काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकहरुको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा भाग लिँदै सांसद भण्डारीले संसदभित्र भएका असहमतिलाई छलफल गर्दै समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए।
उनले भने, ‘यो देशमा विधिको शासन, जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौँ भनेर आएको पनि ३४ वर्ष पूरा भयो । यही उद्देश्यका निम्ति धेरैले ज्यान गुमाए, धेरै अपाङ्ग भए । जुन दिन संसद्मा छलफल गर्ने हो त्यसमा हामीहरूको बीचमा असहमति रहनुहुँदैन । कोही कुर्सीमा बसेका छन् कोही भुँइमा बसेका छन् कोही बोलिरहेका छन् यो के हो रु यसको समाधानका लागि सरकारलाई आग्रह गर्दछु ।’
सांसद भण्डारीले समाज युवाविहीन हुँदै गएकाले विदेशिने युवालाई रोक्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘युवाहरु शिक्षा र रोजगारीका नाममा बाहिर गइरहेका छन्, हामी युवाविहीन हुँदैछौँ । गाउँघरमा बिरामी हुँदा, मृत्यु हुँदा शव बोक्ने मानिससमेत छैन । त्यसैले यस विषयमा हामी गम्भीर हुनुपर्छ ।’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण नगरेसम्म मुलुकको विकासले गति लिन नसक्ने दाबी गरे। उनले सत्तामा हुँदा गुणगान गाउने र सत्ताबाट बाहिरिएपछि सत्तोसराप गर्ने गलत राजनीतिक संस्कारलाई परिवर्तन गर्न जरुरी भएको बताए।
उनले विकास विरोधी कानुनलाई समयसापेक्ष बनाउन सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया