काठमाडौं– यस वर्षको ‘ऊर्जा ज्योति सम्मान– २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई प्रदान गरिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउने एक जनालाई हरेक वर्ष ऊर्जा ज्योति सम्मानबाट सम्मानित गर्दै आएकोमा यस वर्षको सम्मान अधिकारीले पाएका हुन् ।
इप्पानको २३औँ वार्षिक साधारणसभाको अवसरमा मङ्गलबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकारीलाई नगद एक लाख रुपैयाँको चेक र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
इप्पानका पूर्वअध्यक्ष गुरागाइँले उनकी स्वर्गीय छोरी श्रीनिका गुरागाईंको स्मृतिमा २०७६ सालमा ‘ऊर्जा ज्योति सम्मान’ स्थापना गरेका थिए ।
कुनै सार्वजनिक पद धारण गरेर वा नगरेर ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउने मध्येबाट इप्पान कार्यसमितिले छनोट गरेको एक जनालाई हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणमा ३ दशक सेवा गरी उपकार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका ऊर्जाविज्ञ अधिकारीले ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञको रुपमा करिब १ वर्ष काम गरेका थिए । विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा लामो समय काम गरेका उनले विद्युत व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका छन् ।
प्रतिक्रिया