काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम अभियान चलाउँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) गम्भीर विवादमा परेका छन् ।
२०७९ सालको चुनावमा स्वतन्त्र उठेर मेयर जितेका उनले आफ्ना समर्थकलाई उतारेर धरानमा श्रम अभियान चलाउँदै आएका थिए ।
श्रम अभियान चलाउँदै दैनिक विकास निर्माणको काममा हात हाल्दै आएका मेयर साम्पाङले यसअघि नै भइसकेको काममा खर्च भएको रकम नगरपालिकाकै बजेटबाट वितरण गर्न खोजेपछि तीन दिनददेखि धरान तनावमा परेको छ ।
पछिल्लो पटक धरान–१६ स्थित बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणमा संलग्न श्रम अभियन्ताहरूलाई उपमहानगरको कोषबाट रकम बाँड्न खोजेपछि विवाद भएको हो । यसबारेमा साम्पाङका समर्थक र उपमेयर अइन्द्रविक्रम बेघानिकट नेकपा माओवादी केन्द्रका कार्यकर्ता आमने सामने भएका छन् । यसका कारण धरान उपमहानगर कार्यालय परिसरमै मेयर र उपमेयरबीच हात हालाहालको अवस्था भयो । अर्कातिर समर्थक पनि चर्को नाराबाजी र गालीगलौजमा उत्रिएका छन् ।
धरानमा मेयरका समर्थकले उपमेयर बेघामाथि भौतिक आक्रमण नै गर्ने गरि उत्रिएका छन् । तर नगर प्रहरी र माओवादी कार्यकर्ताले उपमेयर बेघालाई जोगाइरहेका छन् ।
उपमेयर बेघामाथि आक्रमण प्रयासको खबरले उनका समर्थक र माओवादी कार्यकर्ता पनि उपमहागनर कार्यालय परिसरमा पुगेर नाराबाजी गरिरहेका छन् । त्यहीकारण अहिले धरान उपमहानगरको कार्यालय परिसर हुलहु्ज्जत गर्ने थलो बनिरहेको छ ।
उपमेयर बेघा र वडाध्यक्षहरले मेयर साम्पाङका समर्थकहरूले खुकुरी नै लिएर आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । मेयरले एक्लै चल्न खोज्दाको परिणाम अहिले निम्तिएको अराजकता भएको उपमहानगरका प्रवक्ता सूर्य भट्टराईले बताए ।
उपमेयर र वडाध्यक्षहरूले नि:शुल्क श्रमदानका नाममा मेयरले चलाएको अभियानमा सहभागीहरूलाई डोर हाजिरी फारम भरेर उपमहानरको कोषबाट रकम दिन खोज्नुलाई गैरकानुनी भनेका छन् । मेयरले समर्थक उतारेर आफूहरूलाई आक्रमण गर्न खोजेको उपमेयर बेघाले बताएका छन् ।

उपमहानगरले अहिले नयाँ आर्थिक वर्षको बजेट बनाइरहेको छ । बजेट निर्माणको काममा उपमेयर बेघा जुटिरहेका छन् । सोमबार नयाँ बजेटको सिलिङ तय गर्न बैठक भइरहेको समयममा मेयर साम्पाङका समर्थकहरू उपमहानगरको कार्यालयमै छिरे।
बजेटबारे छलफल चलिरहेका बेला पनि मेयरका समर्थकले उपमेयरमाथि आक्रमण गर्न खोजेका थिए । धरान–१६ स्थित बहुभाषिक पाठशाला परिसरमा हालिएको ग्याबिन जाली निर्माणमा संलग्न श्रम अभियन्तालाई डोर हाजिर उठाएर नगरपालिकाको बजेटबाट भुक्तानी दिन लागिएपछि विवाद बढेको हो ।
मेयर साम्पाङले यहाँ यही जेठमा श्रमदान अभियान चलाएका थिए । अनौठो के छ भने जेठ पहिलो साता सकिएको उक्त कामको रि-स्टिमेट मेयर साम्पाङले अहिले गराएका छन् । उनले उक्त कार्यका लागि धरान–१६ भन्दा बाहिरका बासिन्दाको उपभोक्ता समिति बनाएको भेटिएपछि वडाध्यक्षसहितका जनप्रतिनिधिले विरोध गरेका थिए । उनले धरान-१६ बाहिरका बासिन्दाको उपभोक्ता समिति बनाएर नगरपालिकामा बिल नै पेश गरेपछि तनाव भएको हो ।
मेयर साम्पाङले धरान-१६ बाहिरका उपभोक्ता राखेर बनाएको समितिको बिलको रकम दिन नसकिने अडान उपमेयरले राखेका थिए । उनले उक्त काम गैरकानुनी भन्दै योजना अनुमगनमा पनि नजाने बताए । त्यसपछि मेयर साम्पाङ उपमेयरलाई सामाजिक सञ्जालमा गाली गरिरहेका छन् भने समर्थकसमेत उतारेर आक्रमण प्रयास भएको छ ।
यसबारेमा धरान उपमहानगरपालिका- १६ का वडाध्यक्ष मुरारी भट्टराईले श्रम अभियानमा संलग्न हुने वडाभन्दा बाहिरका मानिस राखेर मेयर उपभोक्ता समिति बनाएको बताए । त्यसरी बनेको समितिका नाममा नगरको रकम निकासा गराउन खोजेको उनको भनाइ छ ।
धरान वडा नम्बर १६ मा अवस्थित पाठशालाका लागि मेयर साम्पाङले आफू समर्थक धरान–१४ का प्रसाद राई संयोजक रहेको उपभोक्ता समिति बनाएका थिए । एउटा वडाको संरचनाका लागि अर्को वडाका मानिसलाई उपभोक्ता समितिमा राखिएकोमा उपमेयरसहित वडाध्यक्षले पनि विरोध गरेका हुन् ।

मेयर साम्पाङले यसबारेमा आफ्नो अडान छाडेका छैनन् । धरान १६ को पाठशालाका लागि आफूले धरान १४ का मानिसलाई उपभोक्ता समितिमा राखेको स्वीकारेका छन् । उनले आफूसँग विचार नमिल्नेलाई उपभोक्ता समितिमा नराख्ने बताए । मंगलबार पत्रकार सम्मेलन नै गरेका उनले श्रम अभियानकै साथीलाई उपभोक्ता समितिमा राखेर काम गरेको बताए ।
मेयर साम्पाङले जहाँको बासिन्दा भए पनि आफूलाई सजिलोका लागि उपभोक्ता समितिमा राखेको बताए । सर्दुको बाढी पस्ने भएकाले पाठशालाका लागि जहाँको भए पनि उपभोक्ता समिति बनाउन सकिने तर्क उनको छ । साम्पाङले खोलो कुनै वडामा नपर्ने तर्क पनि झिकेका छन् ।
मेयरले यो लिँडेढिपी गरिरहँदा मेयरका श्रमदाताहरूलाई डोर हाजिरी उठाएर रकम भुक्तानी गर्न खोजेको भन्दै उपमेयरले आपत्ति जनाएका छन् । उनले त्यो योजना अनुमगन नगर्ने बताइसकेका छन् ।
उता मेयर साम्पाङले भने श्रमदान गर्दा हिसाब गरेर लागत निकाल्न डोर हाजिरी गराइएको जिकिर गरेका छन् । उनले पैसा बाँड्न भन्दा लागतको हिसाबका लागि डोर हाजिरी उठाइएको जिकिर गरेका छन् । तर त्यही डोर हाजिरीका आधारमा नगरबाट रकम भुक्तानी गर्न उपमेयर नमानेपछि मेयर साम्पाङ अहिले आक्रोशित छन् ।
उपमेयर बेघाले श्रमदानबाट काम सकिएपछि फेरि उपभोक्ता समिति बनाएर बिल पेश गर्नु नै गलत भएको बताए । उनले श्रमदानबाट सकिएको कामको रकम नगरबाट लान खोज्नुलाई कानुनविपरीत भनेका छन् । उनले उक्त गैरकानुनी कामको रकम भुक्तानी नदिने पनि बताए । कर्मचारीले पनि गैरकानुनी कामको रकम भुक्तानी नगर्ने बेघाले बताए । आफूले गैरकानुनी काम रोक्न खोज्दा समर्थक उतारेर आफूमाथि आक्रमण गर्न खोजिएको बेघाको गुनासो छ।
उता मेयर साम्पाङले आफ्नो श्रमदान अभियान रकम नगरबाटै भुक्तानी गरिनुपर्ने जिकिर गरेका छन् । उनले आफू धरानको नेतृत्वमा रहेकाले आफ्नो निर्णय लागु हने बताएका छन् । आफूले जनताको आदेश मानेकाले उक्त रकम पनि जनताकै लागि भुक्तानी गर्न खोजिएको उनले बताए ।
नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष उद्धव लिम्बु मंगलबार बिहान मेयर साम्पाङको समूह डोजर, स्काभेटरको चाबी माग्न भन्दै उपप्रमुखको कार्यकक्षमा छिरेका थिए ।
उनले उनीहरूलाई प्रमुख साम्पाङले हुलहुज्जतका लागि बेघाको कार्यकक्षमा पठाएका आरोप लगाए । नगरपालिकाको डोजर र स्काभेटरको चाबी प्रमुख साम्पाङ, उपप्रमुख र कार्यालय स्टोरमा राखिने गरिएको छ।
उनले प्रमुख र उनका समर्थकले ती सामान मनपरी प्रयोग गरेपछि दुरुपयोग हुन नदिन आफूसँगको र कार्यालयको चाबी कसैलाई नदिएको बताएका छन् ।
उनका अनुसार प्रमुख साम्पाङका श्रमदाता समूह धरान उपमहानगरपालिका–१० नारायण पथमा स्काभेटर प्रयोग गर्न चाबी माग्दै आएका थिए । एउटा चाबी ‘मेयरसँग पनि रहेकाले मागिदिने जवाफ दिएको उनले बताए ।






प्रतिक्रिया