नेपाली संस्कृतिको प्रशंसा गर्दै चिनियाँ राजदूतले भने- दुई छिमेकी हिमाल र नदीले गाँसिएका छौँ « Khabarhub

नेपाली संस्कृतिको प्रशंसा गर्दै चिनियाँ राजदूतले भने- दुई छिमेकी हिमाल र नदीले गाँसिएका छौँ


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालबाटै चीनसहित विश्वभर बौद्ध धर्म फैलिएको बताएका छन् । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा आइतबारदेखि काठमाडौंमा आयोजित साताव्यापी ‘सिजाङ (तिब्बत) सांस्कृतिक सप्ताह’ कार्यक्रमलाई काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

राजदूत सोङले चीन र तिब्बतको विकासमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई आर्थिक समृद्धि, सामाजिक प्रगति र मानव अधिकारको संरक्षणतर्फ डोर्‍याएको पनि बताएका छन् ।

तिब्बतले अहिले सबै क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक उपलब्धिहरू हासिल गरेको बताउँदै उनले आजको तिब्बत राजनीतिक स्थिरता, जातीय एकता, आर्थिक विकास, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, वातावरण मैत्री र जनताको सुखी जीवनले भरिएको एक समृद्ध क्षेत्रका रूपमा उभिएको उल्लेख गरे ।

‘यो समृद्ध मानवीय सभ्यताको एउटा सुन्दर चित्र हो, जसले विश्वभर मानव अधिकारको प्रवर्द्धनको एक उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ’, उनले सम्बोधनका क्रममा भने ।

उनले साताव्यापी सांस्कृतिक प्रस्तुति, विशेषज्ञ गोष्ठी, चित्रप्रदर्शनी लगायतका कार्यक्रमले तिब्बतको ऐतिहासिक गहिराई, सुन्दर भू–दृश्य र यसले झल्काउने आत्मविश्वास, खुलापन, समृद्धि र विविधताको अनुभूति गराउने पनि बताए । उनले तिब्बती संस्कृति चिनियाँ सभ्यताको बहुल तर एकीकृत संरचनाको अभिन्न अंग रहेको पनि बताए ।

नेपालको बौद्ध धर्मबाटै तिब्बती बौद्ध धर्मले तत्व ग्रहण गरेको पनि उनले बताए । ‘तिब्बती बौद्ध धर्मले नेपाली बौद्ध परम्पराबाट तत्व ग्रहण गर्दै विशिष्ट चिनियाँ बौद्ध सांस्कृतिक प्रणालीको विकास गरेको छ, जसले विश्वव्यापी बौद्ध धर्मको प्रवर्द्धनको आधार तयार पारेको छ’, उनले भने,‘पोतालाका दरबारजस्ता तिब्बती सांस्कृतिक सम्पदामा चिनियाँ र नेपाली शिल्पीहरूको सामूहिक बुद्धिको योगदान छ । ती सम्पदाहरू हाल चीनको राष्ट्रियस्तरको संरक्षित सम्पदा सूचीमा सूचीकृत छन् ।’

चीन–नेपालबीच हजारौं वर्ष पुरानो सम्बन्ध केवल चिनियाँ सभ्यताको खुलापन र समावेशिताको प्रतीक मात्र नभएर यो यो मानव सभ्यताको पारस्परिक आदानप्रदान र सह–अस्तित्वको प्रमाणका रुपमा रहेको उनले बताए ।

चीन र नेपाल हिमाल र नदीले गाँसिएका छिमेकी भएका बताएका उनले सदियौँदेखिको मित्रतामार्फत् एक-अर्कालाई अँगाल्दै आएको पनि उल्लेख गरे।

‘तिब्बत, चीन र नेपालको आर्थिक तथा सांस्कृतिक सम्बन्धको अग्रपंक्तिमा रहेको भूभाग हो, जसले दिगो विकास र समृद्धिलाई लक्षित गर्दै स्थायी मित्रतामा आधारित रणनीतिक साझेदारी निर्माणमा अनन्य भूमिका खेल्दै आएको छ’, राजदूत सोङले थपे ।

हालका वर्षहरूमा दुवै देशका नेताहरूको मार्गदर्शनमा तिब्बत–नेपाल बहुआयामिक सहकार्यहरू निरन्तर बलियो बनेका उनको तर्क छ । राजदूत सोङले चीन–नेपालका चार प्रमुख नाका र १४ परम्परागत सिमाना व्यापार बिन्दुहरू पूर्ण रूपमा पुनः सञ्चालनमा आएका पनि जानकारी दिए ।

अहिले ल्हासादेखि काठमाडौं र पोखरासम्मको सीधा हवाई सेवा सुरु भएको पनि उनले जानकारी दिए । लिन्झीमा आयोजित चीन–नेपाल उच्चभूमि ड्रागन बोट प्रतियोगिता र नेपालमा तिब्बत कला समूहको सांस्कृतिक प्रस्तुतिले दुई देबबीचको आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध झन् घनिष्ट भएको पनि उनले उल्लेख गरे ।

यी गतिविधिले चिनियाँ र नेपाली जनताको आकांक्षासँग मेल खाने कुरा पुष्टि भएको उनले बताए । भविष्यमा अझ व्यापक सम्भावना बोकेको परस्पर–सम्बन्ध निर्माणको मार्ग यी गतिविधिले खोलेका उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन