खानीको रहर, अधिकारको कहर ! | Khabarhub Khabarhub

प्राकृतिक स्रोत उपयोगमा अड्चन

खानीको रहर, अधिकारको कहर !

आम्दानी खोज्दै गण्डकी, बाटो छेक्दै संविधान


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशसँग आफ्नै खानीबाट प्रदेशको ढुकुटी भर्ने रहर छ, तर यही रहरमा संविधान नै तगारो बनेर उभिएको छ ।

सङ्घले उत्खनन गरेर आम्दानी लैजाने, अनि आफू निरीह हेरेर बस्नुपर्ने संवैधानिक व्यवस्थाले प्रदेशका सांसदहरूलाई यति निराश बनाएको छ कि उनीहरू खानीसम्बन्धी कानुन बनाउने प्रक्रियामै अलमलमा परेका छन् ।

यही संवैधानिक उल्झन र सांसदहरूको निराशाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने प्रदेशलाई उपलब्ध सानो अधिकारको त्यान्द्रो समातेरै भए पनि आम्दानीको बाटो खोज्नुपर्ने बताएका छन् ।

‘खानीजन्य वस्तु बिक्री गरेर आम्दानी बढाउनकै लागि कानुन बनाउन खोजिएको हो,’ शुक्रबार प्रदेश सभाको अर्थ तथा विकास समितिमा मुख्यमन्त्री पाण्डेले भने, ‘नभए त हामीलाई यो कानुन नै चाहिएको थिएन ।’

गण्डकी प्रदेश सरकारले खानी तथा खनिज पदार्थको अन्वेषण, व्यवस्थापन र नियमन गर्न विधेयक प्रदेश सभामा पेस गरेको थियो । यो विधेयकमाथि अर्थ तथा विकास समितिमा सातपटक छलफल भइसकेको छ । तर अलमल भने कायमै छ । अल्झिनुको कारण हो –नेपालको संविधान ।

संविधानको अनुसूची ५ ले ‘खानी तथा खनिज उत्खनन’को अधिकार सङ्घलाई दिएको छ । अर्कोतिर, अनुसूची ६ ले प्रदेशलाई ‘खानी अन्वेषण र व्यवस्थापन’ को जिम्मा दिएको छ । यसको सोझो अर्थ हो– प्रदेशले दुःख गरेर खानी पत्ता लगाउने, तर त्यसबाट खनिज निकालेर बेच्ने अधिकार केन्द्र सरकारसँग हुनेछ ।

यही व्यवस्थाले सांसदहरूलाई चिन्तित बनाएको छ । ‘प्रदेश सरकारले यति कानुन बनायो भन्ने त होला, तर यो ऐन बनाउने औचित्य नै देखिँदैन,’ समितिको अघिल्लो बैठकमा सांसद लक्ष्मणबहादुर पाण्डेले जिकिर गरे, ‘प्रदेशले खानी पत्ता लगाउँछ, अनि सङ्घलाई उत्खनन गर्न दिएर आफू हेरेर बस्नुपर्ने ? यो कस्तो व्यवस्था हो ?’

सांसदहरू प्रकाश बराल, हरि भण्डारी र सीता सुन्दासको पनि समान धारणा थियो । उनीहरूले संविधान बनाउँदा नै यो व्यवस्था उल्टो परेको भन्दै प्रदेशले अन्वेषण गरेपछि उत्खननको अधिकार पनि पाउनुपर्ने तर्क गरे ।

विधेयक अघि बढाउने वा फिर्ता गर्ने भन्नेमा समिति नै अलमलमा परेपछि समाधान खोज्न मुख्यमन्त्री पाण्डेलाई नै बोलाइएको थियो । उनले संविधानसँग लड्नुभन्दा त्यसैभित्र टेकेर प्रदेशको हितमा काम गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए ।

उनको तर्क थियो, ‘उत्खननको अधिकार नभए पनि अन्वेषण र व्यवस्थापनको जिम्मा हामीसँग छ, यही अधिकार प्रयोग गरेर आम्दानीको स्रोत सिर्जना गर्न सकिन्छ ।’

छलफलपछि मुख्यमन्त्रीकै नेतृत्वमा एक निर्देशक समिति र विभागीय मन्त्रीको नेतृत्वमा प्राविधिक समिति बनाएर अघि बढ्ने विषयमा मोटामोटी सहमति बनेको छ ।

बैठकमा बोलाइएका विज्ञहरूले भने प्रदेशलाई कमजोर नठान्न सुझाएका छन् । खानी विभागका पूर्व महानिर्देशक डा. सोमनाथ सापकोटाले अन्वेषणबिना उत्खनन असम्भव हुने भएकाले प्रदेशको भूमिका नै निर्णायक हुने बताए । ‘अन्वेषणको अधिकार हामीसँग हुनु नै ठूलो शक्ति हो, हामी कमजोर छौं भन्नुपर्ने अवस्था छैन,’ उनले भने ।

भूगर्भविद् प्रा.डा. मेघराज धिताल र खानी इञ्जिनियर रामप्रसाद घिमिरेले पनि सङ्घीय कानुनसँग नबाझिने गरी विधेयकलाई परिमार्जन गर्न सुझाए ।

उनीहरूले खानीको क्षेत्र, अन्वेषणको अवधि (कम्तीमा ३ वर्ष), र उत्खननको प्रकृति स्पष्ट तोक्नुपर्ने, वातावरणीय पक्षमा ध्यान दिनुपर्ने र निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने जस्ता व्यवहारिक सुझाव दिए ।

इञ्जिनियर घिमिरेले विधेयकका केही शब्द र अवधारणा अस्पष्ट रहेको औँल्याउँदै तिनलाई सच्याउन आग्रह गरे ।

समिति सभापति भोजराज अर्यालले मुख्यमन्त्रीसँगको छलफलले विधेयकलाई कसरी अगाडि बढाउने भन्नेमा प्रष्ट भएको बताए । छलफलमा उठेका विषयलाई प्रतिवेदन बनाएर अन्तिम रूप दिन उनले सचिवाललय र विधेयक उठान गर्ने मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।

समितिको बैठकमा उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, समिति सदस्यहरू दीपेन्द्रबहादुर थापा, सीता सुन्दास, प्रकाश बराल, गणेशमान गुरुङ, बिन्दु पौडेल र हरि भण्डारीले भनाइ राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ४५ बजे

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का

हेडलाइन…– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत– माइतीघरको

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी