६५ वर्ष अघिको वराहक्षेत्र र ऐतिहासिक स्थलहरू | Khabarhub Khabarhub

६५ वर्ष अघिको वराहक्षेत्र र ऐतिहासिक स्थलहरू



वराहक्षेत्र र त्यसका आसपासका केही स्थलको पुरातात्विक अन्वेषण पुरातत्व विभागले वि. सं. २०१७ सालमा गरेको थियो । पुरातत्व विभागका प्रधान अनुसन्धान अधिकारी (त्यस समयका स्थल उत्खनन्‌कर्ता) जनकलाल शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा आधारित लेख यहाँ प्रस्तुत गरिएको छ ।

पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा प्रकाशित ‘वराहक्षेत्र र केही अन्य स्थल’ शीर्षकको आलेख प्रस्तुत गरिएको छ । यो आलेखको पीडीएफसमेत हेर्न सकिन्छ । वि.सं. २०१७ मा गरिएको अध्ययनपछि तयार आलेखमा हालको सुनसरी जिल्लाको धार्मिक तीर्थस्थल वराहक्षेत्रको तत्कालीन अवस्था र त्यस वरपरका ऐतिहासिक स्थलको जानकारी समावेश गरिएको छ । यस आलेखबाट स्थानीय सरकारले खोजी गर्नुपर्ने र संरक्षण गर्नुपर्ने पुरातात्विक सम्पदाबारे जानकारी लिन सक्नेछन् भने पाठकले इतिहासबारे थाहा पाउनेछन् ।

वराहक्षेत्र

यो स्थान वर्तमान चतरागद्दीबाट दुई कोश उत्तर–पश्चिम सप्तकोशी र कोका नदीको उत्तर– पश्चिम सप्तकोशी र कोका नदीको दोभानमा पर्दछ ।

वराहक्षेत्र पूर्वी नेपालको प्रसिद्ध तीर्थ हो । यहाँ पुग्ने बाटो अत्यन्त विकट भए पनि यसको प्रसिद्धिले गर्दा सहज हुन आएको छ । यहाँ शाहकालभन्दा पूर्वका कुनै अभिलेख प्राप्त भएका छैनन् । अतः ऐतिहासिक अथवा पुरातात्विक अनुसन्धानमा बडो बाधा परेको छ ।

भारतीय पुरातत्वका अन्वेषक श्री दिनेशचन्द्र सरकारले सम्पादन गर्नुभएको एक पुस्तक १ को दामोदरपुर ताम्रलेखमा–

हिमवच्छिखरे कोकामुख स्वामिनः
चत्वारः कुल्यवापाः श्वेतवराहः
स्वामिनोपि सप्तकुल्यवापाः

भन्ने वाक्य अङ्कित छ । यो प्रसिद्ध गुप्तवंशका राजा बुध गुप्त (९५) का समयको हो । यस पुस्तकको अर्को दामोदरपुर ताम्रलेखमा पनि–

मन्मातुः (पु) ण्याभिवृद्धये
अत्रारण्ये भगवतः श्वेतवराह
स्वामिनो देवकुले खण्ड फुट्ट प्रति
(सं) स्का (र) (क) रणाय

भन्ने वाक्य अंकित छ ।

यो अभिलेख गुप्त संवत् २२४ अर्थात् ४५३ ई.सं. को हो । यसमा राजाको नाम छैन । उपर्युक्त यी दुवै ताम्रलेखका अनुसार पहाडको जङ्गलमा रहेका कोकामुखवराह र श्वेतवराहको अस्तित्व जनाउँछ । यी दुवै ताम्रलेखमा उल्लेख भएका कोकामुखवरा र श्वेतवराह यसै वराहक्षेत्रमा रहेका कोकामुखवराह र श्वेतवराह हुन् । कारण यिनको अस्तित्व आज पनि यसै नामले वराहक्षेत्रमा छ । साथै उक्त ताम्रलेखमा उल्लेख भएको वराहक्षेत्र यही हो भन्न पुष्टि वराहपुराणको निम्नलिखित वाक्यले पनि गर्दछ–

अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् ।
धारा पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम् ।।

कौशिकी र कोकानदीको संगममा वराहक्षेत्र पर्दछ । भन्ने कुरा हामीले माथि नै प्रसंगवश भनिसकेका छौँ ।

यस सिद्धान्तअनुसार वराहक्षेत्रको अस्तित्व ईसाको पाँचौं शताब्दीभन्दा पूर्वको भयो । त्यस समयदेखि अहिलेसम्म कति मूर्ति नष्ट भए त्यसको लेखोजोखो छैन । तर त्यहाँ जनताको अपार श्रद्धामा कहिल्यै कमी आएन । हाल यहाँका दर्शनीय स्थानका मन्दिर यस प्रकार छन् :–

१. वराह भगवान् ।
२. पान्त भगवान् ।
३. लक्ष्मी ।
४. इन्द्रवराह ।
५. नागेश्वर वराह ।
६. गुरु वराह ।
७. सूर्यवराह (श्वेतवराह?) ।
८. कोकावराह ।
९. बदरी मुक्तेश्वर ।

यी मध्ये १,२,३ एउटै हातामा छन् र यसलाई जुद्ध शमशेले जीर्णोद्धार गरेका हुँदा यिनका मन्दिर सुरक्षित छन् तर अन्य मन्दिर जीर्णप्रायः छन् । यसबाहेक यहाँ अनेक मूर्ति यत्रतत्र विकीर् छन् ।

