शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’ | Khabarhub Khabarhub

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूमाथि लगाएको आक्षेपको जवाफ फर्काएपछि युवा नेता गुरूराज घिमिरे प्रतिकारमा उत्रिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यको हैसियतमा चौधरीले अर्का केन्द्रीय सदस्य कोइरालाले आफूमाथि पार्टीको जारी बैठकमा उठाएका सवालको जवाफ दिएपछि युवा नेता घिमिरे प्रतिकारमा उत्रिएका हुन् ।

उनले नेता कोइरालाको पक्ष लिँदै सामाजिक सञ्जाल फेसबुकमार्फत् सांसदसमेत रहेका चौधरीलाई बुधबार आठवटा बुँदामा जवाफ दिएका छन् । चौधरीले मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कोइरालालई पनि आठ वटा प्रश्न गरेका थिए ।

त्यसअघि नेता कोइरालाले सोमबारको बैठकमा पार्टीको केन्द्रीय सदस्यका लागि उद्योगपति चौधरीको योग्यतामाथि प्रश्न उठाएका थिए । ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?,’ उनले प्रश्न गर्दै भनेका थिए ।

मंगलबारको बैठकमा चौधरीले कोइरालाले आफूमाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा सम्पूर्ण विधि पूरा गरेर कांग्रेसको केन्द्रीय सदस्य बनेको जिकिर गरेका थिए ।

‘उहाँले हिजो (सोमबार) प्रश्न उठाउनु भयो, विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो,’ चौधरीले बुधबार भनेका थिए, ‘म उहाँलाई जानकारी गराउन चाहन्छु, त्यो सारा विधि पूरा गरेर, पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिपेक्ष, पार्टीको कानुन विभागको विश्लेषण, त्यसपछिको निर्णय र कोर्टले समेत गरेको निर्णयअनुसार भएको हो ।’

के लेखेका छन् घिमिरेले ?

श्री विनोद चौधरीजी, जय नेपाल

तपाईंले हिजो नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा हाम्रो पार्टीका सम्मानित नेता डा. शेखर कोइरालामाथि उठाउनु भएका आठ वटा प्रश्नहरुले हामी सबैको ध्यानाकर्षण गरेको छ । हुन त प्रश्न उठाउन पाउनु प्रजातान्त्रिक पार्टीले आफ्ना सदस्यका लागि उपलब्ध गराएको निर्वाध सुविधा हो ।

तर प्रश्न उठाउनेले कस्ता प्रश्न, किन र केका लागि उठाउने भन्ने कुरामा सधैँ सतर्कता अपनाउनु पर्छ र उठाइएका प्रश्नहरू जायज, वस्तुनिष्ठ, विधायक र तर्कसंगत हुनुपर्छ ।

नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति संस्था भइसकेको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमैं प्रतिष्ठित परिवारको सदस्य तथा १४ औँ महाधिवेशनको सभापति पदको निकटतम् प्रतिस्पर्धी पार्टी नेतामाथि प्रश्न उठाउँदा चौधरीजीले निकै होसियारी अपनाउनु पर्थ्यो ।

यसमा उहाँ पूर्ण रुपमा चुक्नु भएकोमा निकै दुःख लागेको छ । त्यसैले पार्टीको एउटा सदस्यको नाताले सर्वप्रथम उहाँप्रति खेद प्रकट गर्दछु ! अब उहाँका प्रश्नहरुमा जाऊँ,

१) तपाईं केन्द्रीय सदस्य बन्दा कसैलाई आपत्ति होइन, तर कसरी बन्नु भयो भन्ने मुख्य प्रश्न हो । के तपाईं पार्टीको विधि, प्रक्रिया र मापदण्ड पुर्‍याएर केन्द्रीय सदस्य बन्नुभएको हो त ? सबभन्दा पहिले आफैँलाई प्रश्न गर्नोस् ।

त्यसमाथि देशको सर्वाधिक पुरानो प्रजातान्त्रिक पार्टीको केन्द्रीय सदस्य चुनिँदा प्रचलित वैधानिक व्यवस्थाको पालना गर्नु पर्दैन ? कि तपाईंका निम्ति स्थापित व्यवस्था लागू नहुने हो ? पार्टीका अरु साथीहरूका लागि बाध्यकारी र तपाईंका निम्ति अनावश्यक हो ?

पार्टीले आजसम्म ‘पाश्र्व प्रवेश’को नीति अख्तियार गरेको त हामीलाई थाहा छैन । त्यसैले तपाईं पार्टी विधान भत्काएर केन्द्रीय सदस्य हुनु भएको हो । यो विषयमा तत्काल प्रश्न उठेको हो तर कसैले सुनेन । प्रजातन्त्र र देशका लागि सम्पूर्ण जीवन समर्पण गर्नुभएका पार्टी सभापति शेरबहादुर देउवाले समेत सुन्न भएन । पार्टी विधानको चीरहरण हुँदा समेत हामी तमासे बन्यौँ ।

२) हामी सबैलाई थाहा छ, विक्रम खनाल जुँगाको रेखी नबस्तै राजनीतिमा लागेको कांग्रेसको सिनियर युवा हो । विद्यालयदेखि विश्वविद्यालयसम्म लामो समयसम्म नेविसंघमा काम गरेको होनहार र कर्मठ नेता हो । तपाईं एमालेको समानुपातिक कोटाबाट संविधानसभाको सदस्य हुँदा कांग्रेसबाट जननिर्वाचित संविधानसभा सदस्य हो ।

वर्तमान नेपालको प्रजातान्त्रिक शासन प्रणाली स्थापना र पुनर्स्थापनामा खनालको उर्बर जवानी, रगत, आँसु र पसिना खर्च भएको छ । उहाँको राजनीतिक व्यवस्थापन नै नगरी तपाईं उहाँको निर्वाचन क्षेत्रमा चुनाव लड्न जाँदा उहाँको मर्ममा कति प्रहार भयो होला ! साथै उहाँको राजनीतिक लगानी र त्यागको कति उपहास र अवमुल्यन भयो होला ! अनुमान गर्नुभएको छ ?

अनि यति सहजै अन्तर्घाती भन्दिने ? अनि अन्तर्घात भएको भए कसरी चुनाव जित्नु भयो ? चौधरी जी, आमोद–प्रमोद, ऐश्वर्यसहितको धनकुवेरको मात्र इतिहास लेखिँदैन, संघर्ष, योगदान, त्याग र निष्ठाले भरिपूर्ण सुदामाहरूको पनि लेखिन्छ भन्ने थाहा छ कि छैन ?

३) हामी निजी क्षेत्रका मान्छेप्रति मात्र होइन, समग्र निजी क्षेत्रप्रति नै सकारात्मक छौँ । यसमा कोइराला परिवार अग्रणी छ । २०४६ सालपछि गिरिजाबाबुले अख्तियार गर्नुभएको आर्थिक नीतिको परिणाम हो फस्टाएको निजी क्षेत्र । यसैको सह–उत्पादन हो तपाईं । विश्वको डलर अर्बपति बन्नमा कांग्रेसले अपनाएको खुला अर्थनीति र उदारिकरण नै कारक छ ।

४) राजनीतिक दलहरूले उद्योगी व्यवसायीहरूसँग चन्दा माग्नु अनौठो कुरा होइन । तर चन्दा दिने व्यक्तिले चन्दा दिँदा नेता बनाउनु पर्ने शर्त राख्तैन । संसारभरि राजनीतिक दललाई चन्दा दिनेहरू सबै नेता बन्दैनन् । अपवादको कुरा फरक हो । तपाईंले कुन दलका, कसलाई, कहिले, कति चन्दा दिनुभएको छ, सार्वजनिक गर्नोस्, अनि बहस गरौँला । एउटा कुरा प्रष्ट हो, चन्दा लिएवापत तपाईंलाई नेता मान्न कोही बाध्य छैन ।

५) हालका कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ शिक्षा र कृषि क्षेत्रको प्रतिष्ठित व्यवसायी हो । अहिले राजनीतिज्ञ पनि बन्नुभएको छ । उहाँको विषयमा छुट्टै बहस गरौँला । उहाँको कसैले अपमान गरेको छैन । झन् डा.शेखर कोइराला त कसैलाई अपमान गर्ने व्यक्ति नै होइन ।

६) कोइरालालाई तपाईंले कसरी संकिर्ण भन्न सक्नुहुन्छ ? के तपाईंलाई मन परेका विषय, घटना वा निर्णयलाई कोइरालाले वा हामी सबैले आँखा चिम्लेर ल्याप्चे लगाउनु पर्ने हो ? पार्टी भित्रको अव्यवस्था, विधानको अपहेलना, अनुशासन समितिका पक्षपाती काम–कारबाही, देशको राजनीतिक परिस्थिति र सरकारका बारेमा आफ्नो धारणा राख्न नपाइने हो ? कि बोल्नु अघि तपाईंलाई सोध्नुपर्ने ?

७) राज्यको ओहोदा वा सरकारी पदमा बसेर अधिकारको दुरुपयोग गरी आफ्नो व्यवसायलाई फाइदा पुग्ने काम गर्न पाइन्छ त ? सम्बन्धित क्षेत्रमा विज्ञता भएको भनिएको व्यक्ति सम्बन्धित क्षेत्र कै मन्त्री भएर आफ्नो व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्न मिल्छ ? यो ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ भएन र ? विज्ञता र अधिकारलाई सदुपयोग गरेको भए यस्तो प्रश्न उठ्थ्यो र ? विज्ञ मन्त्री हुनु नराम्रो कसले भनेको छ ?

८) कसले भनेको छ, जेलनेल भोगेको बाहेक कांग्रेस हुन पाइँदैन ? यसको उदाहरण त तपाईं आफैँ होइन र ? मजाले कांग्रेस हुनुभएको छ । आज क्रियाशील भोलि केन्द्रीय सदस्य बन्नुभएको छ । क्रियाशीलसमेत नभइ सांसद बन्नु भएको छ । पार्टीका पुराना साथीहरूलाई अपमान गर्नुभएको छ ।

पार्टीको निर्णय प्रक्रियामा अनुचित प्रभाव पार्नुभएको छ । यो भन्दा ज्यादति के हुन्छ ? अझै के–के हुनुपर्ने ? कांग्रेसको सदस्य भएर सर्वस्वहरण भएका, परिवार गुमाएका, पार्टीको बास भएका र आजसम्म कुनै ओहोदा नपाएका हजारौँ नेता–कार्यकर्ता आज पनि जीवित छन् । के तपाईं ०८४ पछि मात्रै पाँच वर्ष कांग्रेसको चौवन्नी सदस्य भएर बस्न सक्नुहुन्छ ?

त्यसैले चौधरी जी, विश्वको डलर अर्बपति व्यक्ति कांग्रेस हुँदा पार्टीका नयाँ पुराना सबै साथीहरूले गौरव गरेका थियौँ, हाम्रो सम्पत्ति ठानेका थियौँ र संसारलाई भनेका थियौँ कि विनोद चौधरी हाम्रो पार्टीमा छ । तर तपाईंले जुन स्तरमा उत्रेर पार्टीको आदरणीय नेता डा. शेखरप्रति विषबमन गर्नुभो, हामीसँग खेद प्रकट गर्नुबाहेक विकल्प रहेन ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ३२ बजे

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक