कोलाजको ऐना, अक्षरको विम्ब  | Khabarhub Khabarhub

कोलाजको ऐना, अक्षरको विम्ब 



हङकङ साहित्यिक साझा शृङ्खलाको दुई कार्यकाल संयोजक भएर नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका रमण गुरुङको कविता संग्रह ‘आकार हामीले हिँडेर आएको बाटो’ प्रकाशनमा आएको छ ।  

हङकङमा यो संग्रह लोकार्पण हुँदा म नेपालमा रहेको कारण सहभागी हुने मौका जुरेन। यद्यपि उनकै हातबाट यो संग्रह प्राप्त भएको धेरै भयो। तत्पश्चात यसबारे सचेत पाठकीय दृष्टिकोणले केही लेखुँ भन्दाभन्दै पनि समयले हतकडी लगाइदियो । त्यति हुँदाहुँदै पनि कुनै उदासीनता रहेन । यसभित्रका हरेक पन्नाहरूमा छापिएका प्रत्येक अक्षरसँग म केही पटक खेलेको छु । केवल त्यसका गति र मतिलाई अक्षरमै लेख्न मात्रै नसकेको हुँ।

आज भने कसो कसो समय आफ्नो बसमा पारेर रमणका कविताहरूको जीवन जाँच्न लागेको छु। हङकङेली नेपाली समाजमा रमण  गुरुङको नाम एक कुशल चित्रकारको रुपमा स्थापित छ। सुप्रसिद्ध, तथा अमर स्रष्टा लैनसिंह बाङ्देलका अनुसार चित्रकार स्वतः कवि हो। कवित्व बिना चित्र कोर्न सकिँदैन। उसले कोरेका चित्रहरू कविता हुन्। जसलाई हेरेर साँचो कविले कविता लेख्न सक्छन्। त्यही कुराको एउटा प्रमाण हो रमण गुरुङ।

उनले जीवन भोगाइ र कला यात्राको प्रत्येक पाइलाबाट आर्जेका अनुभूतिहरूलाई हामीले हिँडेर आएको बाटो कविता संग्रहमार्फत कविको खातामा आफ्नो नाम दर्ता गराए । हुन त कवि रमणले धेरै अघिबाट नै कविता लेख्ने गर्दथे । फाट्टफुट्ट उनका कविताहरू साहित्यिक शृङ्खलाको मञ्चमा सुनिँदै आएको थियो। सामाजिक कर्मको बाटोमा पनि हिँडिरहेका कवि रमणको यस संग्रहभित्र करिब साढे ८ दर्जन कविताहरू छन्।

 जीवन, प्रकृति, समाज र आन्तरिक अनुभूतिहरूलाई साङ्केतिक र संवेदनशील रीतिले कविताको स्वरूपमा अभिव्यक्त गरेको पाइने औसतभित्र देशको राजनीतिक घटनाक्रम बारे रमण लेख्छन् ।

यो परदेशमा 
म बेल्चा चलाउँदै 
म मेरो देशको जनयुद्ध सम्झिरहेछु।

आफ्नो जन्मभूमिप्रतिको अगाध प्रेममा  त रमण स्पष्ट छन् नै । कर्मभूमि हङकङलाई आइपरेको विपतसँग पनि संवेदनशील देखिन्छन्।

हङकङ वेदनाले दुखेको बेला 
नसोध मलाई सिफुडका स्वादहरु
के तिमी र म यो दुःखमा एकसाथ समाहित हुन सक्छौं ?
सिफुडका स्वादहरु

सामान्यत यस संग्रहका कविताहरूले पाठकहरूलाई आफ्नै जीवन यात्रा, अनुभव र सोचको पुनः निरीक्षण गर्न प्रोत्साहित गर्छन् । उनको कविता सरल, प्रवाहपूर्ण र समानान्तर छविका शब्दहरूको आधारशीलाबाट निर्मित छन्, जसले पाठकलाई आफ्ना विगतका अनुभूतिहरूको सम्पर्कमा पुर्‍याइदिन्छ । यसै सेरोफेरोको उडानमा रहेर रमण लेख्छन् ।

यो रित्तो बाटो अब तिम्रो सम्झनामा एक्लो छ
तर मेरा सम्झनाको तरङ्गहरू सधैं सधैं आतुर छ तिमीसम्म पुग्न
सम्झनाहरू सगरमाथाको टाकुरामा पोख्यो कि ?
यो घामको रङ्गले यही भन्छ

उनको कवि हृदय र स्मृतिको चरमतामा आफ्नो जन्म गाउँ भोजपुर जिल्लाको ट्याम्केमयूँङ,छिनामखुदेखिका नामेट पद चापहरू छन् । अत्यन्तै प्रेमिल, निश्चल,निर्मलसाथै सादगी त्यागको शोभनीय वृतान्त छ। त्यही कारण कवि रमणभित्र त्यो शैशवकालका घट्टाहरू घुमिरहेका छन्। जसको पिसाईलाई उनले यसरी व्यक्त गरेका छन् ।

यो धर्तीको छातीमा बग्दै बग्दै तिमी कहाँ पुग्छौ होला ?
तिम्रै कारण न्यानो बेसी छ 
यो खेत छ, हरियो जङ्गल छ 
साँच्चै, तिमी बग्दै बग्दै कहाँ पुग्छौ  होला ?

मान्छे चाहे जुनसुकै भूगोलमा पुगोस्, जस्तोसुकै ठुल्ठुला उपलब्धिका रवाफिलो जिन्दगी बाँचोस्, जतिसुकै महाज्ञान मगजमा अटाओस्, यही हो मेरो शान, मानको संगत भन्ने आङ फुरुङ्ग होस् , तथापि उसको बाल्यकालका अनगिन्ती पलहरू उसको अन्तस्करणमा चुपचाप बास बसिरहेका हुन्छन् । यादहरू बोल्दैनन् तर बोल्न बाध्य बनाइदिन्छन् । यादहरू घाउ जस्तो पनि हुँदैनन्। तर यदाकदा मज्जैले दुस्खाइदिन्छन् । यादहरू ठोस हुन्छ कि तरल तर कहिलेकाहीँ अनायासै आँखाको डिलबाट बगिदिन्छन्। मान्छेलाई यादहरुले शान्ति९सुरक्षा दिन्छ कि जिन्दगीलाई जेलमा हाल्छ । तर कहिलेकाहीँ क्रुर शासकको सैनिक जस्तो भएर आउँछ। र, आफ्नो रूप प्रदर्शन गर्छ। त्यस्तो बेला एउटा कवित्व भएको मान्छेले उसित आत्मसमर्पण गरेर सायद यसरी कविता लेख्छ ।

साँच्चै तिनीहरू कहाँ पुगे होलान् ?
सँगै धुलो र हिलो माटो खेल्ने मेरा दौतरीहरु
 मेरा आफन्त अनि प्रियजनहरु 
जसलाई म आफै भन्दा बढी चाहन्थें  ।

यस कविता संग्रहको मुख्य विशेषता भनेको पनि आफ्नो जीवनयात्राका विभिन्न चरणहरूलाई कविताका माध्यमबाट अभिव्यक्त गर्नु रहेको देखिन्छ । 
कविले माटो र बाटोको प्रतीकलाई जीवनको यात्राको रूपमा प्रयोग गरेका छन्, जसले हिँड्ने क्रममा आर्जेका  अनुभव र सिकाइहरूलाई उजागर गर्छ। यसले कविता रचनामा जीवनको अनवरत गतिलाई देखाउँछ। र,यात्रालाई एउटा मुक्ति र आत्मसाक्षात्कारको माध्यम बनाउँछ।

अर्कोतर्फ, यो संग्रहभित्रका केही कविताले प्रेमका सौंन्दर्य र सामाजिक रितिथितिको सम्बन्धप्रति भावुकतापूर्वक आफूलाई आफ्नै लागि पस्किएको छ। यसभित्र त्यस्ता जीवनका लघुतम कविताहरू धेरै छन्।
विषय सन्दर्भले एउटा कवितांश यस्तो छ ।

यो चलिरहेको निर्मम बतास
घाम,पानी र तिम्रै छायाँ जस्तो त हो
यति धेरै उदास उदास भएर 
तिमी कहाँ हिँडेकी ?

यस्ता दर्जनौँ कविताहरूलाई कैद गरिएको यस सङ्ग्रह आकार हामीले हिँडेर आएको बाटो भावनाहरूको चरमचुली हो। भावुकताको असीमित तड्पाई हो। हङकङको नेपाली समाजमा आफूलाई विशेषण बनाएर उभ्याउने मानसिकताको तरलता हो। एउटा ठूलो साहित्यिक साहस,जागरुकता र अरुका निम्ति आत्मा साक्षात्कारको निम्तो हो ।
 
चित्रकारबाट कविको रूपमा सङ्ग्रह लिएर प्रस्तुत भएका कवि रमणको निडरता र उनका कविताहरू बुझ्न  त्यति सारो भयावह साहित्यिक मथिङ्गल चाहिँदैन। उनका कविताहरूले मस्तिष्कलाई भन्दा अत्याधिक मनलाई बोलाउँदछ। अन्तरहृदयको समीप्यतालाई कोट्याउँदछ। एकदमै सरल, सहजसाथै भावनाका सामान्य शब्दहरूको साथबाट कविताको सुमार्गमा निस्किएको यो संग्रहले कतिको साहित्यिक भविष्यको शिखर  उक्लन सक्छ त्यो समय आउन बाँकी नै छ। पाठकहरूको मनमस्तिष्कमा रमणका कविताले कस्तो छाप बनाउँछ ? त्यो पाठकको कसीमा परीक्षण होला । 

उनका लेखनले कुनै बडेमान दर्शनका ठेलीहरू बोकेका छैनन्। त्यस्तो उदाहरणीय बिम्ब र प्रतीक पनि चलाएका छैनन् । त्यस्तो बिघ्न सोचमग्न अर्थका भाष्य पनि कोरेका छैनन् । कविताका शिल्प९शैली एकदमै सरल छ। कुनै पाठकले यो चाहिँ बुझिन कि भन्ने लाग्दैन जस्तो लाग्छ। यसभित्र एक हरफका कविता पनि छन् । पढ्ने क्रममा यसका पन्नाहरू पल्टाउँदै जाँदा अधिकांश पन्नाहरू खाली खाली लाग्छन्। सम्बन्धित क्षेत्रमा निक्कै अध्ययन,अनुसन्धान, लेखन, प्रकाशन र विज्ञता हासिल गरिसके पश्चातको  मन्थनबाट लेखिएका एक लाइन पनि महावाणी झैँ हुन्छ । र, दिलमा बस्दछ ।

कवि रमणले उनको यो पहिलो संग्रहबाट नै यो कोसिस गरेको देखिन्छ। जसको मूल्याङ्कन मुख्यत सचेत पाठकहरूले गर्ने नै छन्। लेख्ने मानिसहरूका निम्ति भीडले उसको क्षमता निर्धारण गर्दैन। तर अध्ययनशील सचेत पाठकहरूको भीडले भने लेखकलाई अवश्य चिन्दछ।

 आजको खुल्ला दुनियाँमा हरेक मान्छे हरेक पल शिक्षित हुँदै गएका छन्। जसको विषयगत शिक्षाले हरेक अभिव्यक्तिको जाँच गर्दछ । हङकङेली नेपाली कवि रमणले पनि नेपाली कविताको क्षेत्रमा जाँच दिएका छन् । यो आफैँमा हिम्मतिलो कर्म हो। जसका लागि अग्रज साहित्यकार दाजु गुरुङको प्रोत्साहनले पनि काम गरेको रहेछ । 

स्वयं कवि रमणले कोरेको सुन्दर चित्रको कभर राखिएको यो सङ्ग्रहका  कविताहरू र उनका चित्रहरूलाई आत्मसात गर्ने हो भने कताकता रमण  गुरुङलाई कविभन्दा चित्रकारको श्रीपेज नै बढी सुहाएको पनि लाग्दछ।

म एउटा सामान्य तर अलिकति सचेत पाठक भएकोले पनि यति कुरा बोलेको हुँ ।
यस सङ्ग्रहको कभरमा नेपाली साहित्यका श्रद्धेय विराट व्यक्तित्व बैरागी काईलाले लेखेका छन्– धेरै मानिसहरूको अनुहारहरूबीच आफ्नो अनुहार लिएर बाँच्नु यी कविताहरूको मौलिकपन हो।

त्यस्तै अर्की वरिष्ठ साहित्यकार बिमला तुम्खेवा लेख्छिन– ठूलो राजमार्गमा सुरक्षाको निम्ति आफ्नै बलबुताले जति भ्याएको छ, त्यति नै अस्त्र लिएर हिँडेको सिकारी जस्तो कवि ।

यस सङ्ग्रहका विषयमा जति नै बोलेपनि माथि उल्लेखित साहित्यिक हस्तीहरूले अभिव्यक्त गरेका सारांश नै सही समीक्षा लाग्यो।

साहित्यका विविध विधामा कलम चलाउने राई हङकङवासी हुन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ३ : १९ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको