उबेला बाँच्न रक्सी बेचेँ, अब थारू रेस्टुराँ खोल्छु | Khabarhub Khabarhub

संवाद

उबेला बाँच्न रक्सी बेचेँ, अब थारू रेस्टुराँ खोल्छु

दायाँबायाँ गरेर पेट पाल्नु अनुचित



कमलरीबाट सीधै संसदमा प्रवेश पाइन् । जनताले आफ्नै हातबाट बनाउने मूल कानुनको जिम्मेवारी एउटी कमलरीले पाउँदाको क्षण उनकै लागि अविश्वसनीय थियो । थारूको परम्परागत एकसरो लुगामा दाङबाट काठमाडौँ आइपुगेर मूलप्रवाहको राजनीतिमा हेलिएकी शान्ता चौधरीसँग दुई दशकयता आइपुग्दा परिचयका थुप्रै विशेषण छन् । औँठाछापबाट शुरु भएको राजनीतिक यात्रा स्नातक शिक्षामा पुगिसेकको छ । राजनीतिसँगै उनले आफूभित्र प्रज्ञा, चेतना र सिर्जनालाई समान रूपमा अघि बढाएकी छन् । छोराछोरीलाई उच्च शिक्षादीक्षा दिएर उम्दा प्रतिभा बनाएकी छन् ।

सेवाको अर्को नाम भएकाले राजनीति गर्नेहरू राजहाँस जस्तो हुनुपर्छ भन्ने दीक्षा पाएकी उनी हातमुख जोर्न उद्यम गर्नुपर्ने मत राख्छिन् । भन्छिन्, ‘कमलरीबाट मुक्ति पाएपछि १५ रुपैयाँ बोतलमा रक्सी बेचेँ । दुनाटपरा बनाएर बेचेँ । ज्यालादारी मजदुरीको काम गरेँ । मलाई आलोचनाबाट डर लाग्दैन । राजनीतिकर्मीले दायाँबायाँ गरेर पेट पाल्नु अपराध हो ।’

राजनीतिक सिँढी उक्लँदै गर्दा आर्थिक स्वावलम्बन हासिल गरिरहेकी उनै चौधरीसँग गरिएको कुराकानी :

पढाई कहाँ पुर्‍याउनुभयो ?

संविधानसभामा प्रवेश गरिसकेपछि पढाइ सुरु गरेको हुँ । आठ कक्षामा भर्ना भएर शैक्षिक यात्रा सुरु गरेँ । अहिले समाजशास्त्रमा स्नातक तेस्रो वर्षको परीक्षा दिएर बसेकी छु ।

चुनाव हारेलगत्तै व्यवसायमा लाग्नुभयो, व्यवसायको बारेमा पहिलेदेखि सोच थियो कि चुनाव खर्च जुटाउने मेलो हो ?

चुनाव हारेपछि व्यवसायमा लागेको होइन । कमलरीबाट मुक्त हुने बित्तिकैबाट गाउँघरमा लाजै नमानी भन्छु– रक्सी पारेर बेच्ने गर्थेँ । सानो किराना पसल थियो घरमा । आयस्रोतसँग जोडिन मन लाग्थ्यो । मेरो बाध्यता थियो आयआर्जन गर्नैपर्ने, त्यसले व्यवसायी बनायो । त्यतिबेला १५ रुपैयाँ बोतल बिक्री हुन्थ्यो । दिनभर मजदुरी गरेर बिहान बेलुका रक्सी पार्ने हो । करिब पाँचदेखि ६ वर्ष रक्सी पार्ने काम गरेँ ।

चुनाव जितेको भए तपाईंको नामका अघिल्तिर उद्यमीको परिचय रहन्थ्यो ?

चुनाव जितेको भए पक्कै पनि उद्यमी भन्दा प्रतिनिधि सभा सदस्य भनेरै चिन्नुहुन्थ्यो । तर चुनाव जितेको भए पनि व्यवसाय गर्थेँ । राजनीति गर्दै गर्दा पनि नियमित आम्दानीको स्रोत हुन आवश्यक छ । मलाई कमाएर दिने कोही छैन ।

दायाँबायाँ गरेर कमाउन मन लाग्दैन । आफ्नो खर्च अरूसँग माग्नु हुँदैन भन्ने थियो । दिनभर काम गरेर पनि उजेली रात (जुन लागेको रात) मा गहुँ काट्न जान्थेँ । एक घण्टा काटेको तीन रुपैयाँ दिन्थे । जंगलमा गाइवस्तु चराउन गएको बेला पात टिपेर बेच्थेँ । एक मुठाको पचास पैसा आम्दानी हुन्थ्यो ।

हारेको घाउमा मल्हम लगाउन उद्यम गर्नुभएको हो या राजनीति गर्ने उद्यमी हुनुपर्छ भन्ने ब्रम्हज्ञानले यता लाग्नुभयो ?

नेपालमा राजनीति गर्ने मानिसको अवस्था तीन किसिमको छ । एक असाध्यै धनी छन् । जसलाई पैसा जुटाउन केही पनि गर्नै पर्दैन । पुख्र्यौली सम्पत्ति छ । एक विगा जग्गा बेचेर चुनाव लड्न सक्छन् । कोही धेरै व्यवसायीसँग जोडिएका छन् , जसलाई चुनाव लड्न उनीहरूले पैसा सहयोग गर्छन् । कोही अत्ति नै गरिब छन् । अर्को हामी जस्तो । न सम्पत्ति बेचेर राजनीति गरौँ भन्ने छ, न कसैले सहयोग गर्छ । त्यस्तो मान्छे निरन्तर राजनीतिमा टिक्न गाह्रो पर्छ ।

काम नगरी चुलो नबल्ने मान्छेहरू लामो समय राजनीतिमा टिक्न सक्दैनन् । म भनेको बस्ने ठेगान नभएको खाने गाँसको व्यवस्था नभएको व्यक्ति हो । १८ वर्ष अर्काको घरमा दासताको जीवन बिताएको मान्छे । म अरूको प्रेरणा भन्दा पनि आवश्यकताले व्यवसायमा लागेँ ।

मेरो पृष्ठभूमिबाट अर्को व्यक्ति राजनीतिमा आउन निकै मुस्किल छ । अहिले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले ‘जान्नेलाई छान्ने’ भनेका छन् । पढेको मान्छेले मात्रै जानेको हुन्छ भन्ने छैन । भोगेको मान्छेले पनि जानेको हुन्छ । कमलरी नभोगेको नदेखेको मान्छेले मेरो समुदायलाई कसरी सम्बोधन गर्छ ? उहाँहरू धनी सम्भ्रान्त परिवारमा जन्मिनुभयो । कमलरीले पढ्न लेख्न पाएनन् ।

त्यसकारण मेरो समुदायको अर्को व्यक्ति राजनीतिमा आउन त्यति सजिलो छैन । त्यसकारण मैले राजनीतिलाई निरन्तरता दिनुपर्छ । हो यसको लागि आम्दानीको स्रोत बलियो बनाउन पर्‍यो । हाम्रो पार्टी अध्यक्ष कपी शर्मा ओलीले मलाई र अन्य सबै कार्यकर्तालाई पनि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता व्यवसायमा जोडिनुपर्छ भनेर सल्लाह दिइराख्नुहुन्छ ।

अचार बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानुभयो । उहाँको प्रतिक्रिया के पाउनुभयो ?

खुसी हुनुभयो । राम्रो गरेकी छ्यौ । अझ धेरै राम्रो गर्नु , प्रगति गर्नु भन्नुभयो ।

तपाईको अचार कहाँ कहाँ पुग्छ ? कतिलाई रोजगारी दिनुभएको छ ?

नेपालमा सबैभन्दा ठूलो स्केलमा भाटभटेनीमा पठाएको छु । केही स–साना स्टोरहरूमा गएको छ । भाटभटेनीमा धेरै बिक्री हुनेमध्ये मेरो अचार पनि पर्छ । धेरै उत्पादन गर्न सकिएको छैन । अब ठुलो भोलुममा काम गर्ने तयारीमा छु ।

विदेशमा अष्ट्रेलिया, अमेरिका पठाएको छु । कार्गो गरेर युरोप पठाएको छु । कतार पनि छिट्टै जाँदैछ । तिब्बत पनि पठाउने तयारी छ । दाङ जिल्लाबाहेक नेपालको अन्य जिल्ला पठाउन सकिएको छैन । काम गर्ने दिदीबहिनी ३५ जना हुनुहुन्छ । सिजनको समयमा पचासदेखि साठी जना पनि पुग्नुहुन्छ । त्यो संख्या अझ धेरै पनि बढ्छ ।

राजनीतिक कार्यक्रम भन्दा बढी अचार बनाउने तालिम दिँदै हिँडिरहनु भएको छ । राजनीति छोड्नुभएको त होइन ?

मेरो पहिलो प्राथमिकता राजनीति नै हो । व्यवसाय छोड्न सक्छु , राजनीति सक्दिन । छोराछोरी हुर्किसकेका छन् । दुई पैसा कमाउन सक्ने हुन लागे । अचारको काममा भन्दा पार्टीकै काममा व्यस्त हुन्छु । पार्टीको काम सधै देखाइरहने भन्ने हुँदैन । पार्टीको कामबाट बचेको समय व्यवसाय र पढाइलाई दिने गरेको छु ।

नेपालमा व्यवसाय गर्न निकै कठिन छ भन्छन् । तपाई नेता भएकै कारण बैँकबाट ऋण लिन सहज भयो कि ?

हरेक क्षेत्रमा कठिनाइ छ । सामाजिक, राजनीतिक, व्यवसाय कहिँ पनि सहज छैन । समस्या सर्वत्र छ । व्यवसाय गर्नेले व्यवसाय गाह्रो भन्छन् । राजनीति गर्नेले राजनीति गाह्रो भन्छन् । अझ राजनीति गर्नेले त जो पायो त्यहीले राजनीति गर्न सक्दैनन् भन्छन् । राजनीतिको अप्ठ्यारो अर्कै किसिमको छ । त्यसै गाली खानुपर्छ । व्यवसायीका आर्थिक समस्या होलान् तर दुनियाँको गाली खानु पर्दैन ।

जीवनभर पार्टीको झण्डा बोकेका कतिपय मानिस आज पनि वडा सदस्यसम्म हुन सकेका छैनन् । यो नितान्त समाजसेवा हो । सेवा गर्दै जाँदा संयोगले पाउने कुरा हो । सबै राजनीति गर्ने राष्ट्रपति, प्रधानमन्त्री मन्त्री, सांसद र केन्दी्रय सदस्य हुँदैनन् । त्याग गर्दै जाने हो राजनीति भनेको ।

व्यवसाय अलि बढी आर्थिकसँग जोडिएको हुन्छ । यसको फरक अप्ठ्यारो हो । तुलना गर्दा व्यवसाय गर्न राजनीति गर्न भन्दा सजिलो हो । राजनीति गर्न पैसा अनिवार्य चाहिन्छ भन्ने छैन । तर व्यवसायको लागि पैसा अनिवार्य छ । व्यवसाय गर्नेले रिस्क लिन सक्नुपर्छ ।

राजनीति लगानी भनेको के हो ?

राजनीति लगानी भनेको देशका निम्ति लगानी हो । जनताको लागि लगानी गर्ने हो । मेरा कारणले देशले र नागरिकले यो चिज पायो । मैले देशका निम्ति यो दिन सके । देशका लागि आफ्नो समय दिनु लगानी हो । समय सबैभन्दा ठूलो लगानी हो । समयसँगै आर्थिक खर्च पनि हुन्छ । घरमा बसेर राजनीति हुन्न । बाहिर निस्केपछि खर्च सुरु भयो ।

व्यवसायमा लगानी गरेपछि आउँछ भन्ने हुन्छ । कहिकाहीँ डुब्ने हो । नत्र व्यवसायले मुनाफा नै दिन्छ । राजनीतिमा रिर्टन पाउने भन्ने ग्यारेन्टी छैन ।

कोटेश्वरमा पार्लर पनि सञ्चालन गर्नुभएको थियो । के छ व्यवसायको अवस्था ? अचार हुँदै पार्लर र अब पार्लर हुँदै के के व्यवसाय गर्ने सुरमा हुनुहुन्छ ?

पार्टनरसिपमा पार्लर चलाएको थिएँ । चुनावले समय दिन नभ्याएर मैले छा्ड्नु पर्‍यो । साथीले चलाइराख्नुभएको छ । म आफूले पार्लरको काम जानेको भएर खोलेको थिएँ । कमलरीबाट मुक्त भएर विभिन्न सीप सिक्दा पार्लर सिकेकी थिएँ । एकदमै राम्रो चलेको थियो । तर राजनीति गर्ने मान्छेलाई पार्लर त्यति उपयुक्त नहुने रहेछ । अरूले हेर्ने दृष्टिकोणमा फरक पाएँ ।

सौन्दर्य कुरा गर्दा हिजोको कमलरी यस्ती भइ भन्ने सम्मको टिकाटिप्पणी सुनेँ । ब्लाउज र गुन्यू लगाएर संसदमा आउँदा पनि सांसद भएर के लगाएको भने । राम्रो लगाउन पनि विगत खोतल्ने गर्छन् । तर म कसैको टिप्पणीले कमजोर हुने मान्छे होइन । समय अभावको कारण साथीलाई चलाउन दिएर अचार व्यवसायमा मात्रै छु ।

मलाई अबको नयाँ व्यवसाय भनेको काठमाडौँमा ‘शान्ताको थारू रेस्टुराँ’ खोल्ने चाहना छ । तर लगानी गर्ने पैसा नहुँदा भावनाले मात्र हुँदैन । त्यो चल्छ भन्ने थाहा हुँदाहुँदै पनि खोल्न सकेको छैन ।

हिमालयन टेलिभिजनबाट साभार

सार्क ट्याङ्क कार्यक्रम कति बुझेर जानुभएको थियो ? लगानीकर्ता उत्सुक नभएको देखियो नि ?

यो कार्यक्रमको बारेमा केही पनि बुझेकै थिइन् । एक जनाले तपाई सार्क ट्याङमा आउनुहोला भन्नुभयो । लगानी गर्ने मान्छेहरू आउँछन् । यदि तपाईलाई लगानीको आवश्यकता छ भने त्यहाँ लगानीकर्ता हुन्छन् भन्नुभयो । फर्म भर्न भन्नुभयो । धेरै भन्नुभएको थिएन । तर त्यहाँ एक्टिङ पनि गर्नुपर्ने रहेछ । त्यस्तो थाहा पाएको भए म जाने थिइँन् । पहिले कहिले हेरेको थिइँन, त्यो कार्यक्रम । हेर्नपर्ने रहेछ । यसमा मेरो कमजोरी रह्यो भन्ने लाग्छ । असाध्यै अप्ठ्यारो महसूस गरेँ ।

आफ्नो जति छ त्यति गर्ने हो । पार्टनरसीपमा काम गर्नुपर्यो भने ठूलै स्केलमा काम गर्ने । मैले अपेक्षा गरेको हुन सकेन । तर हेमराज ढकाल सरले बेच्नको लागि सहयोग गर्ने आश्वासन दिनुभएको छ । उहाँसँग म सम्पर्कमा रहन्छु ।

म कहि चुकेको छैन । जिरोबाट सुरु गरेर ब्राण्ड बनाएको छु । मान्छेले ब्राण्ड बेचेका हुन्छन् । मेरो अचार राम्रै बिक्री हुन्छ भन्नेमा ढुक्क छु । अब दाल, मकै, गुन्द्रुक स्थानीय परिकार बेच्ने तयारीमा छु । कमलरी दिदीबहिनीले उत्पादन गरेका चीजहरू विदेशमा बेच्ने सुरसारमा छु ।

ठूलो रकम भनेकाले पनि झस्किनुभएको हो जस्तो लागेछ । २५ देखि ३० प्रतिशत दिन्छु भन्दा कुरा नमिलेको जस्तो लागेको छ ।

सार्क ट्याङ्कमा पुगेर तपाईले आर्थिक, नैतिक र भौतिक सहयोग चाहिएको छ भन्नुभयो । व्यवसायमा आर्थिक सहयोग त सजिलै बुझ्ने कुरा भयो । यो नैतिक र भौतिक सहयोग भनेको के हो ?

व्यवसायमा नैतिक सहयोग गर्ने मान्छे चाहिन्छ । जस्तै तिमी गर तिमी सक्छौ तिमीले गर्नुपर्छ भनेर हौसला बढाउने मान्छे । यो बौद्धिक सहयोग हो, सल्लाह हो जुन पैसा भन्दा महत्वपूर्ण हुन्छ । अचार यसरी बनाउनुस्, बजारमा यसरी जानुस भनेर गाइड गर्ने । अहिले सामान्य ठाउँमा अचार बनाएर बस्नु परेको छ । अलि ठूलो ठाउँ चाहिएको छ । भौतिक सहयोग गर्ने मान्छे चाहिएको छ ।

व्यक्तिगत र व्यवसायबाहेक अब थोरै राजनीतितिर पनि लागौँ । सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति विद्या भण्डारीको आगमनलाई कसरी हेर्नुभएको छ ?

उहाँ राजनीतिमा आउने कुरा स्वाभाविक हो । विभिन्न नकारात्मक टिकाटिप्पणी गर्नुपर्छ भन्ने लाग्दैन । किनभने उहाँ राजनीतिज्ञ मान्छे हो । त्यसकारण स्वागत छ । कतिपयले अध्यक्ष केपी ओलीसँग कुनै टसल हो कि भनेर विवादित बनाइदिने उद्देश्यले चर्चा गरेका छन् । तर त्यस्तो छ भन्ने मलाई लाग्दैन ।

नयाँ पार्टीहरू २०८४ मा पुरानालाई फाल्नुपर्छ भनेर लागिरहेका छन् । पुराना दलहरूलाई चुनौती दिइरहेका छन् । बेला बेलामा राजनीतिमा उथलपुथल आइरहन्छन् । हिजो राणाशासनबाट पञ्चायत आयो । बहुदल हुँदै गणतन्त्र स्थापित भयो । अहिलेको जुन व्यवस्था छ, यो जत्तिको राम्रो व्यवस्था अर्को छैन ।

यो व्यवस्था ल्याउन अग्रजहरूले जे जति योगदान दिए । अबको पुस्ताले यति गर्न सक्छन् ? हिजोको अवस्थामा नेकपा एमाले, माओवादीले भूमिगत राजनीति गरे । अहिले जस्तो खुला राजनीति गर्न कति सकस थियो ।

अहिले राजनीति गर्न धेरै सहज छ । त्यो समयको कल्पना गर्छु । कसरी सके होलान् ? मैले भूमिगत बस्नु परेन । राती कोपरामा दिसापिसाब गर्नुपथ्र्यो । अधिकांशका नेताहरूले जेल जीवन बिताए ।

राजनीतिक परिवर्तनको लागि नयाँ पुस्ताले के गुमाएको छ ? समाज, देश, राजनीतिक परिवर्तनका केही गुमाउनुपरेको छैन । नयाँले जानेका होलान् तर व्यवहारिक परिपक्वता खै ? त्यसकारण पुरानामाथि चुनौती छ भन्ने लाग्दैन । नयाँहरूको हकिकत देखिएकै छ ।

एकै व्यक्तिलाई १० पटक हस्ताक्षर गर्न लगाएर हाम्रो भोटर हुन् भन्ने बहस व्यर्थ हो । चुनावमा १० पटक भोट हाल्न पाइन्छ ? हस्ताक्षर गर्ने सबैले भोट हाल्छन् भन्ने छैन । आफ्नो पार्टीको प्रचारप्रसार गर्ने उहाँहरूको अधिकार हो । तर नयाँलाई पनि त्यति सजिलो देख्दिनँ ।

सांसद भएर आएकाहरूले आफ्ना निर्वाचन क्षेत्रमा कति काम गर्नुभयो ? कतिवटा कानुन बनाउनुभयो ? जनताका कति विषयमा संसद्मा प्रस्तुत हुनुभयो ? उहाँहरूको अधिकांश समय पुराना पार्टीलाई गाली गरेर बिताउनुभएको छ । गाली नगरी बोल्नै आउँदैन । अरूलाई गाली मात्रै गरेर कति दिन राजनीति गर्न सकिन्छ ?

हामी पढेलेखेका हौँ भन्नेहरूबाट नागरिकहरूले विचारको अपेक्षा गरेको हुन्छ । डाक्टर, वकिल, अर्थशास्त्री, व्यवसायी लगायत क्षेत्रबाट आएकाहरूले भिजन दिने हो, योजना दिने हो । विचार, नीति, योजना, सिद्धान्त केही छैन । जनताले त हेरिरहेका छन् । उहाँहरूले देखिने काम के गर्न सक्नुभएको छ ?

चुनाव हारे पनि आफ्नो निर्वाचन क्षेत्रको जवाफदेही हुनुपर्छ । म आफ्नो क्षेत्रमा पुगिरहेको छु । चार, पाँचवटा तालिमहरू सञ्चालनमा छन् । एक हजार महिलालाई उद्यमसँग जोड्ने तयारीका साथ काम गरिरहेको छु । यतिबेला कानुन बनाउनेमा मेरो भूमिका रहेन । तर बजेटमा पहलको काम गरिरहेकै छु ।

व्यवसायमा राम्रो गरिरहनुभएको छ । संसदमा जान मरिहत्ते चाहिँ किन ?

संसद्मा शान्ता चौधरी गरिबहरूको प्रतिनिधि हो । दासताको जीवन बाँचेकाहरूको प्रतिनिधि हो । त्यसको उपयुक्त पात्र म हुँ ।
कमैयामुक्त पहिले नै भए पनि शान्ता सांसद् भएर आएपछि मात्रै कमलरी मुक्त भएका हुन् । कमलरी समुदायको लागि पहिलोपटक १६ करोड बजेट छुट्याएको हो ।

कमलरी दिदीबहिनीको लागि दाङमा पाँच तलाको भवन बनाइदिएको छु । उनीहरूको शिक्षा, रोजगारीको लागि काम गरेकी छु ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ४० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं