काठमाडौं – हिट श्रृङ्खला ‘जात्रा’ निर्माण गरेको ब्यानर षट्कोण आर्टस्को नयाँ फिल्म ‘लालीबजार’ ल्याउने तयारीमा छ । निर्माण पक्षले मंगलबार उक्त फिल्मको एक पोस्टर सार्वजनिक गरी फिल्मबारे थप जानकारी गराएको छ ।
पोस्टरले फिल्ममा नायिका स्वस्तिमा खड्का प्रवेश भएको जानकारी दिन्छ । उनको चरित्र खुल्ने गरी निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो ।
उक्त पोस्टरमा उनी गर्भवती महिलाको चरित्रमा देख्न सकिन्छ । तर, स्वतस्तिमा सिउदोमा सिन्दुर र गलामा पोते छैन । उनले राम्रै श्रृङ्गार गरेकी छिन् । यसले उनको भूमिमा सामान्य नरहेको संकेत गर्छ ।
स्वस्तिमा पनि फरक भूमिका प्रस्तुत हुन पाइने भएकाले यो फिल्मका लागि तयार भएको बताउँछिन् । भन्छिन्, ‘मेरा अघिल्ला फिल्मभन्दा फरक भूमिकामा दर्शकले देख्न पाउनुहुनेछ । यो पात्र निर्वाह गर्न म उत्साहित छु ।’
निर्माण पक्षले यस फिल्मको प्रदर्शन मिति पनि फागुन १ लाई तोकेको छ । फिल्मका अन्य कलाकारहरु भने सार्वजनिक भएका छैनन् ।
यम थापाको लेखन र निर्देशनमा यो फिल्म बन्ने बताइएको छ । निर्माता रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री हुन् । कार्यकारी निर्माताको जिम्मेवारीमा प्रदीप भट्टराई छन् । दशैंलगत्तै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया