काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै आएका विपक्षी दलप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आक्रामक ढंगले प्रस्तुत भएका हुन् ।
‘संसद्मा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने । भिजिट भिसा भनेको के मानव तस्करी हो ?,’ प्रमुख सचेतक घिमिरेले प्रश्न गरे, ‘भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को हुनुहुन्छ यहाँ ? कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको हो ?’
उनले रास्वपा र राप्रपामाथि गोयबल्स शैलीमा झुटो प्रचार गरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाए । घिमिरेले भिजिट भिसाका नाममा दुबै दलले प्रतिनिधिसभालाई दुरुपयोग गरिरहेको समेत आरोप लगाए ।
‘गोयबल्स शैलीमा झुटो कुरो प्रचार गरेर आम जनतालाई दिग्भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसको गम्भीर आपत्ति छ सभामुख महोदय यसमा । यो प्रथालाई अब अन्त्य गरिएन भने संसद्को गरिमा पनि रहँदैन, महत्व पनि रहँदैन ।’
प्रतिक्रिया