काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन पदमा बस्ने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने प्रयासको कडा आलोचना गरेका छन्।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछिको पत्रकार भेटघाटमा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओली आफैंले प्रस्तुत गरेको नीति र दस्तावेजलाई मिच्दै अघि बढ्न खोजेको आरोप लगाए।
‘७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक’
थापाले वर्तमान अध्यक्ष ओलीले नै प्रस्तुत गरेको ७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक रहेको बताउँदै विधानबाट त्यसलाई हटाउन नहुने बताए ।
‘७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय सचिवालयले गर्यो भनेर फैलाइएको कुरा गलत हो’, उनले भने, ‘अध्यक्ष ओलीकै प्रस्तावमा सातौं महाधिवेशनदेखि यो नीति ल्याइएको हो र आठौं–नवौं महाधिवेशनबाट संस्थागत गरिएको हो।’
उनका अनुसार पार्टीको संगठनात्मक प्रस्तावको पृष्ठ २३, ३० र ३१ मा यो कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसअनुसार वडास्तरदेखि केन्द्रसम्म यही मापदण्ड लागू हुने भनिएको छ।
‘पार्टीको नीति उल्लंघन गर्न खोजियो’
थापाले एमालेभित्र विधि र संस्थागत निर्णयहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेको संकेत बताएका छन् । ‘केपी ओलीले नै उमेर हद र कार्यकाल सीमाको कुरा उठाएर वैज्ञानिक बनाएका थिए, तर अहिले आफैंले त्यसलाई मिच्ने काम गर्नु अनुचित हो’, उनले थपे ।
भरतमोहन अधिकारी, अमृतकुमार बोहोरा, मोदनाथ प्रश्रित जस्ता वरिष्ठ नेताहरूमा उमेर हद लागू गरिसकिएको अवस्थामा त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । ‘नीतिमा भन्दा धेरै नेतृत्वमा टक्कर हुने भएकाले विधिको पालना जरुरी छ। विधि कार्यान्वयन हुँदा मनोमानी चल्दैन’, उनले भने ।
‘सचिवालयले निर्णय होइन’
थापाले महासचिव शंकर पोखरेलमाथि निर्णय नभएको विषयलाई अफवाहको रूपमा सार्वजनिक गरेको आरोप समेत लगाए। उनले भने, ‘सचिवालयले निर्णय गरेको भए पोलिटब्युरोमा फेरि छलफल किन गर्नुपर्थ्यो? यो पदको दुरुपयोग हो’, उनले भने ।
पार्टीको लोकतान्त्रिक मूल्य र विधि बचाउनु आवश्यक
थापाले ओलीकै दस्तावेज उद्धृत गर्दै एमालेमा लोकतान्त्रिकरणको अभ्यास मर्दै गएकोमा चिन्ता जनाए ।
‘ओलीले स्वयम् पार्टीमा संस्थापन र बहिष्करणको राजनीति बन्द गर्नुपर्ने बताउनु भएको थियो’, उनले भने, ‘अरुलाई अपमान गर्ने, विचार निषेध गर्ने कुरा उहाँकै दस्तावेजले अस्वीकार गरिसकेको छ।’
उनले जोड अबको बहस नेपालमा समाजवाद कस्तो हुने भन्नेमा केन्द्रित हुनुपर्ने अवस्थामा एमाले व्यक्तिपूजातिर लागिरहेको बताए।
‘हामीले अब समाजवाद बनाउने भनेका छौँ। त्यसैले शिक्षा, स्वास्थ्य, आर्थिक प्रणालीबारे बहस गर्नुपर्ने हो — न कि पदमा चिप्लिने प्रवृत्तिमाथि,’ उनले स्पष्ट पारे।
ओलीसँग चर्काचर्की
त्यसअघि पार्टी पदाधिकारीहरूको उमेर र कार्यकालको सीमा नराख्ने गरी सचिवालय बैठक गरेको प्रस्तावलाई लिएर थापा र अध्यक्ष ओलीबीच पोलिटब्युरोमा चर्काचर्की भएको छ ।
थापाले दशौँ महाधिवेशनबाट पारित भनिएको एउटै विधान तीन पटक छापिएको प्रसंग बैठकमा झिके । उनले एउटै विधान तीन पटक छापिएको बताउँदै कुन आधिकारिक हो त्यसलाई पार्टीबाटै वितरण गरिनुपर्ने बताए ।
उनले विधानमै छलछाम गरिएको भन्दै बैठकमा जानकारी दिन माग गरे । ‘पार्टीका विधि र व्यवस्था एकै दिन, कसैले रातारात ल्याएको होइन’, थापाले भने, ‘कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई छलछामपूर्ण रुपमा व्याख्या गर्न मिल्दैन।’
उनले छापिएका जति सबै विधान वितरण गरिनुपर्ने पनि बताएका छन् । जे जे लेखिएका विधान हुन् ती सबै उपलब्ध गराउन पनि उनले माग गरे।
‘१० औँ महाधिवेशनअगाडि पहिलो विधान महाधिवेशन ललितपुरमा भएको हो । त्यो बेला कात्तिक १ गते एउटा विधान छापियो । उक्त विधान महाधिवेशनबाट पारित भएको भनिएको थियो । त्यसपछि २०७८ मंसिर १० देखि १४ सम्म चितवनमा दशौँ महाधिवेशन गर्यौँ । त्यसपछि पुस ५ गते दुईवटा विधान एकै दिन छापिए । बाहिरी कभर एकै छ तर भित्रको कुरा अलग छ। प्रिन्टमा गडबडी भएको हो या छापिएकै होइन ? तर ती सबै विधान मसँग छन् । ती विधान यहाँ सबैलाई उपलब्ध गराउनुपर्छ’, थापाले भने ।
थापाले विधानबारे कुरा राखेपछि बैठकको अध्यक्षता गरिरहेका ओलीले केही सजग भए जस्तो गरेर जिज्ञासा राखे, ‘त्यस्तो भएको हो र ?’ त्यसपछि नेता थापाले एक पटक आफैंले हेर्न सुझाए । थापाले त्यति भनेपछि ओलीले त्यसरी एउटै विधानमा फरक फरक कुरा छापिएको भए कारबाही हुने जवाफ दिए ।
थापाले शुक्रबारको बैठकमा सबैभन्दा अन्तिममा बोल्ने पालो पाए । नेताहरू किरणकुमार गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशिनाथ अधिकारी, शेरधन राई र राजन भट्टराई बोलेपछि उनले अन्तिममा कुरा राख्न पाए ।
शुक्रबारको बैठकको अन्तिममा बोलेका थापा र ओलीबीच भनाभनको अवस्था आएको हो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव राखेपछि बोल्न उठेका थापालाई अन्तिममा मात्रै कुरा राख्न दिइएको थियो ।
उनले अन्तिममा बोल्दै ओलीकै प्रवृत्तिमा प्रश्न गरेका थिए । ‘पार्टीमा लोकतान्त्रिकरणको विषय तपाईंले नै उठाएको होइन र ? तपाईंले यो कुरा ल्याउँदा ६० वर्षको हुनुहुन्थ्यो । अहिले ७० नाघिसक्नु भयो । अहिले हामी ६० तिर छौँ । हामीले ७० वर्षे उमेर हदको प्रश्न किन उठाउन नपाउने ?’, उनले भने ।
थापाले सातौँ महाधिवेशनअघि नै प्रकाशित गरेको दस्तावेज देखाउँदै उनले जवाफ खोजेका थिए । तर त्यसपछि ओली रिसाए । उनले थापाका प्रश्नको जवाफ आज नदिने भन्दै पन्छिए । उनले यसबारे शनिबार जवाफ दिने बताए ।
प्रतिक्रिया