काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई नयाँ र प्रभावकारी तवरले अघि बढाउन लागिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले रोजगारी सृजना गर्ने अभियानलाई नयाँ र प्रभावकारी तवरले कार्य गर्न आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गर्न लागिएको बताएका हुन् ।
उनले मुलुकको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालको रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील रहेको जिकिर गरे ।
नीतिगत सुधारतर्फ श्रम आप्रवासन नीति तर्जुमा भई स्वीकृतिको लागि अन्तिम चरणमा रहेको र सबै स्थानीय तहमा एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने गरी कार्यक्रम तर्जुमा गरिएको उनले बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने क्रममा श्रमिकको मानवअधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनको मूल्य र मान्यतालाई अवलम्बन गरेको धारणा पनि राखे ।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र सेवा सुविधा सुनिश्चित हुने गरी थप कार्य गरिने प्रतिबद्धता जनाए ।
यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको र उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनका लागि तयारी भएको उनले जानकारी दिए ।
इरान र इजरायल बीच उत्पन्न संकटमा नेपाली तथा नेपाली श्रमिकमा भएको र हुन सक्ने प्रभावका बारेमा मन्त्रालय सजग र तयारी अवस्थामा रहेको उनले बताए ।
प्रतिक्रिया