दाङ– दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ ।
कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख रुपैयाँ बजेमध्ये ३१ करोड ८३ लाख ५६ हजार रुपैयाँ अर्थात् ९७.२७ प्रतिशत खर्च भएको जानकारी दिए ।
उनका अनुसार जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ८७, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ १४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रमतर्फ ३२ र जलाशय निर्माणका पाँच वटा योजना पूरा भएका हुन् ।
सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारका दुई वटा योजना भने कार्यान्वयनमा हुन नसकेको उनको भनाइ छ । उनका अनुसार हाल कार्यालयबाट तीन वटा बहु वर्षीय योजनाको काम चलिरहेको छ ।
झिग्नी बबई सिँचाइ योजना घोराही–३ र घारिचौर सिँचाइ योजना बङ्गलाचुली–७ को ठेक्का सम्झौता भइसकेको छ भने बस्तीखोला सिँचाइ योजना शान्तिनर–३ र ४ को काम बोलपत्र आह्वान भएको छ ।
कार्यालयले २०७२ सालदेखि अहिलेसम्म १६२ किलोमिटर नहर पक्की बनाएको छ भने ६७ लिफ्ट सिँचाइ, ६७ पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतीकरण गरेको छ ।
जसबाट थप सात हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ, भने ३१ हजार ५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण गरिएको छ । जसबाट १२ हजार ५४६ हेक्टर जमिन सुरक्षित भएको छ भने आठ हजार ६५८ वटा घर सुरक्षित भएका छन् ।
कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार ९९१ हेक्टर (२५.७२ प्रतिशत) कृषि क्षेत्र हो । जसमध्ये अहिले ६० हजार ३६७ हेक्टर (२०.४३ प्रतिशत) मा सिँचाइ सुविधा पुगेको छ । रासस
प्रतिक्रिया