गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण | Khabarhub Khabarhub

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो । 

प्रदेशमा सबैभन्दा बढी कास्कीमा तीन सय सात, तनहुँमा एक सय एक, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा चार जनामा डेङ्गी सङ्क्रण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म मुस्ताङ र मनाङमा भने डेङ्गीका बिरामी नेभिटएका छैनन् । कास्कीमा सङ्क्रमण पुष्टि भएका तीन सय सातमध्ये एक सय तीन जना पोखरा महानगरपालिकाका रहेका छन् । प्रदेशभरमा हालसम्म पुष्टि भएका डेङ्गीका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन् । 

साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने जनाइएको छ । 

प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी सङ्क्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताए । गत वर्ष प्रदेश राजनधानी पोखरा डेङ्गीको ‘हटस्पट’ बनेकाले यसवर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उनको भनाइ छ । 

पोखरा महानगरसहित प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेङ्गी फैलनबाट रोक्न डेङ्गी सार्ने लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन् । 

उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको छ । गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । 

गतवर्षको भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा छ गुणाले डेङ्गी सङ्क्रण बढेको थियो । लामखट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि सुरु गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनीहरूको भनाइ छ । 

डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत स्थानमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीले बताए । 

डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको उनको भनाइ छ । ‘सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो’, उनले भने । 

सङ्क्रमितले तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक तिवारीको भनाइ छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने प्रमुख उनले बताए । 

सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेङ्गीलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको उनले बताए । 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ५९ बजे

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

मकवानपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