काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम चार वर्ष लामो प्रयासपछि शुक्रबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समावादीमा विलय भएका छन् ।
नेकपा एमालेमा फर्किने कोसिस सफल नभएपछि उनले अन्तत: त्यही पार्टीबाट चोइटिएको समूहमा आफूलाई पनि समाहित गरेका हुन् ।
उनले काठमाडौंमा आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै सँगै मञ्चमा रहेका झलनाथ खनाल एमाले अध्यक्ष हुँदाको पुरानो प्रसंग झिकेका छन् ।
उनले २०६५ सालमा एमाले अध्यक्ष बनेका खनाललाई हटाएन मदननगर बल्खुस्थित तत्कालीन कार्यालयमा केपी शर्मा ओलीसहितबाट भएको कोसिसको चर्चा गरेका हुन् ।
‘झलनाथ कमरेडलाई हटाउन त्यसबेला बल्खुमा ठूलो कोसिस भएको थियो । त्यसबेला एमालेको बैठकमा युवराज ज्ञवालीको हातमा माइन्युट थियो’, उनले भने, ‘त्यहाँ झलनाथलाई अध्यक्षबाट हटाउने योजना रहेछ । त्यहीबेला बैठकमा केपी ओलीले ज्ञवालीबाट माइन्युट खोसेर म आफैँ लेख्छु भने। तर मैले कुनै हालतमा लेख्न दिन्न भनेर अडान राखेँ ।’
उनले त्यसबेला ओलीसँग भएको भनाभन र चर्काचर्कीको प्रसंग निकाल्दै यदि झलनाथलाई हटाउने प्रस्ताव माइन्युटमा लेखे आफूले च्यातेर फ्याँकिदिने, आगो लगाइदिने चेतावनी दिएको पनि बताए।
‘ओलीले झलनाथलाई हटाउने प्रस्ताव लेख्ने जिद्दि गरेपछि मैले त्यो माइन्युट खोसेर लान्छु भनेँ । मैले ओलीलाई त्यहीँ ‘तपाईंलाई ढालेर त्यो माइन्युट खोस्छु, त्यसमा आगो लगाइदिन्छू भनेँ’, उनले सुनाए, ‘केपीले लेखेरै छाड्ने अडान गरिरहेपछि मैले हात हालेर, लडाएर भए पनि लेख्न नदिने अडान लिएर झलनाथलाई जोगाएँ ।’
त्यसबेला उनले अध्यक्षको कुर्सीमा झलनाथ बसिरहेका बताउँदै तनाव हटाउन बल्खुबाट अन्त पठाएको पनि सुनाएँ । ‘मैले झलनाथलाई तपाईं बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्नेछ, त्यहाँ रहेका साथीहरू बारम्बार फोन गरिरहनु भएको थियो, त्यसैल हिँड्नु भनेँ’, उनले सुनाएँ,‘मैले त्यहाँबाट झलनाथजीलाई अन्त पठाएको थिएँ । त्यसपछि उहाँमाथिको उक्त संकट पनि टरेर गयो, केपी सफल हुन पाएनन् ।’
हो, नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई अध्यक्ष पदबाट हटाउने प्रयास तत्कालीन पार्टीभित्र चलेको राजनीतिक संघर्षको एउटा महत्वपूर्ण पृष्ठभूमि हो। यो घटनाक्रम सन् २०१०–२०११ (वि.सं. २०६७–६८) तिर घटेको हो, जब एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको थियो। त्यसबेला केपी शर्मा ओली र उनलाई समर्थन गर्ने नेताहरू झलनाथ खनालको नेतृत्वविरुद्ध सक्रिय भएका थिए।

के थियो घटना ?
झलनाथ खनाल २०६५ सालमा एमाले अध्यक्ष बनेका थिए। तर, तत्कालीन नेकपा माओवादीसँगको गठबन्धनमा प्रधानमन्त्री बनेको र पार्टी निर्णयबिना अघि बढेको आरोप उनीमाथि लागेको थियो ।
त्यसबेला केपी शर्मा ओली, माधव नेपाल, भीम रावल र सुवास नेम्वाङ लगायतका नेताहरूले खनालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्री कार्यालय बल्खुमै खनाललाई हटाउने रणनीति बनाएका थिए।
एकपटक त अध्यक्ष पद खोस्ने प्रस्तावसहित हस्ताक्षर संकलनको प्रयास पनि भएको थियो। त्यसबेला ओली समूहले खनाललाई ‘बहुमत गुमाएका अध्यक्ष’को आरोप लगाउँदै नेतृत्व परिवर्तनको दबाब दिए । तर, औपचारिक रुपमा अध्यक्ष पद खोस्ने कोसिस सफल हुन सकेन।
खनालले अन्ततः नवौँ महाधिवेशनमा उम्मेदवारी नदिने निर्णय गर्दै ओलीलाई सहज नेतृत्व हस्तान्तरण गरे। त्यसपछि ओली एमालेमा निरन्तर अध्यक्ष छन् ।
प्रतिक्रिया