सुनसरी – पालामको भाका र लयमा पान्थरको आङ्साराङ मावली घरमा हुर्केका सुवर्ण नेम्बाङ ‘यम्बे’ जब १९ वर्षे लक्काजवान भए, झोला बोकेर धरान झरे । लक्ष्य थियो : ब्रिटिश गोर्खा भर्ती ।
धरान झर्दा उनका दमाले साथी राजेन्द्र नेम्बाङ थिए । धरान झरेर कहाँ बस्ने, कता जानेमा अल्मलिँदै गर्दा सुवर्णको मनमा एकजना नेम्बाङको याद आयो । ती नेम्बाङ थिए – त्यसबेला लेफ्टिनेन्ट इन्द्रहाङ नेम्बाङ ।
सुवर्ण र राजेन्द्र दुवैजना इन्द्रहाङको घर खोज्दै हालको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडि पुगे । साइनोले तुम्बा (बडा बाबु) पर्ने इन्द्रहाङले पनि गाउँले भतिजोहरू गोर्खा भर्तीमा छाती नाप्न आएको देखेर भने, ‘लु केटा हो ! भर्ती लाग्न आयौ ?’
इन्द्रहाङकहाँ बसेको केही दिनपछि वि.सं. ०३८ फागुन १ मा सुवर्ण नेम्बाङ ब्रिटिश गोर्खा भर्ती लागेर ‘मलायाको पल्टने’ हुन पुगे । त्यसबेला करिब २५० जना किशोर युवाहरू एकसाथ धरान (घोपा क्याम्प) बाट भर्ती भएका थिए ।
फागुन तेस्रो साता उनीहरू धरानबाट काठमाडौँको विक्रम भवनमा पुर्याइए । राहदानी लगायत अन्य कागजात मिलाएपछि कलकत्तास्थित तत्कालीन दमदम एयरपोर्टलाई ट्रान्जिट बनाएर सीधै हङकङको काइतक अन्तरराष्ट्रिय हवाइ मैदानमा उत्रिए ।
अब सुरु भयो ब्रिटिश गोर्खा सैनिक जीवनको यात्रा ! उनले आर्मी नम्बर पाए २११६५६४३ । हङकङको सेकङस्थित ब्रिगेड अफ गोर्खाजको रिक्रुट कम्पनीमा नौ महिना कठिन तालिमपछि सेभेन जीआर (सातौँ गोर्खा रेजिमेन्ट) मा समाहित भए ।
सुवर्णले आफ्नो जन्मस्थान पान्थरको याम्बोङ र मावली गाउँ आङ्साराङमा किशोर उमेरमा मेलापात गर्दा होस् वा साप्सु मेला, तीजे मेला, फुङ्सीङ मेला, श्रीपञ्चमी मेला, फागुन जात्रा, राँके मेला, त्रिशाली मेलामा दौँतरी साथीहरूसँग मिलेर खुब पालाम भन्दै तरेमा–लुङ्वामाए (तरुनी) हरूसँग हात समाएर यालाक्मा (धाननाच) गरे ।
हङकङमा लाहुरे जीवन सुरु गर्दा उनलाई पालाम, ख्याली र हाक्पारेको याद आइरहन्थ्यो । मेलापात र हाटबजारमा तरेमाहरूको हात समाएर धाननाचेको यादले खुब सताउँथ्यो । ती याद नभुल्न उनी एकान्तमा गुन्गुनाउँदै यादहरू ताजा बनाउँथे ।
वर्षमा एकपटक दशैंको बेला आयोजना हुने सांस्कृतिक कार्यक्रममा उनी पनि पालाम गाउँदै धाननाच प्रदर्शन गर्न पछि पर्दैनथे । पालाम उनको मनमस्तिष्कमा गाडिएर बसेको मात्र थिएन, आफ्नो रैथाने संस्कृति नै थियो । पछि सिनियर सिपाही भएपछि दौँतरीमाझ पालाम सुनाउने गर्थे ।
‘पल्टनमा त मेन्छ्याहरू हुँदैन, तर पनि पालाम भने गाउथेँ, सुनाउथेँ । मैले पालाम भनेको सुनेर पश्चिमे गुरुङ र मगर साथीहरूले बुझ्दैन थिए । के गाउँको हो भन्थे । पूर्वका लिम्बूहरूले चाहिँ चाख मानेर सुन्थे’, सुवर्णले सुनाए ।

बिदाका बेला सेकङकै क्याम्पनजिक एकान्तमा गएर साथीहरूसँग पालाम भन्दै धीत मार्ने रूटिन थियो । ‘क्याम्पमा पालाम गाउन मिल्दैनथ्यो, अनि दुइचार जना साथीहरू मिलेर अलिक एकान्तमा गएर धीत मरुन्जेल पालाम भन्थ्यौँ । रमाइलो गरेर समय बिताउँथ्यौँ’, उनले पुराना याद खबरहबलाई सुनाए ।
हुन त पालाम र धाननाच एकसाथ हुन्छ । याक्थुङ लिम्बू संस्कृतिमा कुनै साइनो सम्बन्ध नलाग्ने युवायुवतीबीच हात समाएर पालाम भनिन्छ धान नाच्दै । तर, सुवर्ण नेम्बाङको लागि हङकङमा पालाम भन्न र धान नाच्न लिम्बूनी तरुनी कहाँ भेटिइनु ? तै पनि मौका पर्दा र एकान्तमा हुँदा आफूले जानेका अनेक शैलीका पालाम भनेर चित्त बुझाउने सिलसिला लामो समय जारी राखे ।
तीन वर्षमा एकपटक घरजाने बिदा पाउने चलन थियो । त्यसबेला ६ महिनासम्म बिदा पाउँथे । उनी चारपटक ६ महिने बिदामा आफ्नो गाउँ आङसाराङ पुग्थे । गाउँमा हुँदा ६ महिने बिदालाई उनले धान नाचेरै सदुपयोग गरे । भन्छन्, ‘६ महिने बिदा पाउनु भनेको ब्रिटिशले मेरो लागि पालाम भन्न र धाननाच्न दिएको बिदा जस्तो लाथ्यो नि !’
जब सन् १९९७ को फेब्रुअरी २४ मा कर्पोरल दर्जाबाट अवकाश पाएपछि धरानमा परिवारको व्यवस्था गर्न घर बनाए । फुर्सदको समयमा उनले पालामलाई डायरीमा लिपिबद्ध गर्न थाले । लेखेका पालामका डायरीहरू साथीहरूलाई देखाउँथे । साथीहरूले पनि उनलाई हौस्याउन थाले ।
धरान–१० रमाइलोचोकमा पहिले नै एक लाख ७५ हजार रुपैयाँमा एक कट्ठा साढे दुई धुर जग्गा किनेका थिए । त्यसबेलाको जमानामा एक लाख ७५ हजार रुपैयाँ ठूलो रकम थियो । लाहुरे जीवनको आधा समय (करिब सात वर्ष) सम्ममा खाइनखाइ गरेको बचत थियो ।
अवकाश पाएर धरानमै बस्न थालेपछि सुवर्णले केही फुर्सद महसुस गरे । यसैबीच अवकाश जीवन बिताएको चार वर्षपछि ब्रनाइको जीआरयु (गोर्खा रिजर्भ युनिट) मा काम गर्न गए । तर दुर्भाग्य ! त्यसबेला गोर्खा भूपू सैनिक आन्दोलन चर्किरहेको थियो । उनी जीआरयुमा पुग्नुभन्दा केही महिना अघिमात्र धरानका गजेन्द्र इस्वो, रामनारायण कन्दङ्वा, राम चाम्लिङलगायत ११ जनालाई ‘आन्दोलनकारी’ भनेर खालीखुट्टा घर पठाइएको थियो ।
गोर्खा भूपू सैनिक सङ्घ, सुनसरीका सहसचिव भएर ब्रिटिशले गरेको असमान व्यवहारविरुद्ध आन्दोलनको नेतृत्व उनैले गरे । ब्रुनार्ईमा उनको त्यस्तो गतिविधिबारे पोल पुगेपछि दुई महिनामै ‘मेडिकल लान्छना’ लगाएर घर फर्काइए । फर्किँदा साथीहरूले वन डे पे सङ्कलन गरेर करिब ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।
ब्रुनार्ईबाट खालिखुट्टा धरान फर्किएको एक महिनापछि सुवर्ण आवुधावी उडे । राजकुमारको दरबारमा चार वर्ष ड्यूटी गरे । त्यहाँ सेवारत रहँदा पनि उनी पालाम नै गाएर फुर्सद गुजार्थे ।

पालाममा नेम्बाङका प्रेरणास्रोत
वि.सं.२०१९ साल फागुन १० गते जन्मेका पालामप्रेमी नेम्बाङ अहिले ६३ वर्ष पुगे । तरुनीको हात समाएर पालाम भन्दै दिनरात लगातार धान नाचेका पुराना यादहरूले अझै पनि सताउने गरेको उनी सुनाउँछन् ।
पूर्वी लिम्बूवानमा पालाम भन्नु, धान नाच्नु सामान्य चलन हो । याक्थुङ लिम्बूको परम्परागत संस्कृति भएकाले पालाम भन्न र धान नाच्न कुनै विषेश अवसर चाहिन्न । यत्ति चाहिँ हो : औपचारिक रूपमा पालाम र धान नाच्नका लागि साइनोसम्बन्ध नलाग्ने युवायुवती भने हुनुपर्छ । नेम्बाङ जन्मेहुर्केको आङ्साराङमा अग्रजहरू पनि पालाम भनेरै, धाननाचेरै हुर्के थिए । उनी पनि किशोर उमेर छदै पालामको भाकासँग नजिकिएका थिए ।
भन्छन्, ‘मावली गाउँमा लुङ्वा दाई लुङ्वा दिदी पर्ने मध्ये मुलुकसिंह आङ्देम्बे (हाङ्गम्मे ठुले), मामाहरू हाङ्फाबुङ काइला, सिङ्गिटारे कान्छा, दिदीहरू टाङ्कीबुङ्गे कान्छी, टाङ्कीबुङ्गे साइली, हिमयम्बो ठूली, माङ्धाने ठूली, माङ्धाने माइलीलगायतको सङ्गतले मलाई पनि पालाम भन्न र धाननाच्न प्रेरणा मिल्यो । सानैदेखि याक्थुङ लिम्बू भाषामा पकड भएकाले पालाम भन्न र लय समात्नका लागि हाङगम्बे ठुलेलाई सोध्थेँ । उनले लु लेख भनेर लेख्न लगाउँथे ।’
उनी १३/१४ वर्षको उमेरमा पालामको सुरुवात कसरी गर्ने, कुन प्रश्नको जवाफ कसरी दिने भनी जिज्ञासु बनेर अग्रजसँग सोधीखोजी गरिरहन्थे । अग्रज लुङ्वा दाई–दिदीहरूले सिकाउँदा ध्यान दिएर सुन्थे । कतिपय पालाम डायरीमा टिपेर राख्थे ।
भन्छन्, ‘मैले किशोर उमेरमा साप्सुको मेलामा पालाम भन्दै आफूभन्दा ५/७ वर्ष जेठी तरुनीहरूसँग धाननाच्दा सबै छक्क पर्थे । पालाम भन्न आउने भए पनि उमेरले म सानो, मसँग पालाम भन्दै धाननाच्ने तरुनीहरू चाही ठुला र वयस्क हुन्थे । उनीहरूसँग पालाम भन्न र धान नाच्न नमान्दा मलाई लहमुते भनेर होच्याउँथे । ती तरुनीहरूकै अगाडि चित्त दुखेर खुब रोएको याद अझै आउँछ ।’
ब्रिटिश गोर्खा लाहुरे हुनुभन्दा अघि उनी आङसारङस्थित मावली गाउँमै हुर्के । १९ वर्षको अल्लारे केटालाई धाननाच्न र पालाम भन्न कसैले जित्दैन थियो । उनी जन्मेको केही वर्षमा बाबु बाहामान नेम्बाङको मृत्यु भएपछि आमा दलमाया आङदेम्बे पान्थरको याम्बोङस्थित आफ्नो श्रीमानको घरमा बस्न सकिनन् । उनी त्यसबेला २५ वर्षकी थिइन् । पछि दुई बहिनीहरू कमला, पक्सुकी र उनलाई लिएर माइतीघरमै बसिन् ।
सुवर्ण भन्छन्, ‘म टुहुरा र मावली घरमा हुर्केकाले होला : आफूलाई निम्छरो, गरीब सम्झन्थेँ । पालाम भन्नुपर्दा र धाननाच्दा मलाई चाहिँ तीनखोले पथाङ (ठूलो साइजको सल) र ढाकाको पथाङ लगाउँको केटीहरूसँग भन्दा टाटनको पथाङ ओढेकी, शीरमा साम्याङ फुङ, नाकमा चोलोक्या (चुचे मुन्द्री) लगाएर सजिएकी केटीहरूसँग पालाम भन्दै धाननाच्न खुब मन लाग्थ्यो ।’
लिम्बूहरूका लागि पालाम मनको वह पोख्ने माध्यम हो । तर मनको वह पोख्न अवसर चाहिन्छ । अवसर पाएर पनि पालामलाई व्यक्त गर्ने शैली, भाका र लय आफ्नै हुन्छ ।
पालाम अनेक प्रकारका छन् । एक्लै हुँदा भनिने पालाम, साथीसङ्गीसँग भनिने पालाम, प्रेमीसँग भनिने पालाम, नयाँ पाहुनासँग परिचय माग्ने र आफ्नोबारे भन्ने पालाम, सामान्य मनोरन्जनका लागि मात्र भनिने पालाम, अन्तरमनदेखि नै भनिने पालाम…आदि । यो एक प्रकारले दोहोरीजस्तै हो ।
नेम्बाङ भन्छन्, ‘तर, पालाम शालीन शैलीमा हुनैपर्छ । पालाम भन्दाभन्दै एकापसमा खुट्टा ठोकिएमा कतिपय अवस्थामा रक्सी राखेर माफ माग्नुपर्ने लिम्बू संस्कार छ ।’
उसबेलाको मेलापात, जात्रामा पालाम भनेरै बिहे भएका घटना धेरै देखेको नेम्बाङ बताउँछन् । कसैको स्वर सुन्दै आकर्षक लाग्ने, कसैको प्रस्तुती शैली सुन्दै कस्तो कस्तो लाग्ने, सवाल–जवाफमा तत्काल शालीन शब्द प्रयोग गरेर तरुनीले तन्नेरीलाई र तन्नेरीले तरुनीलाई आकर्षित गर्नु त पालामको मुख्य उद्देश्य नै हो । नेम्बाङ भन्छन्, ‘पहाडको मेलापर्वमा हामी मनप्रसाद आङ्देम्बे, चन्द्रबहादुर आङ्देम्बे, कुलप्रसाद आङदेम्बे, गङ्गा चेम्जोङ र त्यस बेलाका समकालीन चेलीहरू माङधाने ठुली, माङधाने माइली, माइतमाया ठुली, सिङ्गीटारेनी कान्छीहरू थिए ।’
पूर्वका याक्थुङ लिम्बू समुदायको जीवनसँग जोडिएको मौलिक परम्परागत सांस्कृतिमध्ये पालाम प्रमुख हो । पालामको लय, धुन र भाकामा धेरै सेलिब्रेटी गायकहरूले आफ्नो स्वर दिएका छन् र सङ्गीतकारहरूले सङ्गीत भरेका छन् ।

याक्थुङ लिम्बू संस्कृतिमा पालामसँगै यालाङ (धाननाच) अनिवार्य आउँछ । पालामको आफ्नै मौलिक छन्दहरू छन् । त्यसैले संसारको कुनै पनि सङ्गीतको ‘बिट’ र ‘नोटेसन’ सँग मिल्दैन । पालामका लागि मिल्ने वाद्यवादन च्याब्रुङ, पातको पिपिरी र मुर्चुङ्गा आदि हुन् । पूर्वका पालामलाई गाउने भनिँदैन, ‘पालाम भन्ने’ भनिन्छ ।
एउटै वंश र आमापट्टी पनि कुनै साइनो सम्बन्ध जोडिएकाहरूले पालाम भन्दै धान नाच्नु हुँदैन । अर्थात् साइनो नलाग्ने महिला–पुरुषले मात्र एक अर्कोको हात समाएर खुट्टाको ताल मिलाउँदै पालामको लयमा स्वर उरालेर धान नाच्ने चलन छ ।
लिम्बू संस्कारअनुसार कुनै पनि मेला पर्वमा पुग्दा माइती पक्षले चिनेजानेका कुनै अर्कै गाउँका जवान पुरुषसँग भेट भए ‘हाम्रा चेलीहरू हामीसँग आएका छन् । लु है लुङ्वा ! आदाङ्वे याक्थुङ रितअनुसार पालाम भन्दै धान नाच्नुस’ भनेर आफ्ना चेलीहरूलाई अघि सार्ने चलन छ । यस्तै चेलीहरूले पनि अर्कै गाउँका चिनेका स्त्री साथीहरू भेटेमा आफ्ना माइतीहरूलाई त्यसरी नै अघि लगाउने चलन छ । (भलै यो चलन अहिले हराइसकेको छ) ।
करिब १५ सयभन्दा बढी पालाम लेखन र सङ्कलन गरिसकेका नेम्बाङले ६ वर्षअघि पालामको एल्बम निकालेका थिए । हालसम्म उनले एक खापे, दुई खापे र तीन खापे पालाम लेखन तथा सङ्कलन गरेका छन् ।
उनका अनुसार एक खापे भनेको ‘ख्याली चाती युङ्गीरो आनी तुम्मीरो (ख्याली खेल्दै बसौँ है हामी भेटौँ है) हो । दुई खापे भनेको ‘निङ्वाने मेदानेन् आइन् तान्दिक सिलाक्ने लआ लाच्छा पान्धिक (चित्त नै बुझ्दैन हिजो आज सोधुङ कि भन्छु एउटा कुरो), यस्तै तीन खापे भनेको तङ्बेरे लावा तेम्दाओवा याम्मुने खेयो फेन्छिरोइ, निङ्वाने इघेक सेन्छिरोइ (वर्ष न दिनको मेलैमा फेरि नि त्यहाँ आऊँ है हामी, नबुझी चित्त छुट्यौँ हामी) हो ।
उनका अनुसार; कुनै तरुनातन्नेरी भेट हुँदा पालाममार्फत् सम्बोधन गर्नुपरेमा यसो भनिन्छ :
याक्थुङ रे निसुम साम्योनेरो
साम्योरे हेने कुन्दाङ्वा ए
लुङ्माने हिम्लो आदाङ्बा ए
(याक्थुङको पहिचान संस्कृति हो, संस्कार र संस्कृतिको धनी तपाईँ हो, मनदेखि नै गर्व लाग्यो तपाईँ हजुर)
यसै युवायुवतीबीच चरम प्रेम बसेको बेला भन्ने पालाम यस्तो हुन्छ :
लुङधाक्ने हेक्के सेच्छु लआ (ढुङ्गाकै गारो जस्तो मिलाएर लगाउँदै जाऔँ)
कुसाङधो मिम्जीम केच्छु लआ (गन्तव्यमा यो हाम्रो मायालाई पुर्याउँदै जाऔँ)
लुङ्माने सेक्खा केदुक्तुवी (यो मायालाई माया पक्कै गर्छौ त ?)
आदाङ्मे हेक्के कुसुक्तुवी (हजुरले यस्तो सक्नुहुन्छ ?)
उनले ६ वर्षअघि माःलाजे? र निङवा?सुम् पालाम सङ्ग्रह प्रकाशित गरेका छन् । सङ्ग्रहमा ५० पालाम समावेश गरेका छन् । ती पालामका शैलीहरू उच्चकोटीको भएको समालोचकहरू बताउँछन् । उनको पालाम सङ्ग्रहभित्र तुम्मु?इ पाःलाम (भेटघाट हुँदाको पालाम) देखि सुरु भएर पान्जाङ पालाम, मिम्जीगेन पान्जाङ पालाम, निङ्वासो पालाम, चासोक पालाम र सेम्मुई पालाम लगायत समावेश गरेका छन् ।

उनका पालामहरू धेरै रेकर्ड भएका छन् । उनी आवश्यकता प्लटअनुसार आधा घण्टामा एउटा राम्रो पालामा लेखेर तयार गर्न सक्छन् । कतिपय कलाकारहरूले रेकर्ड गर्न पालाम माग्छन्, उनी तत्काल लेखेर दिन्छन् ।
तर, कतिपयले उनको नाम नै समावेश गर्दैनन् । यसैमा उनको चित्तदुखाइ छ । उनी भन्छन्, ‘पालाम लेखेर दिएवापत वा रेकर्ड गरेवापत म एकै पैसा लिने गरेको छैन । नयाँ पुस्तालाई हौसला दिन म प्रोत्साहित गर्छु । तर मेरो नामै पो राखिँदिदैनन् र चित्त दुख्छ ।’
नेम्बाङ गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) सुनसरीका पूर्वसहसचिव, किरात याक्थुङ चुम्लुङलका आजिवन सदस्य, सुनसरी वन पैदावार सदस्य, युके एनआरएन सल्लाहकार लगायत डेढदर्जन बढी सङ्घसंस्थामा आवद्ध भएर सामाजिक सेवामा पनि सक्रिय छन् ।
डेढवर्षदेखि श्रीमती नन्दशोभा लावतीसँग धरानस्थित घरमा बस्दै आएका उनी वर्षमा एकपटक बेलायतमा रहेका छोराबुहारी मोहन नेम्बाङ र छोरी साङ्साङमा, नातीहरू मिक्सेन, नोगेन र सुयेनलाई भेट्न जाने गरेका छन् । भन्छन्, ‘छोरा बुहारी र छोरीका परिवार युकेमै छन् । तर मलाई र श्रीमतीलाई युके बस्न मन लागेन । कहिलेकाहीँ युके इन्ट्रीका लागि र परिवारसँग भेटघाट गर्नमात्रै जान्छु ।’
जीवनको उत्तरार्धमा बुढाबुढी आनन्दसाथ समय बिताउँला भने पनि एक वर्षअघि श्रीमतीलाई ब्रेन स्ट्रोक भएपछि धेरै आत्तिएर निराश भएको सुवर्णले बताए । यति लामो समय सँगै बिताएको आफ्नो मान्छे बिरामी हुँदा मनमा पीरका चाङ खप्टिएको उनी सुनाउँछन् ।
भन्छन्, ‘धेरै उपचार र अनेक प्रयासपछि श्रीमतीको स्वास्थ्यमा अहिले केही सुधार भएपछि मेरो मन पनि हल्का भएको छ । म आफैँ प्रेसर र सुगरको रोगी भए पनि श्रीमतीको स्वास्थ्य सुधारका लागि रातदिन आफैँ खटिरहेको छु । यो पनि बुढ्यौलीमा हुने दम्पत्तिबीचको अगाध माया र स्नेह त होला ! जतिजति बुढ्यौली बढ्दै जान्छ – साथ दिने त आखिरमा बुढाले बुढीलाई हो, बुढीले बुढालाई हो । मनको कुरा साटासाट गर्दै गफ गर्ने साथी पनि श्रीमान श्रीमती नै रहेछ । यस्तै बेला मलाई पालाम फुर्छ । डायरीमा लेखिहाल्छु ।’
केही वर्षअघि उनको पालामको पहिलो एल्बम ‘कुसङ साङ्लाम’ सार्वजनिक हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) ले ‘सुवर्णका पालामका शब्दहरू मिठो महझैँ सलल बगेका हुन्छन् । युवायुवतीका प्रेमका कुरादेखि याक्थुङ कला, संस्कृति, इतिहास र सभ्यताजस्ता पहिचानका सुमधुर आवाजहरू शब्दमा उनेका छन्’ भनी गरेको प्रशंसाले ‘पालाम लेखेर ठीक गरेछु’ भन्ने लागेको उनी बताउँछन् ।
पछिल्लो समय पालाम आधा नेपालीमा र आधा याक्थुङ लिम्बूू भाषामा भन्ने चलन बढेको छ । तर, सुवर्ण भने विशुद्ध याक्थुङ लिम्बू भाषामै पालाम तयार पार्ने गर्छन् ।
याक्थुङ लिम्बू जातिको कला, संस्कृति र संस्कार हराउँदै गएकाले जोगाउनका लागि सुवर्ण अगुवा अभियन्ता र कुशल सर्जक बने । उनले पूर्वेली जनजीवनमा आधारित कयौँ पालाम, हाक्पारे र ख्याली प्रस्तुत गरी याक्थुङ लिम्बू भाषा, कला र साहित्यमा निरन्तर योगदान दिएका छन् ।
उनको निरन्तर योगदानको कदर गर्दै कियाचु (किरात याक्थुम चुम्लुङ) यूकेले सिरीजङ्गा पुरुस्कार–२०१२ ले सम्मान गरेको थियो । यस्तै ‘बेस्ट आर्टिस्ट अफ द इयर–२०१७’ र ‘उत्कृष्ट पालाम रचना २०७३’ पुस्कारबाट पनि उनी सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया