काठमाडौं- प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पनि नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध जारी राखे । दुई पटक सारेर साँझ साढे ६ बजे बसेको बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार २ बजेसम्मलाई स्थगित गरेका छन् ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरूमा ३:१५ बजेका लागि सारिएको थियो । त्यसपछि अपराह्न ५:३० बजेका लागि डाकिएको बैठक साँझ साढे ६ बजे मात्रै केही मिनेट बसेर स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिएका छन् । सत्ता पक्ष कुनै हालतमा गृहमन्त्रीको राजीनामाको पक्षमा छैन । यो अवस्थामा आइतबार कार्यसूचीमै नपसरी बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभा बैठक खुलाउनेबारे सत्तारूढ र विपक्षी दलहरू सहमति नजिक पुगेको भनिए पनि अवरोध जारी रहेको हो ।
यसअघि आइतबार दिउँसो नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत छलफलमा जुटेका थिए । एमालेले भने कांग्रेस र विपक्षीबीचको निष्कर्ष स्वीकार्ने जनाएको थियो ।
यो छलफलमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ र सन्तोष परियारसहित सहभागी थिए । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे पनि छलफलमा थिए । तर उनीहरूले सहमति जुटाउन नसकेपछि आइतबारको संसद् बैठकमा पनि अवरोध भएर स्थगित भएको छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी









प्रतिक्रिया