काठमाडौं– बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ ।
प्रदेश राजधानी हेटौंडामा मंगलबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री बानियाँ र उनलाई विश्वासको मत दिन सर्त अघि सारिररहेको लामा समूहबीच पछिल्लो सहमति भएको हो ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूबीच आन्तरिक विषयमा देखिएको कचिलो छलफलबाट टुंगिएपछि प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँ मंगलबार विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।
यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।
प्रतिक्रिया