गुरु वराहको मन्दिरमा एउटा विशाल वराहको भग्न मूर्ति राखिएको छ । त्यो केही वर्षअघि मात्र यसै मन्दिरका छेउको कान्लोमा पहिरो जाँदा भेटिएको हो भन्न त्यहाँको पुजारीको भनाइ छ । यो मूर्ति एक मानिस अग्लो छ र यो निकै कलात्मक छ । यो मूर्तिको कलाबाट १३औं १४औं शताब्दीको प्रतीत हुन्छ ।

यसबाहेक वराहक्षेत्रमा बाटो खन्दा एउटा लकुलिश मूर्ति २०१४ सालमा फेला परेको थियो त्यो हाल धरानको प्रहरी कार्यालयको हातामा राखिएको छ ।

वराहक्षेत्रभन्दा एक कोशमाथि डाँडामा सूर्यकुण्ड नामक स्थान छ । यहाँ जुन समयमा वराहक्षेत्रमा मेला लाग्छ । (अर्थात् बाला चतुर्दशीमा) मानिस त्यहाँ जान्छन् । त्यो कुण्डको इलाका खानी जस्तो छ । त्यहाँका कोइला ल्याएर कालो मसी बनाउँछन् । र यो कसैले यज्ञ गरेको कुण्ड हो भन्ने जनविश्वास छ । तर यो कोइलाखानी जस्तो छ ।

चतरागद्दी

यो स्थान विजयपुरबाट पाँच कोश पश्चिम सप्तकोशीको किनारमा पर्दछ । यो नेपाल अधिराज्यका ठूला ठूला मठमध्येको एक हो ।

चतरागद्दीको स्थापना कुन समयमा भयो त्यसको केही विशेष उल्लेख पाइँदैन । तर एउटा किंवदन्तीअनुसार यो मठ सेनहरुका पालामा स्थापित भएको अनुमान हुन्छ । किंवदन्ती यस प्रकार छ :–

परापूर्वकालमा एक जना सिद्ध वराहक्षेत्रका छेउ कोशी किनारमा तपस्या गरेर बसेका थिए । त्यसै अवसरमा कुनै एक सेन वंशका राजा पुत्रलाभ नभएको विरहमा तीर्थवास गर्न वराहक्षेत्र आए । त्यसै समय नाउद्वारा वराहक्षेत्र जान लाग्दा बाटामा सिद्धको आश्रम फेला पारेर त्यहाँ केही समय आराम गर्ने विचार लिएर आश्रमतिर लागे ।

आश्रम (गुफा) ठीक कोशीको किनारमा थियो । सिद्धले राजा आफ्नू आश्रमतिर आउन लागेको देखी स्वागतका निमित्त आफूले ओढेको लुगा एकातिर भुइँमा राखी राजाका निमित्त आसन दिए । सिद्ध र राजाको केही समय वातचित भयो ।

यत्तिकैमा सिद्धले एउटा कुनामा थुपारेको ओढ्ने सगबगाउन लागेको देखेर राजालाई शंका भयो र मनमनै भन्न लागे ‘यो सिद्ध भनाउँदो फुस्रो त शिकारी पो रहेछ, यसले के छोपेर राखेको रहेछ र सगबगाउन लाग्यो ।’ मनमनै यति विचार गरेर उनले भने ‘योगी राज ! यो के सगबगायो ? सिद्धले स्वाभाविकरुपले भने – केही होइन, मेरो लुगा हो ।’ राजालाई सिद्धको कुरा विश्वास भएन र त्यो लुगा उठडाएर हेर्ने विचार गरेर लुगा उठाउन आफ्नो हात बढाए ।

त्यो देखेर सिद्धले भने– त्यो लुगामा हात नगलाऊ, अन्यथा तिमीलाई अनिष्ट हुनेछ । तर राजाले मानेनन् र लुगा उठाइछोडे । आखिर त्यहाँ केही फेला परेन । राजा थर्थर काम्न लागे । सिद्धले भने– तिमीले भनेको मानेनौ, हेर तिमीलाई औलिया (काम) जरो आयो । राजाले सिद्धसित बिन्ति गरे– ‘महाराज ! यो के लीला हो, मैले केही पनि बुझिनँ ।’

सिद्धले राजालाई भने– ‘हेर, मैले यसमा औलिया जरो राखेको थिएँ । तिमीले देखेका थियौ, तिमी आउनलाग्दा मैले यो लुगा आफ्नु शरीरबाट झिकेर त्यहाँ राखेँ । मलाई जरो आइरहेको थियो । जरो नहटाए तिम्रो स्वागत गर्न असमर्थ हुने थिएँ । त्यसकारण मंत्रबलले औलिया जरो त्यस गुदडी (धाङना) मा राखी तिम्रो स्वागत गरेँ । तिमीले भनेको मानेनौ, दुःख पायौ ।’

राजाले आफ्नु मूर्खताप्रति खेत प्रकट गर्दै सिद्धका पाउमा शिर राखेर रुँदै भने ‘धन्य महात्मा, तपाईं ठूलो सिद्ध हुनुहुँदो रहेछ । मैले तपाईंप्रति अविश्वास गरेर ठूलो भूल गरें । क्षमा पाऊँ ।’

सिद्धले ‘कोई बात नही’ भन्दै मंत्रबलद्वारा राजाका आङमा चढेको जरो उतारी पुनः त्यही गुदडीमा सारिदिए । गुदडी पुनः काम्न वा सगबगाउन थाल्यो । राजालाई माफी दिँदै प्रेमपूर्वक आफ्ना हातले राजाको शिर उठाई भन्न लागे ‘बच्चा विश्वास नगर्दा यस्तै हुन्छ । ईश्वर पनि विश्वासमै छन् । त्यसकारण विश्वास भनेको ठूलो कुरो हो । अर्काले भनेका कुरामा त्यसै नबुझी अविश्वास गर्नु हुन्न ।

राजा लाजले भुतुक्क भए र एक छिनपछि मनमा विचार गरेर यी साह्रै ठूला सिद्ध रहेछन् मैले यिनको के सेवा गर्ने भन्ने मन्मा विचार गर्दा उनको ध्यान आफूले लगाइरअ‍ेको हीराको मालामा पर्‍यो र त्यही माला फुकालेर सिद्धका गलामा लगाइदिए । सिद्धले तत्कालै फुकालेर हातमा लिँदै भने ‘हेर जोगीलाई यस्तो कीम्मती माला के काम लाग्छ ? यो तिमी नै राख ।’ सिद्धको कुरा राजाले सुनेनन् र त्यो माला सिद्धले नजिकै बगिरहेको कोशीको अथाह जलराशिमा हुर्‍याइदिए ।

यो तमाशा देखेर राजाले मनमनै रिसाएर यो फुस्रालाई मेरो माला बाँदरको हातमा नरिवल भयो भनी मुखले ‘हजुरलाई त्यो माला आदरसाथ राख्नु होला भनेर पो श्रद्धाले टक्य्राएको हूँ, फ्याँक्न ता दिएको होइन’ भने ।

सिद्धले शान्तिपूर्वक हाँसेर भने ‘बच्चा, तिमीलाई थाहा छैन । मैले तिमीले दिएको माला आदरसाथ लिएर कोशी माईलाई राख्न दिएको छु, धन्दा नमान’ । तर राजाले यस कुरामा कति पनि विश्वास गरेनन् । फलस्वरुप सिद्धले अल्लि झर्किएर भने ‘कोशी माई, खोइ त्यो अघिको माला ?’

यति भन्नासाथ अघि राजाले सिद्धलाई लगाइदिएका जस्तै पाँचवटा माला एउटा स्वर्णथालीमा अगाडि थुप्रो लागे र सिद्धले भने, ‘लौ लैजा तेरो माला चिनेर । तँलाई आफ्नो मालाको साह्रै माया लाग्यो होइन ?’ राजा अकमक्क परे र राजाले आफ्नु र अरु माला छुट्याउन सकेनन र जोगीले एउटा माला टिपेर दिए । राजालाई आफूले दिइसकेको माला फिर्ता लिन साह्रै अप्ठ्यारो लाग्यो । तर नलिई सुख पाएनन् । सिद्धले बाँक चार माला उसैगरी कोशीमा फ्याँकिदिए । राजा आश्चर्यचकित भए ।

यति घटना घटिसकेपछि सिद्धले सोधे– ‘तिमी बडो शंकालु मानिस रहेछौ । तिमी अवश्य पनि कुनै देशका राजा हौ । अन्यथा यस्तो अविश्वास र शंका अरु कसैले गर्दैन । भन को हौ तिमी ?’ भन्दा राजाले भने– ठीक हो, म फलानो देशको राजा हुँ । बुढेसकालसम्म पनि पुत्रलाभ नभएकोले आफ्नू राज्य केही समयका लागि मन्त्रीहरूका जिम्ममा लगाई वराहक्षेत्रमा तीर्थवास गरी हरिभजन गर्न आएको हुँ’ भन्दा तिम्रो अहिले हरिभजन गर्ने बेला भएको छैन, जाऊ आफ्नू राजकाज संभाल । तिमीलाई चार पुत्र हुनेछन्,’ भनी सिद्धले भने । साथै सिद्धले यो पनि भने– ‘तिम्रो जेठो छोरो मलाई दिनुपर्छ र तीन भाइले तिम्रा साथ राजकाज चलाउनेछन् ।’

राजाले सिद्धको आज्ञा शिरोपर गरी ‘हओस्’ भन्ने बिन्ति चढाए । त्यसपछि राजा सिद्धसित बिदा भएर वराहक्षेत्रको दर्शन गरी आफ्ना राज्यतिर लागे । केही समयपछि सिद्धको आशीर्वादअनुसार राजाका क्रमशः ४ छोरा भए । आफ्नू प्रतित्राअनुसार आफ्नू जेठो छोरो लिई राजा सिद्धकहाँ गएर दर्शन गराए । ती छोरालाई पनि राजाले साथमा लगेका थिए ।

सिद्धले राजाका जेठा छोरालाई आफ्नो साथमा राखे, माहिलालाई विजयपुर, साहिलालाई चौदण्डीगढीमा राज्य गर्न आशीर्वाद दिए। इसपछि राजा प्रसन्नतापूर्वक आफ्नो राजधानीतिर फर्के । सिद्धको आशीर्वादअनुसार क्रमशः माहिला र साहिला विजयपुर र चौदण्डीका राजा भए । कान्छाले बाबुको उत्तराधिकार थामे ।

रहँदाबस्ता जेठालाई पनि सिद्धले चतराको राजा तुल्लाए । तर सिद्धको प्रभावमा परेर ऊ विरक्त भयो । र विवाह गर्न अस्वीकार गर्‍यो साथै राजगद्दीमा पनि बसेन । उसले आफ्ना गुरु सिद्धको गुदडी (पुरानो लुगा) जुन लुगामा अघि वर्णन गरिएअनुसार औलिया जरो सारेका थिए त्यसैलाई गद्दीमा राखी चलाउन लागे । त्यसैकारण यस राज्यको नाम औलिया बाबाका गद्दीका नामले प्रसिद्ध भयो । अहिले पनि यसलाई औलिया बाबाको गद्दी भन्दछन् ।

त्यसै समयदेखि यस क्षेत्रमा अर्थात् विजयपुर, चतरा र चौदण्डीमा सेनहरूको राज्य कायम भयो । राजाको जेठो छोरो विरक्त भएकोले यसको उत्तराधिकार चेलाहरूका हातमा गएकोले चतरागद्दी जोगीको मठ भयो । अरु राज्य गारखा राजवंशका राजा पृथ्वीनारायण शाहको विजय यात्रासम्म उपराजधानीका रुपमा कायम रहे ।

चतरागद्दी जोगीको मठ भए तापनि जंगबहादुरका पालामासम्म त्यसमा सरकारको कुनै हस्तक्षेप भएको थिएन । एउटा स्वतन्त्र राज्यको रुपमा कायमै थियो ।

यसका सम्बन्धमा भनिन्छ जंगबहादुर राणा नेपालको प्रधानमन्त्री नहुँदै मोरङमा शिकार खेल्न गएका थिए । त्यस समय उनले चतरागद्दीका महन्तसित केही हात्ती शिकारका निमित्त मागे र तर मठाधीशले हात्ती दिन अस्वीकार गरी– ‘हात्ती आफ्नू राज्यको कामका निमित्त पालेका हुन् नेपाल सरकारलाई दिन होइन’ यो कुरा जंगबहादुरका मनमा साह्रै गड्यो । त्यस समय उनका हातमा बागडोर थिएन, अतः त्यसै चूप लागे ।

रहँदाबस्दा उनी नेपालका प्रधानमन्त्री भए । उनलाई त्यो कुरा मनमा साह्रै बिझेको थियो । अतः सर्वप्रथम उनले त्यसै मठमा हमला गरेर नेपाल सरकारको हातमा पारे । त्यसपछि आफ्ना मन परेका विश्वासपात्र घरवारी सन्यासी गौतम भारतीलाई सालको पाँच हजार सलामी बुझाउने गरी उनका सन्तान दरसन्तानले खाने व्यवस्थाको लालमोहर गराएर दिए ।

गौतम भारतीपछि यो मठ केही समयका लागि अज्ञात कारणबाट सरकार लाग्यो । धेरै समयपछि उनका उत्तराधिकारीहरूले सरकारसित निवेदन गर्दा यो मठ पुनः राजराजेश्वर भारतीका हातमा आयो । तयसपछि पुनः भारतीका हातबाट छुट्यो र हाल फेरि उनै भारतीका उत्तराधिकारी श्रीप्रसाद भारती त्यस मठका महन्त भए जो अथापि उपयोग गरिनै रहेका छन् ।

माथि उल्लेख गरिएका सिद्धको नामका सम्बन्धमा भनिन्छ पहिले उनको नाम मनमुकुन्द बाबा थियो । सेन राजा आएका समय आफूलाई आएको औलिया जरो आफ्नू लुगामा मंत्रबलले पन्साएको हुँदा त्यस समयदेखि औलो (ज्वरो) काबूमा राख्ने बाबाका नामले प्रसिद्ध भए पछि त्यसैको छोटकरीमा औलिया बाबा भए । उनलको नाम औलिया बाबा भएको कुरामा अर्को किंवदन्ती पनि पेश गरिन्छ । त्यो यस प्रकार छ :-

कुनै समयमा सिद्ध मनमुकुन्द बाबा घुम्दै फिर्दै मोरङ राज्यको दक्षिणमा रहेको पुर्णिया राज्यमा पुगे । त्यहाँ त्यस समय कुनै मुुसलमान नवाब शासन गर्थ्यो । त्यस नवाबका शासनमा पुर्णिया नगरका कुनै हिन्दूलाई राति बास बस्ने इजाजत थिएन । बास बस्नेलाई प्राणदण्ड हुन्थ्यो । संयोगवश त्यहाँ रात परेको हुँदा एउटा रुखमुनि धुनी रमाएर सिद्ध बास बसे ।

भोलिपल्ट बिहान यो कुरा चारैतिर फैलियो । नवाबका गुप्तहरूले यो कुरा थाहा पाएर सिद्ध भएका ठाउँमा आई भन्न लागे ‘नादान काफिर ! तँलाई यस नगरमा कुनै हिन्दूले बास बस्नुहुँदैन भन्ने कुरा थाहा थिएन ?’ उत्तर स्वाभाविक रुपमा ‘थिएन’ भन्ने मिल्यो । नवाबका कर्मचारीले भन्यो ‘हिंड् नवाब साहेबकहाँ, थाहा नपाएको मज्जा चाख्न ।’ उनले अस्वीकार गरे । जोगीका छेउमा अगुल्टा र चिम्टा देखेर सहसा त्यसले हात हाल्ने साहस गरेन र ऊ नवाबकहाँ जाहेर गर्न गयो । नवाबले सबै कुरा सुनेर त्यस काफिरलाई हात्तीले कुल्चाएर मार्नू भन्ने हुकुम दियो ।

त्यति आज्ञा पाएर त्यो कर्मचारी हात्तीसारमा गई एउटा मत्ता हात्ती लिएर जोगी भएको ठाउँमा पुग्यो । माहुतेको इशारा पाउनासाथ हात्ती जोगीलाई कुल्चन अघि सर्‍यो । जोगीले त्यस हात्तीका दुवै दाँत हातले समातेर मुला उखेले झैँ उखेलिदिए । हात्ती चिच्याउँदै आफ्ना पीठका माहुते आदि सबैलाई फ्याँकेर शहरतिर पस्यो र धूमधाम उपद्रो गर्न थाल्यो ।

यता सिद्ध ती दुवै हात्तीका दाँत धुनीका छेउमा गाडी आनन्दपूर्वक हरिभजन गर्न लागे । हात्तीबाट पछारिएका केही कर्मचारीले धूलो टकटक्याउँदै नवाबकहाँ गएर सबै बेलीबिस्तार सुनाए । नवाबले उत्निखेरै तिनै कर्मचारीका साथ एउटा ठूलो किस्तीमा चौरासी व्यंजनले युक्त भोजन सिद्धकहाँ पठायो । किस्ती लिएर कर्मचारी सिद्धकहाँ उपस्थित भएर भने– ‘तपाईं ठूलो फकीर हुनुहुँदोरहेछ त्यसकारण नवाबले तपाईंको निमित्त चौरासी व्यंजनसहितको भोजन पठाएका छन् लिनुहोस् ।’

सिद्धले मुसुक्क हाँसेर त्यो भोजन हेर्दै नहेरी नवाब साहेबको दया हो मैले पाएँ भन्दै नवावकहाँ फिर्ता दिने आदेश दिए । राजकर्मचारी पुनः त्यो भोजन लिएर नवाबकहाँ उपस्थित भए ।

आफ्ना कर्मचारी भोजन फिर्ता लिएर आएको देखी नवाबले सोध्यो के त्यसले भोजन लिएन ? कर्मचारीले उत्तर दिए– ‘नवाब साहेबको दया हो, मैले पाएँ अब यो लगरे नवाब साहबलाई देऊ भनी फिर्ता पठायो ।’ नवाबले कर्मचराीलाई किस्तीको लुगा हटाउने आदेश दियो । आफूले पठाएको गाईका बाछाका टाउकाको ठाउँमा सुँगुरको टाउको देखेर नवाब छक्क पर्‍यो । र भन्न लाग्यो ‘त्यो फकीर कहाँ छ, म भेट्न जान्छु ।’ राजकर्मचराीले नवाबलाई सिद्धको धुनीमा पुर्‍यायो । सिद्ध स्वाभाविक रुपले हरिभजन गरिरहेका थिए ।

नवाबले हात जोडेर सिद्धसित बिन्ती गर्‍यो, ‘महात्मा, तपाईं साँच्चिकै सिद्ध हुनुहुँदो रहेछ । मैले तपाईंलाई कष्ट दिएँ, माफ पाऊँ । तपाईंको जो आज्ञा हुन्छ म पालन गर्नेछु’ भन्दा सिद्धले ‘मलाई कुनै कष्ट भएको छैन तिमीलाई माफ छ’ भने ।

नवाबले धेरै जिद्दी गरेर ‘मलाई केही सेवा गर्ने मौका दिनुहोस्’ भनी जिद्दी गर्दा सिद्धले नवाबसिट दुई कुरा मागे । पहिलो कुरा यो थियो, ’यस नगरमा हिन्दूहरू पनि निर्विघ्नतापूर्वक आवास गर्न पाऊन् र अर्को कुरा म यहाँ एउटा भगवतीको मन्दिर स्थापना गर्छु । त्यसका निमित्त सारा गुठीको व्यवस्था तिमीले गर्नुपर्छ’ भन्दा नवाबले स्वीकार गर्‍यो र त्यस समयदेखि पुर्णिया नगरमा हिन्दूहरूले बास पाएर कालीको स्थापना भयो र पूजाआजा पनि चल्न थाल्यो ।

सिद्धले हात्तीका दाँत त्यसै मन्दिरमा राखिदिए जो आज पनि कालीका रूपमा पूजाआजा गरिँदैछ । यसै समयदेखि मनमुकुन्द बाबालाई औलिया बाबा भनेकामा बिग्रँदै आएर औलिया बाबा भएको हो । औलिया भनेको चटकी वा जादूगर पनि हुन्छ । चटकी जस्तो चमत्कार देखाउने सिद्ध भएको हुँदा औलिया बाबा भनेको पनि हुन सक्तछ । उर्दू भाषामा साधुलाई (फकीरलाई) औलिया पनि भन्दछन् ।

यो माथिको कथाबाट यो ज्ञात भयो– चतरागद्दी कुनै सेनवंशी राजकुमारद्वारा चलाइएको ठूलो मठ रहेछ । उनी विरक्त भएको यसको उत्तराधिकार सन्तान दरसन्दनमा नगई चेलो परम्परामा गयो ।

चतरागद्दीको भूल स्थान आज जुन ठाउँमा छ पहिले त्यसभन्द धेरै तल थियो । त्यो गद्दी सारिएको लगभग आधा शताब्दी जति भयो होला । गद्दी सारिनाको कारण कोशीको बाढीको प्रकोप हो भनिन्छ । कुनै समय पुरानो चतरागद्दीमा बाढी आएर एकै रातमा १२ सय जोगी मरे त्यसैको सम्झानामा आज पनि जोगीमारा घाट (१) भन्ने छँदैछ ।

बाढीका प्रकोपले गर्दा यस मठका धेरै पुरातात्विक एवम् ऐतिहासिक सामग्री नष्ट भए । पटक पटक सरकार लागेको हुँदा अरु तम्रपत्र आदि सामग्री पनि यहाँ छैनन् । वर्तमान मठ भएका ठाउँमा एकातिर मिल्किराखेको एउटा भग्न भगवतीको मूर्ति छ त्यो निकै कलात्मक छ र त्यसको कलापक्षबाट विचार गर्दा १२औं १४औं शताब्दीको जस्तो प्रतीत हुन्छ । यसबाहेक अरु कुनै मूर्ति त्यति महत्वका छैनन् । त्यसको मुख्य कारण हो यस मठको स्थान परिवर्तन । वर्तमान मठका वरिपरिका दर्शनीय चीजहरू यस प्रकार छन् :–

१. लालकोट– रङ्गगमहल ।
२. गुदडी ।
२. मनमुकुन्देश्वर ।
४. गद्दी
५. काली
६. भैरव ।
७. गणेश ।
८. हनुमान

लालकोट रङ्गमहल

यो वर्तमान चतरागद्दीबाट करिब आधा कोश उत्तर पहाडको टाकुरामा छ । यहाँ निकै ठूलो भग्नावशेष छ । सम्वतः यो चतराका मठाधीशको ग्रीष्म–निवास हो । रंगमहल नामले कुनै राजाको महल हो भन्ने संकेत गर्दछ । यहाँबाट कोशीको रमिता देखिन्छ ।

गुदडी

यो मनमुकुन्द बाबाको लुगा हो । यस लुगालाई बडो हिफाजतसाथ मछिन्द्रनाथको भोटो राखे झैं धातुका ठूलो बट्टामा राखिएको छ र प्रत्येक मङ्गलबार (?) बाहिर निकालेर पूजा गरिन्छ ।

मनमुकुन्देश्वर

यो औलिया बाबाको समाधि हो । यहाँ औलिया बाबाको शिवलिंगको रुपमा पूजा हुन्छ । सम्भवतः यो शिवलिंग गद्दी यहाँ सर्दा सारिएको होला ।

गद्दी

यसैको नामले चतरागद्दी भनिएको हो । यहाँ अहिलेसम्म कुनै महन्त गद्दीमा बसेका छैनन् । यसै औलिया बाबाले दिएको गद्दीलाई पूजा गरेर बस्छन् र औलिया बाबाका गुदडीलाई गद्दीको अधिकारी मानी पूजा गर्दछन् । यसै गद्दीको महत्वले गर्दा यस मठको नाम चतरागद्दी हुन गयो । काली, भैरव, गणेश र हनुमान यी पछि स्थापित भएका देवता हुन् ।

विजयपुर

विजयपुर भन्नासाथ यस शब्दले सेन वंशको स्मरण गराउँछ । कारण नेपाल राष्ट्रका निर्माता पृथ्वी नारायण शाहले यिनै सेनवंशीका हातबाट मोरङ जिल्ला लिएका हुन् । त्यस समय मोरङ राज्यको सिमाना पूर्वमा टिस्टा र पश्चिममा कोशीसम्म थियो । यो कुरा हालै प्राप्त भएको एउटा कागतबाट बोध भएको छ ।

यसमा उल्लेख भएअनुसार पं. तुलारामलाई टिस्टादेखि कोशीसम्मको जजमानी गर्ने स्थायी आदेश दिइएको छ र, त्यसलाई गोरखा राजवंशले पनि थमौती गरेको उल्लेख अर्को कागतबाट पाइन्छ ।

विजयपुर कुन समयमा राजधानीको रुपमा परिणत भयो यस विषयमा केही सबल प्रमाण प्राप्त भएका छैनन् । विजयसेनका पालामा बेनको भन्ने किंवदन्तीसम्म पाइन्छ । तर यी विजयसेन कुन शताब्दीका हुन् र कसरी बनाए त्यसको केही चर्चा सुनिएको छैन । कारण विजयपुरबाट जति सामग्री प्राप्त भएका छन् – तिनमा विजयसेनको नाम पाइएको छैन । त्यहाँका सामग्रीबाट निम्न लिखित सेन शासक भएको कुरा जनाउँछ ।

१. हरिश्चन्द्र सेन – वि.सं. १७१९ – मोरङ मुकाम– दुवैको एउटै स्याहामोहर छ ।
२. वृष सेन– वि.सं. १७१९
३. इन्द्रराज राजेश्वरी जीवदेवी – वि.सं. १७६३ – जीतपुर धम्मागत दुवरीआ मुकाम
४. मानधाता सेन – वि.सं. १७६४ – यसमा राजधानीको नाम मेटिएको छ ।
५. विसन्तर सेन – वि.सं. १८०८ – विजैपुर मुकाम – विजैपुर विजयपुरको अपभ्रंश हो ।
६. कामदत्त सेन – वि.सं. १८१३–१८२२ – विजैपुर

यी सबै सामग्रीको नक्कल राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन् । प्रायः यी सबै कागपत्र ‘पुरातत्व पत्र संग्रह’ को दोस्रो भागमा प्रकाशित भइसकेका छन् । उदाहरणका लागि महारानी इन्द्रराजराजेश्वरीदेवी र देवान सीरीकान्त रायका एक एक स्याहमोहर यहाँ प्रस्तुत छन् ।

वराहक्षेत्र

मोरङ राज्यको पूर्व र पश्चिमी सीमा प्रायः निश्चित भए पनि उत्तर र दक्षिणका सिमाना घटबढ भै नै रहन्थ्यो । कारण उत्तरमा सिक्किम र किरात प्रदेशका लडाकू जाति थिए र दक्षिणमा पुंड्र (वर्तमान पुर्णिया) प्रदेश थियो । जहाँ धनधान्यका लागि सधैँ युद्ध हुन्थ्यो । अतः यी दुवै सिमाना शान्ति कायम रहेर एकनासको वातावरण हुनु सम्भव थिएन ।

विजयपुर मोरङ राज्यको राजधानी प्रतीत हुन्छ । कारण यहीँबाट सेनहरूले जारी गरेका अनेक कागतपत्र प्राप्त भएका छन् । विजयपुरमातहतका दर्शनीय एवं पुरातात्विक स्थलहरू यस प्रकार छन् :-

१. दन्तकाली ।
२. पिण्डेश्वर ।
३. बूढा सुब्बा ।
४. तल्लो दरबार (कोट)
५. माथिल्लो दरबार ।
६. साँगुरी गढी ।

दन्तकाली

यो स्थान मोरङ जिल्लाको ज्यादै प्रसिद्ध हो । यहाँको मूर्ति दाँतको आकारको भएको हुनाले दन्तकाली भनिएको हो । यसलाई सतीदेवीको अङ्ग पतन हुँदा दाँत पतन भएको पीठ भन्ने पनि चलन छ । तर यो कुनै इतिहाससम्मत कुरा होइन । यी मूर्ति वा प्रस्तर पुरातात्विक र कलात्म्क दृष्टिले महत्व नभए तापनि यसमा भएको जनविश्वासको परम्परा ज्यादै महत्वको छ ।

कारण दन्तकालीका पुजारी परिवारका एक सदस्य डी. श्री भागवतप्रसाद शर्मा खनालका घरमा अहिले पनि सेनदेखि अहिलेसम्मका कागतपत्र, तम्रपत्र आदि सामग्री सुरक्षित छन् र सेनहरूले दिएका दन्तकालीका बिर्ता अद्यापि उपभोग गर्दैछन् । उक्त कागतपत्रमा उल्लेख भएका पहिला व्यक्ति तुलाराम देखिन्छन् ।

पिण्डेश्वर

यो स्थान दन्तकालीको डाँडाबाट करिब आधा पाउतल ओर्लेपछि आउँछ । यहाँ पिण्डेश्वर महादेवको लिङ्ग स्थापना गरेको छ । यो पनि कलाको दृष्टिले उति महत्वको छैन तर यसप्रति भएको जनविश्वास महत्वको छ । यसलाई कसले स्थापित गर्‍यो । त्यसको कहीँ उल्लेख पाइँदैन र यो स्थान सरकार लागिरहेको हुँदा यहाँ कुनै कागतपत्र पाइँदैनन् ।

यसका नाममा भएको गीर्वाण युद्धविक्रमका पालाको सं १८६८ आषाढ बदि ११ रोज १ र सं. १८६८ आषाढ बदि ७ रोज ५ को थमौतीको ताम्रपत्रबाट ज्ञात हुनछ यसको स्थापना शाहकालभन्दा पूर्व नै भएको हो ।

पिण्डेश्वर महादेवको मन्दिर नजिकै एउटा अर्को देवीको मन्दिर छ जसमा अष्टभुजा महिषमर्दिनी भगवतीको मूर्ति राखिएको छ । यो निकै कलात्मक छ र यसका सम्बन्धमा भनिन्छ यो करिब डेड शताब्दीअघि विराटनगरभन्दा ५ कोश उत्तर–पश्चिम इनरवा भन्ने ठाउँबाट खेत खन्दा प्राप्त गरेर यहाँ ल्याइएको हो । यस मन्दिरको स्वर्णगजुरमा रणबहादुर शाहको सं. १८४९ माघ सुदि १५ रोज १ को अभिलेख प्राप्त भएको छ ।

यस मूर्तिका सम्बन्धमा भनिन्छ २००७ सालसम्म पुजारीबाहेक कसैले दर्शन गर्ने हिम्मत गर्न सकेको थिएन । दर्शन गर्नासाथ भस्म हुन्छ भन्ने जनविश्वास थियो । यस परम्परालाई सर्वप्रथम नेपालका भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ मा तोड्नुभयो भन्ने त्यहाँको जनताको भनाइ छ ।

यो मूर्ति कलापक्षबाट विचार गर्दा १३ औं १४ औं शताब्दीको प्रतीत हुन्छ यसबाट ज्ञात हुन्छ यो सेनहरूकै शासनकालमा बनेको हो । यो मूर्तिको कला सिरौनगढको शैलीसित अधिक समानता राख्तछ । यसबाहेक पिण्डेश्वर वरिपरि केही मूर्तिहरू राखिएका छन् । ती सबै शाहकालका मात्र छन् । योगी नरहरिनाथले यहाँ एउटा भग्नशिलापत्र पोखरीको छेउबाट निकाल्नु भएको रहेछ । त्यो सुरेन्द्रविक्रमको पालाको हुँदा त्यति चाख रहेन र अक्षर पनि मेटिएका छन् ।

बूढा सुब्बा

यो स्थान विजयपुर बजारबाट करिब १०० गज पूर्वमा पर्दछ । यहाँ निकै बाँसघारी छ र यसको बीचमा एउटा कटेरो छ । यसै कटेराभित्रको स्थानलाई बूढा सुब्बा भन्छन् । प्रायः यो किरातीहरूको देवता मानिन्छ । यहाँ कुनै मूर्ति छैन । सम्भवतः यो कसैको समाधि हो ।

यहाँ भाकल गरेर कुनै कार्य गर्नाले त्यो काम सफल हुन्छ भन्ने ठूलो जनविश्वास छ । जुवाडीहरूका त यी इष्टदेवता नै छन् । यस समाधिप्रति यत्रो जनविश्वास कसरी जम्यो त्यो अनुसन्धानको विषय हुन सक्तछ । यिनका विषयमा यही अनुमान गर्न सकिन्छ ।यिनी कुनै ठूला सिद्धपुरुष थिए र मृत्युपछि पनि जनताले उनको समाधिलाई पूज्य मान्दै आए र बूढा सिद्धको अपभ्रंश बूढा सुब्बा भयो अथवा गोरखा राजवंशको विजय–यात्रामा साथ दिने कुनै बूढा सुब्बा (लिम्बू) थिए र उनले त्यहीँ वीरगति प्राप्त गरेर गोरखालीहरूले आदरका साथ समाधि बनाइदिए र पूजाआजाको व्यवस्था गरिदिए । जुन परम्परा अद्यापि कायमै छ । विज्ञानसम्मत नभए तापनि यहाँका जनतामा यो विश्वास छ बूढा सुब्बाका वरिपरिका बाँसको टुप्पो हुँदैन ठुटे हुन्छ ।

तल्लो दरबार (कोट)

यो स्थान ठीक विजयपुर बजारकै छेउमा छ र यहाँ चढेर हेर्दा चारैतिर देखिन्छ । यहाँको भग्नावशेष सेनहरूको विजयपुर दरबार हो । यो निकै ठूलो भग्नावशेष छ । यहाँ किसिम किसिमका कुँदेका ढुङ्गा पाइन्छन् । यस भग्नावशेषको अस्तित्वले गर्दा विजयपुर बजाका मानिसहरूले घर बनाउँदा ढुङ्गा कहाँबाट ल्याउने र कसरी कुँदाउने भन्ने प्रश्नमा ध्यान दिने मौका नै पाएका छैनन् । फलस्वरुप दिनदिनै त्यो पुरातात्विक स्थल लुप्तप्रायः हुन थालेको छ ।

यो कोट नष्ट भएको मुख्य कारणमा भनिन्छ– पहिले मोरङगोस्वारा विराटनगरभन्दा पूर्व रंगेली भन्ने गाउँमा थियो । र त्यो गोस्वारा कर्णेल जीतबहादुर खत्री क्षत्रीका पालामा अर्थात् संवत् १९७१ सालमा विराटनगर सारियो । तयस समय बडाहाकिम बस्ने घर बनाउँदा यसै विजयपुर गढीको ढुङ्गा लगेर जग हाल्ने काम गरियो ।

जसले गर्दा एउटा महत्वपूर्ण पुरातात्विक स्थल धेरै मात्रामा नष्ट भयो । यति हुँदा पनि यो भग्नावशेष निकै बाँकी छ । यहाँका सेनहरू यहीँबाट हारेका थिए । अतः त्यहाँ अनेक हतियार र सिक्काहरू लुकाएको हुन सक्छ र जसले त्यस समयका धेरै कुरा पत्ता लाग्ने सम्भावना छ ।

माथिल्लो दरबार

तल्लो दरबारबाट करिब आधा कोश उकाले गएपछि माथिल्लो दरबार आउँदछ । यहाँ इँटाका भग्नावशेष भेटिन्छन् । तर तलको भन्दा यो भग्नावशेष सानो छ । यसकारण अनुमान हुन्छ – यो सेनहरूको ग्रीष्मनिवास थियो । यो कुनै खास किल्ला र दरबार प्रतित हुन्न ।

साँगुरीगढी

यो विजयपुरबाट दुई कोश उत्तरमा छ । यसको उचाइ करिब ६ हजार फुट होला । यहाँबाट सारा मोरङ जिल्लाको रमिता हेर्न सकिन्छ । यो एउटा सैनिक दृष्टिले बनाइएको पुरानो किल्ला हो र यो कुनै राजा वा राजकर्मचारीको आवासस्थल होइन । यहाँ यसै गढीकी देवीको स्थान छ ।

यहाँ वरिपरिका जनताको भनाइअनुसार २००७ सालसम्म पालोपहराका लागि सिपाही बस्तथे र पूजाआजा पनि हुन्थ्यो, तर अब त्यो व्यवस्था स्वतः खारेज भयो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : ४९ बजे

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी   

काठमाडौं– एलजी नेपालले ‘एफेक्सनेट इन्टेलिजेन्स ‘अभियान प्रस्तुत गर्न लागेको छ ।

कालीकोटको दलित बस्तीमा पुग्यो खानेपानी

मान्म– कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक

सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि

सवा लाख नेपाली कडा लागुऔषध दुर्व्यसनी !

काठमाडौँ – आज अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस,

संघीय बजेटमा मधेशमाथि विभेद गरियो : नैनसिंह महर

वीरगन्ज– नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान