म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा गरिएको किवी खेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ ।
२०७२ सालमा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौंबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रुपमा खेती गरेका थिए । तत्कालीन समयमा लगाएका बोटले ६ वर्षपछि फल दिन थालेपछि स्थानीय किवी खेतीमा आकर्षित भएका हुन् ।
२०७४ सालमा वडा कार्यालयले ‘एक घर पाँच किवी’ का बिरुवा लगाउने अभियान सञ्चालन गरेपछि वडामा किवी खेतीको लहर चलेको थियो । किवीखेती सुरु भएको एक दशकमा वडामा करिब चार सय रोपनीमा किवी खेती विस्तार भएको छ ।
भकिम्ली, चिनाखेत, डाँडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । उनका अनुसार, भकिम्लीमा अहिले कृषकहरूले पाँच हजार बढी किवीका बिरुवा लगाएका छन् ।
‘किवीलाई स्थानीयले प्रमुख खेतीकै रुपमा अघि बढाएका छन्, वडा र नगरपालिकामार्फत किसानलाई किवीका बिरुवा, पोल, तार र सिँचाइमा अनुदान उपलब्ध हुँदै आएको छ, खेतीयोग्य जमिनमा खाद्यबालीको विकल्पमा किवी खेती विस्तार गर्ने अभियान नै चलेको छ’, वडाध्यक्ष पुनले भने । वडाभित्र सामूहिक र व्यक्तिगत रुपमा फर्म दर्ता गरेर किसानहरू गाउँलाई किवी गाउँको रुपमा विकास गर्ने प्रयासमा लागि परेका छन् ।
भकिम्लीमा बेलढुङ्गा किसान समूहले मात्रै एक हजार दुई सय वटा किवीका बोट लगाएको छ । किवी खेतीको अगुवा किसानको रुपमा परिचित लालबहादुर पुनले तीन सय, लक्षु पुनले दुई सय ५०, लालबहादुर घर्तीले २५० बोट किवी लगाएका छन् ।
गाउँका युवाहरूले परम्परागत कोदो, मकै फल्ने बारीमा समेत किवी खेती सुरु गरेका छन् । वडामा हाल ५० भन्दा बढी किसान किवी खेतीमा छन् ।
किवी खेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए । चालु आर्थिक वर्ष २०८१–०८२ मा नगरपालिकाबाट विनियोजन भएको १२ लाख रुपैयाँ बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुङ्गानाले बताए ।
‘विगतका वर्षमा यस क्षेत्रमा फलफूलखेती प्रवर्द्धन कार्यक्रममार्फत किवी खेती विस्तारमा नगरपालिकाले सघाएको थियो, यसवर्ष किवी पकेट क्षेत्र विस्तार कार्यक्रम नै सञ्चालन गरेका छौँ, नयाँ बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिका र कृषकको समेत गरी २४ लाखभन्दा बढी लगानीको काम गर्न सफल भएका छौँ, यसले सिङ्गो गाउँलाई किवीमय बनाउन सहयोग पुगेको छ’, कृषि अधिकृत ढुङ्गानाले भने ।
किवी पकेट क्षेत्र कार्यक्रममार्फत यसवर्ष दुई सय ५० वटा नयाँ बोट रोपिएको छ । किवीका बोटलाई फैलाउनका लागि सात सय दुई वटा पोलसहित तार टाङ्गिएको छ भने सिँचाइका लागि सात वटा ड्रम वितरण गर्नुका साथै सिँचाइ पाइपसमेत वितरण गरिएको छ । किवी खेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिकाका साथै कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएका छन् ।
किवी पकेट क्षेत्र विस्तारले किसानमा किवी खेती विस्तारमा उत्साह छाएको वडा सदस्यसमेत रहेका किसान रत्न जिसीले बताए ।
वैदेशिक रोजगारको विकल्पमा किवी खेती
बेनी नगरपालिका– ३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकैखेती हुँदै आएको आठ रोपनीमा किवी खेती सुरु गरेका छन् । दुई वर्षदेखि किवी खेतीमा लागेका मगरले ११० वटा बोट किवी लगाइसकेका छन् । भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवी खेतीलाई रोजेको बताए ।
मगरले यसवर्ष मात्रै बेनी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय दुई वटा पोल निर्माण गरेका छन् । किवी खेतीको विस्तार र बगैँचा व्यवस्थापनमा यसवर्ष मात्रै ६ लाख रुपैयाँ बराबरको काम गरेको उनले बताए ।
भकिम्लीको मुसुङमा वैदेशिक रोजगारी त्यागेर किवी खेतीमा लागेका किसान लालबहादुर घर्तीले सात रोपनी क्षेत्रफलमा किवी लगाएका छन् ।
‘रोजगारीको सिलसिलामा करिब १० वर्ष ओमन र साउदीमा बिताएँ, त्यहाँ बस्दा पनि घर खर्च चलाउनबाहेक थप आर्थिक उन्नति गर्न सकिएन, त्यसपछि स्वदेश फर्किएर किवी खेतीमा लागेको हुँ’, घर्तीले भने ।
२०७५ सालमा वडा कार्यालयले किवीखेतीसम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरु किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन् ।
घर्तीको किवी फर्मबाट उत्पादनसमेत सुरु भइसकेको छ । गतवर्ष मात्रै ८० हजार रुपैयाँको किबी बिक्री गरेका उनले १७ रोपनीमा किवी खेती विस्तार, बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिकाबाट पाएको सहयोगले आफूलाई उत्साहित बनाएको जानकारी दिए ।
उचित बजार व्यवस्थापनको चुनौती
अनुकूल हावापानी र उचित खेतीयोग्य जमिनका कारण भकिम्लीमा किवी खेती विस्तार हुन थालेसँगै उचित बजार व्यवस्थापनको चुनौती देखिएको छ ।
गाउँमा उत्पादन भएको किवी स्थानीय बजारमा खपत हुनसक्ने अवस्था नभएपछि बागलुङ, पोखरा, काठमाडौंलगायतका बजारमा पठाउन थालिएको छ ।
कात्तिकदेखि पुससम्ममा किवीको बजारीकरण गरिन्छ । गत वर्ष यहाँका कृषकहरूले प्रतिकिलो एक सय ८० रुपैयाँमा किवी बिक्री गरेका थिए । सुरुवातका वर्षमा प्रतिकिलो दुई सय ५० रुपैयाँसम्म मूल्य पाएका किसानले उत्पादन गरेको किवीको उत्पादन बढेसँगै उचित बजारको अभाव देखिन थालेको मुसुङका किसान लालबहादुर घर्तीले बताए ।
किवी पकेट क्षेत्रका रुपमा विकास भइरहेको भकिम्लीमा बेनी नगरपालिकाले नयाँ बिरुवा विस्तार, पोल बनाउने र तार तान्ने तथा बगैँचा व्यवस्थापन र फलको गुणस्तर कायम गराउन अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराएको बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेको भनाइ छ ।
उनका अनुसार भकिम्लीको सिममा किवी भण्डारणका लागि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको लागत साझेदारीमा चिस्यान घर बनाउन सुरु गरिएको छ । नगरपालिकाले किसानलाई किवीबाट जुस बनाउने तालिम प्रदान गर्ने जनाएको छ ।
किवी समुद्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म खेती गरिन्छ ।
अमिलो र गुलियो स्वाद पाइने किवीलाई खेती गर्न प्रतिआठ वटा पोथी बिरुवा बराबर एक भाले बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । (रासस)
प्रतिक्रिया