैसम्म दुई गुट बनिरहेको छ । त्यसैलाई लिएर ओलीले आइतबार एमालेमा एउटै गुट रहेको बताए । उनले गुट बनाउन खोज्नेको प्रतिकार गर्न पनि कार्यकर्तालाई निर्देशन नै दिए ।
यसअघि कोशी प्रदेशको पहिलो चरणको भ्रमणमा निस्किँदा ओली पक्षविरुद्ध विद्या भण्डारी पक्षीय गतिविधि बढेको थियो । त्यसअघि एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका क्रममा ओली गुट र विद्या भण्डारी गुटमा दुई समूह विभाजित थिए । त्यसबेला एमालेका जनसङ्गठनमा विद्या भण्डारीले आफ्नो पकड बनाउँदै लगेको विश्लेषण भएको थियो ।
एमालेको एघारौँ महाधिवेशनअघि पार्टीभित्र आन्तरिक शक्ति संरचना परिवर्तन गर्न गुट निर्माण गर्ने क्रम बढ्दै गएको देखिन्छ । यद्यपि उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायत नेताहरू एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना नरहेको बताइरहेका छन् ।
कोशी प्रदेशको दोस्रो चरणको भ्रमणमा निस्किएकी पूर्वराष्ट्रपति भण्डारी अहिले अध्यक्ष ओलीको गृहजिल्ला झापामा राजनीतिक भेटघाटमा व्यस्त छिन् । र, उनी ओलीनिकट नेता, कार्यकर्तासँग पनि आन्तरिक छलफलमा पनि बसिन् ।

चीन भ्रमणपछि बढ्दो सक्रियता
एमाले महासचिव शङ्कर पोखरेलले विद्या भण्डारीको चीन भ्रमण पार्टीको नेताको हैसियतमा नभएको भनिरहेका छन् । तर चीनमा भण्डारीलाई एमालेका शीर्ष नेताकै हैसियतमा उच्चस्तरीय स्वागत र भेटघाटको वातावरण मिल्यो । चीनमा मिलेको सम्मानले महासचिव पोखरेलको भनाइको खण्डन गरिदियो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष दुई नेतासँग भण्डारीले भेट गरिन् । ती नेतासँगको भेटवार्ताले पूर्वराष्ट्रपति भण्डारीलाई एमाले नेताकै हैसियत दिएको कूटनीतिक विश्लेषकहरू बताउँछन् ।
भण्डारीको चीन भ्रमणले नेपालमा कम्युनिस्ट एकताको अपरिहार्यतालाई बल पुर्याएको विश्लेषकहरूको टिप्पणी छ । राजनीतिक सक्रियता मात्रै होइन, एमालेकै उत्तराधिकारीका रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई चीनले महत्व दिएको उनीहरूको अनुमान छ ।
नेपालमा वाम एकता असफल भएको अवस्थामा विद्या भण्डारीलाई चीनले साझा व्यक्तिका रूपमा अघि सारेको प्रतिक्रिया कूटनीतिक विश्लेषकहरूले दिइरहेका छन् ।
नेपालमा विद्या भण्डारीको राजनीतिक गतिविधि, एमालेका जनसङ्गठनमा ध्रुवीकरण, चीनमा पाएको उच्च सम्मान, जबजको आधारभूमि र एमालेभित्र भावी नेतृत्वको अभावले पूर्वराष्ट्रपति भण्डारीलाई स्वीकार गर्ने अवस्था आएको विश्लेषकहरूको ठम्याइ छ ।
प्रतिक्रिया