गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ | Khabarhub Khabarhub

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो । धादिङको गजुरी गाउँपालिका २ उनको जन्म थलो हो ।

पाण्डे दम्पतीका उनी जेठो सन्तान हुन् । उनी मुनिका एक भाइ छन् ।

उनी जन्मजात दृष्टिविहीन हुन् । सोही कारण सामान्य बालकालिकाभन्दा उनको हुर्काइ फरक भयो ।

खेल्ने, कुद्ने र चकचक गर्ने आम बालबालिकको हुर्काइका क्रममा हुने स्वाभाविक क्रिया हुन् ।

दृष्टिविहीन भएकाले प्रोशेष यी सामान्य गतिविधिबाट टाढा रहे ।

थाहा पाउँदादेखि नै प्रोशेषको साक्षात्कार एमपीथ्री र रेडियोसँग भयो । अर्थात्, उनको समय बिताउने विकल्प यही थियो ।

प्रोशेष भन्छन्, ‘म बाल्यकालमा एमपीथ्रीमा गीत सुनेरै बिताउँथेँ ।’ ममी–बाबा भन्नुहुन्छ– ‘म चकचक नगर्ने ज्ञानी बच्चा थिएँ रे ।’

अर्थात्, प्रोशेषको बाल्यकालको स्मृति रेडियो र एमपीथ्रीमा सुनेका आवाज हुन् ।

रेडियोसँगका स्मृति उनको फरक छ । प्रारम्भिक बाल्यकाल अर्थात् ५ वर्षभन्दा कम उमेर हुँदा उनको बुझाइ थियो– गीत मान्छेले होइन, रेडियो गाउँछ । यो रेडियो कसरी गाउँने कसरी बन्ने होला ?

तर, उनी रेडियो र एमपीथ्रीको श्रोता मात्रै थिएनन । गुनगुनाउने पनि उनको बानी थियो । कहिलेदेखि यो बानी बस्यो, उनलाई स्मरण छैन ।

तर, घर आउँदा आफूलाई बोकेर आफूलाई खेलाउने आफन्त–छिकेकीलाई गुनगुनाएर सुनाएको अस्पष्ट स्मृति उनीसँग छ ।

भन्छन्, ‘मैले कुन गीत गाएर सुनाउँथे थाहा छैन । तर, घरमा आएका मान्छेहरुलाई गीत सुनाउँथेँ । स्वर मिठो छ भन्नुहुन्थ्यो । उहाँहरुले ठूलो बनेपछि गायक बन्नुपर्छ भन्ने हौसला दिनुहन्थ्यो ।’

स्कुले स्मृतिले छोडेको छाप

प्रोशेषले थाहा पाउँदादेखि र आजको मितिसम्म पनि उनका बुवा काठ सम्बन्धी व्यवसायमै आवद्ध थिए ।

यसले गर्दा आर्थिक असहजता चापमा प्रोशेषको बाल्यकाल परेन ।

आफूले उत्तारचढाव बिनाको सहज बाल्यकाल पाएको प्रोशेषलाई अहिले महसुस हुन्छ ।

उनी भन्छन्, ‘बाल्यकालदेखि नै मलाई सबैले माया नै गर्नुभयो । ती रमाइला दिन फर्किए हुन्थ्यो जस्तो लाग्छ ।’

दृष्टिबिहीन भएकै कारण पीडादायी अवस्था भोग्नु नपरेकामा उनी आफूलाई भाग्यमानी मान्छन् ।

उनी भन्छन्, ‘दृष्टिविहीन भएकाले भेदभाव त सहनु परिहाल्छ । तर, मैले अरु दृष्टिविहीनको जस्तो कोही र कतैबाट पीडादायी व्यवहार र बोली सुन्नुपरेन ।’

उनी ०६७ सालदेखि काठमाडौंको कीर्तिपुरस्थित नाम चलेको बोर्डिङमा पढ्न पाए । नर्सरीदेखि पाँच कक्षासम्म उनले घरबाटै विद्यालय धाए ।

पाँच कक्षाबाट एसईईसम्मको पढाइ उनले होस्टल बसेर पूरा गरे ।

स्कुलमा पनि प्रोशेषको रुचिको विषय संगीत नै थियो ।

उनी भन्छन्, ‘आज म्युजिक क्लास हुन्छ भन्दा खुसी लाग्थ्यो । म्युजिक क्लास हुँदैन भनेपछि आज बेकार स्कुल आइएछ भन्ने लाग्थ्यो ।’

प्रोशेष पहिलो पटक गीत गाउँन स्टेज चढेको पनि नर्सरी पढ्दा नै हो । बाल दिवस वा गुरु पूर्णिमा हो उनले बिर्सिए ।

नर्सरी पढ्दा यी दुईमध्ये एक कार्यक्रमका बेला स्टेजमा पहिलो पटक चढेकोमा उनी स्पष्ट छन् ।

उनलाई गाएको गीत पनि याद छ, ‘क्याम्पस पढ्न आउने ।’ यो पशुपति शर्माको गीत हो । त्यसबेला निकै चर्चित थियो ।

भन्छन्, ‘म निकै सानो थिएँ । हलमा पछि भएका दादा–दिदीहरुले मलाई देख्नुहुँदैन भनेर म्यामहरुले स्टेजमा कुर्सी लगेर मलाई त्यसमाथि चढाएर गीत गाउन लगाउनुभएको थियो ।’

यो स्कुलमा पुगेपछि प्रोशेषले आफू जस्तै दृष्टिविहीन साथीहरु पाए । यो उनको बाल्यकालको सुखद पक्ष हो ।

उनी अनुभव सुनाउँछन्, ‘दृष्टिविहीनसँग हुने आत्मियता, आँखा देख्ने साथीहरुसँग भने नहुने रहेछ । दृष्टिविहीनसँग थर, जात र गोत्र मिले जस्तो सम्बन्ध हुने रहेछ । त्यो स्कुलमा मैले आफू जस्तै साथीहरु पाएँ ।’

ती मध्ये धेरै साथीहरुको रुचि संगीत नै थियो । यसले अझ सुन्दर माहोल सिर्जना गरेको उनी बताउँछन् ।

स्कुलमा भेटेका अर्का व्यक्ति प्रोशेषका लागि विशेष बने । ती हुन्– राजन सुबेदी । उनी प्रोशेषको स्कुलको म्युजिक शिक्षक हुन् । जो दृष्टिविहीन पनि हुन् ।

प्रोशेष भन्छन्, ‘उहाँ मेरो कर्म दिने बुवा हो ।’

उनलै संगीत कलाको जग राखिदिएका आफू आज यो स्थानमा आउन सकेकाले प्रोशेषले म्युजिक शिक्षकलाई कर्म दिने बुबा मानेका हुन् ।

जीवनकै पहिलो संगीत प्रतिस्पर्धा प्रोशेषले सुबेदीको संगीतमा रहेको गीत ‘ सिर्र सिर्र बतास चल्छ, स्यार्र स्यार्र बतास चल्छ’ गाएका थिए ।

यो ०७२ साल ताकाको कुरा हो । जस बेला प्रोशेष दुईमा पढ्थे । रेडियो नेपालको बाल गीत प्रतियोगिता उनले उक्त गीत गाएका थिए ।

यो प्रतियोगितामा उनी दोस्रो भए । यो सफतलाले उनलाई संगीतमा लाग्न थप आँट दियो ।

उनी भन्छन्, ‘त्यो प्रतियोगिताले म पनि गाउन सक्ने रहेछु भन्ने आँट दियो । अनि संगीतमा थप उत्साही भएर लाग्न प्रेरित गर्‍यो ।’

संगीतमा लगाव

संगीतप्रतिको रुचि हाबी भएकै कारण प्रोशेष आफूलाई मध्यम विद्यार्थीको श्रेणीमा राख्छन् ।

बुवा–आमाको इच्छा छोराले सरकारी जागिर खाओस् भन्ने थियो । प्रोशेषलाई सरकारी जागिर रुचिको विषय थिएन ।

परीक्षामा नतिजा राम्रो नआउँदा उनले परिवारबाट गाली भेट्थे । तर, परिवारले संगीतबाट टाढा रहन भने उनीमाथि दबाब कहिले दिएन ।

प्रोशेष भन्छन्, ‘पढाइलाई प्राथमिकतामा राख्नु । तर, संगीत पनि नछोड्नु । मुख्य कुरा भनेको पढाइ नै हो भन्नेर बाबा–ममीले भन्नुहुन्थ्यो ।’

छोरा फरक क्षमताको भएकाले परिवारको सरकारी जागिरप्रतिको आकर्षण स्वाभाविक रुपमा हुने भइहाल्यो ।

तर, प्रोशेषको प्राथमिकता जहिल्यै संगीत नै रह्यो । बरु ‘पढाइ प्राथमिकता राख्’ भनेर बुवा–आमाले भन्दा उनले ओठे जवाफ फर्काउन थाले, ‘पढेर कसले के गरेको छ र ?’

प्रोशेषले यो जवाफ त्यसै फर्काएका होइनन् । डिग्री लिएर युवा पलायन हुने देशको बाध्यात्मक परिस्थिति समाचारका माध्यमबाट थाहा पाएपछि उनले उक्त जवाफ फर्काउन थालेका हुन् ।

संगीतप्रतिको रुचि प्रोशेषमा अलग्गै थियो । होस्टलको दैनिकी सुरु हुन अघि रियाज गर्न ‘ब्लाइन्ड सेक्सन’ पुग्थे ।

उनी सुनाउँछन्, ‘बिहान सरहरु उठाउन आउनुहुन्थ्यो । त्योभन्दा पहिला म ब्लाइन्ड सेक्सनमा पुगेर संगीत अभ्यास गर्थे ।’

स्कुल सकेपछि रमेश सुबेदीसँग संगीत सिक्ने त नियमित कार्य भइहाल्यो ।

प्रोशेष स्कुलमा रहँदै नेपाल आइडल र भ्वाइस अफ नेपाल जस्ता गायन रियालिटी शो नेपालमा भित्रिए ।

उनलाई पनि यी प्रतियोगितामा प्रतिस्पर्धा गर्न मन लाग्यो । तर, उमेर पुगेन ।

भ्वाइस अफ नेपालमा उनलाई प्रतिस्पर्धा गर्न बढी मन थियो । कारण– उनले सुन्दै आएका गायक सीडी विजय अधिकारीले प्रतिस्पर्धा गरेका थिए । जो भ्वाइस सिजन १ को विजेता पनि हुन् ।

उनी भन्छन्, ‘विजय दादा जस्तो चर्चित गायकले त यो मञ्च प्रयोग गर्नुभएको छ । साच्चै गायक बन्न यो मञ्च प्रयोग गर्नुपर्ने रहेछ भन्ने लागेर मैले भ्वाइसमा प्रतिस्पर्धा गर्ने सोच बनाएको हो ।’

तर, रियालिटी शोमा जाने इच्छा प्रोशेषमा तीव्र थियो । ४–५ वर्ष कुर्ने धैर्य उनीमा थिएन ।

रियालिटी शो ‘सारेगम लिटिल च्याम्प’ खुल्यो । सहभागी हुन उनलाई उमेर बाधा बनेन ।

‘लिटिल च्याम्प’ दुई राउन्ड उनले पार गरे । तेस्रो राउन्ड उनले पार गर्न सकेनन् ।

प्रोशेष भन्छन्, ‘यसको सफलताले मलाई हैन संगीत सिक्न बाँकी छ । अब ३ वर्ष पछि भ्वाइस अफ नेपालमा प्रतिस्पर्धा गर्न मिल्छ । त्यसको लागि तयार गर्छु भन्ने ज्ञान दियो ।’

तर, लिटिल च्याम्पले सीडी विजय अधिकारी, निशान भट्टराई र रवि ओड जस्ता आफूले सुन्दै आएको गायकलाई भेट गराइदियो । यो नै उनको लागि सुखद पक्ष थियो ।

अनि बने सिजन ६ को विजेता

सारेगम लिटिल च्याम्पमा प्रतिस्पर्धा गर्दा प्रोशेष १२ वर्षका थिए । भ्वाइस अफ नेपालमा प्रतिस्पर्धा गर्न १६ वर्ष पुग्नुपर्थ्यो ।

यो बाँकीको चार वर्ष उनले ‘भ्वाइस अफ नेपाल’को तयारीमा बिताए ।

एसईई दिएपछि उनी शास्त्रीय संगीत सिक्न थाले । दुई वर्ष शास्त्रीय संगीत सिके (पछि उनी भ्वाइसको प्रतिस्पर्धामा गएका हुन् ।

प्रोशेष भन्छन्, ‘पहिला मैले लोक गीत सिकेको हो । भ्वाइसमा जाने तयारी स्वरुप मैले शास्त्रीय संगीत सिकेको हो ।’

गत वर्ष असारमा सिजन ६ को अडिसन खुला भएको हो । प्रोशेषले यही वर्ष वैशाखमा उपाधि जिते ।

उनले यस प्रतियोगिताको पुरस्कार स्वरुप २० लाख नगद जितेका थिए ।

क्यारिकेचरको सोख

भ्वाइस अफ नेपालको विजेता बनेपछि प्रोशेष विभिन्न प्लेटफर्ममा पुगेर अन्तर्वार्ता दिइरहेका छन् ।

यहाँबाट उनको अर्को पाटो पनि उजागर भएको छ– क्यारिकेचर क्षमता ।

उनी बोलीको मात्रै नक्कल गर्दैनन् । अरु व्यक्तिको आवाजमा गीत समेत गाउँछन् ।

क्यारिकेर अभ्यास उनले स्कुलदेखि नै सुरु गरेका हुन् ।

उनी भन्छन्, ‘टेलिभिजनमा आउने सिरियलहरुको नियमित र चासो राख्ने दर्शक हो । हाँस्य कार्यक्रममा पनि मेरो रुचि हो ।

मनोज गजुरेल, राजा राजेन्द्र, सुबोध गौतम, सुमन कार्कीहरुको क्यारिकेचर सुन्दै हुर्किएँ । उहाँहरुबाट प्रभावित भएरै क्यारिकेचर सुरु गरेको हो ।’

अहिले प्रोशेषको क्यारिकेचर क्षमताको पनि प्रशंसा हुने गर्छ । यो कुरा उनलाई पनि थाहा छ ।

भन्छन्, ‘क्यारिकेचर मन परेको कमेन्टहरु आइरहेको हुन्छ । त्यही भएर अन्तर्वार्तामा क्यारिकेचर गरिरहेको हुन्छु ।’

विजेता भएपछिको परिवर्तन

विजेता बनेपछि पनि शास्त्रीय संगीत प्रशिक्षणलाई प्रोशेषले निरन्तरता दिइरहेका छन् ।

अहिले प्रोशेष सेलिब्रिटी बनेका छन् । बाटोमा निस्कँदा फ्यानहरु बोल्न र तस्बिर खिच्न आइहाल्छन् । यसलाई उनी आफ्नो कमाइ मान्छन् ।

भन्छन्, ‘मैले यसैका लागि र यो स्थानमा आउनलाई नै संगीत रोजेको हो नि । बाटोमा कोही बोल्न आउँदा मलाई निकै खुसी मिल्छ । मेरो बच्चा बुद्धिले सोच्छ’ – ठूलै कलाकार भएँ कि के हो ?’

आफूलाई झर्को लाग्ने सरकारी जागिरको दबाब बुवा–ममीबाट आउन छोडेको छ । यसबारे उनी भन्छन्, ‘आनन्द भएको छ । अब मलाई सरकारी जागिर खानुपर्छ भन्ने कोही छैन ।’

साथी–भाइहरुले ‘सेलिब्रेटी भएपछि बोल्न छाड्यो’ भन्ने गर्छन् । यसलाई उनी आफ्नो व्यवसायिक पाटोसँग जोडेर हेर्छन् ।

भन्छन्, ‘साथीहरुसँग मेरो आत्मियता घटेको होइन । भेटघाट पातलिएको हो । म काममा व्यस्त भएकाले उनीहरुले त्यसो भनेका हुन् । उनीहरुसँग मेरो माया–प्रेम पूरानै छ ।’

अहिले विभिन्न स्कुल कलेजका स्टेजमा उनी गीत गाउन पुगिरहेका हुन्छन् ।

उनीले विजेता बनेपछि १० वटा गीत रेकर्ड गराइसके । एउटा गीतमा उनको खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । जुन सार्वजनिक हुन बाँकी छ ।

उनी भन्छन्, ‘मैले आइडल मान्ने गायक गायिकासँग पनि गीत गाउने अवसर पाएको छु । यो मेरो लागि एकदमै अविस्मरणीय हो ।’

कुनै सेलिब्रेटीलाई भेट्दा प्रोशेष निकै खुसी हुन्छन् ।

उनी भन्छन्, ‘आफूले चाहेको सेलिब्रेटी भेट्न पाउँदा मलाई विश्वयुद्ध जिते जस्तो महसुस हुन्थ्यो । विजेता बनेपछि पनि कलाकारहरु भेट्दा मलाई उस्तै महसुस हुन्छ ।’

अहिले सार्वजनिक कार्यक्रममा आफूले आदर्श मानेका कलाकारसँग जम्काभेट हुँदा उनीहरुले नै बोलाउँदा आफूलाई निकै रमाइलो लाग्ने उनी सुनाउँछन् ।

अहिले प्रोशेष गीत रेकर्डिङमा नै व्यस्त छन् । उनी अहिले दर्शकलाई राम्रोभन्दा राम्रो गीत पस्कने उद्देश्यका साथ गीत गाइरहेका छन् ।

उनी निकट भविष्यको योजना सुनाउँछन्, ‘मेरो जीवन नै संगीतले सञ्चालित छ । दर्शकलाई राम्रो गीत दिने मेरो जिम्मेवारी बनेको छ । म यसैमा केन्द्रित रहेर काम गरिरहेको छु ।’

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ५३ बजे

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा