अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल | Khabarhub Khabarhub

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु केन्द्रमा हवाई हमला गरेको छ। यो हमला नेपाली समयअनुसार आइतबार बिहान ४: ४५ बजे भएको हो।

आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशवासीलाई सम्बोधन गर्दै भने, ‘इरानका महत्वपूर्ण न्यूक्लियर साइटहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन्।’

उनले फोर्डोमा बमको एक ठूलो खेप खसालिएको जानकारी दिए। राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, ‘अब उसले शान्ति कायम गर्नुपर्छ, अन्यथा अझ कडा हमला गरिनेछ।’

इरानले बर्सायो मिसाइल

अमेरिकाको हमलाको प्रतिकारस्वरूप इरानले इजराइलमाथि मिसाइल आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कर्प्स (आईआरजीसी) का अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो हमला हो।

इजराइलका १४ प्रमुख सैन्य केन्द्रमा लक्षित गरिएका छन्। टाइम्स अफ इजराइलका अनुसार, हाइफा र तेल अभिभका सैन्य अड्डामा इरानी मिसाइलहरू खसेका छन्।

उता राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स शनिबार वासिङ्गटनस्थित व्हाइट हाउसको सिचुएशन रूममा बैठकमा सहभागी भए। तस्बिरहरूमा ट्रम्पसँगै चीफ अफ स्टाफ सूजी विल्स, ज्वाइन्ट चीफ अफ स्टाफ जनरल ड्यान केनलगायतका क्याबिनेट सदस्यहरू देखिएका छन्।

इरानको आक्रमणमा ११ इजरायली घाइते

इरानको ब्यालिस्टिक मिसाइल हमलामा इजरायलको उत्तर र मध्य क्षेत्रमा ११ जना घाइते भएका छन्। तेल अभिभको इचिलोभ मेडिकल सेन्टरका अनुसार पाँच जनालाई आपतकालीन कक्षमा ल्याइएको छ, जसमा दुई बालबालिका पनि छन्।

उता इजरायलको राजधानी तेल अभिभमा इरानको मिसाइल आक्रमणपछि विस्फोटको आवाज सुनिएको छ। मानिसहरू बंकरमा पुगेकै बेला मोबाइलमा क्रिटिकल अलर्ट आएलगगत्तै ठूलो आवाज आएको थियो।

हाइफामा मिसाइल खस्यो

हाइफा शहरमा इरानको मिसाइल खसेको छ । तर मिसाइल खस्दा पनि पनि चेतावनी दिने साइरन नबजेको भन्दै इजराइली सेना अनुसन्धानमा जुटेको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन।

आईरजीसीका प्रवक्ता जनरल मोहम्मद अली नाइनीका अनुसार इरानले इजरायलका १४ सैन्य केन्द्रमा धावा बोलेको हो ।

जसमा हाइफा र तेल अभिभका सैन्य र प्रविधि केन्द्रहरू छन्। हाइफाको ‘सेल टावर’ मा कद्र-एफ मिसाइल प्रहार गरिएको थियो । जहाँ इजरायलका एआई२१ ल्याब लगायतका सैन्य सफ्टवेयर कम्पनी छन् ।

इरानले भन्यो- आत्मरक्षा हाम्रो अधिकार

इरानी विदेशमन्त्री अब्बास अराकचीले आत्मरक्षाका लागि जस्तोसुकै चुनौती सामाना गर्ने बताए । ‘संयुक्त राष्ट्र चार्टरअनुसार हामीसँग आत्मरक्षाको अधिकार छ। अमेरिका सुरक्षा परिषद्को स्थायी सदस्य हो, उसैले अन्तर्राष्ट्रिय कानून, राष्ट्रसंघीय चार्टर उल्लंघन गर्दै शान्तिपूर्ण परमाणु केन्द्रमा हमला गर्‍यो’, उनले भने।

उनले आइबार बिहानको घटनालाई अवैध र आपराधिक भनेका छन् । ‘आइतबार बिहान भएको घटना अवैध, आपराधिक र खतरनाक छ। यसको असर दीर्घकालीन हुनेछ। यसबारे विश्वका सबै मुलुकले चिन्ता लिनुपर्छ’, उनले भने ।

इरानमा ६५७ र इजरायलमा २४ जनाको मृत्यु

इरान–इजरायल संघर्ष आज १०औँ दिनमा प्रवेश गरेको छ। अमेरिकी मानवअधिकार संस्थाका अनुसार १३ जुनदेखि इरानमा ६५७ जनाको मृत्यु भएको छ । २ हजारभन्दा बढी घाइते छन्।

इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० नागरिकको मृत्यु र ३ हजार ५०० घाइते भएको पुष्टि गरेको छ। इजरायलमा २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएका छन्।

एक हजार ८०० नागरिकलाई रोकियो

साइप्रसबाट इजरायल फर्कन लागेको एक क्रुज जहाजलाई अशदोद बन्दरगाहमा प्रवेश अनुमति नदिई रोकिएको छ । होम फ्रन्ट कमान्डले सुरक्षा कारणले पोर्ट बन्द राख्न निर्देशन दिएको हो।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ४७ बजे

किवीखेतीबाट वार्षिक ७ लाख आम्दानी

दोलखा– जिल्लाको जिरी नगरपालिका–७ कलङका किरण बहादुर खड्का हिजोआज किवी

साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक

काठमाडौं – दक्षिण भारतीय नायक विजय थलापति आफ्नो अन्तिम फिल्म

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले