वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो | Khabarhub Khabarhub

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 9 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन तत्कालीन गाविसको समायोजनमा वराहक्षेत्र नगरपालिका गठन भयो । वराहक्षेत्र नगरपालिकाको आम्दानीको मुख्य स्रोत कृषि बाली र धार्मिक पर्यटन नै हो । साविक वराहक्षेत्र हाल नगरको वडा नं. १ र २ कृषि बाली २५ प्रतिशत र ७५ प्रतिशत धार्मिक पर्यटन र व्यापारमा आश्रित छ ।

सप्तकोशी नदीमा पक्की पुल निर्माण भएपछि यहाँको आन्तरिक पर्यटनमा टेवा पुगेको छ । ०७२ सालमा शिलान्यास भएको कोशी पुल आसपासमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । होटल व्यवसाय सञ्चालनमा आएपछि प्रति होटल मासिक १० लाख बढीको कारोबार हुने गरेको उद्योग वाणिज्य संघ वराहक्षेत्रको पूर्वअध्यक्ष रमेशकुमार विष्ट बताउँछन् ।

‘शुक्रबार र शनिबार अलिक बढी आन्तरिक पर्यटकको घुइँचो रहन्छ,’ पूर्वअध्यक्ष विष्ट भन्छन्, ‘दुई दर्जन बढी होटल सञ्चालनमा छन्, हप्तामा ४ हजार जति पर्यटक आउने गर्छन् ।’

विश्वमै चार क्षेत्रमध्येको एकक्षेत्र वराहक्षेत्रजस्तो महत्वपूर्ण स्थल रहेको यो क्षेत्र हिन्दूहरूको आस्था केन्द्र हो । कोका नदी र सप्तकोशीको संगममा स्नान गर्ने र वराह भगवानको पूजाअर्चना गरे पूण्य कमाउने विश्वासका साथ वार्षिक ५ लाख बढी नेपाल र भारतका दर्शनार्थी आउने गर्छन् ।

पुराना धार्मिक क्षेत्रको उन्नयन हुन नसकेको अवस्थामा नयाँ मठमन्दिर निर्माण हुने क्रम जारी छ । यहाँको कुम्भ स्तम्भ, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, शङ्कराचार्य मठ नयाँ निर्माण भएका हुन् ।

धार्मिक रूपमा वराहक्षेत्रले ख्याति कमाए पनि यहाँका प्राचीन मठ मन्दिर देवालय, गढी र दरबारहरूको धार्मिक ऐतिहासिक महत्व उजार हुन नसकेको स्थानीयहरू बताउँछन् । ऐतिहासिकता उजागरका लागि स्थानीय युवाले ‘चतरा हाइकिङ’ अभियान सञ्चालन गरेका छन् । वराहक्षेत्रमा रहेका तर ओझेलमा परेका धार्मिक पर्यटकीय क्षेत्रको अवस्था बारे चर्चा गरिएको छ ।

औलिया मठको दुरवस्था

प्राचीन तथा ऐतिहासिक महत्व बोकेको औलिया बाबा मठ संरक्षण, सम्वर्द्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गइरहेको थियो । तर सुदन किराँती पर्यटन मन्त्री भएका बेला औलिया मठभित्र वाक–वे, पार्किङ, धुनी, विवाह मण्डप, शौचालय र गेट निर्माणका लागि २ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन भयो ।

औलिया बाबा गुठीका नाममा रहे पनि गुठीद्वारा यसको संरक्षण र सम्वर्द्धनमा खासै चासो नदिएको स्थानीय बताउँछन् । औलिया बाबा मठभित्र रहेका पुरातात्विक र ऐतिहासिक वस्तुको संरक्षण नभएकाले ती वस्तु अहिले कामै नलाग्ने अवस्थामा पुगेका छन् । औलिया बाबाको मठमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दथ्यो तर आजभोलि यसको प्रचारप्रसार, जीर्णोद्धार नहुँदा भक्तजनहरूको उपस्थिति न्यून हुँदै जाँदा लोपोन्मुख बन्दै गएको छ ।

ऐतिहासिक कालमा सिद्धपुरुष औलिया बाबा हालको वराह भगवानको मन्दिरदेखि १ किलोमिटर वर तात्कालीन अवस्थामा रहेको भीर गुप्त वराहको मन्दिरमा बस्ने गरेको र तात्कालीन मकवानपुरका राजा मुकुन्द सेनले आफ्नो आधा राज्यको हिस्सा ताडपत्र र ताम्रपत्रमा लेखी औलिया बाबाको मन्दिरलाई चाहिने भनी दिएका थिए ।

तात्कालीन आधा राज्य लिलाम गर्दा आएको सवा लाख रूपैयाँमा गुप्त वराहको ठाउँ साँघुरो भएकाले हालको चतरा औलिया बाबाको मठलाई गुठीका रूपमा विकास गरी कर्मचारीसमेत खटाएको र बारा जिल्लामा बिर्ता खरिद गरेको इतिहासकार गणेश सुब्बा विरहीले ‘सत्सङ्ग जागरण’ मासिक पत्रिकामा उल्लेख गरेका थिए ।

स्थानीयका अनुसार औलिया बाबाको गुठीअन्तर्गत उदयपुरको ठोक्सिला, धरानको विजयपुर क्षेत्रलगायतका ठाउँमा जग्गा रहिआएको छ । तर त्यसको भोगचलन कसले गर्छ, त्यसबाट औलिया बाबा मठलाई कति आम्दानी हुन्छ अहिलेसम्म लेखाजोखा छैन । औलिया बाबा गुठीका नाममा मनग्ये स्रोत भए पनि यसको उचित सदुपयोग हुनसकेको छैन ।

वार्षिक रूपमा आधा दर्जन धार्मिक मेलाहरू वराहक्षेत्रमा लाग्ने गरे पनि औलिया बाबाधामका रूपमा परिचित औलिया मठ परिसरभित्र कुनै धार्मिक मेला र माहोल देख्न सकिन्न ।

कात्तिके मेला, बोलबम मेला लगायतका धार्मिक मेलामा भक्तजनहरूलाई बास बस्न र निःशुल्क खानपिनको व्यवस्था हुने र बस्नका लागि सुविधायुक्त धर्मशालाहरू रहेको औलिया मठको अहिले संरक्षण, सम्बद्र्धन र पुनःनिर्माण नहुँदा कन्तविजोग भएको छ ।

औलिया गुठीको नाममा रहेको झण्डै १५–१६ सय बिघा जग्गा सुनसरी, सप्तरी, उदयपुर मोरङ, सिरहा लगायतका स्थानमा रहे पनि त्यसको सबै आम्दानी गुठी संस्थानले लाने गरेको स्थानीय बताउँछन् । प्रजातन्त्र आएपछि ०४६ सालदेखि यता सम्बन्धित भूमिसुधार मन्त्रीको मातहतमा रहने भएकाले मन्त्रीले आफ्ना नातेदारहरूलाई गुठीको अध्यक्ष नियुक्त गरेर अहिले ती सबै जग्गा मोहीका नाउँमा दर्ता भएको आरोप लाग्दै आएको छ ।

धार्मिक पर्यटकीय क्षेत्र भएकाले मठमन्दिरको उल्लेखनीय सङ्ख्या रहेको वराहक्षेत्रमा पुराना मठमन्दिरहरूलाई बेवास्ता गर्दै नयाँ स्थापना गर्नतिर ध्यान केन्द्रित रहेको अवस्था छ । स्थानीय सरकारले महत्वपूर्ण क्षेत्र भन्ने तर बजेट विनियोजनमा उदासिनता देखाउने गरेको छ । धार्मिक सहिष्णुताको उच्चत्तम नमुनाका रूपमा रहेको यो मन्दिरको संरक्षण गर्नु अत्यावश्यक रहेकोमा स्थानीयहरू जोड दिन्छन् ।

छिन्नमस्ताको बेवास्ता

वराहक्षेत्रमा अवस्थित पुरातात्विक तथा धार्मिक महत्वको स्थल छिन्नमस्ता भगवतीको मन्दिर संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

पौराणिक किम्वदन्तीअनुसार महाकाली शक्ति स्वरूपा भगवतीले नरभक्षी राक्षसहरूलाई नष्ट गरेपछि क्रोध शान्त नहुँदा रगतले मातेर एकापसमा दिदीबहिनीहरू काटाकाट गर्दा टाउको (मस्तक) छिनिएका कारण छिन्नमस्ता भगवतीका रूपमा नाम रहन गएको हो ।

महाङ्काल देवीका रूपमा छिन्नमस्ता उदयपुर जिल्ला बेलका नगरपालिका सोमबारेमा अवस्थित छ । यस्तै सखडा भगवतीका रूपमा सप्तरीमा समेत छिन्नमस्ता देवीको मन्दिर छ । वराहक्षेत्र, बेलका र सप्तरीका छिन्नमस्ता देवीलाई दिदीबहिनीका रूपमा हेर्ने गरिएको छ ।

छिन्नमस्ता देवीको दर्शन गर्न सुनसरी, भोजपुर र धनकुटा लगायतका ठाउँहरूबाट भक्तजन समेत आउने गरेका थिए । तर मन्दिरको जीर्ण अवस्था, प्रचारप्रसारको अभावका कारण मन्दिरको पौराणिक महत्व ओझेलमा परेको छ । छिनामस्ता देवीको दर्शन गरे चिताएको मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।

मन्दिर परिसरलाई कलात्मक ढुङ्गे बगानका रूपमा निर्माण गर्ने स्थानीय युवाहरूले योजना ल्याएका थिए । तर, आर्थिक अभावका कारण उद्देश्य पूरा हुन सकेको थिएन । मन्दिरको धार्मिक महत्वका कारण पनि पर्यटक आउन सक्ने भएकाले यसको संरक्षणमा स्थानीय लागि परेको चतराका युवा बताउँछन् ।

वराहक्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भए पनि धार्मिक स्थलहरूको समुचित विकास गर्न नसक्दा धार्मिक पर्यटन प्रवर्द्धन अवधारणामा नै प्रश्न चिह्न उठ्ने गरेको स्थानीयको बुझाइ छ ।

मन्दिर परिसर नै अतिक्रमणको जोखिममा

स्थानीयका अनुसार सुनसरी मोरङ सिंचाइ योजनाले वराहक्षेत्रस्थित योजनाको जग्गामा वर्षौंदेखि बस्दै आएका नागरिकलाई अनावश्यक रूपमा उठाएपछि त्यसको पीडा छिन्नमस्ता मन्दिर क्षेत्रले भोग्नु परेको छ ।

भूमिहीनहरूले छिन्नमस्ता मन्दिर परिसरका जग्गा अतिक्रमण गर्न थालेको भन्दै केही समयअघि सव डिभिजन कार्यालयले स्थलगत निरीक्षण गरेको थियो । स्थानीय सरकारले मन्दिर संरक्षणमा चासो देखाएसँगै मन्दिरको संरक्षण हुने स्थानीयले बताउँदै आएका छन् ।

गुप्त वराह

जनश्रुति र मान्यताअनुसार औलिया बाबा भगवान् वराहका सेवक र पुजारी थिए । तराईमा औलो लाग्थ्यो । बाबाले आफ्नो तप र सिद्धिद्वारा औलो खिचेर नियन्त्रणमा राख्थे । एकदिन औलिया बाबा आफैँलाई औलोले भेट्टायो । वराह भगवानको नित्य पूजामा वराहक्षेत्र जान सकेनन् । उनले त्यही गुफामै वराह भगवानको पुकार गरे । वराह भगवान उक्त गुफामा आफैँ प्रकट भएर गुप्त रूपमा औलिया बाबालाई दर्शन दिए । र, उक्त गुफा रहेको क्षेत्रलाई गुप्त वराह भनिन थालियो ।

तथ्य अनुसार १५ औं शताब्दीको इतिहास रहेको गुप्त वराह लामो समयदेखि ओझेलमा थियो । यहाँ अवस्थित मन्दिर, पाटीपौवा, सत्तल र धर्मशालाको संरक्षण र प्रचार प्रसार गर्दै आएका पण्डित योगेश भण्डारीको सकृयतामा गुप्त वराहको जीर्णोद्धार भइरहेको छ । मध्यकालीन राजा मणिमुकुन्द सेन पूर्वी राज्य विस्तारका क्रममा यहाँ आइपुगेको तथ्य छ ।

भवानी थानको महिमा

विक्रम संवत १६१० मा सेनवंशी राजा मुकुन्द सेनको मृत्युपछि उनका छोरा लोहाङ सेनले पूर्वी नेपालमा राज्य विस्तार गर्दै जाँदा चौदण्डी गढी, लालकोट गढी र विजयपुर क्षेत्रसम्म आएको ऐतिहासिक तथ्य छ । साफल्य अमात्यद्वारा लिखित ‘प्राचीन नेपाल’, २०३५ मा उल्लेख भएअनुसार लोहाङ सेनपछि उनका छोरा राघव सेन मोरङ राज्यको समेत राजा भए । त्यसपछि उनका छोरा हरिहर सेन राजा भएको उल्लेख छ । यो क्षेत्र भवानी थानमा हरिहर सेनले आफ्नो दरबार सुरक्षाका लागि गढी निर्माण गरेको र त्यस गढीलाई भवानी थान गढी वा लालकोट गढी भनिएको उल्लेख छ ।

यसैगरी भवानी थानको ऐतिहासिक साथै पौराणिक महत्व रहेको छ । आदि वराही भगवती (हाल भवानी थान) साविक वराहक्षेत्र गाविस ८ र हाल वराहक्षेत्र नगरपालिका वडा नं. १ मा रहेको वराहकुट पर्वत (जुगपाख्री, अर्चले) मा अवस्थित छ । यो मन्दिरलाई अत्यन्तै प्राचीन भनिएको छ । वराही भगवतीको मन्दिरका रूपमा रहेको यसलाई स्थानीयले भवानी थान भनेर चिन्छन् ।

वराह पुराणका आधारमा जब वराह भगवान्ले वराहको रूप धारण गरेर वराह कुट पर्वतमा पुगे, तब भगवानको साथमा महालक्ष्मी महारानी पनि वराहकै जस्तो वराही रूपमै वराहक्षेत्र पुगिन् । यिनै वराहरूप लिएर आएकी भगवतीलाई वराहक्षेत्रवासीले भवानी भनेर पुकारेका हुन् । (भेषराज घिमिरेः ‘विश्वको पहिलो धाम वराहक्षेत्र’ ) सो प्रसङ्ग वराह पुराण, देवी भागवत र मार्कण्डीय पुराणमा समेत उल्लेख छ । प्रत्येक वर्षको वैशाख पूर्णिमामा मेला लाग्ने गरेको छ ।

सूर्यकुण्ड

वराह पुराणका आधारमा सूर्यकुण्ड अति नै महत्वपूर्ण र मूक्तिदायक कुण्डका रूपमा वर्णन गरिएको छ । वराह पुराणका अनुसार, वराह भगवान् माता लक्ष्मीलाई भन्नुहुन्छ– ‘हे लक्ष्मी वराहीदेवी वराह पर्वतको पृष्ठभागमा एउटा विशाल सूर्यकुण्ड नाम गरेको कुण्ड छ । उक्त कुण्डमा कोहीले स्नान गरी उपवास बस्दछ भने त्यो मनुष्यले मृत्युपश्चात अति तेजमय सूर्यलोकमा नित्यवास गर्न पाउँदछ ।’

स्थानीयका अनुसार यो क्षेत्रमा कोशी ब्यारेजमा पुल बन्नुअघिव सूर्यकुण्ड झण्डै ५ बिघा बढी क्षेत्रफलमा फैलिएको थियो । तर बगुवा, बाघ खोलालगायत खोलाबाट ढुङ्गा निकालिँदा सूर्यकुण्डको स्रोत सुक्न पुग्यो । वराहक्षेत्रका स्थानीय अध्येता युवराज भट्टराईका अनुसार अहिले सूर्यकुण्ड सानो क्षेत्रफलमा रहेको छ ।

आदि वराह

स्कन्द पुराण र वराह पुराणका अनुसार वराह भगवानका विभिन्न रूप र नामहरू थिए जस्तै इन्द्र वराह, स्वेत वराह, गुरु वराह, यज्ञ वराह र आदि वराह यी वराह मध्ये सबैभन्दा आदिम कालका अर्थात् पहिलो वराहको रूप नै आदि वराह हो ।

सृष्टिको आदिकालमा वराह भगवान्को आज्ञाद्वारा सृष्टि गर्न इच्छुक ब्रह्माजीले सृष्टि गर्न खोज्दा कुनै ठाउँ नपाएर समस्या परेका बेला भगवान भोले बाबाको कठोर तपस्या गरेका थिए । ब्रह्माजीको तपस्याबाट प्रसन्न महादेव भोलेबाबाले ब्रह्माजीलाई आर्शिर्वाद दिँदै भन्नुभयो– ‘हे ब्रह्माजी मेरो आशीर्वादले विवेकशील प्राणी यस शक्ति सम्पन्न युक्त चराचर विश्व जगत सृष्टि गर्न हजुर सक्षम हुनुहुनेछ । यी कुरामा कुनै शङ्का छैन’ भनी आशीर्वाद दिनुभयो । त्यसपछि भोलेबाबालाई ब्रह्माजीले दण्डवत् गरी भगवान्का आशीर्वादले सूर्यकुण्डका तटमा विराजमान आदि वराह (भगवान् विष्णु) लाई सेवा पुजन गर्ने र अर्को पवित्र तीर्थ कोकाहमुखमा जानु भयो भनेर स्कन्द पुराणमा स्पष्ट व्याख्या गरेको पाइन्छ ।

यसरी सूर्यकुण्डमा स्नान गरी आदि वराह भगवान्को दर्शन पुजन गर्नाले सम्पूर्ण इच्छा पूरा हुन्छ भनेर स्कन्द पुराणमा वर्णन गरिएको अति प्राचीन आदि वराह मन्दिर सूर्यकुण्डकै नजिकमा रहेको छ । सो प्रसङ्ग कवि मान बज्राचार्यको पुस्तक ‘आदि वराहक्षेत्र सूर्यकुण्ड महिमा’ र भेषराज घिमिरेको पुस्तक ‘विश्वको पहिलो धाम वराहक्षेत्र’ मा उद्धृत गरिएको छ ।

दुर्गा काली मन्दिर

विक्रम संवत २०११ सालमा कोशी नदीमा आएको बाढीबाट धेरै घरपरिवार विस्थापित भएपछि हालको चक्रघट्टी बजार फडानी भयो । राजा महेन्द्रको आदेशमा फडानी भएकाले यो ठाउँलाई महेन्द्रनगर भनिन्छ ।

यही महेन्द्रनगर स्थापना ताका स्थापित मन्दिर हो बराहक्षेत्र–६ स्थित दुर्गाकाली मन्दिर अत्यन्तै भव्य र आधुनिक शैलीमा निर्माण भएको छ । यो मन्दिरमा विभिन्न पर्वका अवसरमा ठूला उत्सव आयोजना गर्न सके पर्यटकीय रूपमा आकर्षणको केन्द्र बन्नेमा दुईमत छैन ।

टेकाने देवी (टेकाने पोखरी)

बराहक्षेत्र–३ नडाहामा अवस्थित टेकाने देवी स्थानीयको आस्थाको केन्द्र हो । देवीस्थानसँगै यहाँ रहेको पोखरीमा स्थानीयले पूजाआजा गर्दै आएका छन् ।

प्रत्येक वर्ष वैशाख ९ गतेका दिन भव्य मेलाको आयोजना हुने गरेको छ । यहाँ देवीस्थानमा देवी प्रकट भएकी थिइन् भन्ने जनविश्वास रही आएको छ । वर्षमा कयौंपटक लाग्ने धार्मिक मेलाहरूले पनि बराहक्षेत्रमा आन्तरिक पर्यटक भित्र्याउन भूमिका खेलेको छ । यस्ता अन्य धार्मिक स्थलहरूमा बेलाहा, थलाहा, आन्रा मठलगायत मुख्य छन् । आदिवासी जनजाति, थारू, झाँगड, मुस्लिम लगायतका धार्मिक आस्थाका केन्द्र वराहक्षेत्रमा छन् ।

स्थानीय सरकारको नीति

वराहक्षेत्र नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छैन । विगतका आर्थिक वर्षमा नीति तथा कार्यक्रममा नगरलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न सकिने (आर्थिक वर्ष २०७४/०७५ नगर विकास कार्यक्रम) भनिए पनि यसको कार्यान्वयन पक्ष प्रभावकारी देखिएन । यो शीर्षकमा समेत बजेट विनियोजन गरेको पाइएन । सोही शीर्षकलाई २०७६/०७७ को वार्षिक नगर विकास योजनासम्म हुबहु सारिए पनि नगरलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणमा कुनै ठोस पहल भएन ।

पर्यटनको विकास गर्न छुट्टै शाखा र समिति नभएकाले एकीकृत बजेट विवरणमा पनि पर्यटनको शीर्षक देखिएको छैन । सामाजिक विकास कार्यक्रमभित्र राखेर बजेट विनियोजन गरिने भएकाले देखिने गरीको शीर्षक नभएको नगरका सामाजिक विकास अधिकृत अरुणकुमार मेहता बताउँछन् ।

वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्न छिमेकी स्थानीय तहसँग समन्वय गरी भान्टाबारीदेखि चक्रघट्टी हुँदै चतरासम्म कोशी किनार पर्यटकीय करिडोर निर्माण गर्न सर्वे डिपिआरको प्रक्रिया सुरु गर्ने उल्लेख थियो ।

यसै करिडोरलाई जोडेर धरान उपमहानगरपालिकासँग समन्वय गरेर चतरा कुम्भ, वराहक्षेत्र, रामधुनी, विजयपु्र, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बासम्म धार्मिक पर्यटनका लागि धार्मिक सर्किटका रूपमा विकास गर्ने अवधारणा अघि बढाउने भनिएको छ । तर बजेट विनियोजन गर्दा यो शीर्षकलाई नै बेवास्ता गरिएको पाइयो ।

यसैगरी सूर्यकुण्ड तथा चियाबारी क्षेत्रसम्म जान सहज पूर्वाधारको विकास गरी त्यसक्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न होमस्टेलगायतका व्यवसाय सञ्चालन गर्न तालिम प्रदान गरिने भनिएको थियो । ‘सूर्यकुण्डमा होमस्टे सुरु गर्न नगरले आर्थिक प्रोत्साहन गरेको छ,’ स्थानीय युवा अर्जुन कुलुङले भने, ‘हामीले होमस्टे खोल्यौं तर सडक पूर्वाधारको विकास नहुँदा पर्यटकीय क्षेत्र बनाउने नगरको अवधारणाले सफलता पाउन सकेन ।’

नगरपालिकाले न कुनै पर्यटन समिति नै निर्माण गरेको छ, न धार्मिक पर्यटनको यथोचित विकास नै गरेको छ । वराहक्षेत्र नगरपालिकाका नव निर्वाचित नगर प्रमुख रमेश कार्कीले पर्यटनको क्षेत्रलाई ध्यान दिने बताए । ‘पर्यटन विकास समितिको निर्माणका लागि छलफल गर्नेछौं, कानून, कार्यविधि निर्माण गर्ने योजना बनाएका छौं,’ नगर प्रमुख कार्कीले भने, ‘हाम्रो नगरको विकासको मुख्य आधार नै कृषि र धार्मिक पर्यटन हो, यसको विकासमा ध्यान दिन्छौं ।’

वराहक्षेत्र नगरपालिकाले आफ्नो नारा नै ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधार’ राखेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ०२ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र