आलु बिक्री गर्न कोसेली घर सञ्चालन | Khabarhub Khabarhub

आलु बिक्री गर्न कोसेली घर सञ्चालन


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६ हजार केजी आलु उत्पादन गरेका छन् ।

आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा उपलब्ध गराएको १५ लाख सशर्त बजेटमध्ये सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष ६ हजार केजीभन्दा बढी आलु फलाएको हो ।

गाउँपालिकाले वडा नम्बर ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलुखेती लगाएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिए ।

उत्पादित आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञ्चालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्न गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मूल्यको पसल खुला गरेको छ ।

स्थानीय राजस्व परामर्श समितिको यही असार १६ गते बसेको बैठकले आलुको मूल्य प्रतिकेजी ५५ रुपैयाँ निर्धारण गरेर कोसेली घरबाटै तोकिएको मूल्यमा सुरु गरिएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

आलुखेती प्रवर्द्धनअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको १५ लाख रुपैयाँ बजेटमध्ये आठ लाखमा ११ टन आलुको बीउ खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

किसानको मागका आधारमा गाउँपालिकाले निःशुल्क आलुको बीउ वितरण गरेपछि बाँकी रहेको सात लाख बजेटका साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर बाँझो जमिन रहेको भञ्ज्याङखर्कमा आलुखेती लगाएको हो ।

वर्षौँदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलुखेती लगाउनका लागि गाउँपालिकाको दुईवटा मिनीटिलर प्रयोग गरिएको थियो ।

यस्तै, बाँझो जमिन खन्न, आलुको बीउ रोप्न र फलेको आलु निकाल्नका लागि खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको थियो ।

गाउँपालिकाले सञ्चालन गरेको आलुखेतीमा तीन लाख बराबरको श्रमदान जुटाइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन् ।

छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूल्ठूला घाँसेमैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।

आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर १७औँ गाउँसभाबाट आव २०८२–०८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमको नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : ४५ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको