काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले संघीयताको पूर्ण कार्यान्वयनका लागि पार्टीले संघको अधिकार प्रदेशमा हस्तान्तरणका लागि आवश्यक पहल लिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन बुधबार आमन्त्रित सदस्यको हैसियतमा धारणा राख्ने क्रममा उनले संघमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरेर संघीयताको पूर्ण कार्यान्वयनमा पार्टीले पहल गर्नुपर्ने बताएका हुन् ।
‘पार्टीको तर्फबाट संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने सम्बन्धमा संघको अधिकार प्रदेशमा हस्तान्तरण गर्न आवश्यक पहल कदमी लिन आवश्यक छ,’ लुम्बिनी प्रदेश कार्यसमिति सभापति पुनले भने ।
उनले जनप्रतिनिधिहरूलाई पार्टीप्रति थप उत्तरदायी र जवाफदेही बनाउन तहगत पार्टी संरचनालाई तहगत सरकारको निर्माण, निर्देशन र मूल्यांकन गर्ने अधिकार दिनुपर्ने पनि बताए ।
‘राजनीतिक नियुक्ति पनि सम्बन्धित पार्टी समितिको निर्णयबाटै हुने वैधानिक व्यवस्था कायम गरिनु पर्छ,’ प्रदेश सभापति पुनले बैठकमा भने, ‘मनोमानी तरिकाले मनोनयन तथा नियुक्तिले पार्टी संगठनमा लामो समयदेखि सक्रियता र योगदान दिइरहेका साथीहरूमा चरम निराशा र वितृष्णा आएको छ ।’
उनले पार्टीमा योगदान दिँदै आएका कार्यकर्ताहरूमा बढेको वितृष्णा कम गर्न पार्टीको केन्द्रीय तथा प्रदेश विभागमा मनोनित गर्दा जिल्लाको सिफारिसका आधारमा नियुक्त गर्ने थिति बसाउन पनि आग्रह गरे ।
प्रतिक्रिया