ऊर्जा व्यवसायी कांग्रेससँग खुसी, देउवालाई बोलाएर दिए सम्मान ! | Khabarhub Khabarhub

बजेटबाट ‘टेक एण्ड पे’ हट्दा

ऊर्जा व्यवसायी कांग्रेससँग खुसी, देउवालाई बोलाएर दिए सम्मान !


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट ल्याउँदा हाइड्रोपावर व्यवसायी विरोधमा उत्रिए । पावर हाउस बन्द गर्ने चेतावनीसहित ऊर्जा व्यवसायीले कालो ब्यानर टाँगेर आन्दोलनसमेत गरे ।

ऊर्जा व्यवसायी अन्दोलनमा उत्रिनुको कारण थियो, बजेटमा ‘टेक एण्ड पे’ अर्थात् विद्युत् आवश्यकताका आधारमा मात्रै खरिद गर्ने गरी समेटिएकोे कुरा ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को टोली बजेट आएको केही समयमै ‘टेक एण्ड पे’ खारेज गराउन विभिन्न शक्ति केन्द्र धाए ।

बजेट आउनसाथ विरोध जनाएको इप्पानले जेठ २० गते मङ्गलबार ऊर्जा मन्त्री दीपक खड्कालाई भेटेर ‘टेक एण्ड पे’ खारेज गर्न माग गरे । त्यसबेला खड्काले आफू ऊर्जा व्यवसायीको पक्षमा उभिएको बताए । ‘टेक एण्ड पे’ कसरी आयो आफूलाई जानकारी नभएको जवाफ उनले दिए ।

खड्काले ‘टेक एण्ड पे’ हटाउन सक्दो पहल गर्नेसमेत इप्पानको टोलीलाई आश्वासन दिए । लगत्तै उनीहरू जेठ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठमै पुगेर गुनासो पोखे ।

इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले ‘टेक एण्ड पे’ लागु भए लगानीको ग्यारेन्टी नहुने, बैङ्कहरूले ऋण दिन नमान्दा २८ हजार ५०० मेगावाट उत्पादनको सरकारी लक्ष्य अलपत्र पर्ने भन्दै देउवालाई फकाए ।

देउवाले इप्पानको मागप्रति चासो राख्दै ऊर्जा मन्त्री खड्का र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई त्यहीँबाट फोन गरे ।

देउवाले तत्कालै समस्या समाधान गर्न दुवै मन्त्रीलाई आग्रह गरेको इप्पानका एक पदाधिकारीले बताए । देउवा भेटेको भोलिपल्ट जेठ २५ गते एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री पौडेललाई ‘टेक एण्ड पे’ खारेज गर्ने माग गर्दै टोली अर्थ मन्त्रालय पस्यो ।

तर पौडेलले बजेटको उक्त बुँदाले ऊर्जा उत्पादनमा अप्ठ्यारो नपर्ने बताएर नहटाउने सन्देश इप्पानको टोलीलाई दिए । टोलीका एक सदस्यका अनुसार अर्थमन्त्री पौडेल त्यसबेला ‘टेक एण्डे पे’ नहटाउने मुडमा थिए ।

इप्पानको टोली असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुग्यो । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले ‘टेक एड पे’ नहटाए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

त्यसयता इप्पानले पनि निरन्तर विरोधका कार्यक्रम गरिरह्यो । ऊर्जामन्त्री खड्काले ‘टेक एण्ड पे’बारे आफूलाई थाहा नभएको बताउँदा व्यवसायीले पत्याएका थिएनन् ।

जेठ २२ गते बानेश्वरको एभरेस्ट होटलमा भएको ऊर्जा उत्पादकको छलफलमा मन्त्री खड्का पन्छिन नहुने भन्दै ‘टेक एण्ड पे’ लाई लिएर व्यवसायीले आक्रोश पोखे ।

त्यही छलफलमा ‘टेक एण्ड पे’ समेटिएको बजेट सच्याएर पास नगरे कांग्रेस नेतासमेत रहेका ऊर्जा मन्त्री खड्काले राजीनामा दिनुपर्नेसम्म माग व्यवसायीले राखे ।

आन्दोलित इप्पानले त्यसबीचमा सामाजिक सञ्जालमा हल्ला चलाइरहेको थियो । उता एसएमएस पठाएर प्रधानमन्त्री र अर्थमन्त्री दबाब पनि जारी राखेको थियो ।

संसद्मा समेत ‘टेक एण्ड पे’ले प्रवेश पायो । बजेट पास हुने अघिल्लो दिन कांग्रेस सभापति देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेर ‘टेक एण्ड पे’ नहटे बजेट पास हुन नसक्ने भनेको कुरा बाहिरिएको थियो ।

बजेट पास हुने दिन अर्थात् असार १० गते देउवा र प्रधानमन्त्री ओलीबिच ‘टेक एण्डे पे’ खारेज गर्ने सहमति बन्यो । त्यही सहमतिमअनुसार अर्थमन्त्री पौडेलले बजेटमा संशोधनसहित ‘टेक एण्ड पे’ व्यवस्था खारेज गरेर बजेट पास भयो । त्यसपछि असार १२ मा इप्पानले आन्दोलनका कार्यक्रम फिर्ता लियो ।

बजेटबाट ‘टेक एण्ड पे’ खारेज हुनुमा कांग्रेसको भूमिकालाई लिएर व्यवसायीले खुसी व्यक्त गरेका छन् । त्यही खुसी प्रकट गर्न इप्पानले मङ्गलबार आफ्नो २३औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा कांग्रेस सभापति देउवालाई बोलाएर सम्मान गरेको छ ।

सभामा ऊर्जा व्यवसायीले सम्मानसहित देउवाप्रति खुसी व्यक्त गरे । इप्पान अध्यक्ष गणेश कार्कीले ‘टेक एण्ड पे’ खारेज गर्ने महत्त्वपूर्ण भूमिका खेलेको भन्दै देउवालाई धन्यवाद दिएका छन् ।

‘टेक एड पे’ हटाउन महत्त्वपूर्ण भूमिकासहित पहल कदमि गरिदिनु भएकोमा प्रमुख अतिथिज्यू (शेरबहादुर देउवा) लाई विशेष धन्यवाद दिन चाहन्छु’, कार्कीले भने ।

ऊर्जा विकासका लागि २०४९ सालमा कांग्रेस नेतृ शैलजा आचार्यले ल्याएको ऐन महत्वपूर्ण रहेको उनीहरूको बुझाइ छ । त्यसैबाट निजी क्षेत्रले ऊर्जामा प्रवेश पाएको भन्दै इप्पानले आभार व्यक्त गरेको छ।

अध्यक्ष कार्कीले ११ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता नेपालको ऊर्जा विकासमा महत्त्वपूर्ण कोशे ढुंगा रहेको अध्यक्ष कार्कीले बताए ।

त्यसपछि देउवाले भारत भ्रमणका क्रममा ३२५ मेगावाट थप विद्युत्का लागि समकक्षी नरेन्द्र मोदीसँग गरेको सहमतिसमेतको इप्पानका अध्यक्ष कार्कीले प्रशंसा गरे ।

कार्कीले वर्तमान ऊर्जा मन्त्री खड्काले पनि बंगलादेश ऊर्जा व्यापार सम्झौता गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । अब सरकारले ऊर्जा मार्गचित्र २०८१ कार्यान्वयन गर्नुपर्नेमा कार्कीले जोड दिए ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ‘टेक एण्ड पे’ फिर्ता गराउन मुख्य भूमिका खेलेको भन्दै कांग्रेस सभापति देउवाको तारिफ गरे ।

सभापति देउवाले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘नेपाली कांग्रेस ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक छ भन्नेमा लागेको छ’, देउवाले भने, ‘कांग्रेसकी नेतृ शैलेजा आचार्य मन्त्री भएको बेला निजी क्षेत्रको लगानी खुल्ला गर्नुभएको कुरा यहाँहरूलाई थाहै छ ।’

कांग्रेस नेतृले आचार्यको नीतिका कारण अहिले निजी क्षेत्रको ८० प्रतिशत विद्युत् योगदान पुगेको छ । सरकारका साथै निजी क्षेत्रलेसमेत ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु नपरेको देउवाले बताए ।

‘अहिले उत्पादन भएको विद्युत् खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो’, देउवाले भने, ‘त्यसका लागि निजी क्षेत्रलाई सहभागी गराउन जरुरी छ ।’

लगानीकर्तालाई दु:ख दिने कुरै नरहेको उनको तर्क छ । स्वदेशीसँगै विदेशी लगानीकर्ता पनि ऊर्जा क्षेत्रमा भित्र्याउपर्ने तर्क देउवाले गरे ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  २ : ०४ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा