लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै दुईवटा विमानमा क्षति पुर्याएको दाबी गरेका छन् ।
प्यालेस्टाइन एक्शन नामक समूहले ओक्सफोर्डशायरस्थित ब्राइज नोर्टन रोयल एयर फोर्स बेसमा आफ्ना दुई कार्यकर्ता घुसेर दुइवटा भोयागर विमानमा क्षति पुर्याएको जनाएको छ। ती विमानहरू इन्धन भर्न र सैनिक ढुवानीका लागि प्रयोग गरिन्छन्।
समूहले जारी गरेको वक्तव्यअनुसार उसका कार्यकर्ताहरू विद्युतीय स्कूटरमा विमानसम्म पुगेका थिए ।
त्यसपछि आगो निभाउने यन्त्र प्रयोग गरी रातो रङ (रगतको प्रतीक) विमान र रनवेमा छरिएको थियो । क्रोबार प्रयोग गरेर विमानमा थप क्षति पुर्याइएको उक्त समूहले जनाएको छ।
एक कार्यकर्ताले भने, ‘इजरायली सरकारको आलोचना गर्दै आएको बेलायतले अझै पनि सैन्य सामग्री पठाउने, गाजामा निगरानी विमान उडाउन र अमेरिकी/इजरायली लडाकु विमानलाई इन्धन भर्ने काम गरिरहेको छ।’
विमानमा क्षति गरेपछि दुवै कार्यकर्ता सुरक्षा निगरानीबाट उम्किन सफल भएको समूहले दाबी गरेको छ।
बेलायती रक्षा मन्त्रालय र प्रहरीले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। समूहले घटनाको भिडियोसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ।
प्रतिक्रिया