मनाङ– हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा परिचित छ । तर, यहाँ विषादी उपयोगमा न्यूनीकरण तथा प्रयोगमा ल्याउनु अघि नै सचेत गराउने उद्देश्यले समुदायस्तरमा सचेतना फैलाउन कृषि ज्ञान केन्द्र लागिपरेको छ ।
खेतीबालीमा अधिकांश स्थानमा विषादी प्रयोग भएको पाइएको छ । यहाँ पनि बढी उत्पादन लिने र कीरा–फट्याङ्ग्रालाई मार्ने उद्देश्यले उपयोगमा ल्याउन सक्ने सम्भाव्यतालाई मध्यनजर गरी सचेतनाका कार्यक्रम गरिएको केन्द्र प्रमुख मदन रेग्मीले जानकारी दिए ।
मानव स्वास्थ्यमा पार्ने असरका बारेमा समुदायस्तरमा सचेतना फैलाउन आवश्यक देखेर अभियानकै रूपमा कार्यक्रमलाई अगाडि बढाइएको उनको भनाइ छ ।
कीरा–फट्याङ्ग्रा लाग्न नदिनका लागि वानस्पतिक विषादी एवं झोलमल बनाउने विधिसम्बन्धि तालिम दिइएको छ । चामे गाउँपालिका–२ का करिब ४२ किसानलाई प्राङ्गारिकमय बनाउने उद्देश्यले रासायनिकभन्दा प्राङ्गारिक मल प्रयोगमा ल्याउन सिकाइएको प्रमुख रेग्मीले बताए ।
सिस्नु, तितेपातीबाट जैविक मल बनाउन सिकाइएको र जैविक मलले माटोको उर्वरतामा वृद्धि गर्ने प्रमुख रेग्मीले बताए ।
मनाङमा उत्पादित खाद्यवस्तु पूर्ण रूपमा विषादीरहित भए पनि अहिले मौसममा आएको परिवर्तनले विषादी हाल्नुपर्ने सूचना पाएका किसानलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया