एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम। धनकुटाका केही र ते-हथुमको केही भाग यस थुम अन्तर्गत पर्छ। छथर थुममा बसोबास गर्ने प्रमुख बासिन्दामध्ये खेवा लिम्बू एक हुन्। उनीहरु कुखुरा वा पंक्षीजन्य कुनै पनि मासु खाँदैनन्। यो उनीहरुको जातीय विशेषतामध्येको एक हो।
खेवा लिम्बूहरुले कुखुरा वा कुनै पनि पंक्षीजन्य मासु नखानुको कारणबारे “मानव उत्पति र खेवा वंश” (२०५५:२०/२५)मा एक रोचक लोकआख्यान छापिएको छ। जो यसप्रकार छ :
खेवा लिम्बूका पूर्खा पोङ्गेनदिङ नामका एक बालकले शिकार खेल्ने क्रममा बाटोमा एक दिन एउटा वन कुखुराको अण्डा भेट्छ। अण्डालाई उसले कतिसम्म माया गर्छ भने सुत्नेबेलामा पनि आफ्नै ओछ्यानमा न्यानो दिएर जतनसाथ राख्छ। समय पुगेपछि अण्डाबाट एउटा भाले चल्ला कोरलिन्छ। त्यो भाले वन कुखुरा हुन्छ।
भालेले जवान भइसकेका पोङ्गेनदिङलाई सृष्टि चलाउन विवाहका लागि सल्लाह दिन्छ। पोङ्गेनदिङलाई भने कोसँग विवाह गर्ने केही थाहा हुँदैन। तर भालेले उसको लागि आफूले दुलही खोजेर ल्याइदिने प्रस्ताव राख्छ र दुलही खोज्न उडेर कतै जान्छ।
केही दिनपछि त्यो वनकुखुरा भाले एउटी सुन्दरी कन्यालाई लिएर आइपुग्छ। पोङ्गेनदिङ आश्चर्यमा पर्छ। त्यस वन कुखुरा भालेकै तजविज र सल्लाहमा पोङ्गेनदिङ र कन्याबीच लगनगाँठो जोडिन्छ।
विवाहपछि वन कुखुराले उनीहरुबाट बिदा माग्दै भन्छ, “मैले तिम्रो गुनको बदला तिरेँ। अब मलाई बिदा देऊ।”
आफूलाई देख्नु वा भेट्नु छ भने बिहानको मिर्मिरेमा आकाशको पूर्वतर्फ हेर्दा आफ्नो शिर र पुच्छर देखिने बताउँदै वन कुखुरा भाले आफ्नो बाटो लाग्छ। दम्पत्तिले भोलि बिहानै पूर्वतर्फ आकाशमा मिर्मिरे उज्यालो हुनासाथ हेर्दा त्यो वन कुखुरा त शुक्रतारा पो भएको थाहा पाउँछन्। उनीहरुलाई लाग्छ, वन कुखुराको स्वरुपमा भगवान पो आएको रहेछ। त्यसपछि उनीहरुले आफूबाट जन्मने सन्तानको वंशको नाम “खेवा” राख्ने निर्णय गर्छन्। लिम्बू भाषामा “खे” भनेको वन र “वा” भनेको कुखुरा हो।

यो दम्पत्तिबाट जन्मेका दुई छोरामध्ये कान्छो चाहिँ औधी शिकार खेल्ने भएर निस्कन्छ। शिकार खेल्दा कुनै पनि पंक्षी मार्न नहुने बुबाआमाको अर्ती उपदेशले उसलाई छुँदैन। एक दिन शिकार खेल्दै जाँदा शुक्रतारा झुल्किसकेको हुन्छ। त्यसैबेला उसले जङ्गलमा एउटा वन कुखुरा देख्छ। धनुकाँडले त्यसलाई प्रहार गर्दा निशाना चुक्छ। बरु त्यस वन कुखुराले भन्छ,“मलाई मार्न खोजेर तिमीले ठूलो गल्ती ग-यौ। मैले तिम्रो सृष्टिका लागि काम गरेको थिएँ।” यसो भनिसकेपछि वन कुखुरा तत्काल त्यहाँबाट अल्पिन्छ। वन कुखुराको शिकार गर्न गएको त्यो व्यक्तिको पनि तत्काल मृत्यु हुनपुग्छ।
वन कुखुरासँग यस्तो लोकआख्यान गाँसिएका पोङ्गेनदिङलाई आफ्नो आदिपुर्खा मान्ने खेवा लिम्बूहरु कुनै पनि पंक्षी जगतको शिकार गर्ने र मासु खाने गर्दैनन्। यस लोकआख्यानले खेवा लिम्बूहरुको प्रकृतिसँगको सामिप्यलाई स्पष्ट पार्छ। खेवा लिम्बूहरुसँग यस्तो अनुश्रुति मात्रै होइन, प्रशस्तै प्रामाणिक इतिहास पनि छ। अब यसबारे यहाँ चर्चा गरिन्छ।
छथर थुमका खेवा लिम्बू
पूर्वी नेपालको छथर थुम लिम्बूहरुमध्ये खेवाहरुको ऐतिहासिक आवादस्थल हो। धनकुटा र तेह्रथुमका केही गाउँ यस क्षेत्रमा पर्छन्। यस क्षेत्रमा बसोबास गर्ने लिम्बूहरुलाई छथरे लिम्बू र यहाँ बोलिने लिम्बू भाषालाई छथरे भाषिका भनिन्छ।

कमल तिगेला र भैरव आङ्लाद्वारा सम्पादित “छथरको ताक्लुङ” (२०६९:१०) अनुसार छथर थुमअन्तर्गत तेह्रथुमको आङदिम, हमरजुङ, वसन्तपुर, फुलेक, दागपा, सुदाप, ओख्रे, फाक्चामारा र पञ्चकन्या गाउँ पर्थे। यस्तै धनकुटाका हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, मारेकटहरे, पाख्रिबास, लेगुवा, सान्ने, फलाँटे, घोर्लिखर्क, तेलिया, परेवादिन र ताङ्खुवा गाउँ छथर थुमअन्तर्गत पर्थे।
यस थुमलाई मुख्य आवादस्थल बनाई बसोबास गर्ने छ वटा थरका लिम्बू प्रमुखहरुको यहाँ मुख्य परम्परागत किपटिया सुवांगी रहेको थियो। ती लिम्बू हाङ (प्रमुख)हरुमा खजुम, खेवा, खादी, मुबेरु, हाङ्बेरु र हाबेरुहाङ हुन्। यस लेखमा खेवा वंशका लिम्बूहरुको इतिहासको लहरो पहिल्याउने कोशिस गरिएको छ।
छथरे लिम्बूहरूमा खेवा थरका लिम्बूभित्र पनि छ वटै थर तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन्। छथरे लिम्बूहरुको वंशावलीअनुसार छैटौँ शताब्दीमा यसै गढीमा रहेर छथरे प्रान्तको शासन गर्ने लिम्बू राजा इमेबुङका दसौँ पिँढीका हाङजिलीहाङ्दुम्बाका चार भाइ छोरा आपसमा छुट्टिदा खेवा लिम्बूहरू चार थरमा विभाजित हुन पुगे। जेठा छोरा मुक्तिमहाङ खेवालाई तिगेला भन्न थालियो।

यस्तै, माइलो लुङ्दुमलाई मङ्याक, साइँलो लेतुमलाई आङ्लाबाङ र कान्छो चोङहिमलाई चोङबाङ र यी चार जना चार थरमा विभाजित हुन पुगे। तीमध्ये मङ्याक थरबाट अर्को दुइ थर निस्क्यो। उनका सन्तानमध्ये एकले मादेन र अर्कोले तुम्बा थर लेख्न थाले (“खेवा वंशावली”,२०५५:४५)। यसरी खेवा लिम्बूहरु पनि छ वटा थरमा विभाजित भए।
खेवाहरुको प्राचीन रजस्थल
लिम्बूहरुले आफ्नो आदिथलो, कर्मभूमि वा प्राचीन रजस्थललाई “माङ्गेना यक”भन्ने गर्छन्। लिम्बू भाषामा यक भनेको गढी हो। सुरक्षाको दृष्टिले यस्ता गढीहरु प्रायः अलि दूर्गम र पहाडको टुप्पामा हुने गथ्र्यो। लिम्बूहरुको सामाजिक संस्कारमा फेदाङ्माले फलाक्ने मुन्धुममा उनीहरुको मुन्धुमी इतिहासको लहरो पहिल्याउन यक (गढी)को नाम अनिवार्य रुपमा भन्नै पर्छ।
खेवा लिम्बूहरुले तेह्रथुमको साविकको ओख्रे गाविसमा रहेको ताक्लुङ यक (गढी) लाई आफ्नो इतिहासको विरासतयुक्त स्थल मान्ने गरेका छन्। उक्त गढीको ऐतिहासिक पक्ष केलाउने हो भने सो गढी छैटौँ शताब्दीमा लिम्बूवान दस प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले खडा गरेका हुन्। इडेन भ्यान्सिटार्टले आफ्नो पुस्तक “गुर्खाज” (सन् १९१८:१०४) मा उक्त ठाउँमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ्ग गढी बनाएको उल्लेख गरेका छन्।
इमानसिंह चेम्जोङले “किरातकालिन विजयपुरको सङ्क्षिप्त इतिहास” (२०५९:४) मा भ्यान्सिटार्टलाई नै समर्थन गर्दै ताक्लुङ यक खजुमहाङले बनाएको उल्लेख गरेका छन्। तर उनीहरू सबैको धारणाप्रति असहमति जनाउँदै शिवकुमार श्रेष्ठले “लिम्बूवानको ऐतिहासिक अध्ययन” (२०५२:३८/३९) मा उक्त गढीमा रहेर इमिमुहाङले छथर थुमको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन्।

यस यक (गढी)लाई खेवा लिम्बूहरुले आफ्नो आधिकारिक सांस्कृतिक र ऐतिहासिक विरासतका रुपमा मान्यता दिँदै आएका छन्। “खेवा वंशावली” (२०५५:२५/२६) अनुसार प्राचीनकालमा खेवा वंशका पुर्खा पश्चिमी क्षेत्रबाट बसार्इं सर्दै लेगुवाघाट हुँदै ओख्रे पोमेजोङमा आई बसे। उनीहरु गाईका बथान चराउँदै थाक्लुङ डाँडामा पुगे। उनीहरुले त्यहाँ आफू चार भाइ मुक्तुम, लुङदम, लेतुम र चोङहिमहाङ भएको सङ्केत स्वरुप चारवटा शिलास्तम्भ ठड्याएका थिए। तर २०१३ सालमा भूक्षय र पहिरोमा परी ती शिलास्तम्भहरु हराए।
खेवाहरु गोरखाली अधिपत्यमा
वि.सं. १८३१ को साउन महिनामा गोरखालीहरुले विजयपुर केन्द्रलाई हात लिए। त्यसबेला हालको इलाम, पाँचथर र ताप्लेजुङको पूर्वी भेगका अधिकाँश लिम्बू सुब्बाहरु सिक्किम राज्यसँग निकट थिए। फेदाप, छथर, चौविसे, आठराई, पाँचखपन तथा पाँचथरको पश्चिम क्षेत्रका लिम्बू सुब्बाहरु भने विजयपुरका सेनवंशी राजासँग निकट थिए। खेवाहरुको पनि सेनवंशी राजासँग निकटता थियो। स्थानीय स्वशासन आफ्नो हातमा भए पनि उनीहरु केन्द्र सरकार विजयपुरलाई मान्थे।
वि.सं. १८३१ साउन महिनामा अभिमानसिंह बस्न्यात, पारथ भण्डारी लगायतका गोरखाली सेनापतिहरुले विजयपुरलाई आफ्नो अधिनमा ल्याए। यसका लागि उनीहरुले सुन राय, कुम राय र जङ्ग रायसँग सम्झौता गरे। तर सबै लिम्बू सुब्बाहरुले वि.सं. १८३१ साउनमै गोरखाली आधिपत्यलाई स्वीकार गरेका थिएनन्। तत्काल गोरखाली आधिपत्य स्वीकार नगर्ने लिम्बू समूहमा छथरका खेवाहरु पनि थिए। उनीहरुले गोरखालीले विजयपुर हात लिएका ६ वर्षपछि मात्रै पूर्वी क्षेत्रमा खटिएका गोरखाली भारदार बन्धु रानामार्फत् गोरखाली आधिपत्य स्वीकार गरेका थिए।
यसबारेमा पनि केही चर्चा गरौँ। तत्कालीन लिम्बूवान हात लिन पहाडी क्षेत्रबाट रामकृष्ण कुँवर, अमरसिंह थापा तराई क्षेत्रबाट अभिमानसिंह बस्न्यात र पारथ भण्डारीलगायतको सैन्य नेतृत्वमा गोरखाली सेना खटिएको थियो। इतिहास शिरोमणि बाबुराम आचार्यले “पूर्णिमा” पूर्णाङ्क ५० (भदौ २०३८:२२)मा उल्लेख गरेअनुसार वि.सं. १८३० को चैत महिनामा गोरखाली सेना चैनपुर पुग्यो।

त्यसबेला घमासान युद्ध भयो। लिम्बूहरुमध्ये सुन राय, कुम राय र जङ्ग रायले सन्धि सम्झौता गरे तापनि गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढमा बसी लड्दै रहे। तर हातहतियारको अभावले उनीहरुले हार स्वीकार गर्नुप-यो। उनीहरु आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरुले छाडेनन् (चेम्जोङ, २०५९:४५/४६)।
यस ऐतिहासिक प्रसङ्गमा छथरका सुनुहाङ वा त्यस क्षेत्रका लिम्बूहरु तत्कालै गोरखालीहरुसँग मिलेका थिएनन् भन्ने पछि शाह राजाहरुले खेवा लिम्बूलाई गरिदिएको लालमोहरले प्रष्ट पार्छ।
खेवाहरुको प्रामाणिक इतिहासका लागि काम लाग्ने प्रशस्तै ऐतिहासिक पत्रहरु उपलब्ध छन्। तीमध्ये भगिराज इङ्नामले “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह” (२०७७:२८३)मा प्रकाशित गरेको खेवा लिम्बू सुब्बा वेमां रायको नाममा वि.सं. १८३७ वैशाख वदी ३० रोज ५ मा तात्कालिन राजा रणबहादुर शाहले जारी गरेको लालमोहरले खेवाहरुको सम्बन्धमा ठूलो ऐतिहासिक महत्त्व राख्छ। उक्त मोहरमा हिजो मकवानी सेनहरुसँग निकट रहेका खेवा लिम्बूहरुले आफूहरुको जीउधनको रक्षा हुने हो भने गोरखा राज्यमा सम्मिलित हुने प्रस्ताव राखेकोले उनीहरुको उक्त प्रस्ताव स्वीकार गरी उनीहरुलाई आफ्नो नयाँ राज्यमा सम्मिलित गराइएको उल्लेख छ। मोहरमा “तहासम्म मकुवानीका नुन षायाको थीयो ञाहासम्म धंजीयले भर्नु मर्नु पनी ग-यो सेवकको तहासम्म हो मकुवानी राजा पनि ई येस देस पनी हाम्रा अम्वल भई देसमा जजस राजाको हुकुं छ र्उस देसका सेवकले र्उ राजा कन मांने धर्म हो सोही जानी जीय धंको षातीरजामा पाया आर्उला भन्ने कुरा वींन्ती गरी पठायाछौं।
तसकुराकन हिजो गर्नु नगर्नु गरया छं धंजीयाको पीछा गरी वक्स्यौं षातीर जामा सीता आफ्ना भाई भै दस लीम्वु सुवा राई लीकन आव पीछा लीञु” भन्ने उल्लेख भएकोले खेवा लिम्बूहरु वि.सं. १८३१ साउनमा नभई त्यसको ६ वर्षपछि वि.सं. १८३७ वैशाखमा मात्रै गोरखा राज्यमा सम्मिलित भएको प्रमाणित हुन्छ।

राज्यका तर्फबाट खेवा लिम्बूहरुकै नाममा जारी अर्को मोहरअनुसार उनीहरु तात्कालीन काजी बन्धु रानाको पहलमा गोरखा राज्यमा सम्मिलित भएको देखिन्छ। मोहरमा “वंधुरानाको वाटो गरी हीजो तीमीहरु पीछा प-याथ्यौ हामीले पीछा लियकै छ” (इङ्नाम, २०७७:१८१) भन्ने परेको छ।
राजा प्रतापसिंह शाहको देहान्तपछि राजमाताको हैसियतले राजेन्द्रलक्ष्मीदेवीले बालक राजा रणबहादुर शाहको नायवी लिएर शासन चलाइरहेको बेला राजकुमार बहादुर शाहको षडयन्त्रमा महारानी पक्षधर तत्कालिन मूलकाजी सर्वजित रानाको हत्या गरिएको थियो भने राजेन्द्रलक्ष्मी थुनामा परेकी थिइन्। पछि फेरि राजेन्द्रलक्ष्मी शक्तिमा आउँदा बहादुर शाह विस्थापित भएका थिए भने सर्वजित रानाका भाई बन्धु रानालाई काजी नियुक्त गरिएको थियो (ज्ञानमणि नेपाल, “नेपालको महाभारत”-२०५२:२०)। इङ्नाम (२०७७:५८९)ले बन्धु राना र सरदार प्रतिमन रानाले वि.सं. १८३७ असोज वदी ४ रोज १ मा फेदापका सुब्बा मन्जित रायको हिजो सेनकालिन किपट थामिदिएको रुक्का प्रकाशित गरेकोले त्यस समय गोरखा राज्यमा मिलिनसकेका लिम्बूहरुलाई मिलाउन त्यतातिर बन्धु राना सक्रिय थिए भन्ने देखिन्छ। त्यसैक्रममा उनले खेवा लिम्बूहरुलाई गोरखा राज्यमा सम्मिलित गराएका थिए। पछि सुरविर राना गोरखाली भारदारका रुपमा त्यतातिरको काजमा पुगेका थिए।
वानारसी उपाध्यय, उमापति सापकोटा र विक्रम खड्कासहित सुरविर रानाले खेवाहरुलाई वि.सं. १८६० माघ सुदी १५ रोज ५ मा छोङ्देनको जग्गासम्बन्धी पत्र लेखेको (इङ्नाम २०७७:६१४) देखिएकोले सुरवीर राना वि.सं. १८६० तिर त्यस क्षेत्रमा सक्रिय रहेको देखिन्छ।
बन्धु रानाकै छोरा हुन्, सुरविर राना। इतिहासकार धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठले “शाहकालको अभिलेख” (२०३७:३७४)मा सुरविर रानाले मनकामना मन्दिरको ढोकाको बायाँ खापामा वि.सं. १८५९ मा कुँदाएको अभिलेख प्रकाशित गरेका छन्। अभिलेखमा उनको मूल घर गोरखा रहेको र बाजेको नाम जयराज र बाबुको नाम बन्धु राना रहनुका साथै आमाको नाम जयकुमारी पत्नीको नाम गुलाफदेवी र छोराहरु सरवरसिंह र रणमेरसिंह रहेको उल्लेख छ। यसकारण सुरविर राना बन्धु रानाकै छोरा हुन् भन्ने स्पष्ट छ।
हात्तिखर्क : छोङ्देनको उपहार
हाल : खेवाहरुको मूलबसोबास रहेको हात्तिखर्कको पुरानो नाम टोकिमदेन हो। भूमिसुधार लागू हुनुअघिसम्म यस क्षेत्रमा खेवा लिम्बूहरुको परम्परागत किपटिया सुवांगी थियो।
यस गाउँमा खेवाहरुको आगमनअघि छोङ्देनहरुको आधिपत्य थियो। पछि छोङ्देनहरुले यस क्षेत्र खेवाहरुलाई सुम्पिएर आफूहरु धनकुटातिर गए। उनीहरु आठपहरिया राई समाजमा सम्मिलित भए।

छोङ्देनहरुको यस भूमि खेवाहरुको हातमा कसरी आइपुग्यो ? यसबारेमा एक अनुश्रुति पाइन्छ। यसबारे इतिहासकार तथा लोककथाकार शिवकुमार श्रेष्ठले “किराती लोककथाहरु” (२०६९:५०)मा एउटा यस अनुश्रुतिलाई समेटेका छन्। जो यसप्रकार छः
छोङ्देनहरुको बेला बेलामा छिमेकी रुदुवाहरुसँग युद्ध भइरहन्थ्यो। एकपटक युद्ध कतिसम्म भयानक भयो भने रुदुवाहरुको आक्रमणमा परी छोङ्देनहरुको ज्यान जाँदा केवल दुई जना दाजुभाई बडो मुस्किलले बाँच्न सफल भए। उनीहरु लेकको बाटो गरी सुदाप क्षेत्रमा शासन चलाइरहेका खेवा लिम्बूहरुसँग सहयोग माग्न हिँडे। बाटोको जङ्गलमा भाइको देहान्त भयो भने दाजु चाहिँ बेहोश भए। उनलाई जङ्गलमा घाँसदाउरा गर्न आएकाहरुले भेटी औषधोपचार गरेपछि उनी एक्लै सुदाप पुगे, र सहयोगको याचना गरे। खेवा लिम्बूहरुले सहयोग गरेवापत आफूहरुले के पाउने ? भन्ने जिज्ञासा वा सर्त राखे। छोङ्देनले आफूहरुलाई सहयोग गरी आफ्ना शत्रु नाश गरिदिए। पूजाको लागि एक मुरी फल्ने माटोबाहेक आफ्नो आधिपत्यको पुरै गाउँ नै दिने वाचा गरे।
त्यसपछि खेवा लिम्बूहरु सिधुवाबाट माङमाया खोला झरी ओख्रे खोलामा बास बसी त्यहाँको फेदीबाट हात्तिखर्क उक्ले। उनीहरुको रुदुवाहरुसँग घमासान युद्ध भयो। उनीहरुले रुदुवाहरुलाई छामलाङभन्दा पारी कटाए। त्यसपछि हात्तिखर्क खेवा लिम्बूहरुको आधिपत्यमा आयो। पूर्वसर्तअनुसार छोङ्देनले एक मुरी फल्ने माटो पाए। त्यसपछि छोङ्देन धनकुटामा आई आठपहरिया राईहरुसँग सम्मिलित भए।
यस अनुश्रुतिमा छामलाङ नामको ठाउँ परेको छ। यो ठाउँ लेगुवाको छुम्लिङ हो भन्ने प्रमाण प्राप्त छन्। तात्कालिन राजाहरुले खेवाहरुको नाममा गरिदिएको लालमोहरहरुमा छुम्लिङ उल्लेख छ। बचेखुचेका रुदुवाहरु पछि लेगुवा, जीतपुरतिरका याक्खा समुदायमा सम्मिलित भएको हुनसक्ने अनुमान गर्न सकिन्छ। हालः किटेरै भन्न नसकिने भएकोले यसबारे थप अनुसन्धानको आवश्यकता छ।
“खेवा वंशावली”(२०५५:३२)अनुसार छोङ्देनलाई सहयोग गर्ने खेवा लिम्बूहरुको नेतृत्त्व हाङजिलि हाङ्दुम्बाले गरेका थिए। उनी छोङ्देनको ससुराली थिए। उनीहरुले हात्तिखर्कपछि मुर्तिढुङ्गा गाउँलाई पनि आफ्नो आधिपत्यमा ल्याए। अहिले पनि हात्तिखर्कको माकलुङमा छोङ्देनहरुको पूजाको लागि छुट्याइएको एक मुरी फल्ने जग्गा छँदैछ।
आठपहरिया राईहरुमा सम्मिलित भएका छोङ्देनहरुको धनकुटा नगर क्षेत्रको तल्लोकोप्चे, माझगाउँमा बसोबास रहेको छ। उनीहरु अहिले पनि धुले पूजा (भूमिपूजा) गर्न हात्तिखर्क पुग्ने गर्छन् (काजीमान कन्दङ्वा, “आठपहरिया राई जातिको दिनचर्या”–२०५०:३–४)। उनीहरु हरेक वर्ष हात्तिखर्क र धनकुटा नगरको सिमानामा पर्ने तालखर्क डाँडामा पुगी हात्तिखर्कतिर फर्केर भूमि पूजा गर्छन्।
हात्तिखर्क क्षेत्रमा खेवा लिम्बूहरुलाई छोङ्देनहरुले जग्गा सुम्पिएको अनुश्रुतिमा मात्रै सिमित नभई ऐतिहासिक रुपमै प्रामाणिक छ। इतिहासकार इङ्नाम(२०७७:६२–६३)ले राजा रणबहादुर शाहले वि.सं. १८५१ साउन सुदी १० रोज ४मा खेवाहरुलाई दिएको लालमोहरमा यसबारे स्पष्ट उल्लेख छ। लालमोहरमा “आगे. षेवा राई के लाषाकुं छोंदेन्को गा अघि मोहर गरि वक्स्याको हो. ति मोहर चार किला भित्र वषत् छुमलिंको जागि वाहिकको वाझो षेत. हाम्रो सोझो टहलमा गरं ज्यां. थामि वक्स्यौं षातिरजामा संग वनाई विह्राई भोग्य गर” भन्ने परेकोले खेवाहरुले छोङदेङहरुबाट हात्तिखर्कको जग्गा पाएको ऐतिहासिक रुपमै प्रामाणिक रहेको छ।
छोङदेङको जग्गामा मुद्दामामिला
छोङदेङहरुले खेवाहरुलाई छाडिदिएको हात्तिखर्कको जग्गाको साँध सिमानाका बारेमा काजी जसपाउ थापाले वि.सं. १८४९ पुस सुदी ८ रोज ६ मा खेवा लिम्बू रामजित रायलाई गरिदिएको कस्य रुक्काले पनि स्पष्ट पार्छ। इङनाम (२०७७:५९६–९७)ले प्रकाशमा ल्याएको यो रुक्कामा “षेवा रामजित रायलाई दिइएको हौंगन्या षोला. मंमाया पुर्व. राम्च्या डांडा पछिम् फाकुवा षोला उतर पत्त्याक. दषिन. इति चार ४ किला भित्रको. रेषो वान्झो षेत समेत छौंदेन. छाप गरि मोहोर. वक्स्याको हो त्यहि मोहोर वमोजिम्. हामिले. छापको वाहालि दिञौं” भन्ने ब्यहोरा परेको छ। यो जग्गामा बेला बेलामा झगडा र मुद्दामामिला परेको पनि देखिन्छ।
यो जग्गाको विषयमा मुद्दामामिला पर्दा डिठ्ठा सुवुद्धि र विचारी जयकृष्ण पाठकले मुद्दा छिनेर खेवाहरुलाई वि.सं. १८५८ कात्तिक सुदी ११ रोज २ दिएको जितापत्र पनि इङ्नाम (२०७७:६१२–१३)ले प्रकाशमा ल्याएका छन्। पत्रमा “…छौदेन् जिमि अघि निराजो छंदा. रोदुवा. साधि. त्यो जगा उकास्दा. तम्रो पुर्षाले पायाको जिमिदार. छौदेन् हाङ्ले दियाको रहेछ. आजु रुपैञाँ. ७२५ रुपैञाँ दामलाई. याका मझिया ठोकि अरु महोर. विर्ता गन्र्या संग. झगरा गरि. अघिको आफ्नु रेष सच्याई…वक्साई. महोर गरि तेस् जग्गामा लाग्याका स्याक सरह तिरि भाम्याको आफ्नु जिमि. रहेछ. हामिले पनि अदालथवाट जाँचिवुझि. तम्रो चलन. थामिदिञुं” भन्ने परेको छ।
तर इङ्नामले यस पत्रमा उल्लेखित मुद्दा छिन्ने एक व्यक्तिको नाम भने अशुद्ध रुपमा उल्लेख गरेका छन्। मुद्दा छिन्ने डिठ्ठाको नाम श्री मु.बुद्धि लेखेका छन् तर सक्कलमा श्री शुबुद्धि रहेको छ।
त्यो समय सुबुद्धि खड्का दरबारमा न्यायक्षेत्र हेर्ने भारदारको रुपमा सक्रिय भएको इतिहास पाइन्छ। नेपाल (२०५२:४८–४९) ले उल्लेख गरेअनुसार वि.सं. १८५८ असोज वदी ६ मा तात्कालिन मूलकाजी कीर्तिमानसिंह बस्न्यातको हत्या भयो। यस काण्डमा सरदार प्रतिमन राना, गर्भु खवास, इन्द्रसिंह खवास काटिए। काजी देवदत्त थापाको आँखा झिकियो। कतिपयलाई थुनामा राखियो भने कतिपय देशनिकाला भए। खाली हुन आएको मूलकाजीमा नायव महारानी सुवर्णप्रभाले कीर्तिमानसिंहकै भाइ बख्तावरसिंह बस्न्यातलाई मूलकाजी गराउँदा अमरसिंह थापालाई काजी र डिठ्ठा सुबुद्धि खड्कालाई सरदार मान दिइएको थियो।
खेवा लिम्बूहरुलाई छोङ्देनको जग्गासम्बन्धी मुद्दामामिलामा जितापत्र दिने न्यायकर्मी पनि उनै सुबुद्धि खड्का हुन् भन्ने स्पष्ट छ।
त्यसबेला छोङ्देनहरुले खेवाहरुलाई छाडिदिएको यस जग्गासम्बन्धी उनीहरुको कोसँग मुद्दा मामिला परेको रहेछ छ त ? इङ्नाम (२०७७:६११) यसै जग्गासम्बन्धमा वि.सं. १८५८ अगहन (मङ्सिर) वदी ५ रोज ४ मा चैनपुर अदालतबाट विचारीहरु गंवतपति पाध्या र जोखु खड्काले खेवाहरुको पक्षमा मुद्दा छिनेर दिएको कस्यपत्रमा “षेवा राई के छुम्दिं जिमि वापत आङ्द्रुं मझिया सित वाझि आउदा…” भन्ने परेको छ।
यताबाट हेर्दा त्यसबेला मझिया पद याक्खाहरुले पाउने गरेको र आन्द्रुङ (साविकको अर्खौले जीतपुर र हालः महालक्ष्मी नगरपालिका) क्षेत्र याक्खाहरुकै पुरानो जिम्माको किपट भएकोले खेवाहरुको जग्गासम्बन्धी त्यसबेलाको मुद्दा याक्खाहरुसँग परेको भन्ने स्पष्ट हुन्छ।
यिनै प्रामाणिक इतिहासको विरासत बोकेको हात्तिखर्कका खेवा लिम्बूमध्ये सुब्बा हृदयमान तिगेला खेवाका एक जना छोरा हरिराज खेवा एकपटक मुलुकको राज्यमन्त्रीसम्म भए। उनको सडक दुर्घटनामा परी नौ वर्षअघि देहान्त भयो।
प्रतिक्रिया