पाल्पा– पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–०८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।
स्वास्थ्य कार्यालयले यहाँका १० वटै पालिकामा ३० वर्षभन्दा माथि उमेर समुहका १३ हजार ५३६ जनामा स्क्रिनिङ्ग गरेको थियो । जसमा ७५ प्रतिशत सामान्य रहेकोमा २५ प्रतिशतमा मधुमेहको समस्या, १४ दशमलव ५ प्रतिशतमा सामान्य तौल भएको, २ दशमलव ७ प्रतिशतमा कम तौल भएको, ३४ दशमलव ३ प्रतिशतमा बढी तौल भएका र ४८ दशमलव ५ प्रतिशतमा मोटोपन भएको पाइएको कार्यालयका वरिष्ठ क्षयकुष्ठ रोग फोकल पर्सन विश्वनाथ न्यौपाने बताए ।
उनका अनुसार उच्च रक्तचापको अवस्थामा २२ प्रतिशत सामान्य रहेको र ७८ प्रतिशतमा शुरुवाती चरणदेखि उच्च अवस्थामा पुगेको पाइएको छ ।
सबैभन्दा बढी मधुमेहका बिरामी बगनासकाली गाउँपालिकामा देखिएका छन् । फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी यहाँ ८ प्रतिशत भेटिएको कार्यालयको तथ्याङ्कमा छ ।
सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३ दशमलव ३ प्रतिशत बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकामा ७ दशमलव ५ प्रतिशत, माथागढी गाउँपालिकामा ६ दशमलव ६ प्रतिशत, रामपुर नगरपालिकामा ६ दशमलव ३ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ४ दशमलव ८ प्रतिशत, रैनादेवी गाउँपालिका र तानसेन नगरपालिकामा ४ दशमलव ७ प्रतिशत, निस्दी र तिनाउ गाउँपालिकामा ३ दशमलव ५ प्रतिशतमा कडा प्रकृतिको मधुमेह भेटिइएको फोकल पर्सन न्यौपानेले बताए ।
उनका अनुसार सबै भन्दा बढी उच्च रक्तचापका बिरामी पनि बगनासकाली गाउँपालिकामै देखिएका छन् । यहाँ ८५ प्रतिशत बिरामीमा उच्च रक्तचाप देखिएको न्यौपानेको भनाइ छ ।
नसर्ने प्रकृतिका रोगहरू बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताए । नागरिकले जीवनशैली, खानपानजस्ता कुरामा ध्यान केन्द्रीत नगर्दा नसर्ने रोगको जोखिम बढ्दै गएको उनको भनाइ छ ।
यस्ता रोग नियन्त्रणका लागि कार्यालयको सीमित स्रोत र साधानको प्रयोग गरी सचेतना, परीक्षणका कार्यक्रम गर्दै आएको प्रमुख पोखरेलले बताए ।
प्रदेश सरकारले पनि नसर्ने रोग बढ्दै गएपछि सबै जिल्लामा परीक्षणको दायरा बढाउदै सचेतनाका कार्यक्रमलाई अगाडि बढाएको छ ।
स्वास्थ्य सबैभन्दा महत्वपूर्ण र संवेदनशील क्षेत्र भएकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्दै आएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए ।
सार्वजनिक तथ्याड्ढको रिपोर्टलाई आधार बनाएर पालिकाले स्वास्थ्य क्षेत्रमा नीति नियम तथा कार्यक्रम बजेटमा ध्यान दिएमात्र प्रदेश सरकारले गरेको लगानी उपयोगी हुने स्वास्थ्यमन्त्री सारुको भनाइ छ । (रासस)
प्रतिक्रिया