काठमाडौं– मंगलबार बिहान ३ बजे रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ र चीनको स्वशासित क्षेत्र तिब्बत (सिचाङ) सीमा भएर बग्ने ल्हेन्दे खोलाको बाढीले नेपालतर्फ ठूलो विध्वंश मच्चायो । उक्त खोलाको स्रोत तिब्बततर्फ अवस्थित हिमोट (हिम नदीले सोहोरेर ल्याएको माटो, बालुवा,ढुङ्गा र झारपात) फुट्दा नेपालमा भोटेकोशीले ठूलो क्षति गरेको हो ।
चीनको ल्हेन्दो र केरुङ खोलाको बाढी भोटेकोशीमा पुगेर भीषण रुप लिँदा नेपाल-चीन मितेरी पुल नै बगाएको छ । बाढीले रसुवा भन्सार कार्यालयको सेडघरका मालवाहक २५ वटा मालवाहक कन्टेनर बगायो । दर्जनौँ ईभी गाडी, मालवाहक गाडीका चालक, तीन प्रहरीसहितका नेपाली र चिनियाँ गरी १८ जना अहिलेसम्म बेपत्ता छन् ।
भोटेकोशीको बाढीमा बगेर मृत्यु भएकामध्ये मंगलबार अपरान्हसम्म सातजनाको शव भेटिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताएका छन् । बाढीमा फसेका नेपाली, भारतीय र चिनियाँसहित ५५ जनाको उद्धार गरिएको छ ।
दुई देशको सीमा (नेपाल र चीन ) रसुवागढी छुट्याउँदै दुई खोला ल्हेन्दे र केरुङ आउँछन् । तिब्बत (भोट) हुँदै आउने नदी (मितेरी पुल कटेपछि) लाई नेपालतर्फ भोटेकोशी भन्ने गरिएको छ । भोटेकोशीले नेपाली सिमानाभित्र स्याप्रुबेँसीभन्दा केहीमाथि चिलिमेखोला र त्यसपछि स्याप्रुबेँसी लाङटाङ खोलालाई समाहित गर्छ । भोटेकोशीकै नामले अघि बढेको यो नदी धुन्चे भन्दा केही तल गोसाइँकुण्डदेखि प्रवाहित भएर आएको त्रिशूलीमा मिसिन्छ ।
मंगलबार बाढी आएको भोटेकोशी तल आएर त्रिशूलीमा मिसिएर नारायणी हुँदै गण्डक नहरबाट भारततिर गएर गंगामा समाहित हुन्छ । उता सिन्धुपाल्चोकको खासा नाका (तातोपानी) हुँदै आउने (जो सुनकोशी हुँदै सप्तकोशीमा मिसिन्छ) लाई पनि भोटेकोशी नै भनिन्छ । मंगलबार विध्वंश मच्चाएको भोटेकोशी नारायणीको सहायक नदी हो ।
यसअघि असार ४ मा पनि चीनले तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भन्दै भोटेकोशी नदी (सिन्धुपाल्चोकतिरको) क्षेत्रमा सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई सतर्क गराएको थियो । गत असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सतर्क गराए बमोजिम भोटेकोशीमा बाढी पनि आयो तर मंगलबार रसुवातर्फको भोटेकोशीमा आए जस्तो ठूलो रुप भने लिएन ।
सिन्धुपाल्चोकतर्फको भोटेकोशी सुनकोशी हुँदै मिसिने सप्तकोशीका सातवटा सहायक नदी छन् । सुनकोशी, भोटेकोशी, दूधकोशी, तामाकोशी, अरुण, तमोर र इन्द्रावती । यी सबै हिमाली नदी हुन् । सुनकोशी सप्तकोशी नदी प्रणालीको मुख्य अङ्ग हो । सुनकोशीका दुईवटा स्रोत छन् । एउटा नेपालभित्र सिन्धुपाल्चोकको चौकाटीमा उत्पत्ति हुन्छ । र, अर्को महत्त्वपूर्ण धारा चीनको तिब्बत क्षेत्रको न्यालम काउन्टीबाट बग्छ ।
यस्तै भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्छ । यो नदी सप्तकोशीको सहायक नदी हो । यो नदी सिन्धुपाल्चोकको बलेफीमा पुगेर सुनकोशीमा मिसिन्छ । र, काभ्रेपलाञ्चोकको दोलालघाट आइपुग्दै सप्तकोशीको मूल प्रवाहमा समाहित हुन्छ । कोशीका सबै सहायक नदीहरू तिब्बतबाट बग्ने हुँदा कोशीमा जहिले पनि बाढीको खतरा भइरहने मौसमविदहरू बताउँछन् ।
सधैँको त्रास
सन् १९५४ अप्रिल २५ तारिखमा नेपाल-भारत कोशी सम्झौताको प्रारम्भमै भनिएको छ, ‘कोशी नदीमा रहेको हनुमाननगरको तीन माइलमाथि एउटा बाँध प्रमुख कार्य र अन्य कार्यलगायत बाढी नियन्त्रण बाँध र नहरहरू र सुरक्षात्मक कार्यहरू बाँधको माथिपट्टि कोशी नदीको दाँयातर्फ रहेको नेपालको भागमा भूक्षय रोकथाम बाढी नियन्त्रण, सिँचाइ विद्युत शक्ति उत्पादन गर्न नेपाली रहेको भू–भागमा निर्माण गर्न सङ्घ इच्छुक छ । अब उप्रान्त यसलाई आयोजना भनिएको छ ।’
यसको अर्थ कोशी नदीको दायाँतर्फ अर्थात् पूर्वी तटबन्ध निर्माण गर्न मात्रै भारत सरकार जवाफदेही छ । वि. सं. २०२२ सालमा कोशी ब्यारेज निर्माण भइसकेपछि कोशीले नेपाली भूभागतर्फ ठूलो क्षति गर्दैआएको छ । भारत सरकार जवाफदेही रहेको पूर्वी तटबन्धमै अत्यधिक जोखिम हुँदै आएको छ ।
स्थायी तटबन्ध निर्माण गर्नुपर्नेमा जिम्मेवार भारत सरकारले तटबन्धका नाममा कच्चा काम गर्दै आएको छ । बोरामा बालुवा भरेर किनारामा राख्ने, त्रिखुट्टी हाल्ने र हालै टेट्रापोड्स लगाउने काम गरेको छ । भारतको बेइमानीका कारण कोशी किनारमा बसोबास गर्ने नागरिक बर्सेनि बाढीको त्रासमा बाँच्न बाध्य छन् ।
नेपाल–भारत कोशी सम्झौतापछि कोशी ब्यारेजदेखि ३२ किलोमिटर उत्तर नेपाली भूभाग भारतले रेखदेख र मर्मत सम्भार गर्ने दायित्व बिहार सरकारको हुने स्पष्ट व्यवस्था गरिएको थियो । हरेक वर्षायाममा बिहार सरकारको कोशी प्रोजेक्टअन्तर्गत तटबन्ध तथा स्परहरूको सामान्य रुपमा मर्मत गर्दै आएको छ । तर स्थायी तटबन्ध निर्माण गर्न नसक्दा विगत ६० वर्षमा कोशीले अत्यधिक क्षति गरिरहेको छ ।
२०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्कनुअघि पनि कोशीका बाँध पटक–पटक भत्किरहेको इतिहास छ । सन् २००८ को कुशाहा तटबन्ध भत्कनुअघि सन् १९६३, १९६८, १९७१, १९८०, १९८४, १९८७ र १९९१ मा कोशीको बाँध भत्किएको छ । भारत सरकार सम्झौतामा प्रतिबद्ध नभएकाले स्थायी तटबन्ध निर्माण हुन सकेको छैन ।
कोशी नदीमा लामो अनुसन्धान गरेका बिहारका इञ्जिनियर तथा नागरिक समाज कार्यकर्ता दिनेश कुमार मिश्रले लेखेका छन, ‘यी विफलताहरू नदीको कटान शक्ति, अपर्याप्त मर्मतसम्भार, र जनावरहरू समेत खाल्डोमा पुरिने खाल्का भड्खाराका कारण मानिन्छ ।’

तटबन्ध भत्किएपछि …
वि. सं. १९९०, २०११, २०२२, ०२४, ०२५, ०३८, ०४०, ०४२, ०४५, ०६५, ०७९, ०८१ सालमा कोशी नदीमा ठूलो बाढी आएको इतिहास छ । यी बाढीले धनजनको क्षति गर्यो ।
कोशी ब्यारेज निर्माण भएपछिको ४३ वर्षमा पहिलो पटक २०६५ भदौ २ गते कोशी नदीले ब्यारेज उत्तर (नेपालतर्फ) पूर्वी तटबन्ध भत्कायो । सुनसरी जिल्लाको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्ण रुपमा डुबानमा परे । तत्कालीन लौकही गाविस आंशिक रुपमा डुब्यो ।
कोशी नदीको इतिहास अध्येयता इञ्जिनियर मिश्रले त्यसअघि पनि भारततर्फ सात पटक नदीको बाँध फुटेको उल्लेख गरेका छन् । नेपालतर्फ कोशी नदीको पूर्वी तटबन्धको स्पर नं. १२.१० तथा स्पर नं १२.९० को बीचबाट कोशीको भङ्गालो गाउँमा पस्यो । त्यतिबेला सात हजार पाँच सय ६३ घरधुरीका ४२ हजार सात सय ६५ नागरिक विस्थापित भए ।

वि.सं. २०७३, २०७६, २०७९ र ०८१ सालमा कोशी नदीको उदयपुर खण्डमा बाँध भत्किँदा र जलसतह बढ्दा बीसौँ हजार मान्छे प्रभावित भए ।
२०७९ साउनमा उदयपुर जिल्लाको बेलका नगरपालिका–८, डुम्रिबोटेस्थित लाहुरे खोजबाट कोशी नदीले ०४५ साल अघिको पुरानो धार समात्यो । कोशीको एउटा भँगालो श्रीलङ्का टप्पुतिर सोझिँदा बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ का बस्तीमा बाढी पस्यो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु जलमग्न बन्यो । यो बाढीको असर उदयपुर, सप्तरी र सुनसरीलगायतका जिल्लामा प्रत्यक्ष पर्यो । यहाँका २० हजार स्थानीय डर र त्रासमा बस्न बाध्य भए ।
२०८१ सालमा सोही स्थानबाट कोशी नदीको बाढी ‘ओभरफ्लो’ भएर बस्तीतर्फ पस्यो । त्यसताका समेत टप्पु ढुवानमा पर्यो । नदीको पानी बस्तीभित्र पसेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले बेलका ३ का १२७ जनालाई सुरक्षित स्थानतर्फ लगेको थियो ।
अभरपर्दो तटबन्धको त्रास
भारतीय जलसंशाधन विभागले कोशी नदीको पूर्वी तटबन्धको चतरादेखि कोशी ब्यारेजसम्मका स्परमा तटबन्ध गर्दै आएको छ । तर यी तटबन्धमा स्थायी समाधान हुने गरी बिहार सरकार काम गर्दैन ।
बर्सेनि बाढीको पूर्वतयारीका नाममा बोरामा बालुवा भर्ने र त्रिखुट्टी लगाउने काम गर्दै आएको स्थानीय बताउँछन् । यो वर्ष भने पहिलो पटक नदीमा टेट्रापोड्स लगाइएको छ । तर पनि यो दिगो तटबन्ध होइन ।
‘हामीले थाहा पाउँदासम्म चतरा, पुल्ठेगौंडाका स्पर नाघेर बाढी बस्तीमा पसेको थाहा छैन । तर जतिबेला पनि अभर पर्ने सक्ने डर चाहिँ भइरहन्छ,’ स्थानीय दीपक गौतम भन्छन्, ‘दीगो तटबन्ध गर्ने पक्षमा भारत सरकार छैन, बर्सेनि काम गर्छ, बर्खाको बाढीले बजेट जति कोशीमा लगेको देखिन्छ, अर्को वर्ष फेरि उसैगरी काम हुन्छ ।’

सप्तकोशी नदीका पूर्वी तटबन्धमा पर्ने २५ः५७, २५ः२५, २६ः००, २६ः४०, २६ः८८ लगायत स्परमा पानीको बढी चाप हुने गरेको छ । कोशी नदीको वहाव अत्यधिक भयो भने बाढीले सबैभन्दा ठूलो यिनै स्परहरूबाट क्षति गर्ने सम्भावना छ ।
भारतीय प्राविधिकले विशेष निगरानी गर्ने भने पनि यी स्परमा काम चलाउ बाँध निर्माण गरिएको छ । राजाबासस्थित २४ः१० देखि २७ः८८ सम्मका सात स्परमा कोशीको बहावको अत्यधिक चाप हुने गरेको छ ।
‘श्रीलङ्का टप्पु : जोखिमबाट दुई किलोमिटर टाढा’
बर्सेनि बाढीको त्रासमा बस्न बाध्य सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा पर्ने चिलिया र गरैयाका स्थानीयले अहिले नै बाढीको जोखिम नदेखिएको बताएका छन् ।
स्थानीय बद्री राईले कोशीको अवस्था हेर्दा आजभोलि नै जोखिम होला जस्तो नदेखिने बताउँछन् । ‘बाढी बढेको छैन, आउँदैन होला, कोशी फर्किएर पुरानै ठाउँमा गएको छ,’ राई भन्छन्, ‘चिलियाबाट दुई किलोमिटर जति टाढा छ कोशी, अहिलेसम्म त ढुक्कै छ ।’
उनका अनुसार बिहार सरकारले कोशी कटान रोक्न यो वर्ष त्रिखुट्टी लगाइदिएको छ । ‘गरैयातिर हल्का कटानी लाग्दै छ अस्तिको दिनदेखि भन्ने सुनेको छु ।’
टप्पुकै ओमल चन्द्रवंशी यतिबेला धान रोपाइ धमाधम भइरहेको बताउँछन् । कोशीको अवस्था ठीकै रहेको उनको भनाइ छ । ‘कोशी अहिले २–३ किलोमिटर टाढा होला । तत्काल डर छैन’, उनले भने ।
प्रतिक्रिया