आठ सय घरमा खानेपानीको पहुँच « Khabarhub

आठ सय घरमा खानेपानीको पहुँच


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।

बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द– १२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताए । एक गाग्री पानीको जोहो गर्न रातको समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमै धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ ।

धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताइन् ।

षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ । दुई योजनामा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भइरहेको छ ।

यस आर्थिक वर्षमा पनि तीव्रगतिमा निर्माणको काम भइरहेकाले यस वर्ष नै एक हजार घरपरिवारमा पानी वितरण गर्ने लक्ष्य छ ।

आयोजनाको स्किम–१ अन्तर्गत १२ वटा ट्याङ्कीमध्ये नौदेखि ७५ घनमिटरसम्मका नौवटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ । त्यस्तै दोस्रो स्किमको पाँचवटा नै वितरण ट्याङ्की निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए । पहिलो ठूलो स्किमअन्तर्गत कमेरे, देउसे र दोस्रो स्किम कखुवा सिस्नेटार मुहानबाट पानी ल्याइएको छ ।

पानी मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्खाको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको निर्माण उपभोक्ता समितिको भनाइ छ । साथै यही क्षेत्रमा सडक विस्तार भइरहेकाले कामलाई चाँडो अघि बढाउन समस्या रहेको निर्माण समितिले जनाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत २८ करोड ५१ लाख रहेको छ । आयोजनाको वितरण लाइन खन्ने र पुर्ने काम श्रमदानमार्फत गर्ने सम्झौता रहेको छ  । यस आयोजनालाई आगामी वर्षभित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ । दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब एक सय ५३ किलोमिटर रहेको छ ।

निर्माणाधीन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । खानेपानी आयोजनालाई समयमा सम्पन्न गराउन नगरको तर्फबाट आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ । यो योजनाको काम सम्पन्न भएपछि यहाँका पाँचवटा वडाका नागरिकलाई पानीको सुविधा पुग्ने उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : १३ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन