माधवको धर्मसंकट : नैतिकता देखाउने कि 'लिसो' बन्ने ? | Khabarhub Khabarhub

पार्टीमा बढ्दो घेराबन्दी, नेताहरूको आ-आफ्नै दाउ

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

जगन्‍नाथ खतिवडा भन्छन्- अर्काले षड्यन्त्र गर्दा हामीले नैतिकताको पाठ पढिरहनु पर्दैन



काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम उच्च नैतिकता भएका नेताहरूमध्येमा लिने गरिन्छ ।

यसको खास कारण बुझ्न हामीले २०६४ सालको संविधानसभाको निर्वाचनसम्म फर्किनुपर्ने हुन्छ । उनले नेकपा माओवादीको जगजगी भएका बेला २०६४ सालमा नेकपा एमालेको नेतृत्व गरिरहेका थिए । त्यसबेला संविधान निर्माणका लागि भन्दै दलहरूले जम्बो संविधान सभा बनाएका थिए ।

प्रत्यक्षतर्फ २४०, समानुपातिकतर्फ ३३५ र मनोनीततर्फ २६ सिट रहेको संविधानसभाका लागि भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ३३ सिट मात्रै जितेको थियो।

करिब १५ वर्ष एमालेको नेतृत्व गर्ने क्रममा उनकै कार्यकालमा पार्टीले सबैभन्दा ठूलो धक्का ब्यहोरेको थियो । २०६४ चैत २८ गते भएको संविधान सभाको पहिलो चुनावमा तत्कालीन नेकपा माओवादीले प्रत्यक्षतर्फ १२० सिटसहित प्रतिनिधिसभामा २२९ जना सांसद निर्वाचित गराउन सफल भएको थियो ।

हो, त्यही चुनावमा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस ३७ र नेपाल नेतृत्वको नेकपा एमाले ३३ सिटमा खुम्चिन पुगेका थिए । त्यसबेलाको चुनावमा पीडादायी परिणाम भने एमाले र माधव नेपाल दुवैले भोग्न बाध्य भएका थिए । ०६४ को चुनावी परिणामले एमाले इतिहासमै कमजोर अवस्थामा पुग्यो भने उक्त पार्टीका महासचिव नेपालले दुवै निर्वाचन क्षेत्रबाट हार व्यहोरे ।

त्यसबेला एमाले महासचिव नेपाल रौतहट क्षेत्र नम्बर ६ र काठमाडौं क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा थिए । तर उनलाई नराम्रो राजनीतिक धक्का लाग्यो । एकातिर देशकै ठूलो भनिएको कम्युनिस्ट दल नेकपा एमाले ३३ सिटमा झरेर तेस्रो भयो भने अर्कातिर उनको राजनीतिक भविष्यको डुंगा डुब्ने गरी दुवै क्षेत्रमा पराजित भए ।

हो, त्यही बेला महासचिव नेपालले पार्टीको हार र आफ्नोसमेत पराजयको जिम्मेवारी लिँदै नैतिकताका आधारमा एमालेको नेतृत्वबाट राजीनामा दिएका थिए । त्यही राजीनामाको प्रसंगदेखि नेपाललाई नेपाली राजनीतिमा नैतिकवान नेताका रुपमा चिनाउने गरिन्छ ।

माधव नेपाललाई धक्का दिने गरी त्यसबेलाको माओवादी संसद्मा करिब बहुमतनजिक पुगेको थियो । कांग्रेसको आकार ४ सिट मात्रै धेरै भए पनि उस्तै उस्तै थियो । एमाले र आफूले एकसाथ धक्का व्यहोर्दा नैतिकता देखाएका उनै माधव नेपाललाई अहिले भ्रष्टचारको मुद्दा लागिसक्दा पनि त्यही कुरा दोहोर्‍याउन ढुंगो चपाउनु जस्तै भएको छ ।

एमालेमा रहुञ्जेल एक व्यक्ति एक पदको वकालत गर्दै केपी शर्मा ओलीसँग संघर्ष चर्काएका उनी यतिबेला एकीकृत समाजवादीको अध्यक्ष र संसदीय दलको नेता दुवै भूमिकामा छन् ।

गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाइसक्दा पनि उनले ती दुवै पद छाड्न चाहेका छैनन् । त्यसयसता उनले न त आफूलाई दलको नेताबाट पर राख्न सके न त अध्यक्षको भूमिकबाट नै अलग गरेका छन्।

जेठ २२ यता पनि उनी निरन्तर पार्टीका दुवै संरचनाको बैठकमा अध्यक्षता गरिरहेका छन् । सांसदबाट निलम्बित भइसकेपछि उनी कानुनत: उनी दलको नेताको भूमिकामा छैनन् । तर उनी अध्यक्ष र दलको बैठकमा पनि बसेर नेता-कार्यकर्तालाई निर्देशन दिइरहेका छन् ।

भलै, विशेष अदालतले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । तर, यो थुनछेकका क्रममा उनलाई मिलेको आदेश मात्रै हो । अदालतले उनी तत्कालै निर्दोष ठहरिन नसक्ने निचोडसहित धरौटी मागेर छाडिदिएको हो ।

अदालतले धरौटीको राहत दिए पनि नेपालको संकट टरेको छैन । एकीकृत समाजवादीमा नेताहरूले उनको राजीनामा नै माग्न थालेका छन् ।

नेपालबारे सबैभन्दा कडा र तिखो अभिव्यक्ति समाजवादीको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले गत असार १४ गते बुटवल पुगेर दिइन् ।

पार्टीनिकट लुम्बिनी प्रदेशका युवाहरूलाई सम्बोधनका क्रममा उनले अब अध्यक्षको विकल्प खोज्न अर्ली महाधिवेशनमा जानुपर्ने पनि बताइन् । रामकुमारीले भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपाल सिनो भइसकेको इंगित गरेकी थिइन् ।

‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, रामकुमारीले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

उनले यदि काँधमा मरेको सिनो हालेर हिँडिरहने हो भने पार्टी धेरै छिटो विघटन हुने बताएकीन् । ‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिदैन, नत्र यो पार्टी धेरै छिटो विघटन हुन्छ’, उनले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपालतिर लक्षित गर्दै भनेकी थिइन्, ‘यही नाममा यो जञ्जालभित्र हाल्ने हो भने हामीले यो दु:ख पनि नगरौँ । यस्तै संकटहरूबाट हामी उठनुपर्छ तपाईं-हामी सबैलाई थाहा छ । अध्यक्षकै बारे संकट आएको छ । अब के गर्ने त हामीले, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरेर पार्टी पुनर्गठन गरौँ ।’

खासमा नेपाललाई अहिले पार्टीमा आफूले छाडिदिँदा विकल्पका रुपमा आउने नेताको खडेरी परेको छ । आफूले भर गर्ने कोही नदेखेका उनी त्यहीकारण दोस्रो पटक नैतिकता देखाउने पक्षमा पुगिसकेका छैनन् । पार्टीमा आफूविरुद्ध घेराबन्दी बढिरहँदा नेपालले पद त्याग्न नसक्दा रामकुमारीले बिहीबार संकट गहिरिँदै गएको बताइन् ।

प्रधानमन्त्री भएका बेला पदको दुरुपयोग गरी मन्त्रिपरिषद्बाट निर्णय गराई पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रेमा हदबन्दीभन्दा बढी सार्वजनिक जग्गा उपलब्ध गराएर बेचबिखन गर्न छुट दिएको आरोप नेपालविरुद्ध लागेको छ । यो मुद्दाको थुनछेक आदेश भएको दिनभर नेपाल विशेष अदालतमै बसे ।

अख्तियारले पतञ्जलिको जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । नेपालविरुद्धको मुद्दामा आदेश भए पनि अन्यको मुद्दा अझै प्रक्रियामा छ । अख्तियारले नेपाललाई १८ करोड ५८ लाख ५० हजार रूपैयाँ बिगोसहित १० वर्षदेखि १४ वर्षसम्म कैद सजाय माग गरेको मुद्दामा तत्काललाई कानुनी राहत मिले पनि नैतिक प्रश्नले लखेट्न छाडेको छैन ।

एमालेबाट अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर २०७८ भदौमा स्थापना गरेको समाजवादीमा चार वर्ष नबित्दै नेपाल संकटमा परेका छन् । यद्यपि उनले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइएको जिकिर गर्दै नडराउने बताइरहेका छन् । नेपालले आफ्नो बचाउ गरिरहे पनि उनी पार्टीभित्र आन्तरिक रुपमा घेराबन्दीमा पर्दै गएका छन् । पछिल्लो संकटका कारण उनलाई साथ दिएका नेताहरू पनि अब विकल्पको खोजीमा जानुपर्ने कुरा बताउन थालेका छन् ।

कुन नेताको के दाउ ?

नेपालको संकट बढेसँगै समाजवादीमा अहिलेको नेतृत्वको विकल्पको खोजी गर्न थालिएको छ। त्यसरी विकल्पको खोजी हुँदा नेतृत्व लिन तम्तयार भएका नेतामध्ये एक हुन् वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे । भ्रष्टाचार मुद्दाले अध्यक्ष नेपालको सांसद पद निलम्बनमा परेपछि पाण्डेले उपनेताका रुपमा आफू स्वत: दलको नेता भइसकेको तर्क गरिरहेका छन् ।

पार्टीको वरिष्ठ उपाध्यक्षका रुपमा नेपालले जिम्मेवारी छाडेको अवस्थामा अध्यक्षको भूमिका पनि आफैंमा आउने जिकिर पाण्डेले निकटस्थहरूसँग गरिरहेका छन् ।

‘माधव नेपपाले छाड्दा अध्यक्ष पद पनि वरिष्ठ उपाध्यक्ष भएकाले म मा नै आउँछ । तर छाड्ने नछाड्ने उहाँको नैतिकताको कुरा हो’, उनले आफूनिकटलाई भन्दै आएका छन्, ‘प्रश्न उठिसकेपछि, भ्रष्टाचारको मुद्दा लागिसकेपछि के गर्ने भन्ने उहाँले जान्ने कुरा हो ।’

पाण्डेले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा पनि त्यही कुरा सार्वजनिक रुपमा राखेका छन् । नेपाल सांसदबाट निलम्बित भएको अवस्थामा दलको नेताको भूमिका स्वत: आफूमा आइसकेको कुरा उनले उक्त टेलिभिजन संवादमा बताएका थिए । अर्थात्, नेपाल निलम्बित भएकाले दलको नेता आफू भइसकेको र अब पार्टी अध्यक्षको जिम्मेवारी पनि आफूमा आउनुपर्ने तर्क उनको थियो ।

अर्कातिर एकीकृत समाजवादीका वरिष्ठ नेता घनेन्द्र बस्नेतले एक टेलिभिजन अन्तवर्वार्तामै अध्यक्ष नेपालले जिम्मेवारी उहाँले छाड्ने कि नछाड्ने कुराबारे पार्टीमा छलफल हुने बताएका छन् । ‘उहाँले नेतृत्व छाड्ने नछाड्ने कुराबारे पार्टीमा छलफल हुन्छ । यो लहडको कुरा होइन, यसबारेमा पार्टी कमिटीले निर्णयको गर्ने कुरा हो ।’

तर, माधव नेपालका सम्धीसमेत रहेका एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डे भने बचाउमा उत्रिएका छन् । ‘माधव नेपालले अहिले छोड्नु हुन्न’, उनले भने, ‘उहाँले कुनै हालतमा पार्टी अध्यक्ष र दलको नेता छाडनु हुन्न। यो उहाँमाथि भएको प्रतिशोध हो, त्यसैले छाड्नु हुन्न । छाड्ने कुरा पनि हुँदैन ।’

तर पछिल्लो समय एकीकृत समाजवादीका एकपछि अर्का नेतालाई भ्रष्टाचारका मुद्दा लाग्दै गएको अवस्थामा अध्यक्ष नेपालमाथि पद छाड्नुपर्ने दबाब भने चुलिँदै गएको छ ।

समाजवादी निकट विश्वस्त स्रोतले प्रश्न उठिसकेपछि नैतिकता देखाएर अध्यक्ष नेपालले विश्राम लिँदा पार्टी संगठनलाई नै फाइदा हुने निष्कर्ष सुनाएको छ।

‘पार्टीमा अध्यक्षलाई मुद्दा लाग्यो । सुदूरपश्चिममा दलका नेता दीर्घ सोडारीलाई मुद्दा लाग्यो । कतिपय नेतालाई चेक अनादार र बैंकिङ कसुरका विषयवस्तुमा प्रश्न उठेको छ । कतिपयले विदेश पठाइदिने भनेर पैसा उठाएर फरार रहेको, कोही पक्राउ परेको समाचार आएको छ’, समाजवादीनिकट श्रोत भन्छ, ‘यी सबै विषयमा प्रतिशोध साँधियो भनेर अब टार्ने अवस्था छैन । सबै मुद्दाहरूलाई हेर्ने नजरमा एकरूपता र विधि चाहिन्छ ।’

समाजवादीका एकजना नेताले प्रश्न उठिसकेपछि सबैको विषयमा पार्टीको बैठकले विधि बनाएर समस्याको हल गर्नुपर्ने बताएका छन् । ‘किनकि व्यक्ति दोषी हुन सक्ला वा नसक्ला त्यो पार्टी र आन्दोलनमा सिध्याउने अस्त्रका रूपमा प्रयोग हुनु हुँदैन’, ती नेताले खबरहबलाई भने ।

यहीबेला एकीकृत समाजवादी ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा लिएर देशव्यापी आन्दोलनमा छ । उक्त आन्दोलनको नेतृत्व महासचिव घनश्याम भुसालले गरेका छन् । तर मुद्दा लागेका, धरौटी बुझाएका र तारेखमा धाइरहेकाहरूलाई नेतृत्वमा राखेर सुशासनको आन्दोलन सफल नहुने कुरा एकथरी नेताहरूले उठाइरहेका छन् ।

उता रामकुमारीको तर्क अझै कडा छ । २०७८ भदौमा माधव नेपाललाई डोर्‍याउँदै निर्वाचन आयोगमा पुर्‍याएर एकीकृत समाजवादी दर्ता गर्न भूमिका खेलेकी उनै कारबाही वा निष्काशनको अवस्थामा पुगेकी छन् ।

उनैले माधव नेपाललाई लक्षित गर्दै आफूबाहेक अरु सबै भ्रष्टाचारी हुन् भन्ने कुरा पनि ठीक होइन भनेर टिप्पणी गरेकी छन् ।

घेराबन्दी भइरहँदा माधव नेपालनिकट एउटा समूह भने वरिष्ठ उपाध्यक्ष पाण्डेलाई नेतृत्व छाड्ने पक्षमा छैन । ‘माधव नेपाल समूहकाले कुनै हालतमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कुनै हालतमा छाड्नु हुन्न उहाँ नै रहनुपर्छ भन्ने लबिइङ गरिरहेका छन्’, एक नेताले भने, ‘माधव नेपालले हिजो दुई ठाउँबाट हार्दा राजीनामा दिएका हुन् । त्यसबेला उनले आफूनिकटसँग पनि सल्लाह नगरी राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको भनेर प्रशंसा भएको थियो ।’

तर अहिले उनीनिकटलाई त्यही नैतिकता उनले दोहोर्‍याउलान् भन्ने डर लागेको छ । ‘अहिले उनका केही निकटस्थलाई माधव नेपालले त्यही नैतिकता देखाउँछन् भन्ने डर छ’, ती नेताले भने, ‘यदि त्यसो भएमा पाण्डेको कमान्डमा पार्टी जान सक्ने चिन्ताले नेपालनिकटलाई पिरोलेको छ ।’

उता पाण्डेले संसदीय दलबाट माधव नेपाल निलम्बित भएपछि उपनेता भएको हिसाबले स्वत: आफूले जिम्मेवारी पाउनुपर्ने तर्क र दाबी गरिरहेका छन् । उनले केही दिनको टेलिभिजन अन्तर्वार्तामा माधवकुमार नेपालले नैतिकता देखाए कार्यवाहक अध्यक्ष पनि आफैँ हुने दाबीसमेत गरेका छन् ।

पाण्डे र उनको समूहले माधवलाई परेको संकटबाट लाभ हुने हिसाब गरेका छन् । यसले आफूलाई जिम्मेवारी आएर पार्टीको कमान्डमा पकड जमाउन सजिलो हुने हिसाब पाण्डेको छ ।

तर उता वरिष्ठ नेता डा. बेदुराम भुसाल भने यदि आइपरेको अवस्थामा संसदीय दलको नेता र कार्यवाहक अध्यक्ष दुवै राजेन्द्रप्रसाद पाण्डेलाई दिन नहुने पक्षमा लबिइङ गरिरहेका छन् ।

अर्कातिर माधव नेपाललको राजीनामा माग्ने तयारीमा रहेका सम्मानित नेता झलनाथ खनालको दाउ अर्कै छ। उनी यो संकटको घडीमा आफूले पार्टीको नेतृत्व गर्न चाहन्छन् । उनले जारी पार्टीको बैठकमा नेपालको राजीनामा माग्ने तयारी गरेको निकटस्थहरूले बताएका छन् ।

खनालले यसअघि नै जिल्ला र प्रदेशमा पुगेर पार्टी पुनर्गठनको मुद्दा उठाइसकेका थिए । माधव नेपाललाई जेठ २२ मा मुद्दा पर्नुअघि नै खनालले अर्ली महाधिवेशनको बहस पनि झिकिसकेका थिए ।

खनालले पहिले नै बोलिसकेको कुरा रामकुमारीले लुम्बिनीमा असार १४ मा उठाइन् । ‘रामकुमारीको भनाइ त्यसको निरन्तरता हो तर झलनाथसँ सल्लाह भएको होइन’, खनालनिकट स्रोतले भन्यो, ‘यो मामिलामा सल्लाह नभए पनि विचारको मुद्दामा दुई नेता एक ठाउँ आइपुगेका हुन् ।’

अर्कातिर रामकुमारीको भनाइपछि वादविवादमा नउत्रिन भन्दै पत्राचार गरेका महासचिव घनश्याम भुसाल भने अहिलेसम्म मौन छन् ।

रामकुमारीले अभद्र बोलिन् भनेर पार्टीको एउटा समूहले उनको मानसिक अवस्था नै ठिक नभएको भन्दै अभद्र टिप्पणी जारी राखेको अवस्था भुसालले मौनता तोड्न सकेका छैनन् ।

यद्यपि पार्टीको कलह रोक्न महासचिव भुसालले वाद-प्रतिवादमा नउत्रिन भन्दै केही दिनअघि तलैसम्म परिपत्र नै जारी गरे । उनले आफ्नो कुरा सम्बन्धित पार्टी कमिटीको बैठकमा राख्न ध्यानाकर्षण गराएका थिए ।

‘यी विवादबीच घनश्याम भुसाल आफैं मौन देखिनुको कारण हामीले बुझेका छैनौँ’, एक नेताले भने, ‘सुशासन र रोजगारी आन्दोलनका संयोजक रहेकाले भुसाल अहिले यी मुद्दाहरू माझमा पार्टी पनि जोगाउने र आन्दोलन पनि उठाउने सन्दर्भमा छलफलमा रहेकाले मौन बस्नुपरेको हो ।’

समाजवादीका स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठले सचिवालय बैठक चलिरहेकाले त्यहाँबाट केही निष्कर्ष आउने अपेक्षा गरे।

‘यो विषयमा त निश्चित रुपमा सचिवालयमा छलफल भयो होला’, उनले भने, ‘अध्यक्षमाथि उठेका प्रश्नले पक्कै पनि हामीलाई चिन्तित बनाएको छ । सचिवालयपछि स्थायी कमिटी बोलाए भने हामी त्यही छलफलमा ठोस धारणा पनि बनाउँछौँ ।’

उता उपाध्यक्ष जगन्‍नाथ खतिवडाले अर्काको षड्यन्त्रमा रचिएको कुरामा परेर आफूहरू माधव नेपाललाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको बताएका छन् ।

‘माधव नेपाललाई अध्यक्ष पदमा राखिनै रहनु पर्छ भन्ने हाम्रो माथिदेखि तलसम्मको मत हो । उहाँमाथि मनपरी गरिएको हो । अर्काले षड्यन्त्र गर्दा हामीले नैतिकताको पाठ पढिरहनु पर्दैन । अर्काको षड्यन्त्रमा नैतिकताको विषय मान्दैनौँ’, उनले भने, ‘आमनागरिक समाज, मिडिया र राजनीतिक दललाई हेर्दा पनि माधव नेपाल भ्रष्टाचार गर्ने मान्छे होइन भन्ने विश्वास छ । विधि प्रक्रिया नपुग्ने कुरामा भ्रष्टाचार हुँदैन ।’

उनले २०७९ सालमा तामेलीमा राखेको कुरा एकाएक नयाँ प्रमाण नभेटिएको अवस्थामा पनि मुद्दा चलाइएको बताए । ‘तामेलीमा राखेको विषयमा कुनै नयाँ प्रमाण नभेटिई षड्यन्त्रपूर्वक मुद्दा चलाइएको छ’, उनले भने, ‘उहाँको निष्ठामा हामी विश्वस्त छ । यसलाई सुशासनसँग जोडिरहनु आवश्यक छैन ।’

उपाध्यक्ष खतिवडाले रामकुमारीबारेमा टिप्पणी गर्दै उनले अध्यक्ष नेपालबारे पार्टीको नेताका रुपमा बोल्ने कुरा नबोलेको पनि बताए । ‘उनले जे बोलिन्, त्यो पार्टीका लागि पचाउने कुरा होइन । बुटवलको भाषणमै सुरुदेखि अन्तिमसम्म नकारात्मकता छ’, उनले भने, ‘अनुशासन कमिटीले स्पष्टीकरण सोधेको छ । उचित जवाफ नदिए कारबाही अघि बढ्छ । कसैले पनि पार्टीमा भाँडभैलो गर्नु हुँदैन ।’

पोलिटब्युरो सदस्य अशेष घिमिरे भने माधव नेपालविरुद्ध दायर भएको मुद्दा राजनीतिक प्रतिशोध भएको दाबी गर्छन्। अध्यक्ष नेपालले अदालतमा आफैं उपस्थित भएर बयान दिँदै कानुनी प्रक्रियामा सहयोग गरेको उनको भनाइ छ। उनले यो विषयमा पार्टीमा छलफल हुने उनले बताए। घिमिरे भन्छन्, ‘हाम्रो अध्यक्षमाथि अख्तियारले दायर गरेको मुद्दा राजनीतिक प्रतिशोध हो भन्ने प्रशस्त आधार छन्। मुद्दा अदालती प्रक्रियामा गैसकेपछि अदालतले बोलाएर हैन, आंफै हाजिर भएर बयान दिएर अध्यक्षले कानुनी प्रक्रियालाई सहयोग गर्नुभएको कुराले पनि पनि उहाँको कानुनी शासनप्रतिको प्रतिबद्धता प्रष्ट देखिन्छ। यो समग्र पार्टीमाथिको आक्रमणलाई कसरी सामना गर्ने भन्नका लागि पार्टी कमिटीको बैठक शुरू भएको छ। अहिले केही दिनदेखि सचिवालयमा गम्भीरतापूर्वक छलफल भैरहेको छ।’

यो अवस्थामा पार्टी हतारिएर भन्दा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

‘अब, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकबाट सुविचारित निर्णय गरेर हामी अगाडि बढ्छौं। आत्तिएर, हतास भएर निराश भएर वा उत्तेजना र आवेगमा आएर होइन, पार्टी र समाजवादी आन्दोलनको अगुवाइ गर्न जनताको भरोसा जित्न जे गर्नुपर्छ हामी सो अनुकुलको निर्णय लिन्छौं’, उनले थप भने।

घिमिरेले पार्टीमा लामो अनुभव संगालेका नेताकार्यकर्ताले, समग्र वाम आन्दोलनको संकटबारे विमर्श गरिरहेकाले नेताले दिने सुझावलाई पनि ध्यानमा राख्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : १४ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा