बर्खामा शुद्ध खानेपानीको जोहो कसरी गर्ने ? | Khabarhub Khabarhub

बर्खामा शुद्ध खानेपानीको जोहो कसरी गर्ने ?


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अघिल्लो महिना काठमाडौंमा पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेज नामक कम्पनीको पानीमा कोलिफर्म भेटियो ।कम्पनीको पानी परीक्षण गर्दा उक्त जीवाणु भेटिएपछि काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन-२०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना गराइ कम्पनीसँगको सम्झौता भंग गरिएको छ । 

पानी हाम्रो जीवनका लागि अपरिहार्य हो । तर यही पानीमा गरिने यस्तै लापरवाही र बेइमानीले गर्दा धेरै जना गम्भिर बिरामी पर्ने गरेका छन् । अझ भन्ने हो भने पानीकै कारण जनस्वास्थ्यमा ठूलो खेलवाड भइरहेको छ । 

भनिन्छ– मानव शरीरको तौलको करिब ६० प्रतिशत भाग पानीले बनेको हुन्छ । मस्तिष्कदेखि छालासम्मलाई स्वस्थ राख्न पानी चाहिन्छ । पानीमा मिसिएका विभिन्न ब्याक्टेरियाका कारण झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, आउँ, हेपाटाइटिस ए लगायतको संक्रमण हुने गरेको चिकित्सक बताउँछन् । 

चिकित्सकका अनुसार वर्षायाममा उपचारका लागि आउने ८० प्रतिशत बिरामीलाई खानेपानीकै कारण समस्या भएको पाइन्छ । वर्षायाम सुरु हुनेबित्तिकै झाडापखाला आउँ  लगायतका समस्या लिएर आउने बिरामीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको नागरिक अस्पतालमा कार्यरत फिजिशियन डा. दीपक पौडेलले बताए । 

उनका अनुसार झाडापखाला लाग्ने, पेट फुल्ने, डेङ्गुको सङ्क्रमण बढिरहेको छ । केही दिन अगाडि एक जनामा हैजाको सङ्क्रमण पनि पुष्टि भएको छ । त्यस्तै मौसम परिवर्तनका समयमा देखिने रुघाखोकी लगायत मौसमी फ्लूसँगै बढ्दो गर्मी र दुषित पानीका कारण पेटसम्बन्धी रोग बढ्दो क्रममा छन् । अस्पतालको आकस्मिक तथा भर्ना कक्षमा दैनिक रुपमा बिरामीको सङ्ख्या वृद्धि हुँदै गइरहेको उनले बताए । 

 पानी कसरी हुन्छ दुषित ?

नेपालमा खानेपानी दुषित हुनुको मुख्य कारण पानीका स्रोतहरू खुला हुनु नै रहेको जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदी बताउँछन् । 

काठमाडौं उपत्यका जस्तै शहरी क्षेत्रहरूमा नाला तथा खलहरूको उचित व्यवस्थापन नहुँदा त्यही पानी खानेपानीको स्रोतमा मिसिन आएर पानी दुषित गराउँछ भने पानी दुषित हुने कारण भनेको मुख्य गरेर नेपालमा खानेपानीका स्रोत खुला हुनु नै हो । 

जसले गर्दा बर्खामा परेको पानीले खानेपानीका स्रोतलाई दुषित बनाउँछ भने ग्रामीण भेगतिर खोला तथा पोखरीमा नुहाउने, लुगा धुने लगायतका दैनिक क्रियाकलाप, गाईबस्तुलाई खुवाउने पानी र घरायसी काममा प्रयोग गरिने पानी एउटै हुँदा पानी दुषित भई विभिन्न सङ्क्रामक रोग फैलिने उनले बताए । 

त्यस्तै बर्खामा आकासबाट पर्ने पानीले फोहोरमैला बगाएर खानेपानीका स्रोतमा मिसाइदिन्छ । जुन मानवजन्य र जनावरजन्य फोहोर पनि हुनसक्छ उनले भने । खानेपानीमा कोलिफर्म भेटिने क्रम वर्षेनी हुन्छ । यसलाई नियमन तथा अनुगमन कसले गर्ने हो ? कसरी गरिरहेको छ भन्ने प्रश्न बारम्बार उठ्छ तर त्यत्तिकै सेलाउँछ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्– जार अर्थात बोतलमा प्याक गरिएको पिउने पानीमा बेलाबेलामा कोलिफर्म भेटिएका घटना आउने गर्दछन् भने धारामा त झन नभेटिने कुरै भएन । 

किनेर ल्याएको बोतल वा जारको पानी फिल्टर गर्ने , उमाल्ने तर्फ कसैको ध्यान जाँदैन । बरु सिधै प्रयोग गर्ने प्रवृत्ति रहेको पुन बताउँछन् । सबै जारको पानी खराब हुन्छ , बोतलको पानी खराब हुन्छ भन्ने होइन । तर पछिल्लो समय बजारमा यसको माग ह्वात्तै बढेपछि पानीमाथि नै विकृति फैलिएको विभिन्न विज्ञहरूले बताउने गरेको उनले बताए । 

 कोलिफर्म के हो ?

डा. पुनका अनुसार हाम्रो पेटभित्र राम्रा नराम्रा गरी दुवैखाले ब्याक्टेरियाहरू हुन्छन् । ती मध्ये नराम्रो ब्याक्टेरिया हो– कोलिफर्म । जसले झाडापखाला लगाउँछ । 

कोलिफर्म मानिस, गाईबस्तु, चराचुरुङ्गी जस्ता तातो रगत भएका पशुपन्छीको मलमूत्रमा पाइन्छ । कोलिफर्म भनेको कुनै एउटा व्याक्टेरिया मात्र नभई दर्जन बढी ब्याक्टेरियाको समूह हो । 

त्यसैले कुनै पानीमा कोलिफर्म भेटिनु भनेकै मानिस लगायत कुनै न कुनै पशुपन्छीको मलमूत्र मिसिनु भन्ने हो । कोलिफर्मको मात्रा कति मिसिएको छ भन्ने कुराले त्यस्तो पानी पिउन हुने वा नहुने भन्ने विषयले निर्धारण गर्छ डा. पुनले भने । 

कोलिफर्मका धेरै प्रकारहरुमध्ये फेकल कोलिफर्म भनेको दिसामा मिसिएको पानी भनेर हामीले बुझ्नुपर्छ । जसले झाडापखाला लगाउँछ । त्यही झाडापखाला गएर पानीमा मिसिँदा विभिन्न खालका संक्रमण हैजा, इकोलाइज, टाइफाइड, लगायतका संक्रमणहरु फैलिन्छन् । जसका कारण झाडापखाला , ज्वरोलगायतका समस्या देखिने उनले बताए । 

हाम्रो धेरै अध्ययन अनुसन्धान गर्ने चलन छैन । तर कोलिफर्मकै कारण वर्षेनी हैजा लगायतका महामारी फैलिने जोखिम उच्च हुन्छ । यसवर्ष पनि दिनप्रतिदिन बिरामीको सङ्ख्या बढिरहेको र हैजाको संक्रमण पनि एक जनामा पुष्टि भइसकेको पुनले जानकारी दिए । 

 झाडापखालाबाट जोगाउन खोप 

झाडापखालाबाट जोगाउन हैजाविरुद्धको खोप लगाउने हो । सामान्यतया यसको चर्चा त्यति छैन । तर आवश्यक र प्रभावकारी रहेको डा. पुन बताउँछन् । 

विश्वका धेरै देशहरूमा प्रयोगमा आएको र प्रभावकारी मानिएको यो खोपलाई डब्लुएचओले पनि मान्यता दिएको र नेपाल सरकारले पनि कोभिडताका कुनै निश्चित ठाउँमा नमुनाको रुपमा प्रयोग गरेको देखिन्छ । 

त्यसयता भने यसलाई नियमित खोपमा राख्नुपर्छ भनेर कुनै अभ्यास गरेको नपाइएको डा. पुनले भने । झाडापखाला वा हैजाका संक्रमित देखिएको वा महामारी फैलिएको ठाउँमा यो खोप दिने हो भने प्रभावकारी हुने उनको बुझाई छ । झाडापखाला भन्ने बित्तिकै यसलाई सामान्य मान्ने, मुटु कलेजो लगायतको रोगहरू जस्तो भयानक रुपमा लिइँदैन । तर यसले कति कमजोर बनाउँछ भन्ने त भोग्नेलाई मात्रै थाहा हुन्छ । 

बुझ्नेले पनि हल्का रुपमा लिने र बुझाउनेले पनि राम्रोसँग बुझाउन नसकेका कारण यसको खोपलाई त्यति प्राथमिकतामा राखेको पाइँदैन उनले भने । 

 दुषित पानीका कारण फैलिने रोगहरूबाट बच्न के गर्ने ?

वर्षायाममा पानीका स्रोतहरू दुषित हुने भएकाले विभिन्न रोगबाट बच्न सबैभन्दा पहिले पानीको प्रयोगमा ध्यान दिन चिकित्सक सुझाउँछन् । जार वा बोतलको पानी पनि उमालेर पिउने, धारा वा खोलामा बगिरहेको पानी हो भन्दैमा सफा नै हुन्छ भन्ने हुँदैन, त्यसको मुहानमा कुनै फोहोर बस्तु तथा मान्छेको दिसा हुन सक्छ। जमेको कुवाको पानी पनि दूषित हुने जोखिम हुन्छ। जनावर तथा कुनै वस्तु कुहिएर बस्न सक्छ। सहरी क्षेत्रमा भने खानेपानी तथा ढलको पाइप फरक–फरक दूरीमा राख्नु पर्छ वा राखे पनि पानी दूषित हुन नदिने उपाय अपनाउनुपर्ने डा. पुन बताउँछन् । 

पानी उमालेर शरीरलाई कुनै किसिमको बेफाइदा नहुने गरी मनतातो बनाएर पिउन उनको सुझाव छ । त्यस्तै पानी शुद्धिकरणका विभिन्न विधिहरू पानीमा क्लोरिन हाल्ने, पीयुष, वाटरगार्ड राखेर शुद्धिकरण गर्ने जस्ता विधि अपनाउन चिकित्सकहरू सुझाव दिन्छन् । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : २९ बजे

गाजामा सहायताको पर्खाइमा रहेका २० जनाको मृत्यु

एजेन्सी – युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता संकलन गर्न पर्खिरहेका

महँगा कलाकार ‘माग्ने बूढा’ कृषाको ‘जहाजै’मा अनुबन्ध

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’को फिल्म ‘माग्ने राजा’ भदौं

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

टक्सार– जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै

भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी