सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार ! | Khabarhub Khabarhub

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार !

स्रष्टाले लगाए दुई गीतमा प्रतिबन्ध



दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो त घरपरिवार हुँदै भैंसीगोठदेखि मेलापातसम्म लगेर सुन्ने चलन थियो। सूचना तथा मनोरञ्जनको माध्यम निक्कै सीमित थियो। तर प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम तथा विषयवस्तु बेहिसाव बढ्दै गए।

आज हात-हातमा मोबाइल छ। जे हेर्छु भन्यो, त्यहीँ उपलब्ध छ। तर कलाको नाममा अश्लिलता भित्रिएको छ। सपरिवार बसेर हेर्न र सुन्न सकिन्न। एयरफोन लगाएर लुकेर हेर्नुपर्ने कलाको बाढी आएको छ।

वयस्कले राम्रो नराम्रो छुट्याएर हेर्न सक्छ। तर नाबालिक तथा किशोरकिशोरी अवस्थामा प्रवेश गर्दै गरेकाहरुलाई यस्तो विकृतिबाट जोगाउन चुनौतीको विषय बनेको छ।

पढ्ने, सिक्ने, बौद्धित्व विकास गर्ने र त्यसै अनुरुप धारणा बनाउने चरणमा रहेकाहरुको हातमा मनोरञ्जन क्षेत्रले आज के पस्किएको छ ? उसले पस्किएको कलाले ती कलिला बालबालिका भोलिका दिनमा गएर समाज र राष्ट्रको लागि सक्षम र योग्य नागरिक बन्न सक्छन् ?

राष्ट्रको समुन्नत विकासको लागि बालबालिकामाथि उचित लगानीको आवश्यकता पर्छ। विश्वभर बालबालिकाको लगानीमाथि जोड दिने विषय प्राथमिकताकासाथ अगाडि बढिरहँदा हाम्रो जस्तो विकान्सोन्मुख राष्ट्रले झनै संवेदशील भएर लगानी गर्नुपर्ने अवस्थामा सस्तो मनोरञ्जन पस्किएर बालबालिकालाई गलत दिशातर्फ डो-याइरहेका छैनौं ?
यसको जिम्मेवारी लिने कसले हो ? अब परिवारसँग बसेर हेर्न नसक्ने कलाले कस्तो शिक्षा दिन्छ ?

बालबालिकाको जिम्मेवारी हरेक कोहीले लिनुपर्छ। किताब वा पाठ्यक्रमबाट सिक्न नसकेको र बुझाउन नसकेको कुरा कलाले सिकाउँछ, बुझाउछ भन्ने गरिन्छ। त्यसकारण पनि मनोरञ्जन क्षेत्रले सचेत हुन आवश्यक छ।

तीज नजिकिँदै छ। नेपालमा चाडपर्व विशेष गीतको निकै चर्चा हुन्छ। आम नागरिक चाडपर्व लक्षित गीतको पर्खाइमा रहन्छन्। दशैं, तिहार लगायत तीजमा कलाकार गीत निर्माणमा जुट्छन्। तर पछिल्लो समय हेर्न र सुन्न नसक्ने गीतहरु सार्वजनिक भएका छन्।

तीज नजिकिँदै छ। नेपालमा चाडपर्व विशेष गीतको निकै चर्चा हुन्छ। आम नागरिक चाडपर्व लक्षित गीतको पर्खाइमा रहन्छन्। दशैं, तिहार लगायत तीजमा कलाकार गीत निर्माणमा जुट्छन्। तर पछिल्लो समय हेर्न र सुन्न नसक्ने गीतहरु सार्वजनिक भएका छन्।

जसले बालबालिकालाई छिट्टै प्रभाव पारिहाल्छ। पहिलो कुरा अभिभावक स्वयम् पनि सस्ता गीतमा रमाइरहेका छन्। तर केही सचेत अभिभावक त्यस्ता गीतसंगीतबाट आफ्ना बालबालिका जोगाउने प्रयास गर्दागर्दै सकिरहेका छैनन्। बालबालिकालाई अश्लिलताबाट जोगाउने काम अभिभावकको मात्रै रहेन।

यो विषयमा अभिभावक, सरकार वा हरेक कुनै निकायले बहस गर्ने बेला भइसकेको छ। यो त्यो नभनी सबैले एकजुट भएर नलाग्ने हो भने यो समस्या समाधान नहुने पक्का छ। पहिले-पहिले गीतमा माया प्रेम, सुखदुखका भावनालाई व्यक्त गरिन्थ्यो। तर पछिल्लो समय मनोरञ्जनको नाममा द्विअर्थी लाग्ने भाव बोकेका गीत संगीत बग्रल्ती देखिने गरेको छ।

‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ ले केही दिन अगाडि तीज लक्षित सार्वजनिक भएका दुई गीत प्रतिबन्ध लगाएको छ। सञ्चारकर्मी नेपालले प्रेस विज्ञप्ति निकालेर मौलिक परम्परामाथि प्रहार गरेको भन्दै दुई गीतमा प्रतिबन्ध लगायो।
गाई कालो, गाईको दूध सेतो र सल्ला दमारमा बोलका दुई गीत प्रतिबन्धमा परेका हुन्। साथै, यस्ता गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब तथा सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न, नगराउन सबै सरोकारवाला निकायलाई संस्थाले आग्रह गरेको छ।

त्यसैगरी लोक दोहोरी प्रतिष्ठानसहित केही कलाकारको टिम गृह मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको छ। गृहमन्त्री रमेश लेखकले त्यस्ता अश्लिल शब्द सहितका गीतलाई मध्यनजर गरेर कारबाही प्रक्रिया अगाडी बढाउने वचन दिएका छन्।

कानुनको अभावले समस्या : बद्री पंगेनी
लोकदोहोरी गायक तथा दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले विकृतिजन्य सामग्रीको नियमन गर्ने कानूनमै समस्या रहेको बताएका छन्। उनले खबरहबसँग कुरा गर्दै भने, ‘कुनै निकाय वा गृहमन्त्रालयले मात्रै चाहेर निराकरण भैससक्ने अवस्था छैन। नढाँटी भन्नुपर्दा कतिपय ठाउँमा उजुरी समेत लिन मान्नुभएन। गृह मन्त्रालयले अहिले साइबर व्यूरोले हेर्ने भनेर छट्टै डेस्क तोकिदिएको छ।’

‘हिजोको समय उजुरी दिने ठाउँ पनि थिएन। कम्तिमा उजुरी दिने ठाउँ तोकिएको छ। यसले गर्दा हिजोका दिनमा भन्दा अब केही सहज हुँदै जान्छ’, पंगेनी थप्छन्, ‘साहित्य सिर्जनामा कति र के कुरालाई अश्लिल मान्ने भन्ने पनि हुन्छ। कतिपयले यस क्षेत्रमा अश्लिलता नहुने पनि दाबी गर्छन्। तर सिर्जनाको पनि सीमा हुन्छ। यस्तो विकृतिमा चुप लागेर बस्ने भन्ने हुँदैन।’

तर कसैलाई लगेर थुनेर कारवाही गरेर वा जरिवाना तिराएर यसको समस्या समाधान नहुने पंगेनीको भनाइ छ। ‘जबसम्म सर्जक कलाकारमा चेतना आउँदैन, तबसम्म यस्ता अश्लिलता आइरहन्छ। हामी कलाकार सर्जक आफैँ सचेत भएर सिर्जना गर्नुपर्छ। नत्र त्यही सिर्जनाले समाजलाई गलत दिशातिर डोर्याउन आकर्षित गर्छ। त्यस्तो सिर्जनालाई रोक्नु सबैको दायित्व हो’ उनले भने।

गीतसंगीतमाथि अंकुश लगाउन पाइँदैन भन्ने पक्ष पनि छन्। समाजमा दुवै पक्ष हुन्छन्। तर कडाइ गर्नुपर्ने आवश्यकता रहेको उनको तर्क छ।

जुनसुकै स्तरको सिर्जना स्वीकारयुक्त हुन्न : साइबर व्यूरो
साइबर व्यूरोका प्रवक्ता दीपक बोहराले जुनसुकै स्तरको सिर्जना समाजको लागि स्वीकारयुक्त नरहने बताएका छन्। मनोरञ्जनको नाममा समाजमा विकृति फैलाउने हरकोही कानुनको दायरामा पर्ने बताए। उनले भने- ‘उजुरी आएको खण्डमा धेरै कन्टेन्ट हामीले डिलिट गरिसकेका छौँ। अभियुक्तलाई कानुनी कारवाहीमा ल्याएका छौँ। तर कतिपय बेला डिलिट गर्न नसकेको स्थिति पनि छ।’

‘हामी पनि अर्को देशमा भर पर्नुपर्नेछ। सामाजिक सञ्जाल र युटुब लगायतका धेरै प्लाटफर्महरु हाम्रो अधिनमा नरहेको हुँदा हामीले अनुरोध गरेर पठाउनुपर्छ’ उनी थप्छन्, ‘चलचित्र विकास वोर्डले चलचित्र मात्रै हेर्छ। गीतसंगीतमा ठ्याक्कै यसले हेर्ने भन्ने नभएकाले यस्ता सिर्जना बजारमा आएका हुन्।’

गीतसंगीतको विषयमा उजुरी आउन थालेको भर्खर- भर्खरै भएको प्रवक्ताको भनाइ छ। ‘कुन निकायबाट समस्या समाधान गर्ने भन्ने यकिन नभएर गृहमन्त्रालय आइपुगेको छ। यसमा नेपाल सरकार तथा सञ्चार मन्त्रालयले कुनै निश्चित निकाय तोकेरै काम गर्नुपर्छ। कानुन मिच्न पाइँदैन, कानूनकै अधिनमा रहेर सर्जकले बस्नुपर्छ। विशेषतः यो सर्जक स्वयम सजग हुने विषय पनि हो’ उनले भने।

उनले साइबर व्यूरोमा वार्षिक १८ हजार उजुरी आइपुग्ने बताएका छन्। भन्छन्, ‘उजुरी अगावै हेर्नुपर्ने भन्ने कुरा राम्रो हो। उजुरीकै आधारमा मात्रै काम गर्दा पनि व्यूरोले हेर्न सक्ने स्थिति छैन। अझ प्रोयाटिक्भ काम गर्न यतिबेला सम्भव छैन। जनशक्ति र प्रविधि सबै कुराको अभाव छ। मुख्य आएका पीडितलाई प्राथमिकतामा राखेर हेर्नुपर्छ।’

कानूनी व्यवस्था के छ ?
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) मा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने भनिएको छ। कम्प्युटर इन्टनेट लगायतका विद्युतीय सञ्चारमाध्यममा नैतिकता शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धीलाई खलल पार्ने किसिमको सामग्री प्रकाशन वा प्रदर्शन गर्न पाइँदैन।

साथै, महिलालाई जिस्क्याउने हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्न पाइँदैन भनेर उल्लेख गरिएको छ। यदि सो कार्य गरेमा एक लाख रुपियाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ०८ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी– गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दशमलव ०३ प्रतिशत

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार

एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

काठमाडौं– एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको