काठमाडौं- नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर आफ्नो चहानाविपरीत गठबन्धन बनाएको भन्दै असन्तुष्ट रहेको भारतले बल्ल ओलीलाई स्वागत गर्ने तयारी गरेको हो ।
ओलीको भारतविरोधी छविका कारण भ्रमणका लागि लामो समय कुर्नुपरेको हो । साधारणतया नेपालका प्रधानमन्त्री नियुक्त भइसकेपछि पहिलो भ्रणम छिमेकी भारतबाटै गर्ने चलन थियो ।
तर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा जारी गरेयता भारतीय पक्ष ओलीसँग रुस्ट छ । अर्कातिर कांग्रेससँग मिलेर एमालेले आफ्नो चहानाविपरीतको सरकार बनाएका कारण रुस्ट रहेको भारतले छिमेकी प्रधानमन्त्रीलाई बोलाउन १४ महिना लगाएको हो ।
प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार भारतीय समकक्षी मोदीको निमन्त्रणमा ओली नेपालबाट आगामी भदौ भदौ गते (१६ सेप्टेम्बर) मा नयाँदिल्ली गएर असोज १ गते (१७ सेप्टेम्बर) मा फिर्ता हुनेछन् ।
सम्भवत: यो नेपाली प्रधानमन्त्रीले गर्ने हालसम्मकै छोटो भारत भ्रमण हुनेछ । भ्रमणका लागि परराष्ट्रमन्त्रालयले तयारी थालिसकेको छ। मन्त्रालयले सम्भावित एजेन्डाहरू तय गर्नका लागि आन्तरिक गृहकार्य थालेको छ ।
परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा प्रधानमन्त्री ओलीको भ्रमण तालिका आइनसकेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सञ्चारकर्मीहरूसँग मितिबारे पुष्टि भइनसकेको बताए । तर उनले तयारी भइरहेको भने जानकारी दिए । परराष्ट्रले केही दिनभित्रै भ्रमणको औपचारिक मिति घोषणा हुने जनाएको छ।
यसअघि नेपाल र भारतका गृहसचिवस्तरीय बैठक मंगलबार दिल्लीमा हुँदै छ । यो बैठक पनि ९ वर्षपछि हुन लागेको हो । यो बैठकका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली जाँदैछ ।
गृहसचिव नेतृत्वको संयन्त्रले सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायत नियन्त्रण गर्न काम गर्छ । हरेक वर्ष हुने भनिएको सचिवस्तरीय बैठक २०१६ मा दिल्लीमा भएपछि बसेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले सीमा सुरक्षा, सूचना आदानप्रदान, प्राकृतिक प्रकोपका साझा समस्यालगायतबारे यो बैठकमा कुरा हुने बताएका छन् ।
नेपाली टोलीमा गृह, परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव हुनेछन् । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अतिरिक्त महानिरीक्षकहरू सहभागी हुनेछन् । टोलीमा नापी विभाग र अध्यागमन विभागका महानिर्देशक जानेछन् ।
उता भारतीय प्रधानमन्त्री मोदी पनि आगामी कात्तिक अर्थात् अक्टोबर या नोभेम्बरमा नेपाल भ्रमणमा आउने भएका छन् । तर उनी आउने मिति भने तय भइसकेको छैन । मोदी सम्भव: कात्तिक तेस्रो साता अर्थात् नोभेम्बरको सुरूमा नेपाल भ्रमणमा आउने बताइएको छ ।
ओलीको भारत भ्रमण गराउन यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पटक पटक कोसिस गरेकी थिइन् । उनको पटक पटकको प्रयास असफल भयो । पहिलो भ्रमणमा मोदीले समेत दिल्लीमा स्वागत गरिएकी उनले तीन पटकभन्दा कोसिस गर्दा पनि नसकेपछि ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा निस्किएका थिए ।
ओलीले दक्षिणलाई समेत झस्काउने गरी मंसिर १९ गते चीनसँग बहुचर्चित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामासमेत हस्क्षार गरे । त्यसले पनि झन् चिढिएको भारत अन्तत: ओलीसँग सम्बन्ध सुधार्न तयार भएको हो ।
तर ओलीको यो भ्रमणका क्रममा ठूला कुनै सम्झौतामा हस्ताक्षर हुने सम्भावना भने कमजोर छ । केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुन सक्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
प्रतिक्रिया